Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसुरक्षा सर्वसुलभताको कसीमा पेट्रोलियम पदार्थ

सुरक्षा सर्वसुलभताको कसीमा पेट्रोलियम पदार्थ


काठमाडौं । मानवजीवनको अभिन्न अंगको रूपमा रहेको पेट्रोलियम पदार्थको उपयोग तथा उपभोगमा अत्यन्त संवेदनशील भएर रहनुपर्ने हुन्छ । किनकि प्रज्वलनशीलताको गतिशीलता अत्यधिक कायम रहेकै कारण सानोभन्दा सानो मानवीय एवं प्राविधिक लापरबाहीले पनि अकल्पनीय जनधनको क्षति व्यर्होनुपर्ने तथ्यलाई अन्यथा लिन मिल्दैन ।

अति आवश्यकीय उपभोग्य पदार्थ रहँदा–रहँदै पनि मुलुकभित्र यसको उत्पादन हुन नसकेकै कारण सीमित स्रोत र साधनको बाबजुद पनि महँगो परिवत्र्य वैदेशिक मुद्रा खर्चिएर बाह्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यात्मक अवस्था खडा भएको मात्र हो । किनकि सम्भाव्य क्षेत्रहरू पहिचान गरी उत्खनन गरिए पनि लागतखर्चको अनुपातमा उत्पादन हुने सम्भावना अत्यन्त न्यून रहेकै कारण व्यावसायिक प्रयोजनको लागि उल्लेख्य मात्रामा उत्पादन हुन नसकी आयातित परनिर्भरतामा निर्भर रहनुपर्ने देखिन्छ ।

यद्यपि बढ्दो मानवीय उपभोगको कारण विश्व भूगर्वमा रहेको उक्त खनिज पदार्थको भौगोलिक भण्डारण समेत दिनप्रतिदिन रित्तिनसक्ने तथ्यलाई ध्यानमा राखी प्रयोगमा मितव्ययी रहनुपर्ने हुन्छ । साथै विकल्पस्वरूप वैकल्पिक ऊर्जा व्यवस्थापनमा समेत नेपाललगायत विश्वको ध्यान केन्द्रित गर्न अति आवश्यक भइसकेको छ ।

सुरक्षा संवेदनशीलताको हिसाबले भण्डारण गरेर राख्दा समेत विशेष सावधानी अपनाउनु श्रेयकर देखिन्छ । उपभोग्य दृष्टिकोणको असावधानीको कारण हुनसक्ने सम्भावित आगलागीजन्य घटना न्यूनीकरण गर्दै मानवीय एवं भौतिक क्षतिलाई क्रमशः कम गर्न घना मानवबस्ती भएका सहरी क्षेत्रहरूमा प्रस्तुत प्रदार्थको बिक्रीवितरणमा विशेष सावधानी अपनाउँदै सहरी सुरक्षा अवधारणाभित्र पेट्रोलियम पदार्थको बिक्रीवितरण तथा सुरक्षात्मक रणनीतिलाई समाहित गर्नुपर्नेछ । किनभने आजको दिनमा त्यहीसम्बन्धी दुर्घटनाहरू घटेनन् भन्दैमा भोलि ढुक्क हुने अवस्था भने पक्कै पनि छैन । तसर्थ सम्बद्ध पदार्थको सुरक्षाको खातिर बिक्रीवितरणको लागि उपयुक्त सुरक्षित गन्तव्य पहिचान गरी स्थानान्तरण प्रक्रियालाई विशेष जोड दिँदै अब्बल सुरक्षात्मक रणनीतिलाई अख्तियार गर्नु सर्वपक्षीय हितकर रहन्छ । किनभने विद्यमान अवस्थामा सहरी क्षेत्रभित्र कायम रहेका पेट्रोल पम्पहरू मानव सुरक्षा संवेदनशीलताको हिसाबमा अत्यन्तै जोखिमले भरिपूर्ण रहेको तथ्यलाई कुनै पनि हालतमा बिर्सन मिल्दैन । क्षणिक सहजताका नाममा मानवीय जोखिमको मात्रालाई कुनै पनि हालतमा स्वीकार गर्नु हाम्रो ठूलो भुल मात्र हुनेछ ।

वैकल्पिक व्यवस्थापनस्वरूप विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिँदै आयातित साधनमा लाग्ने गरेको करका दरहरूमा सहलियतपूर्ण व्यवहारलाई अंगीकार गर्ने अथवा सोही प्रविधिमा आधारित सवारीसाधनहरूको मुलुकभित्रै उत्पादन, उपभोग तथा बिक्रीवितरणको लागि आवश्यक व्यवस्थापन गरी राज्यको सवारी नीतिलाई समयसापेक्ष सुधार गरी व्यवहारतः लागू गर्नुपर्ने हुन्छ । साथै पेट्रोलपम्पहरूको विकल्पमा विद्युतीय चार्जिङ स्टेसनको अत्यधिक मात्रामा स्थापना गरिनु समयको माग हो । जसले आज कायम रहन आएको पेट्रोलियम पदार्थको माथिको परनिर्भतामा अवश्य पनि न्यूनता छाउनेछ भन्ने विश्वास लिन सकिनेछ ।

साथै हाल प्रचलनमा रहँदै आएको एलपीजी ग्यासको सट्टामा सौर्य ऊर्जा, जल ऊर्जा वा वायोऊर्जाको प्रयोगलाई प्रमुख प्राथमिकता राखी राज्यका तर्फबाट आवश्यक गार्हस्थ्य प्रयोजनको लागि जल ऊर्जाको सन्दर्भमा न्यूनत्तम खपत युनिट निर्धारण गरी सोका लागि सहुलियतपूर्ण दररेटमा विद्युत् आपूर्तिको व्यवस्थापन गर्ने प्रबन्ध मिलाउने हो भने कायम रहँदै आएको ग्यास, कोइला तथा मट्टीतेलको उपयोगमा कमी आई स्वदेशी ऊर्जा प्रयोग तथा बचतीकरणले प्रमुख प्राधान्यता हासिल गर्ने देखिन्छ ।

जसको प्रयोगबाट मुलभूतरूपमा दुईवटा महत्वपूर्ण उपलब्धि हासिल हुनेछ । पहिलो उपलब्धि भनेको निश्चितरूपमा कायम रहँदै आएको पेट्रोलियम पदार्थको आयातीत परनिर्भरतालाई कम गर्नु नै हो । परिणामतः स्वदेशी लागतमा उत्पादित हाम्रा जलऊर्जाको उचित व्यवस्थापनसहितको उपभोग तथा बिक्रीवितरणबाट ऊर्जा विकासमा आत्मनिर्भर बन्ने सौभाग्य प्राप्त हुनेछ । दोस्रो अवस्था भनेको वर्तमान परिप्रेक्षमा आर्थिक मन्दीको चर्को मार सामना गरिरहेको नेपालजस्तो मुलुकले वर्षेनी पेट्रोलियम पदार्थको आयातबापत लाग्ने अर्बौँ–अर्ब रुपैयाँबराबरको विदेशी मुद्राको उच्चतम बहिर्गमनमा न्यूनता ल्याउन सक्षम रही मुद्राजन्य बचत सञ्चितिमा समेत राहतजन्य अवस्था सिर्जना हुने देखिन्छ ।

हालै प्रकाशित एक तथ्यांकअनुसार आव २०७८/०७९ मा सम्बद्ध पदार्थको आयातमा मात्रै झण्डै तीन खर्ब २१ अर्ब रुपैयाँ बाहिरिएको छ । आयातबापत बाहिरिने प्रस्तुत अवस्थालाई न्यून गर्दै बचतीकरणको अवधारणाअनुसारको कार्यदिशालाई क्रमशः अगाडि बढाउँदै बचत स्वरूप प्राप्त हुन आएको उक्त रकमलाई अन्य अति आवश्यक वस्तु तथा सेवाको आयातमा खर्चिन सक्ने परिस्थितिको निर्र्माण हुनसकेमा मुलुकले दोहोरो आर्थिक लाभ लिन सक्ने अवस्था तयार हुनेछ भन्ने तथ्यसँग हामीहरू कसैको पनि विमति रहन सक्दैन ।

अतः न्यून ऊर्जाको प्रयोग भन्नु नै अत्यधिक ऊर्जाको विकास गर्नु हो भन्दा फरक नपर्ला । किनभने ऊर्जा बचतीकरण भनेको ऊर्जा उत्पादन गर्नुसरहको अवस्था हो भन्ने तथ्यलाई हेक्का राखी कार्य गर्ने हो भने ऊर्जा विकासको क्षेत्रमा ठूलै फड्को मार्न सकिनेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया