Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालमा पर्यटनको विकास : समस्या र समाधानको उपाय

नेपालमा पर्यटनको विकास : समस्या र समाधानको उपाय


काठमाडौं । संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने एउटा माध्यम पर्यटन पनि हो र पर्यटनलाई बढावा दिने मुख्य साधन यातायात हो । यातायातविना पर्यटन विकासको कल्पनै गर्न सकिँदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी राष्ट्रहरूमा विकासको गति अत्यन्त मन्द हुन्छ । यस्ता राष्ट्रहरूमा यातायातका स्थलसाधनहरू विकट पहाडी क्षेत्रहरूमा पु-याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ । त्यसैले त्यस्ता क्षेत्रहरूमा हवाइ साधनको व्यवस्था गर्नु आवश्यक पर्दछ । तर हवाइ साधनको व्यवस्था गर्नु पनि महँगो पर्दछ । नियमित उडान गराउन विविध समस्याका कारणले गर्दा अत्यन्त कठिन हुने भए पनि त्यस्ता राष्ट्रहरूमा स्थल यातायातभन्दा हवाइ यातायात नै चाँडै व्यवस्था गर्न सकिन्छ ।

नेपालको भूधरातललाई दृष्टिगत गर्दा हवाइ यातायातलाई पर्यटन प्रवर्द्धनका लागि प्रयोग गर्नु हाम्रो आवश्यकता र चुनौती दुवै हो । यसका लागि सरकारी नियन्त्रणको नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम)लाई सबल बनाउनु प्रथम कर्तव्य हुन आउँछ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नु मात्र होइन, यातायातको सुविधा नभएका ठाउँहरूमा उपभोग्य वस्तुको ढुवानी गर्नु पनि हवाइ सेवाको कर्तव्य हो ।

अत्यन्तै न्यून भू–भाग मात्र सुगम र अत्यधिक भू–भाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउँहरूमा समेत यातायात सेवा पु¥याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरैजसो स्थानहरू यातायातको सुविधाबाट वञ्चित रहेका छन् । धेरैजस्तो जिल्लाहरूमा त सडकले छोएको समेत छैन । यो स्थिति राष्ट्रकै लागि लाजलाग्दो कुरा हो । विकासको गतिलाई तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउँहरूमा यातायातको विस्तार गर्नु अत्यावश्यक देखिन्छ । हिमाली प्रदेशमा राजमार्गको निर्माण गर्नुपर्ने प्रस्ताव भर्खरै आएको छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जनपरिचालन हुने हो भने यो काम कठिन र असम्भव हुँदै होइन । नेपालको पर्यटन–विकासमा यातायातका यस्ता पक्षहरूले अहम् भूमिका खेल्न सक्छन् ।

एकातिर नीति निर्माणतहमा रहेका व्यक्तिहरूको अदूरदर्शिताको कारणले गर्दा आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकहरूले समुचित सेवा पाउन सकिरहेका छैनन् भने अर्कातिर नेपालभित्रको आन्तरिक राजनीतिक द्वन्दबाहेक सिधा बाटो नपाएर पनि विदेशी पर्यटकहरू नेपाल आउन पाइरहेका छैनन् ।

तर अहिले परिस्थिति केही फेरिएको र राजनीतिक परिस्थिति पनि केही सङ्लो भएकोले अब पर्यटकहरूको संख्यामा उल्लेख्यरूपमा वृद्धि हुने आशा सबैमा पलाएको छ । नेपाल वायुसेवा निगमले करिब पाँच वर्षअघिदेखि दुबई उडान थालेको र विश्वका ठूला–ठूला वायुसेवा निगमहरूले उडान गर्ने दोहा, दुबई र रियादसँग सिधा हवाइ सम्पर्क भएकोले युरोप र अमेरिकाका पर्यटकहरू नेपाल आउन सजिलो भएको हुँदा पर्यटकहरूको संख्यामा उल्लेख्य रूपमा वृद्धि हुने आशा पलाउनु पनि स्वाभाविकै हो । खाडी राष्ट्रहरूमा काम गरिरहेका करिब १० लाख नेपाली मजदुरहरूको आवतजावतमा पनि यो उडानले सुविधा पु¥याएको छ । दुबई, रियादसँग सिधा हवाइ सम्पर्क भइरहेको कारणले गर्दा विदेशी पर्यटकहरूले भारत हुँदै नेपाल आउनुपर्ने बाध्यता पनि हट्न गएको छ । निगमले आफ्नो ध्वजावाहक विमानहरूको संख्यामा बढोत्तरी गरेर नियमित उडान सेवा गरेर राष्ट्रका लागि यसलाई ठूलो उपलब्धि मान्नुपर्छ ।

हाम्रोजस्तो हिमालै हिमाल र पहाडै पहाडले भरिएको मुलुकमा विदेशी पर्यटकहरूलाई भित्र्याउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्नसक्नु हाम्रो प्रमुख कर्तव्य हो । यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम नै हवाइ सेवा हो । पर्यटन–उद्योग नै देश विकासको मेरुदण्ड भएको हुनाले र पर्यटन–उद्योगको विकास हवाइ सेवाको क्रियाकलापमा नै निर्भर रहेको हुनाले यसको उचित संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । अनि मात्र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न हामीलाई सजिलो पर्नेछ ।

पर्यटन–व्यवसायका लागि सबैभन्दा ठूलो वरदान बनेको हवाइ सेवाले, विश्वलाई साँगुरो पार्दै लगी एउटा सानो गाउँमा परिणत गराउन अहम् भूमिका खेलेको छ । यसैले गर्दा विश्वमा हवाइयात्रुहरूको संख्यामा क्रमशः बढोत्तरी भइरहेको छ । अहिले प्रत्येक वर्ष लाखौँ व्यक्तिहरूले आन्तरिक हवाइ यात्रा गरिरहेका छन् । हवाइ सेवाकै कारणले पर्यटनलगायत सबै मुख्य बजारले उच्च वृद्धि हासिल गरेको छन् भने चीन, हङकङ, इटाली र जर्मनीले आफ्ना उत्पादनहरू दोब्बरकै संख्यामा वृद्धि गरिसकेको छन् । विश्व–पर्यटन बजारको आम्दानीमा वृद्धि भई आठ सय अर्ब डलरको हाराहारीमा पुगिसकेको छ । दक्षिण एसियाले कुल आम्दानीको नेपालले १ प्रतिशत मात्र पाउन सके पनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्य वृद्धि भएको छ । चीनले पनि उल्लेखनीय वृद्धिको अभिलेख राखिसकेको छ ।

नेपालले पनि हवाइ सेवाबाट आय–आर्जन गर्न त गरिरहेको छ, तर कमिसनतन्त्र, राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापनको अभावको कारणले गर्दा अपेक्षित लाभ लिन सकिरहेको छैन । विदेशी पर्यटकहरूको संख्यामा गिरावट आई भारतबाट नेपाल आउने पर्यटकमा समेत प्रशस्त संख्यामा कमी आइदिएकाले पनि नेपाललाई केही समस्या देखापरेको छ । अहिले न्यूनतम विदेशी मुद्रा मात्र पर्यटन–व्यवसायबाट नेपालले आम्दानी गर्नेगरेको छ ।

२० वर्षअघिदेखि हवाइयात्रुहरूको संख्या विश्वमा नै बढिरहेको छ । हवाइयात्रुहरूको संख्या बढेपछि सडकयात्रुहरूको संख्याचाहिँ घटिरहेको छ । सडकयात्राले भन्दा हवाइयात्राले पर्यटकलाई बढी सुविधा दिएको कारणले यस्तो भएको हुन सक्छ । हवाइयात्राको प्रतिशत लगातार बढिरहेझैँ सडकयात्राको प्रतिशतचाहिँ लगातार घटिरहेछ । हवाइ यातायताका क्षेत्रमा यो शुभसंकेत हो । युरोपबाहेक अरु सबै क्षेत्रको पर्यटक–परिवहनमा हवाइ यातायातको प्रयोग ५० प्रतिशतभन्दा बढी नै हुनेगरेको छ ।

विश्वभरका मूल १ दशमलव ७ अर्ब पर्यटकहरूले हवाइयातायातमार्फत आफ्नो यात्रा तय गर्ने गरेको अभिलेख छ । उता एसिया र प्रशान्त क्षेत्रका हवाइसेवाहरूले आफ्नो परिवहनक्षमता विगतको तुलनामा झन्डै १० प्रतिशतले बढाएका छन् । यिनलाई ७५ प्रतिशतको विश्वव्यापी अनुमानको भन्दा अलि बढी नै अर्थात् ८० प्रतिशत यात्रुभार प्राप्त भइरहेको छ ।

विश्वको हवाइ यातायातको विकासको क्रमसँगसँगै हवाइ यात्राको लागत कम गर्ने पद्धतितिर पनि ध्यान दिन थालिएको छ । आगामी दिनहरूमा हवाइसेवा र पर्यटनमा अरु चाप थपिई चर्को प्रतिस्पर्धा हुने स्थिति भएकोले लागत कम गर्नेतर्फ ध्यान जान थाल्नु स्वाभाविक पनि हो ।

हवाइ यातायातका क्षेत्रमा नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङ ७७७ र एयरबस ३३० सम्म उत्रिने समेत क्षमता भइसकेको हुँदा अब बढ्दो परिवहन धान्न विमानस्थलहरूको आफ्नो धारकक्षमतालाई पनि अझै वृद्धि गर्नुपर्ने भएको छ । यसका साथसाथै द्रुत टिकेटिङ र उच्च अनुगमनको सुविधा पनि पूरा गर्नुपर्ने भएको छ । पर्यटकीय कागजातको द्रुत व्यवस्थापनको जरुरी समेत पर्ने भएको छ । इन्टरनेटको व्यापक प्रयोग गरी समयानुकूल हुनु पनि आवश्यक छ भने ट्राभल एजेन्टहरूले टेकिङ एजेन्सीहरू वैकल्पिक वा इच्छाधीन सेवाहरूको पर्याप्तताले गर्दा सोहीअनुरूप यात्रुहरूले पनि बढी मोलाहिजा र बार्गेनिङ गर्ने हुनाले त्यसप्रतिको भूमिका पनि साँच्चै महत्वपूर्ण हुने हुरा स्पष्टै छ ।

नेपालको पर्यटन–व्यवसायलाई अग्रगति दिनका लागि नेपाल वायुसेवा निगम, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजीस्तरका हवाइ–कम्पनीहरू तथा विभिन्न ट्राभल एजेन्सी, टेकिङ एजेन्सी, नेपाल पर्वतारोहण संघ, यातायात व्यवसाय र होटलहरूको महत्वपूर्ण भूमिका रहेको कुरामा कुनै शंका छैन । अन्य विभिन्न संघसंस्थाहरूको पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सम्बन्ध रहेको छ । तर सम्बन्धित सम्पूर्ण निकायहरूका बीचमा आवश्यक समन्वय र सामन्जस्य हुन नसक्ता त्यसले पर्यटन–व्यवसायलाई असर पारेको छ र अस्वस्थ प्रतिस्पर्धाको कारणले आप्mनो लक्ष्यप्राप्तिका लागि कठिनाइ भइरहेको छ ।

परिस्थिति यसरी अघि बढ्दै गइरहेको भए पनि अस्वस्थ प्रतिस्पर्धाले गर्दा हवाइसेवाकै क्षमता घटाएको अनुभव पनि गर्नुपरेको छ । लागतको तुलनामा गुणस्तरीय सेवा घट्दै गइरहेको अनुभव पनि हुन थालेको छ । आन्तरिक सेवा–अपरेटरहरूले गठबन्धनतर्फ ध्यान नपु-याएकाले यो समस्या खडा भएको भनाइ सम्बन्धित विज्ञहरू व्यक्त गर्न थालेका छन् । युक्तिसंगत र राम्रो वित्तीय नीति लिएर द्वेष र दम्भलाई हटाउने हो भने तथा अनियमितताले कुनै अस्तव्यस्तता नल्याओस् भन्ने हेतुले सम्बन्धित सरकारहरूले आकाशमा नियम लगाउने हो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ भन्ने खालका सुझावहरू सम्बन्धित सरकारहरूलाई दिन थालिएको पनि छ ।

सरकारी नीतिनिर्धारण गर्नेहरू, चालकदल, हवाइ–कम्पनीमा काम गर्ने कर्मचारीहरू, हवाइ–कम्पनीका मालिकहरू, सरकारी निगमको व्यवस्थापन पक्षसँग सम्बन्धित व्यक्तिहरू र उड्डयनसँग सम्बन्धित व्यक्तिहरूका दृष्टिकोणहरूमा समन्वय र सामन्जस्य ल्याउन नसकेसम्म र राष्ट्रिय हितमा ती सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक र बाह्य दुवै पर्यटनको एवं पर्यटन–व्यवसायको समेत भविष्य उज्वल बनाउन अत्यन्त कठिन पर्ने कुरामा कुनै विवाद हुन सक्तैन ।

नेपालको अधिकांश भू–भाग पहाड र पर्वतले भरिएको छ । त्यसैले यहाँ उड्डयनको विशेष महत्व छ । नेपालमा हाल ६० वटा विमानस्थलहरू छन् र तीमध्ये २५ वटा विमानस्थलको कालोपत्र भइरहेको छ र अन्य ३५ वटा कच्ची विमानस्थलहरू छन् । रातिको समयमा पनि उडान भर्नसक्ने सातवटा विमानस्थलहरू छन् । ती सबै विमानस्थलहरूलाई संरक्षण गरेर समुचित ढंगले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटन क्षेत्रलाई धेरै फाइदा पु¥याउनेछ । आगामी दिनहरूमा नेपालमा विदेशी पर्यटकहरूको संख्या बढ्ने कुरा निश्चितप्रायः भएकाले विमानस्थलहरूलाई जुनसुकै समयमा पनि प्रयोग गर्न सकिने स्थितिमा राखिरहनु आवश्यक छ ।

नेपालमा पूर्णरूपले व्यवस्थित अन्तर्राष्ट्रिय विमानस्थल हुनु अत्यन्त आवश्यक भइसकेको छ । पोखरा विमानस्थल जतिसक्दो चाँडो चालू गर्नुपर्दछ । त्यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्तै वा वैकल्पिक विमानस्थल नभएर एउटा स्वतन्त्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्दछ ।

Open photo

अर्कातिर नेपाल वायुसेवा निगमले पर्यटकहरूको कमी हुने जुनसुकै मुलुकसँग द्विपक्षीय हवाइ–सम्झौता गर्नुको सट्टा पर्यटकहरू बढी हुने मुलुकहरूसँग बढी सम्बन्ध विस्तार गर्ने हो भने ४० वटा मुलुकको सट्टा त्योभन्दा कम मुलुकसँग भएको द्विपक्षीय हवाइ–सम्झौताले पनि नेपालको पर्यटन–व्यवसायलाई ठूलो टेवा पुग्नेछ ।

नेपालका बारेमा समाचारहरू सम्प्रेषण गर्दा नवीन पद्धतिअनुरूप आकर्षक रूपबाट विदेशीहरूलाई समाचार–सम्प्रेषण गर्नु आवश्यक छ । विदेशमा रहेका निगमका कार्यालयहरूको व्यवस्थापन र अन्य पक्षमा कुनै कमजोरी रहेका छन् भने तिनलाई सुधार गरेर ती कार्यालयहरूमार्फत निगमले पर्याप्त मात्रामा प्रचारप्रसार गर्ने र नेपालका विषयमा उचित र जानकारीमूलक समाचारहरू सम्प्रेषण गर्न पनि सकिन्छ । ती कार्यालयहरूको प्रभावकारी भूमिकाबाट पनि नेपालले प्रशस्त वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ । नेपालभित्र आउने अन्य विदेशी एयरलाइन्सबाट करिब ८० अर्ब रकमको कारोबार गर्दछ भने नेपाल वायुसेवा निगमले चार–पाँच अर्ब मात्र कारोबार गर्दछ नेपालले कमाउने रकम सबै अन्य एयरलाइन्सहरूले कमाउने गर्दछ । यसमा सरकारले ध्यान दिएको देखिँदैन । सिट कुर्सीको लागि र आफ्नो स्वार्थको लागि यो देश ओरालो लागिसक्यो, त्यही पनि राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरूको एकचोटी देशलाई पनि बनाउनेतिर लाग्नु, सरकारले पर्यटन–उद्योगलाई मुलुकमा अन्य उद्योगहरूसरह प्रेरणा, न्यायिक सुरक्षा र सुविधा उपलब्ध गराई पूर्ण मान्यता दिनुपर्छ एवं निजी क्षेत्रसँगको कार्यगत सम्बन्ध सुदृढ बनाउँदै सरकारले मुलुकमा सर्वसाधारण जनता, उद्योग एवं पर्यटन क्षेत्रमा शान्तिसुरक्षाको प्रत्याभूति दिनुपर्छ । पर्यटनसँग सम्बद्ध व्यावसायिक सेवालाई प्रस्टरूपले परिभाषित गरी एक–अर्काको क्षेत्रमा अनधिकृतरूपमा गर्ने गरेका व्यावसायिक क्रियाकलापहरूको अविलम्ब अन्त्य गराउनेतर्फ पनि सरकारले संवेदनशील हुनु आवश्यक छ ।

नेपालभित्र रहेका गन्तव्य स्थलहरूमध्ये सम्बन्धित व्यवसायीहरूबाट समुचित सम्भाव्यता अध्ययन गराई नयाँ गन्तव्यस्थलहरूको प्रतिवेदन तयार पारी तिनलाई प्रचार–प्रसार गराउने हो भने त्यसले पनि धेरै फाइदा पु¥याउनेछ । पर्यटन प्रवर्द्धन गर्दा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई मात्र होइन, क्षेत्रीय प्रतिस्पर्धालाई पनि ध्यान दिँदै तदनुरूपको नीतिनिर्माण गर्नुका साथै अन्य सम्भावित मुलुकहरूमा बजार–प्रवर्द्धन गर्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरूप एवं सुविधाको विकासका लागि अविलम्ब उपयुक्त कदमहरू चालिनुपर्छ र खुला आकाशनीतिलाई कागजमा मात्र सीमित नराखी नियमित उडानहरूलाई प्राथमिकता दिई थप सुविधा र सहुलियत प्रदान गरिनुपर्छ ।

आन्तरिक हवाइ–उडानमा यात्रुहरूको सुरक्षाको प्रत्याभूति दिनुका साथै निजी क्षेत्रबाट सञ्चालन हुने हवाइ–कम्पनीहरूलाई थप इजाजत दिनेतर्फ नियन्त्रण गर्ने तर यसका लगि समयानुकूल, दिगो र दीर्घकालीन परिप्रेक्ष्यमा राष्ट्रिय पर्यटननीति बनाउनु अपेक्षित छ । निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूको समानुपातिक प्रतिनिधित्वका आधारमा उच्चस्तरीय अधिकारसम्पन्न पर्यटन बोर्ड गर्नु र नेपाल पर्यटन बोर्डसँग त्यसले सामन्जस्य राखी काम गर्नु पनि आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया