Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमुद्रास्फीति र चरम आर्थिक सङ्कट

मुद्रास्फीति र चरम आर्थिक सङ्कट


काठमाडौं । वस्तु तथा सेवाको मूल्य बढ्दै जानु र मुद्राको मूल्य घट्दै जाने अवस्था नै मुद्रास्फीति हो जुन आज राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा समेत एक जटिल समस्याको रूपमा देखापरेको छ । कुनै पनि व्यक्ति, संस्था वा निकायले प्रयोग गर्ने सबैखाले वस्तु तथा सेवाको मूल्यस्तरमा भएको निरन्तर वृद्धिलाई मुद्रास्फीति भन्ने गरिन्छ तर यदि केही वस्तुमा मात्र मूल्यमा निरन्तर वृद्धि हुँदै जान्छ भने त्यसलाई मूल्यस्फीति भन्न सकिँदैन । अर्थात्, मुद्रास्फीति हुनको लागि समग्र वस्तु तथा सेवामा निरन्तर मूल्यवृद्धि हुनु पर्दछ र मुद्राको क्रयशक्ति कम हुँदै जानु पर्दछ । नेपाल राष्ट्र बैंकले विसं २०३८ मा प्रकाशित पुस्तक नेपाल राष्ट्र बैंक : पच्चीस वर्ष (२०१३— २०३८)पृष्ठ २८ मा नेपालको अभिलिखित मौद्रिक अवस्थाको रूपमा लिच्छविकालमा सर्वप्रथम मुद्रित मानाङ्क सिक्कालाई लिन सकिन्छ । राजा महेन्द्रको पालादेखि नेपालमा निश्चित आकार र तौल भएका तामाका मुद्राको सुरुवात भएको थियो ।

नेपालमा तत्कालीन श्री गुञ्जनमान सिहंको संयोजकत्वमा नेपाल राष्ट्र बैंक ऐनको तर्जुमा गरी उक्त ऐनको मस्यौदा श्री ५ सरकारमा पेस भई विसं २०१२ कात्तिक १८ गते लालमोहर सदर भएपछि नेपाल राष्ट्र बैंक ऐन २०१२ अन्तर्गत विसं २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको हो जसले मुद्रा व्यवस्थापनमा मुख्य भूमिका निर्वाह गर्नेगरेको छ । मुद्रास्फीति र आर्थिक सङ्कटलाई एक–आपसमा जोडेर हेर्ने हो भने मुद्रास्फीतिको कारणले नै देशमा चरम आर्थिक सङ्कट सिर्जना हुने गर्दछ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७८/२०७९ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०७९ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ०८ प्रतिशत रहेको छ जुन मुद्रास्फीति २०७८ असरमा महिनामा ४ दशमलव १९ प्रतिशत रहेको थियो । विश्वव्यापीरूपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएको कारण आर्थिक वर्ष २०७८/७९ का पछिल्ला महिनाहरूमा मुद्रास्फीतिको चाप उच्च रहन पुगेको छ तर आर्थिक वर्ष २०७८/७९ का पछिल्ला महिनाहरूमा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत मुद्रास्फीति ६ दशमलव ३२ प्रतिशतमा सीमित रहयो ।

तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६ दशमलव १३ प्रतिशत, ९ दशमलव ९२ प्रतिशत, ९ दशमलव ८४ प्रतिशत र ८ दशमलव ५७ प्रतिशत रहेको छ । साथै, गैरखाद्य तथा सेवा समूूह तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा, फर्निसिङ तथा घरयासी उपकरणहरू र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमश १५ दशमलव ८२ प्रतिशत, ८ दशमलव ७८ प्रतिशत, ७ दशमलव ०९ प्रतिशत र ६ दशमलव ६८ प्रतिशत रहेको पाइएको छ । उक्त प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थको मुद्रास्फीतिलाई हेर्दा आर्थिक वर्ष २०७८/२०७९ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ५९ प्रतिशत रहेको छ ।

गैरखाद्य तथा सेवामा भएको मुद्रास्फीतिको सम्बन्धमा आर्थिक वर्ष २०७८/२०७९ मा खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ६ दशमलव ८३ प्रतिशत रहेको छ । २०७९ असार महिनामा गैरखाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत मुद्रास्फीति ९ दशममलव शून्य ३ प्रतिशत रहेको छ । त्यसैगरी, क्षेत्रगत उपभोक्ता मुद्रास्फीतिलाई हेर्दा, आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ५ दशमलव ७३ प्रतिशत, तराईमा ६ दशमलव ४१ प्रतिशत, पहाडमा ६ दशमलव ८७ प्रतिशत र हिमालमा ६ दशमलव ०७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमश ३ दशमलव ३३ प्रतिशत, ३ दशमलव ६८ प्रतिशत, ३ दशमलव ८७ प्रतिशत र २ दशमलव ८७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिअनुसार नेपाल सरकारको बजेट वक्तव्य २०७९/२०८० ले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फीतिलाई ७ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिएकोले नेपालजस्तो सानो र आयातमा आधारित खुला अर्थतन्त्र भएको मुलुकले सुविधाजनक स्तरमा विदेशी विनिमय सञ्चिति कायम गर्नुपर्ने बाध्यता रहेको समेत उल्लेख गरेको छ । आर्थिक स्थायित्वको लागि ब्याजदर करिडोरअन्तर्गतको दरहरूलाई १ दशमलव ५ प्रतिशत विन्दुले वृद्धि गरी बैंकदर ८ दशमलव ५ प्रतिशत, नीतिगत दर ७ दशालव शून्य प्रतिशत र निक्षेप संकलन दरलाई ५ दशमलव ५ प्रतिशत कायम गरिएको कुरा उल्लेख गरेको छ ।

आर्थिक सर्वेक्षण आर्थिक वर्ष २०७८/२०७९ ले कोभिड १९ नियन्त्रण हुँदै जाँदा समष्टिगत मागमा भएको वृद्धिले मुद्रास्फीतिमा चाप परेकोमा रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खला सिर्जित अवरोधले अधिंकाश मुलुकहरूमा मुद्रास्फीति एक मुख्य चुनौतीको रूपमा देखाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, ढुवानी खर्चमा वृद्धि भएको खाद्य पदार्थ तथा आयातित कच्चा पदार्थलगायत अन्य वस्तु तथा सेवाहरूमा भएको मूल्यवृद्धिका कारण नेपालमा पनि मुद्रास्फीतिमा चाप परेको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ४ प्रतिशत रहेको छ । वार्षिक विन्दुगत आधारमा २०७८ फागुनमा उपभोक्ता मुद्रास्फीति ७ दशमलव १ प्रतिशत रहेको छ । २०७८ फागुनमा काठमाडौं उपत्यकामा ६ दशमलव ३ प्रतिशत, तराइमा ७ दशमलव ४ प्रतिशत, पहाडमा ७ दशमलव ७ प्रतिशत र हिमालमा ७ दशमलव ६ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ फागुनमा यी क्षेत्रहरूमा क्रमशः २ दशमलव ५ प्रतिशत, ३ दशमलव ३ प्रतिशत, ३ दशमलव ४ प्रतिशत र १ दशमलव ३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

वर्तमान पन्ध्रौँ योजनाको कुरा गर्ने हो भने वर्तमान पन्ध्रौँ योजना (आर्थिक वर्ष २०७६/७७— २०८०/८१) मा मूल्य नियन्त्रण तथा व्यवस्थापन र मुद्रास्फीतिलाई व्यवस्थापन गर्न मूल्य स्थिरतामार्फत समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने सोच राखिएको छ भने उच्च मूल्य वृद्धिलाई नियन्त्रण गर्दै बजार प्रतिस्पर्धाको सुदृढीकरणमार्फत मूल्य स्थिरता कायम गर्ने लक्ष्य र मूल्य वृद्धिलाई वाञ्छित सीमामा राखी आन्तरिक बजारमा नेपाली मुद्राको क्रयशक्ति खस्कन नदिने र निर्यातयोग्य वस्तु तथा सेवाको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्य राखिएको छ । उक्त लक्ष्य र उद्देश्य प्राप्त गर्नको लागि नीतिगत, कानुनी र संरचनागत व्यवस्थामार्फत मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आपूर्ति व्यवस्थालाई सहज बनाउने, अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था गर्दै उपभोक्ताको क्रयशक्तिमा सुधार ल्याउने रणनीति अवलम्बन गरिएको अवस्था छ । तर योजनमा उल्लिखित कार्यनीतिहरूलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्न नसक्दा मूल्य तथा मुद्रास्फीतिको समस्या झन्झन् जटिल बन्दै गएको छ ।

माग र आपूर्तिले वस्तु तथा सेवाको मूल्य निर्धारण गर्ने गर्दछ । उत्पादनका साधनको उपलब्धता तथा मूल्यमा आउने परिवर्तन, सरकारले अवलम्बन गर्ने नीति, बाह्य मुलुकको मूल्यवृद्धिको अवस्था, बजार प्रतिस्पर्धाको अवस्था, मानवीय तथा अन्य कारणले समष्टिगत मागमा आउने परिवर्तनजस्ता पक्षले मूल्य स्थितिमा प्रभाव पारेको हुन्छ । वस्तु तथा सेवाको मागमा विस्तार भएअनुरूप आपूर्ति हुन नसक्नु, कालोबजारी, सिन्डिकेट तथा कार्टेलिङजस्ता कारण बजार प्रतिस्पर्धामा समस्या उत्पन्न भई अनुचित मूल्यवृद्धिको अवस्था सिर्जना हुनुर अनौपचारिक क्षेत्रमा रहेको मूल्यस्थितिको मापन गर्न नसक्नुजस्ता समस्याले मुद्रास्फीतिलाई इङ्गित गरेको छ ।

मुद्रास्फीति र यसले ल्याउने सङ्कटको सम्बन्धमा भारतीय मूल्यवृद्धि एवं अन्तर्राष्ट्रिय मूल्यमा आउने उतारचढावको प्रभाव कम गर्ने, मौसमी प्रतिकूलताका कारण कृषिजन्य उत्पादन तथा आपूर्तिमा आउने उतारचढाव कम गर्ने, कालोबजारी र सिन्डिकेटजस्ता पक्षको पूर्णरूपमा अन्त्य गरी बजार प्रतिस्पर्धाबाट मूल्यस्थिति कायम गर्न सकेमा सकेमा आर्थिक सङ्कटबाट बच्न सकिन्छ । नीतिगत स्थायित्वमार्फत उत्पादन र उत्पादकसँगै लगानी वृद्धि हुँदै गएकोले समष्टिगत मागमा वृद्धि हुँदै जानु, एकाधिकार, कालोबजारी तथा सिन्डिकेटको अन्त्यका लागि नीतिगत, संरचनागत र संस्थागत व्यवस्था भने नभएको होइन् । साथै प्रतिस्प्रर्धात्मक क्षमता विस्तार र यातायात क्षेत्र विस्तार र आपूर्ति व्यवस्था सहज भएको खण्डमा मात्र मुद्रास्फीतिलाई व्यवस्थित गर्न सकिन्छ ।

कुनै पनि वस्तुको मूल्य बढ्नु र पैसाको मूल्य घट्नु नै मुद्रास्फीति भएको कारण यस्तो अवस्थामा वस्तुहरू महँगो हुन्छ र थोरै समानहरूका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ । मुद्राको परिमाणमा वृद्धिले मात्रै मुद्रास्फीतिको अवस्था आउने नभई र अन्य कारणहरूले पनि मुद्रास्फीति देखापर्ने गरेको तथ्य स्पष्ट छ । मूल्यस्तरको वृद्धिको तुलनाभन्दा धेरै अनुपातमा उत्पादनमा वृद्धि भयो भने मात्र मुदास्फीति व्यवस्थापपन हुन सक्दछ जुन देखा पर्ने भनेको उत्पादनको तुलनामा मौद्रिक आम्दानीको वृद्धिदर बढी भएको अवस्थामा हो ।

मुद्राफीतिमा खाद्यवस्तु तथा सामानहरूको मूल्यस्तर बढ्दै जानु, जस्तै : तेल, यातायात तथा सञ्चार खर्च, शिक्षा, स्वास्थ्य महँगो हुँदै जानु, आवास तथा व्यवसायको ऋण तथा किस्ताहरू बढ्दै जानु, अर्थतन्त्रका अवयवहरूले पूर्णरूपमा काम गर्न नसक्नु, महामारीको कारण आर्थिक समस्या सिर्जन हुनु, बेरोजगारी बढ्दै जानु, देशका उद्योगहरू धराशायी बन्दै जानु र आयात हुने उच्च वृद्धिजस्ता कुराहरू देखा पर्ने गर्दछ जुन आर्थिक सङ्कटको प्रमुख कारण पनि हो ।

एकातिर सरकारले दूरगामी महत्वका योजना, आयोजना तथा कार्यक्रमहरू सञ्चालन गर्न नसक्नु, कुनै पनि वस्तुको उत्पादनलाई भन्दा आयातलाई बढी प्राथमिकता दिनु, निर्यात कमजोर बन्दै जानु आर्थिक सङ्कटका लक्षणहरू हुन् जुन मुद्रास्फीतिका कारणहरू हुन् । समस्या समाधान गर्न नोटको धेरै निष्काशन गर्ने प्रवृत्तिले गर्दा मुद्रास्फीति विश्वव्यापी समस्या बनेको छ । वैदैशिक ऋण उच्च गतिमा बढ्दै जानु र दोस्रो अर्थतन्त्र ठप्प हुने कारणले अधिक मात्रामा नोट निष्काशन गर्ने गरिए पनि कुनै एउटा देशमा मुद्रास्फीति बढ्दा र बढ्दो ब्याजदरको असर संसारका सबै देशमा पर्न थालेको छ । हुन त कोभिड १९ को करणले गर्दा व्यवसायहरू बन्द भए, त्यसको अल्पकालीन प्रभाव चरम कालोबजारीको रूपमा देखियो तर त्यसलाई समाधान तथा नियन्त्रण गर्ने प्रयास भने भएन् ।

लामो समयसम्म रहेको बन्दाबन्दीको कारण व्यापार व्यवसाय र अर्थतन्त्रको क्षमतामा समेत ह्रास आयो । बन्दाबन्दीको समयपछि व्यवसाय समान्य अवस्थामा आएपछि माग अत्यधिक बढ्दै गएको कारण र उत्पादन कम भएको कारण मुद्रास्फीतिले ठाउँ पायो । मुद्रास्फीति बढ्दै जानुको कारणको रूपमा रसिया–युक्रेन युद्ध पनि हो जसले तेलको आपूर्तिमा समस्या सिर्जना ग-यो । दुई देशबीचको युद्धले तेलको आपूर्तिमा समस्या आएपछि तेलको मूल्यमा वृद्धि हुँदै गयो र महँगी पनि बढ्दै गएको अवस्था छ । कोरोना महामारीले विश्वलाई आक्रान्त पारेको अवस्थामा रसिया–युक्रेन युद्धले संसारभरका नागरिकरूकोे आर्थिक अवस्थामा सङ्कट सिर्जना गरिदिएको छ । कोभिड १९ पश्चात् कम्पनी तथा उद्योगहरूले वस्तु तथा सेवामा उल्लेख्य मात्रामा मूल्यवृद्धि गरेकोले समेत आर्थिक सङ्कटतर्फ धकेलिरहेको छ ।

प्रविधि र लगानीको अभावले विकासोन्मुख देशहरू अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सकेका छैनन् देशमा व्याप्त, गरिबी, बेरोजगारी र भ्रष्टाचार तथा आर्थिक अनियमिताले मुद्रास्फीति बढाउन उल्लेख्य भूमिका निर्वाह गरिरहेका कारण तेलको आपूर्तिमा समस्या र कोरोनाले मात्रै मुद्रास्फीतिले बढायो भन्ने तर्क गर्नु पनि त्यति उपयुक्त होइन् । हवाइ इन्धनमा भएको उच्चतम मूल्यवृद्धिले विस्तारै पर्यटकको आवागमनमा समेत कमी आएको छ । नियमक निकायहरूको उदासिनताको कारण कालोबजारी, आयोजनाहरू समयमै सम्पन्न नभई लागत बढ्दै जानु, निर्माण सामग्रीको मूल्य बढनु र अभाव सिर्जना हुनुजस्ता विषयले एकातिर निर्माण कम्पनीहरू धराशायी बनेका छन् भने तोकिएको आयोजनाहरू समयमा सम्पन्न नहुँदा देशमा आर्थिक सङ्कट सिर्जना हुन थालेको छ ।

आपूर्ति प्रणालीमा आउने समस्याले एकाधिकार सिर्जना गर्दै कुनै ठाउँमा कुनै समानको अत्यधिक भण्डारण हुनु र कुनै स्थानमा अभाव हुने जटिल समस्याले मुद्रास्फीति बढिरहेको कुरा स्पष्ट छ । हुन त हरेक समस्याले विकल्प सिर्जना गर्ने गर्दछ । कोभिड १९ को कारण धेरै मानिसहरूले ज्यान गुमाए पनि धेरै व्यवसायहरू धराशायी बनाए पनि प्रविधिको विकासमा भने उल्लेख भूमिका निर्वाह गरेको थियो । ठूला–ठूला कम्पनी तथा उद्योगहरू घरबाटै सञ्चालन गर्ने प्रविधिको विकास भएको अवस्था छ । यसले निकट भविश्ष्यमै संसारको जुनसुकै उद्योग व्यवसायहरू संसारको जुनसुकै स्थानबाट पनि सञ्चालन गर्न सकिने र त्यसले लागत समेत घटाउन सक्दछ ।

हुन त विगतमा भएका प्रविधिगत विकास तथा अनुसन्धानहरूले प्रविधिलाई व्यवहारमा नल्याएको भने होइन् तर हालको प्रविधि विगतको अभ्यासलाई आधार मानेर छिटो र छरितो सेवा प्रदान गर्न सक्ने अवस्था छ । प्रविधिकै कारणले उत्पादनदेखि वितरण तथा उपभोगमा समेत सहजता ल्याएको कारण आपूर्ति बढाउन सकेको खण्डमा मुद्रास्फीति नियन्त्रण गर्न सकिन्छ । कम्पनीहरूले धेरै सङ्ख्यामा कर्मचारीको भर्ना गर्नुभन्दा उच्चतम प्रविधिको प्रयोग गरी उत्पादन बढाउन सकिन्छ तर प्रविधिको उच्चतम प्रयोगले बेरोजगारी समेत बढाउने निश्चित छ । त्यसैगरी राष्ट्र बैंकले ब्याजदर बढाएर मुद्रास्फीति नियन्त्रण गर्ने जुन प्रयास गर्नेगरेको छ । त्यो समाधानको उपयुक्त मार्ग भने होइन । उत्पादित सामग्रीहरूको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सकेको खण्डमा र दक्ष जनशक्तिको उत्पादनमा वृद्धि तथा परिचालन गर्न सकेको खण्डमा मुद्रास्फीतिलाई नियन्त्रण गर्न सकिन्छ र आर्थिक सङ्कटको समाधान गर्न सकिन्छ ।

उद्योग व्यवसायहरूलाई उपयुक्त वातावरणमा पूर्ण क्षमतामा सञ्चालन गर्ने र आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने हो भने हाल मागमा देखिएको समस्या समाधन गर्न सकिन्छ । मानवीय स्रोत र साधनहरूको प्रचुर प्रयोगले मुद्रास्फीतिबाट उत्पन्न हुनसक्ने आर्थिक सङ्कटलाई समाधान गर्न सहयोग पुग्दछ । आजको पुँजीवादी समाजमा बहुराष्ट्रिय कम्पनीहरूले संसारलाई आफ्नो नियन्त्रणमा राखेका छन् भने विकासोन्मुख देशहरूमा देखापरेको पश्चिमी संस्कृति र विलासीताका वस्तुहरूको उपयोगको बढ्दो प्रवृत्तिले विकाशित देशहरू झन् पछि झन् धनी र सबल हुँदै गएका छन् भने विकाशशील तथा विकाशोन्मुख देशहरू बिस्तारै गरिबीको खाडलमा फसेको अवस्था छ जुन एक जटिल चुनौतीको रूपमा देखा परेको छ ।

संसारमा हुने गरेका ठूला–ठूला युद्धकै कारण आर्थिक मन्दी देखापर्ने कुरा कुनै नौलो होइन् । पहिलो विश्वयुको कारणले सन् १९३० को दशकमा विश्वले आर्थिक मन्दीको सामना गर्नुपरेको थियो । हालको रसिया–युक्रेन युद्धको कारण आपूर्ति तथा उत्पादनमा समेत चरम सङ्कट देखापरेको अवस्था छ । यो अवस्था केही समय रहन सक्ने संङ्केत देखिएको छ । अमेरिकी डलर बलियो हुँदा अन्यदेशहरूको अवस्था र नागरिकहरूको अवस्था नाजुक बन्दै जान्छ । जसको कारण आर्थिक सङ्कट सिर्जना हुने गर्दछ । त्यसो त दुई आर्थिक धुब्रहरू अमेरिका र चीनको उच्चतम उत्पादन तथा टकरावले समेत बाँकी विश्वमा सङ्कट सिर्जना भएको छ ।

दुई देशको टकरावले हङकङ र ताववानलाई युद्धको भुमरीमा धकेलेर अस्थिरता कायम भएको खण्डमा मुद्रास्फीति बढ्ने र आर्थिक सङ्कट चरम विन्दुमा पुग्न सक्ने देखिएको छ । अन्त्यमा, देशको स्थानीय उत्पादनलाई उच्चतमरूपमा वृद्धि गर्दै, रोजगारी सिर्जना गर्ने, गरिबी निवारण गर्ने र देशको राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु आर्थिक समस्या तथा मुद्रास्फीति नियन्त्रण तथा समाधानको लागि टड्कारो आवश्यकता बनेको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया