Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगउकालो लाग्दै कोरोनाको चौथो लहर

उकालो लाग्दै कोरोनाको चौथो लहर


काठमाडौं । मुलुकभर सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको छ । गत साउन १ गते एक हजार चार सय ३९ जना भएका सक्रिय सङ्क्रमित १७ दिनमा बढेर पाँच हजार एक सय ४४ पुगेका छन् । त्यस हिसाबले हेर्ने हो भने कोरोना संक्रमणको दर काठमाडौं र ललितपुरमा सबैभन्दा धेरै रहेका छन् । यसको साथसाथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ साउनमा देशभरमा गरी १८ जना आईसीयूमा उपचाररत थिए । फलतः मन्त्रालयको तथ्यांकअनुसार १५ साउनमा देशभरका अस्पतालमा उपचाररत एक सय ४३ संक्रमितमध्ये ३३ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा छन् । जसमध्ये २९ जना काठमाडौंका अस्पतालहरूमा छन् । ओमिक्रोन भेरियन्टले दीर्घरोगीलाई बढी समस्या भएको सम्बन्धित क्षेत्रले जनाएको छ । यसरी खोप नलगाएका र जटिल दीर्घरोग भएका मानिस कोरोना संक्रमणपछि अस्पतालमा भर्ना गर्नुपरेको पाइएको छ ।

विश्वव्यापी रूपमा कोरोना फैलिएको साढे दुई वर्ष नाघ्न लागिसकेको छ भने हाम्रो देशमा भने पहिलो पटक ९ माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । देशमा सर्वप्रथम १ जेठ २०७७ मा नेपालमा कोरोना भाइरसले सिन्धुपाल्चोक बाह्रबीसेकी २९ वर्षकी सुत्केरीको पहिलो ज्यान लिएको थियो । हालसम्म आइपुग्दा ११ हजार नौ सय ६६ जनाको मृत्यु भएको छ । मूलतः देशमा अहिले कोरोनाको चौथो लहरको सुरुवात भइरहेको छ । यसर्थ स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पहिलो लहर २०७६ चैतदेखि २०७७ मंसिरसम्म चलेको थियो । त्यसैगरी, दोस्रो लहर २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म चलेको थियो ।

हालसम्म ११ लाख २९ हजार दुई सय २९ संक्रमित भइसकेका छन् । यसरी अहिलेसम्म सबैभन्दा बढी ६० देखि ६९ वर्षसम्मका मानिसको बढी मृत्यु भएको छ । मन्त्रालयको तथ्यांकअनुसार उक्त उमेरसमूहका दुई हजार पाँच सय सात जनाको मृत्यु भएको छ । त्यसैगरी, ७० देखि ७९ उमेरसमूहका दुई हजार तीन सय ८८, ५० देखि ५९ वर्षका दुई हजार तीन सय एक, ८० वर्षभन्दा माथिका एक हजार छ सय ३९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै, ४० देखि ४९ वर्र्षसम्मका एक हजार छ सय ६५, ३० देखि ३९ उमेर समूहका नौ सय ६५, २० देखि २९ वर्र्षका तीन सय ८०, १० देखि १९ वर्र्षका ५७, नौ वर्र्षमुनिका ५१ बालबालिकाको मृत्यु भएको थियो । १३ जनाको भने उमेरसमूह खुलेको छैन ।

विगतमा देशमा भएको कोरोना महामारीको कारणले गर्दा र यसबाट पाठ सिकेर यस उपचारको पूर्वाधार संख्यामा केही वृद्धि गरी देशभर हालसम्म आठ हजार दुई सय दुई आइसोलेसन बेड, तीन हजार आठ सय ४६ एचडीयू, दुई हजार सात सय ९७ आईसीयू र एक हजार आठ भेन्टिलेटर छन् । त्यसैगरी, १८ हजार दुई सय ९९ अक्सिजन सिलिन्डिर, छ सय १३ अक्सिजन कन्सन्ट्रेटर र एक सय ३२ अक्सिजन प्लान्ट रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी अहिलेसम्म मुलुकमा चार करोड ९४ लाख २५ हजार एक सय १३ मात्रा खोप लगाइएको छ । त्यसमध्ये दुई करोड १५ लाख ५६ हजार ९१ जनाले एक मात्रा, दुई करोड पाँच लाख ९२ हजार एक सय जनाले पूर्ण मात्रा र ७२ लाख ७६ हजार नौ सय २२ जनाले अतिरिक्त मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले पनि देशमा करिब ३० लाखले एक मात्रा पनि खोप लगाएका छैनन् । यसर्थ खोपसम्बन्धी जानकारी लिने र संक्रमणविरुद्ध यो आवश्यक छ भन्ने महसुस नगरुञ्जेल यसबाट हुने मृत्युबाट जोगाउन सकिँदैन । मुलुकमा खोप अभाव भएको होइन । खोप खेर जाने अवस्था रहेको समेत देखिएको छ । यस्तो स्थितिमा अधिकांश नागरिकलाई खोप लगाउन सरकारको ध्यान जानु आवश्यक छ । हाल देशमा तीन तहको सरकार छ । त्यसमा पनि स्थानीय तहको सरकार भर्खरै आएको अवस्था छ र काम पनि थालिसकेको छ । यसको अलावा घर–घरको जानकारी लिएर स्थानीय सरकारले खोप नलगाउने जनसंख्यालाई यसका निम्ति प्रेरित गर्नु आवश्यक देखिएको छ ।

अझै पनि प्रत्येक घरमा कोही न कोही मानिस खोप लगाउनबाट छुटेका छन् । तर यो जनसंख्या व्यवस्थापन गर्न सकिने किसिमको छ । त्यति मात्र होइन, खोप लगाउन नचाहने जनसंख्या कुनै न कुनै रूपमा मिथ्या सूचनाबाट समेत प्रभावित भएका छन् । अतः कोरोना भाइरसको लक्षण देखा परेपछि विश्वका शक्तिशाली राष्ट्रका वैज्ञानिक, अनुसन्धानकर्ता भाइरसविरुद्धका खोप पत्ता लगाउन लागिपरिरहे । यद्यपि भाइरसलाई पूर्ण नियन्त्रण गर्नसक्ने भ्याक्सिन निर्माण गर्न हालसम्म पनि नसके पनि प्रभावलाई कम गर्नसक्ने भ्याक्सिन विभिन्न राष्ट्रले निर्माण गरे । सोहीअनुरूप हाम्रो देशमा पनि भ्याक्सिन भित्रियो ।

समग्रमा भन्नुपर्दा देशमा कोरोनाको संक्रमण स्थिति सामान्य भएका कारण धेरै व्यक्तिले मास्क लगाउने र स्यानिटाइजर लगाउने काममा पनि केही सुस्तपना देखिएको छ । यसरी संक्रमण बढ्न थालेपछि फेरि आनीबानीमा परिवर्तन गर्नु आवश्यक देखिएको छ । यसर्थ संकमण केही बढ्नासाथ सञ्चार माध्यमले संवेदनशील भएर फेरि यसबारे समाचार र टिप्पणी प्रकाशित गर्न थालिसकेका छन् । यसरी साउन १ देखि १६ गतेसम्म सात हजार नौ सय २३ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । साउन १ गते संक्रमण दर ४ दशमलव ४३ प्रतिशत रहेकोमा साउन १६ गते संक्रमण दर बढेर १५ दशमलव १४ प्रतिशत पुगेको छ । मुलुकभर कोरोनाको सक्रिय संक्रमित चार हजार नौ सय ३४ जना रहेका छन् । जसको आधाभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् ।

पछिल्लो पटक वैशाख २१ गते कोरोना संक्रमणबाट मृत्यु भएकोमा ७३ दिनपछि साउन १ गते कोरोना संक्रमणबाट एक जना संक्रमितको मृत्यु भएको थियो । यसै क्रममा साउनयता तीन हप्तामा मृत्यु भएका कोरोना सङ्क्रमितमध्ये ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । मूलतः इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भनाइअनुसार साउन १ गतेदेखि २० गतेसम्म १८ जनाको मृत्यु भएकोमा १३ जना अर्थात् ७६ प्रतिशतले खोप नलाएको जानकारी पाइएको छ ।

त्यसरी नै मुलुकमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल जनसंख्याको ७३ दशमलव ९ प्रतिशतले पहिलो मात्रा र ७० दशमलव ६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन । यसैगरी, १८ वर्षमाथिका लक्षित समूहले ९२ दशमलव ५ प्रतिशतले एक मात्रा र ८८ दशमलव ४ प्रतिशतले पूर्ण खोप लगाएका छन् । अतः राष्ट्रमा कुल जनसंख्याको २५ प्रतिशतले मात्रा अतिरिक्त मात्रा(बुस्टर) खोप लगाएको सम्बन्धित निकायको भनाइ पाइन्छ । फलतः अब कुल जनसंख्याको ७५ प्रतिशत जनतालाई अतिरिक्त मात्राको खोप लगाउन बाँकी रहेको देखिन्छ ।

त्यस्तै सक्रिय संक्रमित शून्य रहेका जिल्लामा भने मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । यसलाई थप बिग्रन नदिन अहिलेदेखि भूमिका खेल्नुपर्ने जिम्मेवारी सरोकारवाला पक्षको हो । भोलि यसबाट उम्कन धेरै मिहिनेत पर्ने स्थिति आउन दिनु हुँदैन । यसलाई ससर्ति हेर्ने हो भने खासगरी भारतसँगको सीमा क्षेत्र र राजधानी उपत्यकामा संक्रमण बढेको देखिएको छ । यो भनेको घना बस्ती र आवतजावत बढी हुने ठाउँमा यसको संक्रमण बढेको हो । यसरी स्वास्थ्य मन्त्रालयका अधिकारीहरू पनि चौथो लहर सुरुवातमा रहेकाले आगामी दिनमा संक्रमण अझ बढ्ने स्वीकार गर्छन् । यो महामारीको हिसाबले हेर्दा संक्रमण उच्च भएको दुईदेखि तीन हप्तापछि अस्पतालमा भर्ना बढ्ने र मृत्यु हुने दर पनि बढ्ने देखिन्छ । मुलुकमा फेरि कोरोना भाइरसको संक्रमण दर बढ्दै गइरहेको छ । केही मत्थर हुँदै गएको भाइरस पुनः सक्रिय बन्दै गइरहेको छ ।

कोरोनाको प्रभाव शून्यमा झार्न नपाउँदै फैलावट दर बढ्दै गइरहेको छ । आम मानिसले स्वास्थ्य मापदण्ड कायम गर्नुपर्ने अवस्था कायमै छ भने संक्रमितको संख्या पनि बढ्दो क्रममा रहँदा सतर्कता अपनाउनु पनि उत्तिकै जरुरी छ । कोरोना भाइरसलाई सामान्य नठानौँ । यसको प्रभाव विश्व अनि हाम्रै राष्ट्रको विगतको अवस्थालाई मूल्यांकन गर्दा नै छर्लंग हुन्छ । हामी कस्तो र कुन अवस्थाबाट गुज्रिएर यो अवस्थासम्ममा आइपुगेका छौ । त्यो कुरालाई तीनै तहका सरकार, नागरिक समाजलगायत सबैले हेक्का ख्याल राख्न जरुरी भइसकेको छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया