Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्वास्थ्य सेवामा स्थानीय सरकारको भूमिका

स्वास्थ्य सेवामा स्थानीय सरकारको भूमिका


काठमाडौं । संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ ।

स्वास्थ्य सेवामा कार्यान्यन भएका विभिन्न कार्यक्रमको फलस्वपरूप प्रतिहजार जीवित जन्ममा शिशु मृत्युदर ३२, नवजात शिशुु मृत्युदर २१ र पाँच वर्षमुनिको बाल मृत्युुदर ३९ तथा मातृ मृत्युदर दुई सय ३९ (प्रतिलाख जीवित जन्ममा)मा झरेको छ भने कुल प्रजनन दर २ दशमलव ३ प्रतिमहिला रहेको छ । त्यसैगरी पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपना घटेर ३६ प्रतिशत रहेको छ । यस परिप्रेक्षमा नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपाल सरकारका विद्यमान नीति एवं स्वास्थ्य तथा पोषणा क्षेत्रका प्रमुख समस्या, चुनौती तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय कार्यसूची रहेको छ । नागरिकलाई स्वस्थ बनाउन आधुनिक चिकित्सा, आयुर्वेदिक, प्राकृतिक, होमियोपेथिक चिकित्सा क्षेत्र, स्वास्थ्य सुशासन र अनुसन्धानमा लगानी बढाउन आवश्यक देखिएको छ । पन्ध्रौँ योजनामा स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु-याउन राज्यको नेतृत्वदायी र निजी तथा सहकारी क्षेत्रको परिपूरक भूमिका रहेको पाइन्छ ।

पन्ध्रौँ योजनाको सफल कार्यान्वयनपछि, स्वस्थ, सबल र सक्रिय जीवनसहितको नेपालीको औसत आयु ७२ वर्ष पुग्नेछ । प्रतिलाख जीवित जन्ममा मृत्यु अनुपात ९९, प्रतिहजार जन्ममा नवजात शिशु मृत्युदर १४ र पाँच वर्षमुनिको बाल मृत्युदर २४ मा झर्नेछ । पाँच वर्षमुनिका कम तौल भएका बालबालिका २७ बाट १५ प्रतिशतमा र पुड्कोपना भएका बालबालिका ३६ बाट २० प्रतिशतमा आउनेछ । नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नेछन् । स्वास्थ्य बीमामा आबद्ध भएको जनसंख्या ६० प्रतिशत, स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च घटेर ४० प्रतिशत, स्वास्थ्यमा सरकारी लगानी ८ प्रतिशत र ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहुँच भएका घरपरिवार ८० पुगेको हुनेछ । प्रोटोकलअनुसार कम्तीमा चार पटक गर्भवती जाँच गराउने महिला ८१ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा जन्मिएका बालबालिका ७९ प्रतिशत र पूर्ण खोप पाउने बालबालिका ९५ प्रतिशत हुनेछन् । मलेरिया, कालाज्वर र हात्तीपाइले रोग निवारण हुने अपेक्षा राखिएको छ ।

नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघीय स्वरूप, भौगोलिक एवं जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्नु, आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बीमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु, गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैको लागि स्वास्थ्य बीमा लागू गर्नु, वैदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु, भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो ।

मुलुकमा लोकतन्त्रको बहालीसँगै राज्यसँग आम जनताले गर्ने अपेक्षामा अत्यधिक वृद्धि हुनुका साथै चेतनास्तरमा भएको विकासका कारण सार्वजनिक सेवाप्रवाहलाई नागरिकको हितअनुकूल बनाउनुपर्ने आवश्यकता टड्कारो देखिएको छ । लोकतान्त्रिक परिपाटीले नागरिकको सार्वजनिक सेवाप्रतिको चासो र जनस्तरबाट यसको प्रभावकारी अनुगमनलाई थप बल पु-याएको छ । नेपालको संविधानले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भनी स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकभित्र समावेश गरेको छ ।

स्थानीय तहमा कम्तीमा १५ शय्याका अस्पताल बनाउन त्यस ठाउँको प्राथमिक स्वास्थ्य सेवा केन्द्र तथा स्वास्थ्य चौकीको क्रमशः स्तरोन्नति गर्ने यसमा उल्लेख छ । यसै सिलसिलामा स्वास्थ्य सेवामा प्राथमिक उपचारको ठूलो महत्व हुन्छ । प्राथमिक उपचारबारे स्वास्थकर्मी बाहेक जोकोहिलाई पनि ज्ञान हुनु अति आवश्यक छ । दुर्घटनाहरू जहाँ, जहिले र जुनसुकै अवस्थामा, जसलाई पनि हुन सक्छ । त्यसकारण प्राथमिक उपचारको ज्ञान भएमा दुर्घटना भई जोखिममा परेका बिरामीको स्वास्थ्य अस्पताल लैजानुभन्दा पहिला रक्षा गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ । प्राथमिक उपचारको सीप भएमा धेरै दुर्घटनामा परेका व्यक्तिको जोखिम न्यूनीकरणमा सहज भई मानिसको जीवन रक्षा हुन्छ । प्राथमिक उपचारबारे शिक्षण संस्था, सामाजिक संघसंस्था तथा सर्वसाधारणलाई पनि योसम्बन्धी ज्ञान दिन अति आवश्यक हुन्छ । यस्तो ज्ञान दिएमा दुर्घटना भएका व्यक्तिलाई थप जोखिम नभई स्वास्थ्य संस्थामा ल्याउन सहज भई जीवन रक्षा गर्न सकिन्छ ।

प्राथमिक उपचार सीप भएका व्यक्ति समुदायमा धेरै भएमा समुदाय सुरक्षित र स्वस्थ हुन सक्छ । त्यसमा पनि हाम्रोजस्तो विकासोन्मुख देश जहाँ स्वास्थ्य उपचार उपलब्धता समान, सरल र सहज छैन । प्राथमिक उपचारको महत्व अझ धेरै हुन्छ । दुर्घटना र आकस्मिक अवस्थाको भर हुँदैनन् । तर प्राथमिक उपचारले केही भइहालेमा जोखिम न्यूनीकरण गर्न सकिन्छ । कार्यस्थल, बाटोघाटो, समुदायमा कुनै दुर्घटना घटेमा घाइतेलाई तत्काल पीडा कम गर्न र जोखिम न्यूनीकरण गरी अस्पताल वा कुनै प्राण रक्षा गर्ने ठाउँ पु-याउनु अघि गरिने उपचार विधि नै प्राथमिक उपचार हो । दुर्घटना र युद्धका घाइतेको प्राण रक्षार्थ प्राथमिक उपचारको ठूलो महत्व हुन्छ ।

प्राथमिक उपचारको तालिमको माध्यमले आधारभूत जीवनरक्षाका सीप जस्तैः सीपीआर, अचेत घाइतेको ध्यान राख्ने सीप, चोट र रक्तचाप रोक्ने ज्ञानहरू, आगलागी, विषपान, जीवजन्तुबाट हुने आक्रमण, सर्पदंश आदि घाइतेको ज्यान जोगाउनेजस्ता सीप प्राथमिक उपचारभित्र पर्दछ । कारखाना, गाडी, शिक्षण संस्था, पदयात्रा, आदि विभिन्न ठाउँमा प्राथमिक उपचारको अति आवश्यक हुन्छ । कुनै अप्रिय घटना वा दुर्घटना घटेमा प्राथमिक उपचारको लागि आवश्यक मलमपट्टी, हान्डीप्लास्ट, आधारभूत औषधिहरू, जीवनजल, कैँची, ब्लेड, थर्ममिटर, एन्टिसेप्टिक धुलोहरू प्राथमिक उपचार बाकसमा हुन्छ सोको प्रयोग गरी जीवनरक्षा गर्न सकिन्छ ।

सन् २००० बाट प्राथमिक उपचार दिवस मनाउन सुरु गरेको पाइन्छ । अझै पनि हाम्रो गाउँघरमा स्वास्थ्य उपचारको मूलधार कमी भएकोले प्राथमिक उपचारको धेरै महत्व छ । विभिन्न अध्ययनले नेपालमा सन् २०३० सम्म हृदयघात तर ९ प्रतिशतबाट ३४ प्रतिशत पुग्ने तथ्यांकले देखाएको छ । हरेक वर्ष करिब १० दशमलव २२ प्रतिशतले बढिरहेको नेपाली बाटोहरूमा हुने सवारी दुर्घटनामा वर्षेनी ५ दशमलव ४० प्रतिशत मृतकको संख्यामा वृद्धि भएको छ । त्यसकारण मानिसको स्वास्थ रक्षा गर्न तुरुन्तै स्वास्थउपचार सुरु गर्नु जरुरी छ । त्यसकारण प्राथमिक उपचारको सहज उपलब्धता अनि तालिमको हाम्रो देशमा अझै धेरै आवश्यक छ ।

प्राथमिक उपचारको आधारभूत सीप विकासका लागि स्थानीय सरकारले महत्वपूर्ण खेल्नुपर्दछ । तबमात्र जनताको जीवनरक्षामा सघाउ पुगी हरेक वर्ष सेप्टेम्बर २२ मा मनाइने प्राथमिक उपचार दिवसले सार्थकता पाउनेछ । लेखक : गुणस्तर जीवन विषयमा विद्यावारिधि ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया