Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगके नेपालको शिक्षा नै कमजोर हो ?

के नेपालको शिक्षा नै कमजोर हो ?


काठमाडौं । नेपालबाट वर्षेपिच्छे लार्खौँ नेपाली विद्यार्थीहरु उच्चशिक्षा हासिल गर्न बाहिरी मुलुक जान्छन् । नेपालबाट एक वर्षमा नेपाली विद्यार्थीहरु अध्ययन गर्न जाँदा ६५ अर्ब नेपाली मुद्रा बाहिरी मुलुकमा जाने गर्छ । त्यस्तै गरी नेपालमा रहेका दक्ष तथा सक्षम नागरिकहरु पनि बाहिरी मुलुकहरुले लैजाँदै आइरहेको छ । यसरी नेपालबाट विद्यार्थीहरु पढ्न भनेर अस्ट्रेलिया वा अमेरिका जाँदा १५ देखि २० लाख नेपाली मुद्रा लैजाने गर्छन् । जुन पैसा प्लेन, कन्सल्टेन्सी र त्यहाँ पढ्नका लागि पहिला नै बुझाउनुपर्ने हुन्छ ।

विद्यार्थीहरु पहिला उच्चशिक्षा हासिल गर्ने भनेर जान्छन् तर त्यहाँ गएपछि उनीहरु नेपाल फर्किँदैनन् । उनीहरु त्यहाँ आफ्नो घरपरिवारलाई नै सँगै लग्छन् र नेपालमा भएको आफ्नो पुख्र्यौली सम्पत्ति पनि सबै बेच्छन् । नेपाली विद्यार्थीहरु पढ्न भनेर जाँदा नेपाली जनताको रुपमा जान्छन् तर फर्किँदा विदेशी पाहुनाका रुपमा आउने गर्छन । नेपालका लाखौँ दक्ष जनशक्तिहरु बाहिरी मुलुक यसरी गर्दा यसले देशको अर्थतन्त्रमा क्षति पुग्नेछ ।

नेपाल सरकारले यसरी आफ्नो देशको दक्ष जनशक्तिलाई विकासित मुलुकहरुमा पठाउँदा यसले देशको विकासमा प्रभाव परिरहेको छ । सरकारले अब नेपाली विद्यार्थीहरुलाई बाहिरी मुलुकमा शिक्षाका लागि भनेर पठाउन रोक्नुपर्छ । शिक्षा मन्त्रालय र शिक्षा विभागले अब अस्ट्रेलिया र अमेरिका पढ्न जाने विद्यार्थीहरुलाई रोक्नुपर्छ । पहिला पढ्न भनेर गएका विद्यार्थीहरु अस्ट्रेलिया र अमेरिकामा ग्रीनकार्ड पाएर त्यहाँ नै आफ्नो सम्पूर्ण घरपरिवार लगेर बस्ने गर्छन् । उनीहरु आफ्नो आमाबुबाको साथसाथै पुर्ख्यौली सम्पत्ति पनि बेचेर जाने गर्छन् ।

यसरी नेपाली सम्पत्ति बेचेर ९० अर्बभन्दा बढी नेपाली पैसा विदेशमा वर्षेनी गइरहेका छ । अमेरिका र अस्ट्रेलियाले नेपालको दक्ष जनशक्ति र नेपाली मुद्रा लगेर नेपालको अर्थतन्त्रलाई धराशायीमा पु-याउने काम गरिरहेको छ । अब नेपाल सरकारले यी देशले नेपालमाथि गरेको राजनीति बुझ्न निकै जरुरी रहेको छ, होइन भने नेपालको अर्थतन्त्र नाजुक हुनेछ । सरकारले उच्चशिक्षा हासिल गर्न भनेर जाने विद्यार्थीलाई रोक लगाउनुपर्छ र खाडी मुलुकमा गएका नेपाली नागरिकहरुलाई प्रोत्साहन दिनुपर्छ । जति पनि खाडी मुलुकमा गएका नेपाली नागरिकहरु छन् उनीहरु पैसा पनि कमाउँछन् र स्वदेश पनि फर्किन्छन् तर अमेरिका , अस्ट्रेलिया जाने मानिसहरु पैसा पनि पठाउँदैनन् र आफ्नो जन्मभूमि पनि फर्किँदैनन् । बरु उनीहरु अमाबुबा र पुर्ख्यौली सम्पत्ति नै बेचेर जाने गर्छन् । अहिले नेपालमा एउटा चलन चलेको छ ।

अहिले प्रायजसो नेपाली विद्यार्थीहरु कक्षा १२ पास गरेपछि उच्चशिक्षा हासिल गर्ने भनेर अमेरिका तथा अस्ट्रेलिया जाने गर्छन् । यसले गर्दा नेपालले आफ्नो दक्ष जनशक्ति गुमाइरहेको छ । के अमेरिका र अस्ट्रेलियाको शिक्षाभन्दा नेपालको शिक्षा कमजोर हो । नेपालमा पनि निजी तथा सरकार कलेजहरु रहेका छन् । अमेरिका र अस्ट्रेलियामा २० लाख रुपैयाँ खर्च गरेर जानुभन्दा नेपालमै सानो व्यवसाय गर्ने हो भनी राज्यले राजस्व पाउँछ, नेपाली मुद्रा बाहिरी मुलुकमा जाँदैन र देशको अर्थतन्त्र पनि मजबुत हुन्छ । एउटा व्यवसाय सञ्चालन गरेपछि नेपालमा रहेका धेरै बेरोजगारहरुले रोजगार पाउँछन् र आफ्नै देश र परिवारसँग पनि बस्न पाइन्छ ।

यदि सरकारले नेपाली विद्यार्थीहरु अमेरिका र अस्ट्रेलिया जानबाट रोक्ने हो भने यसले गर्दा जनता र राज्य दुवैलाई फाइदा हुनेछ । अहिले अस्ट्रेलिया तथा अमेरिका गएका नागरिकहरु नेपाल नफर्किदा नेपालमा भएका उनीहरुका आमाबुबालाई कि सरकारले हेनुपर्ने वा बिचल्ली भइरहेको छ । विदेशमा छोराछोरी भएका आमाबुबाहरु बुढेसकालमा छोराछोरीहरु सँगै नहुँदा बेकारमै अमेरिका र अस्ट्रेलिया पठाएको भनेर भन्ने गर्छन् । अहिले जति पनि अमेरिका, अस्ट्रेलिया गएका नेपाल नागरिकहरु रहेका छन् उनीहरुको देश विकासमा केही पनि योगदान रहेको छैन । नेपालबाट खाडी मुलुकहरुमा काम गर्न गएका मानिसहरुको मात्र देश विकासमा योगदान गरिरहेको पाइन्छ । उच्चशिक्षा हासिल गर्ने भन्दै पहिला अमेरिका, अस्ट्रेलिया जाने अनि त्यहाँ पुगेपछि आफ्नो स्वदेशलाई नै बिर्सने गर्छन् यिनीहरुलाई आफ्नो जन्मभूमि र आमाबुबाको केही चासो छैन । नेपालमा अहिले रेमिट्यान्स पठाउनेमा सबै खाडी मुलुकमा काम गर्न गएका नेपाली नागरिहरु रहेका छन् ।

सरकारले जनतामाथि शिक्षामा नै भेदभाव गरिरहेको छ । धनी मानिसहरुले आफ्नो छोराछोरीहरु महँगो तथा निजी विद्यालयमा पढाउँछन् जसले गर्दा राम्रो पढाइ हुनेबित्तिकै उनीहरु अस्ट्रेलिया तथा अमेरिका जाने गर्दछन् । निजी विद्यालयहरु विद्यार्थीका लागि अमेरिका, अस्ट्रेलिया जाने एउटा कारकाखना बनिरहेको छ । निजी विद्यालयमा पढेका विद्यार्थीहरुमा पढाइमा राम्रो हुन्छन् र अमेरिका तथा अस्ट्रेलियाजस्ता देशहरुले पनि त्यस्ता विद्यार्थीहरुलाई भिसा दिई नै हाल्छ । तर जो अभिभावकहरु आर्थिक कमजोरीका कारण आफ्नो बालबच्चालाई सरकारी विद्यालयमा पढाउँछ । ती विद्यार्थीहरुको पढाइ कमजोर हुन्छ । यदि पढाइ राम्रो भए पनि फिस तिर्न नसकेर पढाइ छोड्न लगाउँछन् । त्यसैले गर्दा सरकारी विद्यालयमा पढेका विद्यार्थीहरु कि निजी कार्यालयमा काम गर्छन् कि आर्मी तथा प्रहरीमा भर्ती हुन्छन्  ।

कैयौँ मानिसहरु १६ वर्ष पुग्नेबित्तिकै नागरिकता बनाएर कामका लागि खाडी मुलुक जाने गर्छन् । तर निजी विद्यालयमा पढेका विद्यार्थीहरु अस्ट्रेलिया, अमेरिको जाने गर्छन् । सरकारी विद्यालयमा पढेर नेपालमा नै काम गर्नेले राज्यलाई कर तिर्छ, आफ्नो परिवार बिरामी भएको समयमा हेरचाह गर्छ । तर अस्ट्रेलिया, अमेरिका गएका मानिसहरुले न राज्यलाई नै कर तिर्छ न आफ्नो आमाबुबा नै हेर्छ बरु नेपालमा भएको आफ्नो पुर्ख्यौली सम्पत्ति पनि बेचेर लैजान्छ । त्यस्तै गरी सरकारी विद्यालयमा पढाउने शिक्षकशिक्षिकाहरु राननीतिक दलको झोला बोक्ने, विद्यालयलाई राम्रो शिक्षा नदिने, जनताले तिरेको करबाट तलबभत्ता खाने र विद्यालयमा विद्यार्थीको लागि आएको बजेट पनि भ्रष्टचार गर्नेजस्ता गर्छन् । त्यस्तै यता निजी विद्यालयमा पढाउने शिक्षकशिक्षिकहरुलाई कम तलब दिने तर निजी विद्यालयमा पढ्ने विद्यार्थीको अभिभावकसँग पैसा भनी धेरै लिने गर्छन् । यता निजी विद्यालय तथा कलेजमा पढेका विद्यार्थीहरु नेपाल बस्न नरुचाउने र सेवासुविधाको खोजीमा विकसित मुलुकतिर लाग्ने गर्छन् ।

नेपालमा पछिल्लो समय अस्ट्रेलिया, अमेरिका गएका छोराछोरीहरुको अभिभावकहरु आफन्त तथा छिमेकीसामु निकै शान देखाउने गर्छन् । उनीहरु आफ्नो छोराछोरी अस्ट्रेलिया, अमेरिका गएर नेपालको लागि धेरै योगदान गरेको जस्तै गर्छन् । आज ती अभिभावकहरुले आफ्नो छोराछोरीलाई बाहिरी मुलुकमा पढ्नका लागि नपठाएको भए नेपालको अर्थतन्त्र यति नाजुक हुने थिएन होला । पछिल्लो समय अमेरिका, अस्ट्रेलियामा आफ्नो छोराछोरी भएका आमाबुबाहरु नेपालमा छिमेकी तथा आफन्तसँग मेरो छोराछोरीले अमेरिका, अस्ट्रेलियामा घरगाडी किन्यो आदि भनेर सुनाउने प्रवृत्ति बढिरहेको छ ।

अमेरिका र अस्ट्रेलियाको सरकारले नेपालीहरुले त्यहाँ कमाएको पैसा नेपाल ल्याउन नदिई त्यहीँ खर्च गर्न लगाउने तर नेपाली मुद्र्रा भने सबै लैजाने काम गरिरहेको छ । तर खाडी मुलुकमा गएका मानिसहरुले नेपालमा नै पैसा पठाउँछन् जसले गर्दा नेपालमा खाडी मुलुकमा गएका मानिसहरुको योगदान देखिरहेको छ । अहिले राज्यलाई खाडी मुलुकमा गएका मानिस रेमिट्यान्स पठाएर योगदान गरिरहेको छ । यता कन्सल्टेन्सीहरुले कमिसन खाएर अमेरिका, अस्ट्रेलिया पठाउने गर्छ भने उता खाडी मुलुक पठाउने मेनपावरले पनि जनताहरुलाई ठग्ने गर्छ । अब सरकारले उच्चशिक्षाका लागि जाने भनेर गएका विद्यार्थीहरुलाई रोक्नुपर्छ ।

यसमा सरकारको ध्यान छिटोभन्दा छिटो जान जरुरी रहेको छ । किनभने सरकारले अब पनि यसरी नेपालको दक्ष जनशक्तिलाई अस्ट्रेलिया, अमेरिका पठाउने हो भने नेपालमा एउटा पनि दक्ष जनशक्ति रहने छैनन् । अब सरकारले कानुन नै बनाएर यसलाई रोक्नुपर्छ । यसरी शिक्षा हासिल गर्न भनेर गएका विद्यार्थीहरु त्यहाँ नै आफ्नो परिवार बसाई बस्ने गर्छन् । अहिलेसम्म जति पनि नेपाली विद्यार्थी तथा नागरिकहरु अमेरिका तथा अस्ट्रेलिया गएका छन् ती सबैलाई राज्य र घरपरिवारले गुमाइरहेका छन् । यसरी नेपाली विद्यार्थीहरु नेपालको पढाइ राम्रो छैन भनेर वर्षेनी लार्खौँ विद्यार्थीहरु बाहिरी मुलुकमा उच्चशिक्षा हासिल गर्न जानु भनेको त नेपालको शिक्षामाथि नै प्रश्न उठ्ने कुरा होइन र ? 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया