Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगडर छ डलर, बेरोजगार र राजनीतिबाट

डर छ डलर, बेरोजगार र राजनीतिबाट


काठमाडौं । विश्वभरि नै अहिले डलर चर्चामा रहेको छ र यसको असर नेपालजस्तो अतिकम विकसित मुलुकलाई परिरहेको छ । किनकि नेपालको आफ्नै पेट्रोलियम पदार्थको उत्पादन छैन । बाह्य मुलुकबाट ल्याउँदा डलरमा भुक्तानी गरेर खरिद गर्नु पर्दछ । अहिले डलरको मूल्य उच्चरूपले दिन प्रतिदिन बढ्दै गएको हुँदा अर्थतन्त्रमा विदेशी मुद्राको सञ्चितिमा ठूलो चाप परेको छ । डलरले अरु मुद्रालाई डोमिनेट गरेको हुँदा मुद्रा भनेकै डलर हो भन्ने कुरा सबैलाई पर्न गएको छ ।

नेपाल स्वदेशी उत्पादनमा अहिलेसम्म आत्मनिर्भर हुन सकेको छैन । नुनदेखि सुनसम्म आयात गर्नुपर्दछ । खाद्यान्न, लत्ताकपडा, फलफूलजस्ता सामान्य वस्तुको लागि पनि विदेशी मुद्रामा नै भुक्तानी गर्नुपर्ने बाध्यता रहेको छ । औषधि, पूर्वाधार निर्माणको लागि आवश्यक पर्ने कच्चा पदार्थ, फलाम, डन्डी, स्वास्थ्य उपकरण, सवारीसाधनजस्ता वस्तु त अनिवार्य नै भइहाले ।

अर्कोतर्फ विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि कलेज तथा विश्वविद्यालयको फी र बस्न खानको लागि आवश्यक पर्ने डलर राज्यले उपलब्ध गराउनु पर्दछ । हुनेखानेहरूलाई औषधि उपचार गर्न विदेश जाँदा विदेशी मुद्रा नै आवश्यक पर्दछ । सानातिना वस्तुदेखि ठूला–ठूला निर्माण तथा स्वास्थ्य उपकरण खरिद गर्नको लागि ठूलो मात्रामा विदेशी मुद्रा खर्चनु परेको छ । यस प्रकारले विदेशी मुद्रामा भुक्तानी हुँदा राज्यको ढुकुटीमा प्रतिकूल प्रभाव पर्नु स्वाभाविक नै हुन्छ । त्यसकारण अहिले अर्थतन्त्रका सूचकहरू सकारात्मक छैनन् ।

डलरको मूल्य यसरी वृद्धि हुनु सायद यो पहिलो पटक हो । अहिले एक डलर खरिद गर्न करिब एक सय २७ रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपर्दछ । विश्व बजारमा नै इन्धनको मूल्य बढ्दै गएको अवस्थामा अझ त्यसमा रुस र युक्रेनको युद्धले झनै मलजल दिएको छ । परिणामस्वरूप पेट्रोलियम पदार्थलगायत अन्य वस्तुमा मूल्य वृद्धि भएको छ । अमेरिकी डलरको तुलनामा अन्य मुद्राहरू कमजोर भएको कारणले गर्दा डलरले एकाधिपत्य गर्दै गएको अवस्था देखिन्छ ।

स्वदेशी उत्पादनमा आत्मनिर्भर हुन नसक्दा नेपाली अर्थतन्त्र बाहय मुलुकसँग निर्भर हुनपुगेको छ । ठूलो मात्रामा आयात गर्दा सोको भुक्तानीको लागि सञ्चित विदेशी मुद्रा बाहिरिने नै भयो । नेपालले निर्यात गर्ने भनेको ज्यादै न्यून परिमाण हो । त्यसैले व्यापारमा सन्तुलन कायम हुन सकेको छैन र सधैँ सोधनान्तर घाटा हुने गर्दछ । पहिले एक डलर खरिद गर्न एक सय १५ रुपैयाँ भुक्तानी गरे हुन्थ्यो भने अहिले एक सय २७ भन्दा बढी तिर्नु पर्दछ । यसको अर्थ एक सय १५ रुपैयाँमा पाइरहेको कुनै वस्तुलाई अहिले एक सय २७ रुपैयाँ तिर्नु पर्दछ । यसप्रकारले डलरको मूल्य बढ्दै गएको छ र नेपाली रुपैयाँको मूल्य घट्दै गएको छ ।

डलरको मूल्य बढ्दैमा नेपालजस्ता देशहरूलाई बेफाइदा मात्र हुन्छ भन्ने पनि छैन । विदेशबाट वस्तु आयात गर्दा चर्को मूल्य चुकाउनुपर्ने हुँदा आन्तरिक उत्पादनले प्रश्रय पाउने हुन्छ । यसरी स्वदेशमा उत्पादित वस्तु सस्तो र आपूर्तिको लागि दिगो र भरपर्दो पनि हुन जान्छन् । नेपालको मुद्रा अवमूल्यन हुँदा स्वदेशी उद्योगधन्दा, कलकारखाना, घरेलु उद्योग, साना तथा मझौला उद्योग फस्टाउने मौका पाउँछन् । यसबाट व्यवसायीले राम्रो आयआर्जन गर्न सकेका हुन्छन् भने सरकारले राम्रो राजस्व प्राप्त गर्ने हुन्छ । यस अवस्थामा आन्तरिक उत्पादनमा वृद्धि हुँदा निर्यात पनि बढाउन सकिन्छ ।

नेपालको लागि यो बाटो पनि कठिन छ । अहिलेको अवस्थामा ५० प्रतिशतभन्दा बढी राजस्व भन्सारबाट प्राप्त हुने गर्दछ । आयात नियन्त्रण गर्दा अत्यावश्यक कामको लागि पनि रकमको अभाव हुन जानेछ । यदि डलरबाट बच्ने हो भने आन्तरिक उत्पादन बढाउनै पर्दछ र अत्यावयक वस्तुबाहेक बालिशीताका र कम आवश्यकता हुने वस्तुको आयातमा नियन्त्रण गरिनु पर्दछ ।

विश्वलाई नै डलरले डर देखाइरहेको अवस्था छ । आफ्नो देशको मुद्रालाई बलियो बनाउनु भन्दा पनि डलर कसरी सञ्चित गर्ने भन्ने चिन्ता बढिरहेको छ । नेपाल पनि यही चिन्ताले पिरोलिएको छ । डलर सञ्चितिको अभावले गर्दा साधारण व्यक्ति देशबाहिर जानुपर्दा दुई सय डलर मात्र सटही सुविधा उपलब्ध गराइन्छ । आयातमा सकेजति नियन्त्रण छ । निर्यातमा वृद्धि गर्न प्रोत्साहन दिइएको छ । यी व्यवस्था गर्नु भनेको डलरको डर भएकोले हो । जसरी भए पनि डलर जोगाउनु परेको छ, किफायत गर्नु छ । यसरी नेपालमा अहिले डलरको डर बढ्दै गएको छ ।

डलरको मात्र डर होइन बेरोजगारको पनि त्यत्तिकै छ । स्वदेशमा रोजगारी उपलब्ध नभएर विश्वका विभिन्न देशमा नेपाली पुगेका छन् । सीप नभएका मात्र बेरोजगार छैनन्, शैक्षिक बेरोजगारको संख्या पनि त्यत्तिकै कहालीलाग्दो छ । भारत जानेको लेखाजोखा नै गर्न सकिँदैन । अन्य देशमा जानेको संख्या पनि डरलाग्दो नै छ । ५० लाखभन्दा बढी सक्रिय जनशक्ति रोजगारीको लागि विदेशिएका छन् । उनीहरूले पठाएको डलरले देशको अर्थतन्त्र धानेको छ । दैनिक करिब दुई हजार नेपाली युवा खाडी मुलुक गएको कुरा तथ्यांकले देखाउँछ । यस्तै हुँदै जाने हो भने देशको अर्थतन्त्रलाई भरथेक गर्न त डलरले केही मदत गर्ला तर सधैँ परनिर्भर हुने खतरा भने रहने नै हुन्छ ।

नेपाललाई डलर र बेरोजगारको मात्र डर होइन । अझ बढी त राजनीतिको छ । करिब दुई तिहाइको नजिक भएको आफ्नो दल हुँदा पनि केपी शर्मा ओलीले दुई–दुई पटकसम्म जनताको थलो प्रतिनिधिसभालाई विघटन गरिदिए । पछि सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापन भयो । अहिले पाँचदलीय गठबन्धन सरकार सत्तामा छ । सिद्धान्त, विचार नमिल्ने दलहरू सत्तामा जानु भनेको दलीय स्वार्थ नै हो । अहिले यी पाँच दलहरूमा स्वार्थको खेलहरू भइरहेका छन् । राजनीति स्वार्थको कारणले गर्दा राष्ट्र बैंकका गभर्नर बर्खास्तमा पर्दछन् । राजनीति झगडा र स्वार्थ बाझिँदा अर्थमन्त्री बाध्य भएर राजीनामा दिन्छन् । अदालतका न्यायमूर्तिहरूलाई भ्रष्टाचारको अभियोग लागेको हुन्छ । संसद्मा कस्ता–कस्ता रमाइला कुरा आउँछन् सबैलाई थाहा नै छ । संसद्मा गणपूरक संख्या नपुगी बैठक अघि बढ्न सकेको हुँदैन । सांसदहरू सरकारले काम दिन सकेन भन्छन् तर पेस भएका महत्वपूर्ण विधेयकहरू पारित गर्दैनन् । कस्तो विरोधाभास ?

दलहरूबीच सुन्नै लाज लाग्ने गरी गालीगलौज हुन्छ । नेताहरूबीच एकले अर्कोलाई किनारा लगाउन सबै अस्त्र प्रयोग गरेका हुन्छन् । निर्वाचनमा मिलेर लड्ने, अनि सिटसंख्या कम आयो भनेर एक–अर्कामा दोष लगाउने । यस्ता अपत्यारिला कुरा गरेर आफूलाई सर्वश्रेष्ठ ठान्ने । आफू सत्तामा पुग्न बाह्य देश गुहार्ने । कर्कलाको पानीजस्तै कहिले यता ढल्कने कहिले उता । सत्ताकै लागि विदेशीको शरण पर्ने । आफ्नो घरको झगडा अरुलाई मिलाइदिनुहोस् भन्न पनि लाज नलाग्ने कस्तो दुःखलाग्दो हाम्रो राजनीति ? अकर्मण्य राजनीतिले सबैलाई दुःख दिएकै हुन्छ । झगडा, गाली गलौज, तानतानजस्ता कुरालाई सर्वोपरि ठानेपछि जनताका मुद्दा ओझेलमा पर्नु कुन अनौठो कुरा भयो र ?

राजनीतिले बाटो बिराउँदा सबै संयन्त्र लथालिंग हुँदारहेछन् । हो, अहिलेको अवस्था यस्तै छ । बिग्रेको घर ‘जता हे-यो उतै दैलो’ । सप्रिएको एउटा पनि उदाहरण दिन नसक्ने । शिक्षाक्षेत्र हे-यो कति महँगो ? साधारण मानिसले पढाउनै नसक्ने । स्वास्थ्य क्षेत्र हेर्नुहोस् अस्पतालको बिल तिर्न नसकेर चार तलाबाट हाम फालेर आत्महत्या गर्नुपर्ने । राजधानीको कुरा गरौँ दशकौँ दशक भयो पानी पिउन नपाएको । सडकको अवस्था भनिरहनु पर्दैन । अरु त के जनतालाई सेवा प्रवाह गर्न गठन भएका सरकारी निकायहरूले समयमा कहिल्यै सेवा दिन सकेका छैनन् । हामी आफैँ एकैछिन स्मरण गरौँ– हामीले कति सास्ती खाएका छौँ ? नेपाली नागरिकको पहिचान गर्नको लागि आवश्यक पर्ने नागरिकताको प्रमाणपत्र लिन ? राष्ट्रको पहिचान गराउने राष्ट्रिय परिचयपत्र बनाउन कहिले जिल्ला, कहिले राजधानी र कहिले अर्कै जिल्ला । राहदानीको कुरै नगरौँ । पैसाजन्य, समयजन्य, सास्तीजन्य, दुःखजन्य । कति हो कति । जता हे-यो उतै लाइनका लाइन । मानिस लाइनमा बसेको देखेर विदेशी जिब्रो टोकेर हिँडेका हुन्छन् । तर, सरकार सुने पनि सुन्दैन । देखे पनि देख्दैन । सरकारलाई जनताको के वास्ता ? वास्ता हुन्छ अर्कैतिर । सबैले बुझेकै कुरो हो । धन्न सहन सक्छन् नेपाली जनता नेपालको राजनीति ।

डलर नभए पनि हुन्छ नेपालीलाई । जे–जस्तो खान, लाउन सकिन्छ पुग्छ नेपालीलाई । बेरोजगार भए पनि केही छैन नेपालीलाई बाँझो जग्गा फोर्न सक्छन् पाखुरीले । पहिले पनि बाँचेकै थिए अहिले पनि बाँच्न सक्छन् । डलर, बेरोजगारीबाट कत्ति पनि डर छैन, बरु डर छ राजनीतिबाट । कतै देशलाई नै दुःख दिने त होइनन् ?


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया