Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगक. प्रभाकरको बिम्ब र भ्रष्टाचारको दलदलमा फस्दै गएका अर्थमन्त्री शर्माको भविष्य

क. प्रभाकरको बिम्ब र भ्रष्टाचारको दलदलमा फस्दै गएका अर्थमन्त्री शर्माको भविष्य


काठमाडौं । जब २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले बहुमतको सरकार हुँदाहुँदै संसद् विघटन गरेर मध्यावधि रोजे, त्यसपछि बनेको एमालेको नौ महिने शासन पनि टिकेन र तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद् विघटन गरे । तर, उक्त संसद् विघटन अवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले २०५२ भदौ १२ गते संसद् व्युँतिएको फैसला सुनायो ।

अनि सुरु भयो संसद् किनबेच र फोहोरी खेल । यति घिनलाग्दो खेल सुरु भएको छ कि विश्वकै उत्कृष्ट भनिएको संविधानविरुद्धको विकल्प खोज्न थाले । यही घिनलाग्दो राजनीति, भ्रष्टाचार र कुशासनबाट आजित भएका जनता २०५२ साल फागुन १ गतेबाट सुरु भएको जनयुद्धतर्फ आकर्षित भए ।

छोटो अवधिमै जनयुद्धले उचाइ मात्रै लिएन र वेग हान्न सक्ने नै भयो । २०५८ सालमा गठन भएको जनमुक्ति सेनाको बलमा २०५८ मंसिर ८ गते राति दाङस्थित नेपाली सेनाको ब्यारेक कब्जा गरेर ट्रकका ट्रक हतियार कब्जा गरेपछि माओवादी र जनयुद्ध अन्तर्राष्ट्रियकरण भयो ।

जनताका होनाहार छोराछोरीहरू मुक्ति वा विजयमध्ये एक रोज्ने भन्दै शहादतका लागि लामबद्ध भए । मुक्तिकामी, जुझारु र बलिदानका लागि तयार भएकाहरूको नेतृत्व गर्दै वन, भीरपाखाहरूमा दौडिने एक युवा क. प्रभाकर दुश्मन सेनाको लागि भयङ्कर त्रास र आतङ्क सिर्जना गरिरहेको थिए भने जनताको लागि हिरो बन्दै पश्चिम नेपालका दर्जनौँ युद्धहरूको नेतृत्व गरिरहेका थिए ।

हो, त्यही जनताको आशा र विश्वासको पर्याय जनमुक्ति सेनाका कमाण्डर क. प्रभाकर (जनार्दन शर्मा) यतिबेला देशको अर्थ मन्त्रालयको नेतृत्व सम्हालिरहेका छन् । तर, मुक्तिकामी जनताको मुक्तिका लागि क. प्रभाकरले निभाएको नेतृत्वदायी भूमिका, उनको त्याग र बलिदानलाई गिज्याउने गरी अनि उही २०५२ सालपछिको विकृत चित्र दोहो-याउने गरी भइरहेको भ्रष्टाचार, कुशासन र सेटिङबारे अर्थमन्त्री जनार्दन शर्मा थाहा नपाएझैँ मौन छन् ।

यहीबीचमा उनीमाथि करको दर हेरफेरमा सेटिङ गरेको भनेर गम्भीर आरोप समेत लाग्यो, छानबिन समेत भयो र शर्माले उन्मुक्ति पाए र पुनः अर्थ मन्त्रालयको जिम्मेवारीमा फर्किएका छन् ।

मन्त्री शर्मा निर्दोष साबित पनि भए, पुनः मन्त्रीमा पनि फर्किए तर जनताको मन–मनमा भने जनार्दन शर्माप्रतिको २०५२–०६२ को त्यो बिम्ब, त्यो साहस, त्यो बलिदानीभाव बाँकी छैन । बरु उनीमाथि भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, माफियाहरूले रचना गरेको भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबेको, बिचौलिया र कमिसनखोरका स्वार्थहरूको जगजगीसामु लुत्रुक्क परेको र साहसविहीन व्यक्तित्व, कासनविहीन कमाण्डर र चेनअफ कमाण्ड भताभुङ्ग भई रणभुल्ल, विलखबन्धनमा परेको सैन्य कमाण्डरझैँ देखिन थालेका छन् ।

Open photo

मन्त्री शर्मामा क. प्रभाकरको ओज त छैन नै, न त जनताको त्यो विश्वास बाँकी छ, न आशा नै । क. प्रभाकरको रूपमा जनार्दन शर्माप्रति आम जनताको आशा मात्रै होइन, सिंगो देशको सपना थियो । तर, त्यो सपना विलीन हुँदै गइरहेको छ र फर्कने आशा समेत क्षीण हुँदै गइहेको छ ।

जनयुद्धको समयमा, जनमुक्ति सेनाको कमाण्डर हुँदा जुन बिम्ब, पहिचान र ओज क. प्रभाकरमा देखिन्थ्यो, त्यो आज हराएको छ, बिलाएको अनि मलिन र निराश भावमा कर्मचारीझैँ घोटिएर काम गरिरहेका छन् जनार्दन शर्मा । अर्थ मन्त्रालयमा मन्त्री शर्माभन्दा ठेकेदार, बिचौलिया र माफियाहरूको रगजग बढेको छ ।

उनको कार्यकक्षमा टाढा–टाढाबाट आएका नेता–कार्यकर्तालाई भेटघाटमा मुश्किल छ तर माफियाहरू सिधै भित्र प्रवेश गरेर भालाकुसारी गरिरहेका भेटिन्छन् । अर्थात् क. प्रभाकरलाई भेट्न आउनेहरूका लागि ढोका बेलामौका मात्रै खुल्नेछ भने अर्थमन्त्री जनार्दन शर्मालाई भेट्न आउनेहरूका लागि २४सै घण्टा उनको ढोका खुला हुनेछ । बिम्बात्मकरूपमा क. प्रभाकर यतिबेला दुश्मन सेनासँग मिल्ने माफिया, बिचौलियाका काम गर्ने कर्मचारी बनेको देखिन्छन् भने राजनीतिकरूपमा स्खलित भएका छन् अनि नैतिकरूपमा च्यूत भएका छन् । वर्ग चरित्रअनुसार रुकुमको एक विकट गाउँमा जन्मिएर जनताको मुक्ति लक्ष्यका लागि विजय वा शहादत दुईमध्ये एक रोज्न हिँडेका होनाहार योद्धा हुन् ।

तर, माओवादीले जनताको मुक्तिको सपनालाई थाती नराखी शान्तिपूर्ण राजनीतिमा फर्केपछि क. प्रभाकर अहिले अर्थमन्त्री जनार्दन शर्माको नयाँ बिम्ब, नयाँ परिचयको रूपमा जनतामाझ परिचित बन्दै छन् । यसअघि ऊर्जामन्त्री हुँदा राम्रै नतिजा दिएका मात्रै होइन, अँध्यारोबाट जनतालाई मुक्त गरेका जनताका इमान्दार सिपाही हुन्, जनार्दन शर्मा । तर, जनार्दन शर्माको त्यो बिम्ब आज छैन । पदमा पुगेपछि वर्गीय पक्षधरताको लागि काम गर्ने विश्वास गरिएको र अझै पनि आशा नमारिएको एक व्यक्ति हुन्, जनार्दन शर्मा ।

जनार्दन शर्माले सम्हालेको अर्थ मन्त्रालयमा पछिल्लो एक वर्षको अवधिमा भएका भ्रष्टाचार, सेटिङ र कुशासनले उनी जनताबाट बिस्तारै अर्काे समूहतर्फ अघि बढिरहेको देखाउँछ । अर्थ मन्त्रालय मातहत भइरहेको अर्बौँ रुपैयाँको भ्रष्टाचार, कुशासन र सेटिङबाट जनता आहत बनेका छन् ।

तर, जनार्दन शर्मा भ्रष्टाचारका कारण देश गम्भीर अवस्थातर्फ अघि बढ्दा उत्पन्न भएको जनताको चित्कार, रोदनमा मौन प्रायः देखिन्छन् । यो उनको वर्ग चरित्र, क्रान्तिप्रति उनले व्यक्त गरेको प्रतिबद्धताहरूसँग ठ्याक्कै मेल खाँदैन ।

अर्थमन्त्रीका रूपमा जनार्दन शर्माका पछिल्ला गतिविधिहरूले उनीमाथि गम्भीर आक्षेपहरू लगाउने ठाउँमा पुग्नै लागेका हुन् कि भन्ने आभाष हुन थालेको छ । जुन मुक्तिकामी जनताको लागि क्रान्तिकारी र परिवर्तन चाहने जनताको लागि चिन्ता मात्रै होइन पीडादायी अवस्था पनि हो ।

चुनावी सरकारले विभिन्न बहनामा अर्बौँ रुपैयाँको सेटिङ गर्न दिने कार्य किमार्थ स्वीकार हुनै सक्दैन ।

तर, बीमा समितिले हिमालयन रि नामक कम्पनीलाई साढे अर्बको व्यवसाय दिन सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको हिस्सा खोस्ने निर्णय, बीमा समितिको लघुबीमाको लाइसेन्स दिई करिब दुई अर्ब संकलन गर्ने निर्णय, नयाँ स्टक एक्सचेन्जका लागि छ अर्ब रुपैयाँको सेटिङ, नयाँ कमोडिटी एक्सचेन्जका लागि त्यति नै अर्ब, ब्रोकर लाइसेन्सका लागि अर्बौँ रुपैयाँको सेटिङ भएको चर्चा बजारमा व्याप्त छ ।

त्यस्तै राष्ट्रिय बीमा कम्पनीमा पार्टीमा योगदान गरेको रुकुमेलीलाई सीईओ नियुक्ति नगरी घुस सेटिङमा कालो कांग्रेसीलाई नियुक्ति गरेको मात्रै नभई भ्रष्टाचारी र पैसा उठाउन जस्तोसुकै हर्कत गर्न तयार व्यक्ति भनेर चिनिएका कृष्णहरि पुस्करलाई अर्थ मन्त्रालयको सचिव बनाएर दर्जनौँ कुशासनमा मौन रहँदै आउनु क. प्रभाकरको बिम्बलाई छोप्ने जनार्दन शर्माको नयाँ रूपलाई उदाङ्गो पार्ने गतिविधिहरू हुन् ।

यो हद दर्जाको अनैनिक कार्यमा जनयुद्धका पूर्वकमाण्डरको मौनतालाई मौनतामा मात्रै सीमित राख्न जनता तयार छैनन् । पारिवारिक दबाब, पार्टीभित्रको दबाब, चुनावका लागि चाहिने खर्च आदि दबाबका कारण क. प्रभाकरको बिम्ब जनार्दन शर्माबाट अलग्गिँदै गइरहेको छ ।

जति जति भ्रष्टाचार, कुशासन र सेटिङमा जनार्दन शर्मा फस्दै जान्छन्, उति नै उनलाई आफ्नै बिम्ब अर्थात् क. प्रभाकरले गिज्याउँदै जानेछ । जनार्दन शर्माको यो जबरजस्त बिम्ब बनाउने कार्यमा उनको वरपर रहेका र आफन्त अनि ‘गाँडेहरू’ मुख्य रूपमा जिम्मेवार छन् भन्ने कुरा क. प्रभाकरले बुझेनन् र तत्काल सुधारको दिशामा कठोर कदम अघि बढाउन सकेनन् भने भविष्यमा देशको प्रधानमन्त्री बन्ने सम्भावना बोकेको, जनयुद्धको विरासत बोकेको माओवादी केन्द्रभित्र वैकल्पिक नेतृत्वको रूपमा चर्चा हुने जनार्दन शर्माको राजनीतिमा फेरि कहिल्यै पनि क. प्रभाकरको बिम्ब फर्किने छैन, नेपालको राजनीतिमा क्रान्तिकारी र माओवादीहरूले समेत ठूलो आघात व्यहोर्नुपर्नेछ । (शेर सिं पञ्चायत र जनयुद्धको समयमा सरकारविरुद्धमा अभिव्यक्ति दिने वामपन्थी नेताले लेख्ने उपनाम हो ।)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया