Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमुलुकलाई समृद्ध कसरी बनाउने ?

मुलुकलाई समृद्ध कसरी बनाउने ?


आज नेपाली जनताको एकताबद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिन । २००७ साल फागुन ७ गते आजकै दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रूपमा स्थापित गरेका थियौँ । जनताको बलिदानपूर्ण संघर्षबाट इतिहासमा अङ्कित यस गौरवमय दिनको सम्झना र सम्मानमा हामी आज यहाँ उपस्थित भएका छौँ । हरेक वर्ष फागुन ७ गतेलाई हामीले प्रजातन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ । आज हामी ७०औं प्रजातन्त्र दिवस मनाइरहेका छौँ ।

प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा म देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । समाज, राजनीति र शासनप्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको रलामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रूपमा हामी यस दिनलाई स्मरण गर्दछौँ ।

आज हामी मुलुकलाई गरिबीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेका छौँ । राष्ट्रको आजको यस अभियानलाई अनुप्राणित गर्ने लक्ष्यको बीजारोपण आजभन्दा ७० वर्षअघि आजकै दिन, अर्थात् फागुन ७ गते भएको थियो । त्यसैले औपचारिकता निर्वाहबाट माथि उठेर यस दिनको गरिमालाई आत्मसात गर्न म दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु । यसले इतिहासप्रतिको गौरव, वर्तमानप्रतिको क्रियाशील जिम्मेवारी र भविष्यप्र्रतिको उत्तरदायित्वलाई सामाजिक भाष्यको रूपमा विकास गर्नेछ ।

आजको दिन, प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीर÷वीरङ्गनाहरूको स्मरण गर्ने दिन हो । आजको दिन, नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने दिन पनि हो । आजको दिन, प्रजातन्त्र लोकतन्त्र स्थापनाको हाम्रो संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि संकल्प गर्ने दिन पनि हो ।

संविधान जारी भएपछि आयोजित आम निर्वाचनद्वारा बनेको यस सरकारले भर्खरै आफ्नो कार्यकालको दुई वर्ष पूरा गरेको छ । गत वर्षलाई मैले सरकार सञ्चालनको आधार वर्षको रूपमा चर्चा गरेको थिएँ । त्यस अवधिमा संविधानबमोजिमका संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्त व्यवस्थापन, कानुन तथा जनशक्ति समायोजन गरेर हामी अगाडि बढेका थियौँ ।

अहिले हामी त्यही आधार भूमिमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर छौँ । यस अवधिमा सुशासन र विकासका काममा नतिजा हासिल हुन थालेका छन् । केही सम्पन्न गरेका छौँ, केही निर्माणाधीन छन् र केही अगाडि बढ्दै छन् । राष्ट्रको सम्पन्नताका लागि हामीले पार गर्नुपर्ने बाटो अझै लामो छ, तर हामी यत्रारत छौँ । यात्रा थालनीलाई औचित्यहीन र अनावश्यक ठान्ने, तर गन्तव्य आइनपुगेकोमा आत्मभत्र्सना गर्ने प्रवृत्तिबाट जोगिँदै हामी अघि बढ्नु पर्छ ।

नेपालले द्वन्द्व व्यवस्थापनको सन्दर्भमा मौलिक विधि अपनायो । अहिले द्वन्द्व व्यवस्थापन भई देश आर्थिक तथा समाजिक रूपान्तरणको दिशातर्फ अग्रसर छ । आफ्ना समस्या आफैँ हल गर्ने अठोटका साथ थालिएको हाम्रो यस कार्यले आफ्ना समस्या आफैँ हल गर्न सक्ने हाम्रो क्षमता प्रदर्शित भएको छ । हामीले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान विस्तार गरेका छौँ, हामीप्रति विश्वजगतको ध्यानाकर्षण भएको छ, हामी विश्वमञ्चमा देखिन र सुनिन थालेका छौँ । यसबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा अहिले नेपालको प्रतिष्ठा र गरिमा बढेको छ । प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहना सफलताको दिशामा अग्रसर छ ।

अहिले हामी विल्कुलै नयाँ राज्यप्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेका छौँ । बदलिएको प्रणालीलाई तीव्र गतिमा हिँडाउनु चुनौतीपूर्ण हुन्छ । एउटा सरकारका ठाउँमा अर्काे सरकार बदलिएजस्तो होइन, एउटा प्रणालीका ठाउँमा बदलिएको अर्काे प्रणालीको अभ्यास हामी गरिरहेका छौँ । र, यसैबीच छोटो अवधिमा चिरकालदेखिका जनआकाङ्क्षाको पनि तीव्र सम्बोधन गर्नु पर्ने चुनौती हाम्रासामु छ ।

हामीले बदलिएको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धितर्फको यात्रा अगाडि बढाइरहँदा कतिपय पक्षबाट आइरहेको असन्तुष्टिमा प्रणालीगत बदलाव, चिरन्तन देखिका जनआकाङ्क्षा र राज्यको संस्थागत सामथ्र्यको आयामलाई केलाउनु पर्ने हुन्छ । लोकतान्त्रिक प्रणालीलाई दशकौँको समय लगाएर सुदृढ गरेका र विकासमा सयौँ वर्ष लगानी गरेका मुलुकहरूसँग तुलना गर्ने प्रगति हामीले गर्न सकेका छैनौँ । तर, थालनी गरेर अगाडि बढेका छौँ र त्यसतर्फको पाइलालाई तीव्रता दिएका छौँ । निरङ्कुश जहानियाँ शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो युगमा प्रवेश गरेको २००७ सालको परिवर्तनबिन्दुजस्तै आजको समय विकास र समृद्धिको प्रवेशबिन्दु हो । यस अर्थमा आजको समय नवीन युगको प्रस्थानबिन्दु हो ।

निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेर यहाँसम्म आइपुगेपछि हामी अहिले देशबाट गरिबी, बेरोजगारी, अविकास र पछौटेपन अन्त्य गरिरहेका छौँ । यस अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न र विकासको नयाँ युगमा प्रवेश गर्न सरकार योजनाबद्ध रूपमा क्रियाशील छ । आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा हामी अग्रसर छौँ । हामी सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा छौँ । यस लक्ष्य प्राप्तिका लागि हामी हाम्रा हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरिरहेका छौँ । यस यात्राबाटै हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्नेछौँ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को ध्येयका साथ यतिखेर सरकार आर्थिक एवं सामाजिक रूपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित छ । समृद्धि प्राप्तिको यस सहयात्रामा हाम्रा मित्रराष्ट्रहरूको समेत साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।

लोकतन्त्र इतिहासप्रति गर्व गर्ने, वर्तमानमा उत्तरदायी हुने र भविष्यप्रति जिम्मेवार हुने सभ्य प्रणाली हो । देशलाई बदल्ने अठोटका साथ अघि बढ्दै गर्दा केही नकारात्मक प्रवृत्तिको अवरोध पनि सहनु परेको छ । तर, दलीय आग्रहले लोकतान्त्रिक प्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुनु हुँदैन । समाजमा एउटा प्रवृत्तिगत चारित्रिक सहउत्पादन भइरहेको देखिन्छ । विकास निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्ताहरूलाई निरुत्साहित पार्ने, विकास प्रयासहरूमा व्यवधान गर्नेजस्ता प्रयासहरूलाई हामीले कामद्वारा नै पराजित गरिरहेका छौँ ।

हाम्रो राष्ट्र निर्माण, हाम्रो प्रजातन्त्र प्राप्ति, हामीले लोकतन्त्रका लागि लामो समय गरेको संघर्षको इतिहासका परिघटना, जो गौरवपूर्ण छन्, त्यससम्बन्धी ज्ञानलाई हाम्रो भावि पुस्ताले पनि अध्ययन गर्नु पर्दछ । आफ्नो सभ्यता, संस्कृति र इतिहासको श्रेष्ठता, त्यसका लागि पूर्खाले गरेको योगदानबारे आजको पुस्ताले गहिरो आत्मसात गर्नु पर्दछ । त्यसैले आजको यस दिवसलाई एउटा औपचारिक दिवस मात्रै होइन, यसलाई इतिहास र पुर्खाको गौरवशाली विरासतसँग जोडेर जनस्तरबाट समेत मनाउन सरकारले आह्वान गरेको छ ।

जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको ऐतिहासिक दिनको सम्झनामा आयोजित यस विशेष समारोहमा म पुनः एक पटक नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । (७७ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले दिएको मन्तवय)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया