Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगलागुऔषध दुर्व्यसनको समस्या र रोकथाम

लागुऔषध दुर्व्यसनको समस्या र रोकथाम


काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानअनुसार प्रत्यक वर्ष जुन २६ तारिखको दिनलाई लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरिएको छ । लागुऔषधविरुद्ध यस वर्षको नारा ‘मानवीय स्वास्थ्य संकटको बेला झन्ः लागुऔषध चुनौतीको गरौँ सम्बोधन’ भन्ने रहेको छ ।

विश्व स्वास्थ्य संगठन (१९८२)ले परिभाषित गरेअनुसार लागुऔषध कुनै पनि किसिमको रासायनिक पदार्थ हो जुन स्वस्थ शरीरका लागि प्रयोग गर्नु आवश्यक छैन र यसको प्रयोगले शारीरिक वा मानसिक कार्यमा नै परिवर्तन ल्याउन सक्तछ । यस हिसाबले लागुऔषध कुनै पनि औषधि जसको सेवन वा प्रयोगले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्दछ र यसले गर्दा उसको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ भने त्यसलाई लागुऔषध मान्न सकिन्छ । लागुऔषधको प्रयोगले हाम्रो शरीरका विभिन्न प्रणालीहरूमा प्रभाव पार्दछ । अर्थात् ती प्रणालीहरूको कार्यमा नै परिवर्तन ल्याउने गर्दछ । लागुऔषधले खासगरी शरीरका अन्य प्रणालीहरूमध्ये पनि स्नायु प्रणालीलाई सबैभन्दा बढी असर पार्ने भएको हुँदा यसबाट मानिसको सोच्ने, बुझ्ने र सम्झनेजस्ता दिमागीय कार्यमा विकृति ल्याउने गर्दछ ।

लागुऔषध सेवन गर्ने व्यक्तिमा देखिने लक्षणहरूका बारेमा भन्नुपर्दा त्यस्तो व्यक्तिको सुत्ने कोठामा वा गोजीमा लागुऔषध फेला पर्ने, लट्ठ मातेको जस्तो देखिने, छालामा सियोको दाग देखिने र अनुहार रातो वा निदाउरो देखिने गर्दछ भने त्यस्तो खालको व्यक्तिमा मुढी, जिद्धी, निराश, झुटो बोल्ने, एक्लै बस्ने, परिवार वा आमाबाबुसँग पैसा माग्ने वा चोर्ने, लागुऔषध सेवन गर्न नपाउँदा बिरामी हुने र सेवन गर्न पाउनेबित्तिकै निको हुने आदिजस्ता लक्षणहरू पनि मुख्यरूपमा देखिने गर्दछ । अर्को कुरा लागुऔषध प्रयोग गर्ने मानिसलाई लागुऔषध प्रयोग गरिरहन मन लाग्छ र जति प्रयोग ग-यो उति यसकोे असर कम हुने र शरीरमा सहनसक्ने क्षमता पनि बढी हुने गर्दछ । अन्ततः लागुऔषध निरन्तर प्रयोग गर्ने मानिस शारीरिक र मानसिक रूपमा रुग्ण बन्दै जान्छ र ऊ आपराधिक मनोवृत्तिमा समेत उन्मुख हुन पुग्दछ । त्यस्तै लागुऔषध दुर्व्यसनी भएका कारण कतिपय लागुऔषध प्रयोगकर्ताहरू आफूलाई लागेको कुपोषण, रक्तअल्पता, हेपटाइटिस, यौनजन्य रोग अथवा एचआईभी एड्सजस्ता खतरनाक रोगका बारेमा पनि कसैलाई भन्न वा जानकारी गराउँदैनन् ।

लागुऔषध अपराध एक मानव सिर्र्जित विश्वव्यापी समस्या हो । यसले राष्ट्रको आर्थिक, सामाजिक, उत्पादनशील जनशक्तिलगायत सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ । लागुऔषध दुर्व्यसन केवल आपराधिक गतिविधिसँग मात्र सम्बन्धित नभएर यो एउटा जटिल सामाजिक समस्याको रूपमा पनि देखा परिरहेको छ । विगतमा गाँजा, चरेस र हेरोइनको सेवनमा सीमित रहेका लागुऔषध प्रयोगकर्ताहरूले सन् १९९० को दशकको सुरुवातसँगै सुइँको माध्यमबाट समेत लागुऔषध प्रयोग गर्न थालेका छन् । त्यसमा पनि १३ देखि १९ उमेरबीचका युवायुवतीहरू लागुऔषध दुर्व्यसनमा बढी आकर्षित हुनेगरेको विभिन्न अध्ययनहरूबाट थाहा हुन आएको छ । खासगरी भारतसँगको खुला सिमानाको कारणले गर्दा लागुऔषधका अन्तर्राष्ट्रिय माफियाले नेपाललाई अवैध कारोबारको परिवहन विन्दुको रूपमा समेत प्रयोग गर्नेगरेको पाइन्छ । विशेषगरी तराईका जिल्लाहरूमा अवैधगाँजा तथा अफिमखेती गर्ने प्रवृत्ति बढ्दै गएको छ भने लागुऔषध तथा मनोद्वीपक पदार्थहरूको अवैध बेचबिखन तथा ओसार पसारका कारण हाम्रासामु बग्रेल्ती चुनौतीहरू देखिएका छन् । त्यसमा पनि अफिमको उत्पादन तथा ओसारपसारको मुख्य केन्द्र मानिएको गोल्डेन ट्रांगल र गोल्डेन क्रेसेन्ट नजिक रहेको नेपालको भौगोलिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय संगठित गिरोहले अवैध कारोबारको पारवाहन विन्दुका रूपमा नेपालको भूमिलाई प्रयोग गर्नेगरेको र भविष्यमा पनि गर्नसक्ने सम्भावना रहेको देखिन्छ ।

नेपालकै सन्दर्भमा भन्नुपर्दा लागुऔषध नियन्त्रणका लागि आपूर्ति नियन्त्रण, माग घटाउ र उपचार एवं पुनर्स्थापनाको रणनीतिक कार्यबाट लागुऔषधको दुरूपयोग रोक्ने कार्यनीति लिएको देखिन्छ । विगत लामो समयदेखिको सरकारी प्रयासलाई हेर्ने हो भने कानुनको कार्यान्वयनबाट आपूर्ति नियन्त्रण गर्ने र निरोधात्मक कार्यक्रमहरूको सञ्चालनबाट लागुऔषधको दुरूपयोग नियन्त्रण गर्ने कार्यलाई बढी र दुर्व्यसनीहरूको उपचार र पुनर्स्थापना कार्यमा कम जोड दिइएको पाइन्छ । यद्यपि सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य सुविधा र आर्थिक हित कायम राख्नका लागि लागुऔषधको खेती, उत्पादन, निर्माण, खरिदबिक्री, सञ्चय, ओसार पसार, सेवन तथा निकासी पैठारी समेतमा नियन्त्रण गर्ने उद्देश्य राखी लागुऔषध (नियन्त्रण) ऐन, २०३३ जारी गरिएको छ भने साथै यस ऐनको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक संगठनात्मक संरचनाहरू पनि निर्माण गरिएका छन् ।

यसैगरी आजभन्दा झण्डै डेढ दशकअघि अर्थात् विसं २०६३ सालमा नै नेपाल सरकारले लागुऔषध राष्ट्रिय नीति, २०६३ पनि जारी गरिसकेको अवस्था छ । लागुऔषधको उत्पादन, सञ्चय, ओसारपसार, बिक्रीवितरण, सेवन आदिलाई नियन्त्रण गर्ने उद्देश्य राखी जारी गरिएको उक्त नीतिको दीर्घकालीन सोच वा उद्देश्य ‘लागुऔषध दुर्व्यसनरहित स्वस्थ र समुन्नत समाजको प्राप्ति’ भन्ने रहेको छ । उपर्युक्त दीर्घकालीन उद्देश्य परिपूर्तिका लागि नेपाल सरकारका गृहमन्त्री वा गृह राज्यमन्त्रीको अध्यक्षतामा एक ‘उच्चस्तरीय लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समिति’ पनि रहने उल्लेख गरिएको छ ।

यसरी लागुऔषध नियन्त्रणजस्तो जटिल प्रकृतिको गम्भीर र संगठित अपराधको नियन्त्रण र अनुसन्धान गर्ने कार्यलाई प्रभावकारी बनाउन सेवा विशिष्टीकरणको अवधारणाअनुरूप नेपाल सरकार, गृहमन्त्रालयको प्रत्यक्ष नियन्त्रणमा रहने गरी लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाइ पनि सन् १९९२ मा नै स्थापना भई कार्यरत छ । त्यसैगरी भारतसँगको मुख्य–मुख्य नाकाहरूमा र त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलमा यस इकाइका शाखा कार्यालयहरू समेत स्थापना भई कार्यरत रहेको बताइएको छ । यस इकाइले लागुऔषधको अवैध खेती, उत्पादन, निर्माण, खरिदबिक्री, सञ्चय, ओसारपसार, निकासी पैठारी, सेवनलगायतका कार्यको नियन्त्रण गर्ने र उक्त अपराधमा संलग्न हुने अपराधीलाई कानुनअनुसार कारबाही चलाउने गर्दछ ।

मुख्य कुरा लागुऔषध आपूर्ति नियन्त्रण गर्ने प्रभावकारी उपाय भनेको यसको उत्पादन गर्ने मुख्य स्रोतलाई नै निर्मूल पार्नु हो । त्यसैले यसका लागि अफिम, गाँजा आदिजस्ता लागू पदार्थ उत्पादन हुने क्षेत्रका बासिन्दाहरूलाई विश्वासमा लिन पनि जनचेतना अभिवृद्धि हुने कार्यक्रम सञ्चालन गर्ने, आय आर्जनका अन्य वैकल्पिक अवसरहरू प्रदान गर्ने अनि यसको उत्पादन र सेवनबाट हुने क्षतिबारे जानकारी दिलाई लागुऔषधको उत्पादन प्रक्रियालाई नै रोकथाम गर्नेतर्फ ध्यान पुग्नु अति नै जरुरी देखिन्छ । तथापि सरकारी प्रयासबाट मात्र लागुऔषध दुर्व्यसनको समस्या समाधान हुने देखिँदैन । यसका लागि अन्य सरकारी एवं गैरसरकारी निकायहरू, विभिन्न राजनीतिक दलहरू, नागरिक समाज, प्रहरी र सञ्चारकर्मीहरू एक आपसमा हातेमालो गर्दै लागुऔषध दुर्व्यसन र अवैध ओसारपसारलाई साझा चुनौती रूपमा लिएर अघि बढ्नु पर्दछ ।

समग्रमा भन्नु पर्दा सिंगो विश्वकै लागि एउटा जटिल र साझा समस्याको रूपमा देखा परिरहेको लागुऔषध समस्या समाधानका लागि लागुऔषधको माग घटाउ, उपचार तथा पुनस्र्थापनाका साथसाथै मुख्य उत्पादन हुने स्रोतको निर्मूलीकरण तथा आपूर्ति नियन्त्रणका सबै उपायहरू लागू गरी कानुनी प्रावधानमा समयानुकूल संशोधन गर्दै ती कानुनहरू कडाइका साथ कार्यान्वयन गरी सामूहिक प्रतिबद्धता साथ अघि बढ्ने हो भने निश्चय पनि लागुऔषध समस्या समाधानमा उल्लेखनीय उपलब्धि हात पार्न सकिनेछ । (लेखक नास्टका सेवा निवृत्त वरिष्ठ प्रवद्र्धन अधिकृत हुन् ।) 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया