Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्वास्थ्यमा असमानता

स्वास्थ्यमा असमानता


काठमाडौं । ‘स्वास्थ्य’ भन्ने शब्द मानिस जन्मेदेखि नमरेसम्म जीवनको हरेक पक्षसँग सम्बन्धित छ । स्वास्थ्यका खराब र असल दुवै पक्ष हुन्छन् । असल पक्ष भन्नाले व्यक्ति शारीरिकरूपले तन्दुरुस्त, मानसिकरूपले सचेत, कुनै प्रकारको रोग नलागेको, स्वस्थ रहनका लागि वैज्ञानिक स्वास्थ्य आचरण अपनाउनुलाई जनाउँदछ । मानिसको जीवनमा प्राप्त हुने सम्पूर्ण उपलब्धिहरूको प्रमुख स्रोत नै असल स्वास्थ्य हो । असल स्वास्थ्यले नै व्यक्तिको सुन्दर भविष्यको निर्माण गर्न सक्दछ । विश्व स्वास्थ्य संगठनका नारा ‘हेल्थ इज वेल्थ’ले पनि प्रस्ट गर्दछ– मानिसको सबैभन्दा बहुमूल्य सम्पत्ति नै स्वास्थ्य हो । स्वस्थ व्यक्तिले नै आफ्नो परिवारको, समुदाय र राष्ट्रका लागि केही गर्नसक्छ र आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर अगाडि बढ्न सक्छ ।

हरेक मानिसको जीवनमा स्वास्थ्यले ठूलो महत्व राख्दछ । स्वास्थ्य असल भएमा जीवनका हरेक पक्षमा मानिसले सफलता हासिल गर्न सक्दछ । त्यसकारण स्वास्थ्य नै धन हो भन्ने कुरामा कसैको पनि दुईमत हुँदैन । कुनै समयमा विभिन्न आपत्–विपत्बाट मुक्त अवस्थालाई स्वास्थ्यको रूपमा लिएको पाइन्छ । कुनै समयमा दीर्घायु जीवनलाई स्वास्थ्यको रूपमा लिएको पाइन्छ भने कुनै समयमा रोगबाट मुक्त रहेको अवस्थालाई लिइएको पाइन्छ । यसरी बदलिँदो समयअनुसार स्वास्थ्यको अर्थ फरक–फरक रूपमा आएको देखिए पनि स्वास्थ्यलाई रोगबाट मुक्त भएको अवसरको रूपमा स्वीकार्ने व्यक्तिहरू अहिलेको समयमा पनि धेरै छन् । ‘स्वास्थ्य’ भन्ने शब्दको विकासात्मक इतिहासलाई केलाएर हेर्दा यसले ‘सम्पूर्णता’लाई लक्षित गरेको पाइन्छ । यहाँ सम्पूर्णताको अर्थ एउटा सिङ्गो व्यक्तिलाई लक्षित गरेको पाइन्छ । यसले व्यक्तिको सम्पूर्ण शारीरिक अंग प्रत्यंगहरूको स्वस्थ्यतालाई निर्देशित गर्दछ अर्थात् व्यक्तिको सम्पूर्णता नै स्वास्थ्य हो । अंग्रेजी शब्दकोषमा स्वास्थ्यलाई एउटा यस्तो अवस्थाको रूपमा परिभाषित गरिएको छ जसमा व्यक्ति कुन शारीरिक दुरावस्था, रोग र कष्टबाट मुक्त हुन्छ र उसको शरीर, मन र आत्मा पनि स्वच्छ र स्वस्थ हुन्छ ।

स्वास्थ्य जनशक्ति सामाजिक विकासको एउटा महत्वपूर्ण अंग हो । पर्याप्त सामाजिक विकासको अभावमा स्वस्थ मानिसहरूको पनि अभाव हुन्छ । त्यसैले मानिसहरूको स्वास्थ्य स्थितिमा सुधार गर्न सामाजिक विकासमा जोड दिनुपर्ने हुन्छ । मानव सभ्यताको विकासको प्रक्रियालाई हेर्ने हो भने स्वास्थ्यलगायतका अन्य मानवीय विकाससँग सम्बन्धित विषयहरूकको क्रमिक विकास भएको पाइन्छ । स्वास्थ्यसम्बन्धी विषयमा विगत केही समयअगाडिदेखि वा सामाजिक परिवर्तनको क्रमिक विकासअनुसार केही शताब्दीयतादेखि स्वास्थ्यलाई मौलिक मानव अधिकारको रूपमा लिन थालिएको पाइन्छ । यति मात्र होइन स्वास्थ्यलाई मानव विकासका जन्मदेखि मृत्युसम्म सबैभन्दा बढी महत्वपूर्ण अवयवको रूपमा लिन थालिएको छ । अझै भन्ने हो भने स्वथ्य भन्ने कुरालाई केवल शारीरिक वा मानिसिक अशक्तता मात्र नभनेर समग्ररूपमा एउटा सामाजिक दृष्टिकोणको आधारणाबाट पनि हेर्न र बुझ्न थालिएको छ ।

स्वास्थ्यसम्बन्धी विषयलाई लिएर विश्व स्वास्थ्य संगठनले दिएको परिभाषाले स्वास्थ्यको दायरालाई झनै फराकिलो पारेको छ, किनभने विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई शारीरिक क्षेत्रमा मात्र सीमित नराखी मानसिक र सामाजिक पक्षहरूमा समेत ध्यान दिएको पाइन्छ तसर्थ मानिस स्वास्थ्य हुनका लागि शारीरिक, मानसिक र सामाजिक तीनवटै पक्ष स्वस्थ हुनुपर्छ । यी तीनमध्ये एउटा पक्ष मात्रै अस्वस्थ भयो भने यसले अर्कोलाई असर पार्छ र स्वस्थ्य हुँदैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा करिब एक करोड व्यक्ति कुनै न कुनै तरिकाबाट सुर्तीजन्य पदार्थ सेवन गर्छन् र त्यसमध्ये करिब ७५ लाख व्यक्ति त प्रत्यक्षरूपमा चुरोट, बिँडी, खैनी, सुर्ती, जर्दा, पान पराग, हुक्का आदि सेवन गर्दछन् । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा हरेक वर्ष ५० लाखभन्दा बढी व्यक्तिको मृत्युको कारण सुर्ती सेवा भएको र यस्तै अवस्था रहेमा सन् २०३० सम्म सुर्ती सेवनबाट प्रत्येक वर्ष एक करोड मानिसको मृत्यु हुनेछ । धुम्रपानको धुँवा खानेलाई भन्दा उनीहरूले वातावरणमा फ्याँकेको धुँवा बढी खतरनाक हुन्छ, जसबाट निष्क्रिय धुम्रपानकर्ताहरू धुम्रपानसम्बन्धी थुप्रै प्राणघातक रोगहरू लाग्ने जोखिममा पर्दछन् । धुम्रपानका कारण हुने स्वास्थ्य समस्या फोक्सो, पेट, फियो, मूत्रनली र पाठेघरको क्यान्सर हुन्छ भने दम, खोकी, ब्रोङ्काइटिस, मुटु रोग, मस्तिष्क स्राव, गर्भको बच्चा कमजोर, रोगी र अङ्गभङ्ग हुने, काम गर्ने क्षमतामा कमी हुने गर्दछ । गर्भवती महिलाहरूको गर्भमा रहेको बच्चाको वृद्धिक्रममा असर पारी कम तौलको बच्चा जन्मन सक्छ, गर्भपतन हुने र अवधि पूरा नभई बच्चा जन्मन सक्छ । गर्भमा रहेको बच्चालाई चाहिने अक्सिजनको मात्रा घटाउँछ, गर्भको बच्चाको हृदयको गति बढाउँछ । धुम्रपान नगर्ने महिलाहरू धेरै समयसम्म धुम्रपान गर्ने व्यक्तिहरूको नजिक रहेमा २० देखि ३० प्रतिशत बढी क्यान्सर हुने सम्भावना हुन्छ ।

सुर्ती सेवनबाट अन्य घातक रोगको अलवा उच्च रक्तचाप हुने प्रमुख कारण हो । सुर्तीबाट हुने अकाल मृत्युबाट मानिसलाई जोगाउन यथाशीघ्र सुर्ती नियन्त्रणसम्बन्धी कानुनको निर्माण गरिनुपर्नेछ । पुनःस्थापित प्रतिनिधिसभाले ‘सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि प्रस्तावित महासन्धि’लाई अनुमोदन गरे पनि कानुनको निर्माण हुन सकेको छैन । नेपालमा मानसिक रोगबाट पीडित हुनेको संख्या ५० देखि ६० लाख रहेको छ । देशमा विद्यमान द्वन्द्व, आतंक, बन्द, हडताल, विस्थापित, बेरोजगारी आदि कारणले नेपालमा मानसिक रोगबाट पीडित हुनेको संख्या झन् बढ्दै गइरहेको कुरा मानसिक रोग विशेषज्ञहरूले बताएका छन् । अपहरण, चोरी, डकैती, कुलतमा फस्ने घटनाहरू, सामाजिक मतभेद आदि कारणबाट प्रत्यक्षरूपमा मानिसहरूलाई मानसिक रोगले च्यापेको छ । नेपालमा गरिउको एक

अध्ययनअनुसार कुल जनसंख्यामा नौ वर्षमाथिका १४ प्रतिशत व्यक्तिलाई कुनै न कुनै प्रकारको मानसिक रोगले पीडा दिएको हुन्छ । जसमध्ये दुई प्रतिशतलाई तुरुन्तै उपचार गरिहाल्नुपर्ने परिस्थिति पाइएको छ । हाल नेपालमा मानसिक रोगीहरूको प्रकृति हेर्दा अति विपन्न, गरिब परिवार, द्वन्द्वका कारण घरबार छोडेर घरदेखि टाढा विस्थापित भएका व्यक्तिहरू, शिक्षित बेरोजगारहरू रोजगार पाएका तर आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर र उचित ठाउँ नपाएका व्यक्तिहरू मानसिक रोगबाट पीडित भएका देखिन्छन् ।

आर्थिक सर्वेक्षण, आर्थिक वर्ष २०७८/७९ मा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १ दशमलव ७९ प्रतिशत रहने अनुमान रहेको छ । आर्थिक वर्ष २०७७७८ को तुलनामा चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा ६.९१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । आर्थिक वर्ष २०७७७८ को कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान १.७८ प्रतिशत र कुल मूल्य अभिवृद्धि वृद्धिदर ६.६० प्रतिशत रहेको छ । स्वास्थ्य क्षेत्रका सूचकमा उल्लेख्य सुूधार हुँदै गएको छ । दिगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्म कुल प्रजनन दर २.१ पु¥याउने लक्ष्य रहेकोमा हाल २ रहेको छ । त्यस्तै पाँच वर्षमुनिको बाल मृत्युदर र नवजात शिशु मृत्युदर पनि दिगो विकास लक्ष्यअनुसार घटाउन सफल भएको देखिन्छ । मातृ स्वास्थ्यसम्बन्धी अन्य सूचकहरूको चालू आर्थिक वर्षको फागुनसम्मको उपलब्धिको अनुपातले आर्थिक वर्षको अन्त्यसम्म दिगो विकास लक्ष्यले तोकेको लक्ष्य पूरा प्रारम्भिक अनुमान छ ।

आर्थिक वर्ष २०७७/७८ मा पीसीआर र एन्टीजेन गरी ३६ लाख ९८ हजार छ सय ४० व्यक्तिको कोभिड परीक्षण गरिएकोमा सात लाख नौ हजार चार सय ४६ जना कोभिड १९ बाट संक्रमित भई नौ हजार चार सय ६३ जनाको मृत्यु भएको थियो । चालू आर्थिक वर्षको फागुनसम्म कुल ६५ लाख ८३ हजार आठ सय ४८ जनाको कोभिड परीक्षण गर्दा ११ लाख १७ हजार नौ सय ३७ संक्रमित भई ११ हजार नौ सय ५० जनाको मृत्यु भएको छ । कोभिड १९ बाट संक्रमित व्यक्तिको परीक्षण, उपचार तथा व्यवस्थापनको लागि २०७८ फागुननसम्म देशभर आठ हजार दुई सय दुईवटा आइसोलेसन बेड, तीन हजार आठ सय ४६ वटा हाइ पिपेन्डेन्सी युनिट बेड, दुई हजार सात सय ९७ वटा आईसीयू बेड एक हजार आठवटा भेन्टिलेटर, छ सय ९३ वटा अक्सिजन कन्सनटेटर र ९८ वटा अक्सिजन प्लान्ट रहेका छन् । हाल कुल ९८ वटा अस्पतालहरूले कोभिड १९ केयल युनिट सञ्चालन गरिरहेका छन् ।

आर्थिक वर्ष २०७७/७८ देखि प्राथमिकताको आधारमा देशभरि नै कोभिड १९ विरूद्धको खोप लगाउन सुरु भएको थियो । आर्थिक वर्ष २०७७७८ मा पहिलो मात्रा खोला लगाउनेको संख्या २६ लाख २१ हजार चार सय ७६ रहेकोमा २०७८ फागुनसम्म पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ८६ लाख २४ हजार एक सय ४६ , दोस्रो मात्रा तथा पूर्ण खोप लगाउनेको संख्या एक करोड ८५ लाख दुई हजार एक सय १९ र अतिरिक्त खोप लगाउनेको संख्या १७ लाख पाँच सय ८० पुगेको छ । २०७८ असारसम्म एक सय २५ अस्पताल, दुई सय पााँच प्राथमिक स्वास्थ्य केन्द्र, तीन हजार आठ सय ७० स्वास्थ्य चौकी, तीन सय ९५ आयुर्वेदिक अस्पाताल र दुई हजार नौ सय ७१ आधारभूत स्वास्थ्य केन्द्र गरी सात हजार पाँच सय ६६ स्वास्थ्य संस्थागत सञ्चालन रहेकोमा २०७८ फागुनसम्म यस्तो संख्या सात हजार पाँच सय ९८ पुगेको छ । २०७८ फागुनसम्म डाक्टर, नर्स अनमी कविराज, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयम्सेविका गरी जम्मा स्वास्थ्य जनशक्ति ९७ हजार चार सय ४९ रहेको छ । यस्तो संख्या २०७७ फागुनसम्म ९० हजार तीन सय ६९ रहेको थियो ।

आर्थिक वर्ष २०७८/२०७९ को पागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभीको रोकथाम कार्यक्रममा आबद्ध ४२ गर्भवती महिलासहित १९ हजार पाँच सय ६५ एचआईभी संक्रमितलाई एन्टी रेट्रो भाइरल औषधि वितरण गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा एक सय ३७ गर्भवती महिलासहित १८ हजार आठ सय ९२ एचआईभी संक्रमितलाई एन्टी रेट्रो भाइरल औषधि वितरण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आर्थिक वर्ष २०७७/७८ सम्म सात सय ४० बिरामीको मिर्गौला र ६ बिरामीको कलेजो प्रत्यारोपण गरिएको छ । चालू आर्थिक वर्ष २०७८/७९ फागुनसम्म ८२ बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ । आर्थिक वर्ष २०७८/७९ फागुनसम्म तीन सय ७३ बिरामीको मुटुको भल्भको निःशुल्क शल्यक्रिया र आठ सय ८५ बिरामीको विभिन्न प्रकारको मुटुको शल्यक्रिया गरिएको छ । साथै छ हजार तीन सय ५९ बिरामीले क्याथल्याब सेवा प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा यस्तो संख्या क्रमशः तीन सय ७२, आठ सय ६२ र छ हजार नौ सय ९३ रहेको थियो । २०७८ सालको पुस मसान्तसम्म २६ हजार ५२ मेडिकल चिकित्सक, चार हजार ८१ दन्तचिकित्सक र आठ हजार आठ सय ६२ जना विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । त्यसैगरी नेपाल नर्सिङ काउन्सिलअन्तर्गत पाँच सय ९८ नर्स विषेषज्ञ, ६८ हजार तीन सय १६ नर्स) र ३६ हजार चार सय ४६ अनमी दर्ता भएका छन् । २०७८ असारसम्म ७५ जिल्लाका सात सय ३६ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार भएकोमा २०७८ फागुनबाट यस्तो कार्यक्रम ७७ जिल्लाका सात सय ४२ तहमा विस्तार भएको छ । यस कार्यक्रमबाट २०७८ फागुनसम्म ५२ लाख ६४ हजार नौ सय ५१ बीमित लाभान्भित भएका छन् ।

वर्तमान पन्ध्रौँ योजना २०७६–२०८१ मा स्वास्थ्य तथा पोषण विकास कार्यक्रमअन्तर्गत स्वास्थ्य, उत्पादनशील, जिम्मेवार र सुखी नागरिक बनाउने सोच राखिएको छ त्यस्तै सबै तहमा बिल स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्दै जनस्तरमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ भने संघ, प्रदेश र स्थानीय तहमा सबै किसिमका सेवाहरूको सन्तुलित विकास र विस्तार गर्नु, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको लागि सरकारको उत्तरदायित्व र प्रभावकारी नियमन अभिवृद्धि गर्दै, नाफामूलक स्वास्थ्य क्षेत्रलाई सेवामूलक क्षेत्रको रूपमा क्रमशः रूपान्तरण गर्नु, बहुक्षेत्रीय समन्वय तथा साझेदारीसहित स्वास्थ्य सेवामा नागरिकको पहुँच तथा उपभोग बढाई सेवा प्रदायक र सेवाग्राहीलाई थप जिम्मेवार बनाउँदै स्वास्थ्य जीवनशैली प्रवर्द्धन गर्ने पनि उद्देश्य राखिएको पाइन्छ ।

यसको साथसाथै प्रतिकात्मक प्रवर्द्धनात्मक, उपचारात्मक पुनर्स्थापनात्मकलगायतका आधारभूतदेखि विशिष्टीकृत र गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकाको पहुँच सुनिश्चित गर्ने, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा अन्य चिकिस्सा पद्धतिहरूको योजनाबद्ध विकास गर्ने, जीवनपथको अवधारणाअनुरूप सबै उमेरसमूहका नागरिकको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गरी मातृशिशु, बालबालिका र किशोरकिशोरीको सर्वाङ्गीण विकास र परिवार व्यवस्थापन सेवालाई थप सुधार तथा विस्तार गर्ने, जनसंख्या वितरण, भौगोलिक अवस्थिति एवं आवश्यकताको आधारमा संघ, प्रदेश र स्थानीय तहमा अस्पताल र स्वास्थ्य संस्थाहरू तथा सीप मिश्रित सामाजिक उत्तरदायित्व बहन गर्नसक्ने दक्ष जनशक्तिको विकास तथा विस्तार गर्ने आदिजस्ता रणनीतिहरू पनि राखिएको पाइन्छ ।

राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति २०७६
(क) सुरक्षित एवं स्वास्थ्य कार्य वातावरण सुनिश्चित गरी उत्पादकत्व वृद्धि गर्न
(ख) कार्यस्थलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रणालीमा सुधार गरी मानवीय एवं भौतिक क्षतिको न्यूनीकरण गर्न
(ग) सुरक्षा एवं स्वास्थ्यको दृष्टिबाट उद्योग, व्यवसाय, पेसा वा श्रममूलक क्रियाकलापहरूको वर्गीकरण गरी सुरक्षित कार्यस्थल बनाउन आवश्यक पर्ने मापदण्ड, सूचकांक र उपयुक्त सुरक्षा प्रणालीको विकास गर्न,
(घ) प्रतिष्ठानस्तरको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी नीति निर्माणका लागि मार्गदर्शन गर्न
(ङ) व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी कार्यहरूको प्रवर्द्धन नियमन, अध्ययन र अनुसन्धान तथा संस्थागत क्षमता अभिवृद्धि गर्न
(च) व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको निरीक्षण तथा प्रमाणीकरण व्यवस्थापन प्रणालीको विकास गरी संस्थागत गर्न र
(छ) व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सूचना व्यवस्थापन प्रणाली विकास गरी तथ्यांक अद्यावधिक गर्न ।

नेपाल सरकारले आगामी १० वर्षभित्र सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने योजना तर्जुमा गरेको छ । ‘स्वच्छ खानेपानी सबैको अधिकार–सर्वत्र सरसफाइ स्वस्थ जीवनको आधार’ नारासहित तर्जुमा गरिएको उक्त योजना सन् २०१७ सम्ममा पूरा हुनेछ । स्वच्छ पानी र पानीका स्रोत उपयोगबाट हुने प्रदूषणका कारण फैलने रोगबाट नेपाली जनतालाई मुक्त गर्न उक्त योजना तर्जुमा गरिएको हो । नेपालमा एक लाखभन्दा बढी व्यक्तिहरू लागुऔषध दुर्व्यसनी छन् । लागुऔषध नियन्त्रण शाखाका अनुसार नेपालमा सुईद्वारा लागुऔषध प्रयोग गर्नेहरूको संख्या २८ देखि ३० हजार छ । राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार नेपालमा असुरक्षित यौन सम्पर्कको तुलनामा सुईद्वारा लागुऔषध प्रयोग गर्नेमा एचआईभी संक्रमण बढी हुने देखिएको छ । यसरी लागुऔषध प्रयोग गर्नेहरूमध्ये अधिकांशको उमेर १५ देखि ३५ वर्ष छ ।

नेपालमा खानेपानीको स्वच्छता र सरसफाइको अभावमा उत्पन्न हुने रोगहरूका कारण स्वास्थ्य क्षेत्रमा वर्षेनी दुई अर्बभन्दा बढी रकम खर्च हुनेगरेको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक संस्थाको सो तथ्यांकले नेपालमा खानेपानी उपभोग गर्दा सजगता अपनाइने नगरिएको छर्लङ्ग पारेको छ । वर्षेनी अधिराज्यका कुल घरसंख्याको १५ दशमलव ८ प्रतिशतमा झाडापखालाको समस्याले सताउँछ । नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनास्ट)ले दिएको जानकारीअनुसार अधिराज्यका २५ प्रतिशत जनता अझै सुरक्षित पिउने पानीको पहुँचबाट टाढा छन् । यसैगरी ६० प्रतिशत जनता सामान्य सरसफाइको सुविधाबाट वञ्चित छन् । तथ्यांकअनुसार सहरी क्षेत्रमा साढे २० प्रतिशत र ग्रामीण क्षेत्रमा झण्डै ४ प्रतिशत घरहरूमा मात्रै खानेपानी उमालेर पिउने चलन छ । एक अर्को तथ्यांकअनुसार १२ प्रतिशत नेपालीले दिसा गरेपछि साबुनपानीले हात धुन्छन् भने ६० प्रतिशतले दिसा गरेपछि पानीले हात धुँदैनन् ।

स्वास्थ्य सेवाको विकासमा स्थानीय समुदायस्तरसम्म संस्थागत विकास भए पनि जनशक्ति विकास तथा सेवाको पहुँचमा राम्रो सुधार हुन सकेको छैन । भौगोलिक कठिनाइले गर्दा नियमितरूपमा जनशक्ति औषधि, औजार र उपकरण आपूर्ति गर्न सकिएको छैन । स्वास्थ्य क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन तथा निजी क्षेत्रमा स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तरको प्रभावकारी अनुगमन र मूल्यांकन हुन सकेको छैन । मितव्ययिता र लागत प्रभावकारिताको आधारमा वित्तीय व्यवथापन क्षेत्रमा मितव्यिता ल्याउनु तथा माग र आपूर्तिको आधारमा उपलब्ध सबै स्रोतहरूको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । विनियोजन रकम पूरै निकास नहुनु, केही कार्यक्रमहरू बजेटको अभावमा कटौती गरिनु दातृ संस्थाहरूले प्रतिबद्धता गरेअनुसारको बजेट समयमा नै उपलब्ध हुन नसक्नु प्रगति कम देखिनु जिल्लाहरूमा स्वास्थ्यकर्मीको कमी हुनु र रिक्त दरबन्दी पूर्ति गर्न समस्या हुनु, दुर्गम स्थानको स्वास्थ्य उपचार सेवामा असमान पहुँच हुनु र विशेषगरी दुर्गम स्थानमा स्वास्थ्य सुविधा ज्यादै नगण्य रूपमा उपलब्ध हुनु वा उपलब्ध नै नहुनु, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन नसक्नु र केन्द्रस्तरदेखि जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य उपचार केन्द्र र स्वास्थ्य केन्द्रहरूमा स्वास्थ्यसम्बन्धी उपकरणको अभाव रहनु, ग्रामीण क्षेत्रमा औषधिको कमी र भएको औषधिको पनि उचित उपयोग नहुनु र नेपाल सरकारद्वारा निःशुल्क वितरण गरिने औषधि पर्याप्त मात्रामा उपलब्ध नहुनु, महिला र पुरुषबीच आधारभूत तथा प्रजनन स्वास्थ्यका सम्बन्धमा ज्ञान नहुनु र विशेषगरी महिलाहरू स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित हुनु र मातृ शिशु सेवा सर्वसुलभ नहुनु तथा बृद्ध, अपाङ्ग र गरिबहरूका लागि पर्याप्त स्वास्थ्य सेवा उपलब्ध नहुनु, स्वास्थ्य सेवा अत्यन्त महँगो वा उपलब्ध नै हुन नसक्ने स्थिति रहनु र कुपोषणको समस्या व्यापक हुनु तथा स्वास्थ्य सेवामा संलग्न चिकित्सकहरूको आम्दानी अपर्याप्त भएकाले सरकारी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा कम सन्तोषजनक हुनु, कम गुणस्तरको वा नक्कली औषधि बिक्रीवितरणमा नियन्त्रण नहुनु र होमियो, आयुर्वेदिक र युनानी उपचार सेवाको आकर्षणमा कमी रहनु तथा विशेषगरी दुर्गम ग्रामीण क्षेत्रमा रुढीवादी परम्पराको प्रभाव कायमै रहनु । स्वास्थ्य सेवामा स्थानीय समुदायको परिचालन अपेक्षित मात्रामा ठूलो असमानता विद्यमान रहेकै छ भने अर्कोतर्फ आर्थिक स्थितिमा अपेक्षित सुधार भई स्वास्थ्य सेवाका विस्तार र खर्च वहन गर्नसक्ने क्षमताको अभिवृद्धि हुन सकेको छैन । स्वास्थ्य सेवा ऐन लागू भए पनि उचित मानव संसाधनको व्यवस्थापन र उत्प्रेरणाको अभावले उपलब्ध जनशक्तिको प्रभावकारी उपयोग गर्न सकिएको छैन । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया