Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसार्थकताको कसीमा साक्षरता दिवस

सार्थकताको कसीमा साक्षरता दिवस


काठमाडौं । युनेस्कोको आह्वानमा ‘साक्षरता सिकाइ क्षेत्रमा रूपान्तरण’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ । सन् १९६५ मा इरानको राजधानी तेहरानमा भएको विश्वभरका शिक्षामन्त्रीहरूको सम्मेलनले मानव सशक्तीकरणमा साक्षरताको महत्वबारे पहिलो पटक संस्थागतरूपमा स्वीकारेको थियो । त्यसैको आधारमा सन् १९६६ मा युनेस्कोले हरेक वर्षको ८ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने घोषणा गरेसँगै १९६७ देखि उक्त दिन साक्षरता दिवस मनाउने चलन बसेको छ । नेपालले पहिला शिक्षा दिवसकै दिन साक्षरता दिवस गाभेर मनाउने गरेको थियो तर लोकतन्त्रको सुरुवातीसँगै युनेस्कोले घोषणा गरेकै दिनमा यो दिवस मनाउन थालेको छ । कोभिड १९ पछि शिक्षा दिवस मनाउन छाडेको पाइन्छ । यस दिवसको सार्थकता भनेकै साक्षरताको विकास र विस्तार गरेर आम जनतालाई सशक्तीकरण गर्दै गुणस्तरीय जीवन जिउन सक्षम बनाउनु हो ।

साक्षरताले मानवको अन्तरनिहित प्रतिभा प्रस्फुटन गरेर सक्षमता ल्याउँछ । सक्षमताले पौरखी हातहरूलाई परिमार्जित र परिस्कृत गरेर हरेक व्यक्तिको जीवनमा आमूल परिवर्तन गर्छ । उसमा सूचना र प्रविधिको जानकारी राख्ने क्षमतामा वृद्धि हुुन्छ । साक्षरताले आत्मबल र आत्मविश्वासमा बढोत्तरी भई एक सफल र सबल नागरिकका रूपमा जीवनयापन गर्न अहम भूमिका खेल्दछ । साथै साक्षरता सहज आधुनिक जीवनको अपरिहार्य कुञ्जी हो । आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गरी देश विकास गर्न साक्षरता प्रतिशत उच्च हुनु पहिलो सर्त हो । मानव विकास सूचकांकलाई उच्च राख्न आवश्यक सर्तहरू स्वास्थ्य शिक्षा, विद्यालय भर्नादर, मातृ शिशु मृत्युदर, पोषण आदिको आधारशीला पनि साक्षरता हो । अन्तर्राष्ट्रिय राष्ट्रियस्तरमा प्रतिबद्ध सबैखाले विकासका लक्ष्य हासिल गर्न साक्षरता आधारभूत र अनिवार्य सर्त हो । त्यसकारण राज्यले आफ्ना नागरिकलाई यथाशक्य छिटो साक्षर बनाउन विभिन्न योजना, अभियान र कार्यक्रम ल्याउनुपर्ने हुन्छ । निरक्षरता र गरिबी एक–अर्काको परिपूरक हुन् । सहज र सफल जीवन जिउन कम्तीमा साक्षरताको विकल्प छैन ।

विज्ञान र प्रविधिको द्रुत गतिमा विकास र विस्तार भइराखेको वर्तमान एक्काईसौँ शताब्दीमा पनि विश्वमा ७५ करोड ९० लाख जनता निरक्षर पौढ छन् । जसमा करिब हरेक तीन निरक्षरमध्ये दुई जना महिला पर्छन् । विसं २०६८ को जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत ६५ दशमलव ९ प्रतिशत छ जसमध्ये पुरुष ७५ दशमलव १ र महिला ५७ दशमलव ४ प्रतिशत साक्षर छन् । महिला र पुरुषबीचको साक्षरताको खाडल करिब १८ प्रतिशत रहेको देखिन्छ ।

अशिक्षाका कारणले विपन्नता अन्धविश्वास, बेरोजगार, परालम्बी तथा कम्जोर स्वास्थ्य आदि नकारात्मक प्रवृत्तिले महिलालाई बढी गाँजेको हुन्छ । जबसम्म महिला र पुरुषलाई शिक्षामा पहुँच उनीहरूको क्षमताका आधारमा सुनिश्चित गरिन्न तबसम्म विकासको गति तीव्र नहुने यथार्थता हो । त्यसमा पनि यो दूरी पिछडिएको जातजाति, सो दुर्गम तथा निर्धनहरूको बसोबास क्षेत्रमा अधिक छ । नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यस्तो विषम परिस्थितिमा साक्षरतालाई सुगमतापूर्वक निरक्षरको पहुँचभित्र ल्याउन निश्चय नै ठूलै अठोट चाहिन्छ । महिला जनसङ्ख्या बढी भएको हाम्रोजस्तो देशलाई नयाँ नेपाल बनाउन महिला साक्षरतालाई विशेष महत्व दिएर सघन कार्यक्रम ल्याउनुपर्ने हुन्छ । आधा आकाश ढाकेका महिलाको सशक्तीकरण नगरिकन समृद्ध समाजको अपेक्षा गर्न सकिन्न ।

युनेस्कोले यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवस महिला र सशक्तीकरणका लागि साक्षरतामा केन्द्रित गरेको छ । सशक्तीकरण भन्नाले प्राप्त सूचनाहरूको सही जानकारी गरी निर्णय गर्ने क्षमताको विकास गर्नु हो । किनकि महिलाले समान अधिकार र अवसरको उपयोग जबसम्म गर्न पाउदिनन् तबसम्म दिगो विकासको कल्पना पानीको फोकाजस्तै हुन्छ । भनिन्छ, एकजना पुरुष शिक्षित भए आफूमा मात्रै सीमित हुन्छ तर एक जना महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन् त्यसकारण महिला शिक्षित हुनु भनेको पारिवारिक सक्षमता आउनु हो, आयआर्जन बढेर आत्मनिर्भर बन्नु हो, इलममा बढोत्तरी गरी सम्पन्नतातिर लम्कनु हो । आफ्नो हक, अधिकार र कर्तव्यप्रति सजग र सचेत भई स्वाभिमानिपूर्वक आत्मनिर्भर जीवनयापन गर्न कम्तीमा साक्षरताको विकल्प छैन ।

नेपालमा पनि महिला साक्षर र सशक्तीकरणका कार्यक्रम ल्याउने धेरै निकाय र संघसंस्था छन् । शिक्षा मन्त्रालयअन्तर्गतका निकायहरूले महिला सशक्तीकरणका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । उदाहरणार्थः महिला साक्षरता प्रथम द्वितीय, आयआर्जन समूहमार्फत आफूले अँगालेका र सम्भाव्य पेसाहरूलाई परिस्कृत गरेर आत्मनिर्भर बनाई आफ्नो खुट्टामा उभिन सक्ने सक्षमता प्रदान गर्न नीति लिएको छ । त्यसैगरी आयआर्जनमा वृद्धि गरी महिलाको जीवनस्तर उठाउन, आफ्ना कुराहरू निर्धक्कसँग राख्न अभ्यस्त बनाउन र संगठित भई हक र अधिकार सुनिश्चित गर्ने खालका कार्यक्रमहरू सामुदायिक अध्ययन केन्द्रमार्फत आयआर्जन समूह गठन गरी सञ्चालन गरेको छ । त्यस्तै स्वास्थ्य र सरसफाइसम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । विगत दुई वर्षदेखि राष्ट्रव्यापी साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । अभियानमा महिला सहभागितालाई प्रोत्साहित गरेको छ । साक्षरता कक्षाकेन्द्र तोक्ने स्वयम् सेवक एवं स्थानीय निरीक्षक नियुक्ति तथा व्यवस्थापनमा समेत महिला सहभागीको सुनिश्चित गरेको छ जसको फलस्वरूप महिला सहभागिता ८० प्रतिशतभन्दा बढी भएको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ । आधारभूत साक्षरता सीप हासिल गरेपछि महिलाको निरन्तर शिक्षाका लागि अनौपचारिक प्रौढ विद्यालयहरू विकास र विस्तार हुने क्रममा छन् । जहाँ महिलाले एसएलसीसम्म पढ्न पाउने अवसर पाउँछन् । त्यस्तै सामुदायिक अध्ययन केन्द्रमार्फत पायक पर्ने ठाउँमा आयआर्जन समूह गठन गरी उत्पादन वृद्धि र प्राप्त आर्जनलाई सामूहिकरूपमा बचत गर्ने अभ्यास गराउँदै आएको छ ।

सामाजिक रूपान्तरण गरेर समृद्ध नयाँ नेपाल बनाउने सपनालाई यथार्थतामा बदल्न आधा आकाश ओगटेका महिलाहरूको सशक्तीकरणको विकल्प छैन । साक्षरता सशक्तीकरणको पहिलो खुड्किलो हो । यसै वास्तविकतालाई आत्मसात् गरेर अनौपचारिक शिक्षाकेन्द्रले महिलालाई विशेष ध्यान दिएर कार्यक्रम सञ्चालन गर्दै आएको छ । साक्षरता अभियानका स्वयंसेवक, स्थानीय निरीक्षक तथा पढ्न आउने निरक्षर समेतमा महिलालाई प्राथमिकता दिनुपर्ने प्रावधान राखेको छ । जसको फलस्वरूप महिला साक्षरतामा उल्लेख्य वृद्धि भएको छ । मातृ तथा बाल मृत्युदर घटेको छ । राज्यका विभिन्न निकाय र कार्यक्रममा महिलाको पहुँच क्रमिकरूपमा बढेको छ । साक्षरत शिक्षित एवं सचेत महिला आमा भएको परिवारको बालबालिकाको पढाइको स्तर स्वभावैले बढ्न जान्छ । उल्लिखित कार्यक्रमहरू निश्चय नै हात्तीको मुखमा जिरा भएको छ । कार्यक्रमको सफलताको लागि पर्याप्त साधन स्रोतको तर्जुमा, प्रभावकारी कार्यान्वयन एवं सेवाग्राहीको अनुगमन निरीक्षण कार्यप्रगतिको आधारमा पुरस्कारको र दण्डको व्यवस्था गर्ने कार्यमा सबैको साथ सहयोग भएमा निश्चय नै हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौँ । त्यसकारण महिला साक्षरतालाई प्रत्येक नेपालीले घर–घरबाट सुरु गरेर पारिवारिक साक्षरतालाई प्रोत्साहित गर्नुपर्दछ । अरुले के ग-यो भन्दा पनि मैले के गरेँ भन्ने कुराले महत्व राख्छ । त्यसकारण यो संसारलाई बदल्नु छ भने आफैँबाट सुरु गरौँ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया