Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअभिशाप होइनन् हाम्रा पहाड र पर्वतहरु

अभिशाप होइनन् हाम्रा पहाड र पर्वतहरु


काठमाडौं । संयुक्त राष्ट्रसंघले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकासको रुपमा मनाउने निर्णय गरेको छ । आफ्नो सो निर्णयअनुसार राष्ट्रसंघले विश्वका सबै मुलुकका सरकार, अन्तर्राष्ट्रिय संघ/संस्था, गैरसरकारी संस्थालगायत सबै सरोकारवालालाई पर्वतीय पारिस्थितिकीय प्रणालीको महत्वको प्रचारप्रसार हुने गरी वर्षभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्न पनि आह्वान गरेको छ ।

विश्वको पाँच खण्डको एक खण्ड भू–भाग पर्वतीय क्षेत्रले ढाकिएको छ भने विश्वको कुल जनसंख्याको झण्डै दश प्रतिशत मानिस आफ्नो जीवन निर्वाहका लागि पर्वतीय क्षेत्रमा नै निर्भर रहने गरेका छन् । वन, खनिज, कृषि उत्पादन, जलशक्ति एवं ऊर्जाको नियमित आपूर्तिका दृष्टिले पर्वतीय क्षेत्र प्रकृतिको अत्यन्त महत्वपूर्ण स्रोत साबित हुनपुगेको छ । त्यस्तै विश्वका आधाभन्दा बढी जनसंख्याले पहाड र पर्वतीय क्षेत्रबाटै उपलब्ध हुने वस्तु र सेवाको उपभोग गरिरहेका छन् ।

नेपाल पनि एक पहाडी मुलुक हो । यहाँको दुई तिहाइभन्दा बढी अर्थात् झण्डै ८६ प्रतिशत भू–भाग चुरे, महाभारत, उच्च पहाडी भू–भाग र हिम शृंखलाहरुले ओगटेका छन् । विश्वका १४ वटा ठूलठूला हिमशृंखलाहरुमध्ये आठवटा नेपालमा पर्दछन् । विश्वको सर्वोच्च शिखर सगरमाथा र विश्वकै तेस्रो ठूलो कञ्चनजंघा हिमाल पनि नेपालमै पर्दछन् । त्यतिमात्र नभई सात हजार मिटरभन्दा अग्ला शिखरहरु १२२ वटा र छहजार मिटरभन्दा अग्ला झण्डै १४० वटा हिमशिखरहरु पनि नेपालमै पर्दछन् । ८,८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथाले त नेपालको गौरव र कीर्तिलाई विश्वभर नै फैलाइदिएको छ । यिनै पर्वतहरुले हामीलाई पर्वतारोहण, पदयात्राका लागि मनोरम भूदृश्य एवं पर्यटकीय दृष्टिले आकर्षक स्थलहरु समेत उपलब्ध गराएका छन् । यी पर्वतमालाहरु ठूला नदीहरुका स्रोत मात्र नभई समथल भूमिका लागि हिमनदी र उच्च शिखरहरुमा जल सञ्चयका लागि प्रमुख आधारस्थल पनि बन्न पुगेका छन् । त्यतिमात्र नभई हाम्रा यी पर्वतीय शृंखलाहरु औषधिजन्य जडीबुटीलगायत विविध प्रकारका वनस्पति तथा जीवजन्तुहरुको ठूलो भण्डारका रुपमा समेत रहनपुगेका छन् ।

तथापि पहाड र पर्वतीय क्षेत्रको यति व्यापक महत्व हुँदाहुँदै पनि हाम्रो मुलुकमा विगत केही दशकयता आएर प्राकृतिक र मानवीय कारणले गर्दा यस्ता पर्वतीय क्षेत्रहरुको विनाश हुने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ । भूकम्प, ज्वालामुखी विस्फोटजस्ता प्राकृतिक प्रकोपहरुले गर्दा पहाडहरु क्षय हुन पुग्छन् भने बाढी–पहिरो आदि प्रकोपबाट पनि भूस्खलन भएर हाम्रा यी पहाड र पर्वतीय शृंखलाहरु नाश हुने गरेका छन् । यसका साथै हिमालय र पर्वतीय भूभागमा जलवायु परिवर्तनको प्रभाव तुलनात्मक रुपमा बढी हुने पनि वैज्ञानिक अध्ययनले पुष्टि गरिसकेको छ । त्यसमाथि पहाड र पर्वतीय क्षेत्रहरुको विनाश हुनुमा प्राकृतिक कारणभन्दा पनि मानवीय कारण नै बढी जिम्मेवार रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । मानिसले आफ्नो निहित स्वार्थ परिपूर्ति गर्नका लागि पहाडी क्षेत्रमा रहेका बोटबिरुवाहरु काटेर वनविनाश गर्ने काम गर्दछन् । यसले गर्दा पहाडहरु नाङ्गा र उजाड बन्न पुग्छन् । वनविनाशका कारण पानी कम पर्ने भएको हुँदा यसबाट जीवनको लागि नभई नहुने पानीको सफ्ट सामना गर्नुपर्ने अवस्था आउन सक्छ । नेपालमा विगत केही वर्षयता वनविनाश तीव्र रुपमा भइरहेको छ । वनविनाशको यो क्रमलाई समयमै नरोक्ने हो भने नेपालमा मरुभूमीकरण बढ्दै जान कुनै लामो समय पर्खिरहन नपर्ने चिन्ता पनि विशेषज्ञहरुले प्रकट गर्न थालेका छन् ।

मानिस पूर्णतः प्रकृतिमा निर्भर प्राणी हो । प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ । तीमध्ये पहाड वा पर्वत पनि एक हो । पहाड पर्वतहरु हराभरा भए भने हामीले स्वच्छ हावा पाउँछौं अनि वातावरण पनि स्वच्छ, सफा र हराभरा हुन्छ । मानिसलाई जीवित रहन नभई नहुने एउटा तरल पदार्थ हो–जल अथवा पानी । पहाड नै पानीको मूल स्रोत हो । हाम्रो देशका ठूलठूला नदीनाला र झरनाहरु पहाडबाट नै निस्केका छन् । त्यसरी निस्केर बनेका खोला, नदीनाला र तालमा सदैव पानी भइरहन्छ र त्यसैबाट जलविद्युत् शक्ति पनि निकाल्न सकिन्छ । त्यसैले पहाड हराभरा भयो भने वर्षा यथेष्ट मात्रामा हुन्छ र मूलहरु सुक्न पाउँदैनन् । र, यसबाट पानीको आवश्यकता पनि परिपूर्ति गर्न सकिन्छ । यसका साथै पहाड र पर्वतीय शृंखलाहरुको गर्भमा प्रचुर मात्रामा खनिज तत्व रहने भएको हुँदा तिनको समुचित विकास गरी हामी प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्छौं । यसबाट देशको आर्थिक विकास र जनताको जीवनस्तर उकास्न पनि महत्वपूर्ण टेवा पुग्न जान्छ । यसको अलावा पहाडी क्षेत्रमा विभिन्न फलफूलहरु उत्पादन गरेर फलफूलको निर्यात बढाउन सके त्यसबाट पनि राष्ट्रको आम्दानी बढाउन सकिन्छ ।

यसरी मानव जीवनमा पहाड र पर्वतीय क्षेत्रको निकै ठूलो महत्व रहेको हामी पाउँछौं । त्यसकारण हामीले यस्ता पहाड र पर्वतीय क्षेत्रहरुलाई जोगाउन र तिनको संरक्षण सम्वर्द्धन गर्न आ–आफ्नो तर्फबाट सक्दो योगदान पु-याउनु अति नै आवश्यक देखिन्छ । यसको लागि हामीले पहाड र पर्वतीय क्षेत्रमा वृक्षरोपण अभियान चलाउनुका साथै त्यसलाई हुर्काउने बढाउनेतर्फ पनि यथोचित ध्यान पु-याउनु जरुरी हुन्छ । हुन त नेपालका पहाड र पर्वतीय क्षेत्रको संरक्षण सम्वर्द्धनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), विश्व वन्यजन्तु कोष (डब्लु.डब्लु.एफ) र अन्तर्राष्ट्रिय संरक्षण संघ आईयूसीएनजस्ता राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका निकायहरुले पनि आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । तर पर्वतीय विकासका लागि यी सङ्गठनका प्रयासहरु मात्र पर्याप्त हुँदैनन् । पहाड र पर्वतीय क्षेत्रको उचित संरक्षण र सम्वर्द्धनका लागि व्यक्ति, परिवार र समुदायले पनि आ–आफ्नो ठाउँबाट सक्दो योगदान पु-याउनुपर्छ भने नेपाल सरकार र अन्य सम्बद्ध निकायहरुले पनि एक आपसमा समन्वय राखी पहाड र पर्वतीय क्षेत्रहरुको दिगो विकासका लागि प्रभावकारी कार्यक्रमहरु तर्जुमा गर्नुपर्ने आवश्यकता छ ।

निश्चित रुपमा यस्ता जीवन्त पहाड र पर्वतीय शृंखलाहरुको उचित प्रचारप्रसार एवं संरक्षण सर्म्वर्द्धन गर्न सकिएको खण्डमा पर्यटकीय दृष्टिले समेत यी पर्वतीय शृंखलाहरु नेपालको लागि अभिशाप नभई वरदान साबित हुन सक्तछन् । (लेखक नास्टका सेवा निवृत्त वरिष्ठ प्रवर्द्धन अधिकृत हुन् ।) 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया