Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबुर्जुवा समाजका ‘बौद्धिक शिरोमणि’

बुर्जुवा समाजका ‘बौद्धिक शिरोमणि’


काठमाडौं । संसारका विश्वविद्यालयहरूमा ‘बुद्धिजीवी‘ भनेका को हुन् ? र के हुन् ? भन्ने प्रश्नमा थरीथरीका पाठ्यक्रम उपलब्ध छन् । तीनमध्ये इटलीका एन्तोनियो ग्राम्सीको परिभाषालाई हालसम्मकै उपलब्धमध्ये ज्यादा सत्यको निकट मानिएको छ । लेनिन, नेहरू, डा. राम मनोहर लोहिया, वीपी आदि इत्यादि त्यो रेन्जका सबैले ग्रम्सीको परिभाषालाई नै मान्यता दिएको पाइन्छ ।

विश्व इतिहासका कुख्यात तानाशाह मुसोलोनीको जेलमा २० वर्ष बिताएर रिहाइको ७ दिनमा मृत्यु हुनुभएका ग्रम्सीको थिए र लेनिन रोजा लक्जेम वर्ग, डा. लोहिया, वीपीदेखि प्रदीप गिरीजी हामीहरूसम्मलाई कसरी पाठ्यक्रम बनेको शान्तार्थ वर्णन यहाँ सम्भव हुन्न । स्थानले भ्याउँदैन । ग्रम्सीको परिभाषाअनुसार सामान्य व्यवहारका हिसाबले सबै मानिस नै ‘बुद्धिजीवी‘ हुन्छन् र कुनै समाजसँग न जोडिएको स्वतन्त्र अस्तित्व भएको ‘बुद्धिजीवी‘ वर्ग भन्ने केही हुन्न । यस हिसाबले हेर्दा हाम्रा प्रदीपजी हाम्रो बुर्जुवा समाजका ‘बौद्धिक शिरोमणि‘ हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसका बौद्धिक नेतृत्व प्रदीपजीको निधनले त्यस पार्टीका वर्तमान प्रधिकरण नेतृत्वलाई ठूलो धक्का लागेको छ । नैतिकता, नीति, सिद्धान्त, विचारधारा मूल्य मान्यता र पार्टी इतिहासलाई समेत कुल्चेर गरिएको पछिल्लो देउवा–प्रचण्ड (पाँचदलीय) गठबन्धनजस्ता कांग्रेस प्राधिकारका अनगिन्ती स्खलन (पतन)लाई प्रदीपजीको बौद्धिक उचाइबाट ढाकछोप हुनेगरेको थियो । किनभने प्रदीपजीको बौद्धिक उचाइ छुने स्तरको अर्को कुनै नेतृत्व समकालीनमा देखा पर्न सकेको थिएन । एक समयका बौद्धिक उचाइ (सेलिब्रेटी) ऋषिकेश शाहजस्तै पछिल्लो समयका प्रदीप गिरीजी हुनुहुन्थ्यो । एकप्रकारले भन्न सकिन्छ कांग्रेसमाथि आइलाग्ने हरेक बौद्धिक आक्रमणमा उहाँ रामायण महाभारत युद्धका जस्तै गतिलै ढाल भएर देखार भएको देखार हुनुभएको थियो । त्यो ढाल खसेपछि कांग्रेसको स्खलन झन् तीव्र हुने निश्चित छ ।

प्रदीपजीसँग मेरो भेट र सहयात्रा विसं २०२८ सालदेखि मृत्युपर्यन्त निरन्तर ५० वर्षको हो । कसरी भेट भयो र सहयात्रा अगाडि बढ्यो भन्ने सन्दर्भमा कथा बताउँदै जाँदा तीन/चार सय पृष्ठको पुस्तक नै तयार हुन्छ । तैपनि संक्षिप्तीकरण गरेर अलिकति बताउने कोसिस गर्छु । तिनताका मेरो बुढो मावलीतर्फका हजुरआमा ‘काशीवास‘मा हुनुहुन्थ्यो । म पढ्न गएका बखत भोजपुर छिमेकी गाउँका मोहन चापागाइँ (जो पछि गरिजा प्रधानमन्त्री हुँदा सल्लाहकार (तलबी) र वीरेन्द्र राजाका मनोनीत सांसद भई भाडामा बस्तारहेछन् । उनले तिर्ने भाडा हजुरआमाले मेरो पढाइखर्च छुट्याइदिनुभएकाले उनीसँग हिमचिम बढेको थियो । उनैले नियमित एक वर्षसम्म मलाई कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलालको नेपाली जन अन्दोलन विषयक क्लासमा लिएर गए ।

अखिल भारत नेपाल विद्यार्थी संघ (अमा नेविसंघ) वनारसमा वीपी समूह र पुष्पलाल समूहका नामले चुनाव हुँदा त्यो साल पुष्पलाल समूहले जित्यो । म समज सेवा सचिवमा निर्वाचित भएँ । प्रदीपजी वीपी समूहको विद्यर्थी संगठन हेर्नुहुन्थ्यो । नेपाली धर्मशाला जगदम्बा पुस्तकालयको सूचनापार्टीमा निर्वाचित विद्यार्थी नेताहरूको नामावलीमा नारी छाम्दै जाँदा उहाँले मलाई सबैभन्दा कान्छो उमेर (१६वर्ष)को पाएर आफ्नो डेरामा लगेर गान्धी, लोहिया, वीपी, जयप्रकाश नारायणका साहित्य (जीवनी र विचार) पढाउन थाल्नुभयो । मलाई पुष्पलालका क्लासमा पढेका माक्र्स, लेनिन, माओका भन्दा गान्धी, लोहिया, वीपीका साहित्य ज्यादा बोधगम्य लाग्यो । यसैबीच वीपीसँग भेट गराउनुभयो । त्यसपछि हामी एउटै डेरामा बस्न थाल्यौँ । वीपीबाट एरेन्ज (बन्दोवस्त) मेस इन्चार्ज दिलबहादुर घर्तीले किचनमा खालि बङ्गुरको मासु पकाउने गरेकोमा मैले वीपीलाई सिकायत पनि गर्नुपरेको थियो ।

यसै कालखण्डमा कोइराला परिवार (वीपी)सँग प्रदीपजीको के खटपट भयो ? (त्यो यहाँ खुलाउन चाहन्न) मलाई समेत गेरुवा बस्त्र लगाएर भोलिप्लट बिहान विवेकानन्द अध्ययन गर्न कन्या कुमारीतर्फ रेल चढ्नेबाला थियौँ, त्यही साँझ टुप्लुक्क उहाँका अनन्य मित्र सोलुका नरबहादुर कार्की आइपुग्नुभयो । मलाई गिरिजा प्रसाद कोइरालाका नाम एउटा चिठ्ठी लेखेर नरबहादुरजीलाई लिएर उहाँ कन्या कुमारीतर्फ लाग्नुभयो । गिरिजाले मलाई बम बोकाउन थाल्नुभयो र पक्राउ परेर फाँसी या जन्मकैद हुनसक्ने राजकाज मुद्दा धारा ४ दफा २ अन्तर्गत जेल पुगेँ । पछि वीपीको मेलमिलाप नीतिबाट जनमत संग्रहमा आम माफी भएर म जेल (त्यसबखत साढे पाँच वर्ष)बाट छुटेँ । प्रदीपजी निर्वासनबाट देशभित्र आउनुभयो । फेरि भेट हुन थालेको कोरोना कहरअघिसम्म नियमितजस्तो र कोरोना कहरमा पनि एक दुई पटक भेट भयो । यत्रो ५० वर्षसम्म दुई मित्र (गुरु–शिष्य)का बीच प्रेम र विश्वासको हार्दिकता जोगिनु आजको भौतिकवादी जमानामा विरलै पाइने कुरा हो । उहाँसँग मेरा भलादमी ढंगले धेरै मतभेदहरू प्नि थिए । म उहाँलाई तपाईँ बुजुर्वा समाजका ‘बौद्धिक शिरोमणि भन्दथे‘ । उहाँ हाँस्नुहुन्थ्यो ।

प्रदीपजीसँग पाँच दशकको सद्भावना पूर्ण सहयात्रा भनेपछि निश्चय नै सयकडौँ अविश्मरणीय संस्मरणहरू अवश्य छन् । त्यसको लागि पुस्तक लेख्ने त माथि नै भनिसकेको छु । यहाँ पञ्चायतकालको एउटा, बहुदलकालको एउटा र उहाँका आखिरी दिनहरूको एउटा गरी तीनवटा उदाहरण संक्षेपमा अभिलेख गर्न चाहन्छु ।

(१) पञ्चायतकालको
यो विसं २०४२ सालको सत्याग्रह रामराजाको बमकाण्डले फिर्ता लिनुपरेको बखतको कुरो हो । गणेशमानजीको ‘रामराजा पहिलो शक्ति र म दोस्रो शक्ति भएको‘ वक्तव्य आयो । त्यो वक्तव्यलाई लिएर कांग्रेसभित्र दोस्रो पुस्ता कहलिएका शैलजा आचार्य, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्ले आदि इत्यादिले पार्टी अफिसमा दिनौँ गणेशमानजीलाई घेरेर वक्तव्य फिर्ता लिइदिन किचकिच गर्न थाले । ‘आफूलाई गणेशमानजीले राजारामभन्दा दोस्रो शक्ति भनिदिँदा नेपाली कांग्रेस पार्टी नै दोस्रो शक्ति भएको अर्थ लाग्यो‘ भन्ने रामचन्द्र चिरन्जीवीहरूको तर्क थियो । तर उनीहरूको त्यस्तो तर्कमा गणेशमानजीले आफ्नो वक्तव्य फिर्ता लिने कुनै सम्भावना थिएन । उनीहरूले त्यो दबाबलाई एउटा अभियानकै रूप दिएर (गिरिजा समक्ष साखुल्ले पल्टन) हरेक दिनजसो गणेशमानजीको टाउको खान थाले । गणेशमानजी कान थापेर केबल हास्नु मात्र हुन्थ्यो । केही बोल्नुहुन्नथ्यो ।

त्यसबखत दुई बजे पार्टी अफिस (जमल) पुगेर जाडोमा चार बजे र गर्मीमा पाँच बजे किशुनजी (पार्टी सभापति कृष्णप्रसाद भट्टराई) पछिपछि छाता बोकेर न्यूरोड पान खान पुग्ने र ट्याक्सी खोजेर किसुनजीलाई चढाइसकेपछि त्यो दिनको मेरो ड्युटी सकिन्थ्यो । त्यसकारण हरेक दिन रामचन्द्र, चिरञ्जीवीहरूको गणशमानजीलाई किचकिचको साक्षी हुन म बाध्य थिए । एक हप्ताजति त उनीहरू कतिसम्म तल झर्दारहेछ गणेशमानजीलाई किचकिचको साक्षी हुन म बाध्य थिए । एक हप्ताजति त उनीहरू कतिसम्म तल झर्दारहेछन् थाहा पाउने ध्येयले सुनिरहेँ मात्र । तर जब हप्ता नाघिसकेपछि पनि गणेशमानजीलाई किचकिच गर्ने उनीहरूको अभियान थामिएन त मलाई थामी नसक्नुको रिस उठ्यो । ती दोस्रो पुस्ताका चारैजनालाई सम्बोधन गर्दै मैले भनेँ, ‘गणेशमाजीले राजारामलाई पहिलो र आफूलाई दोस्रो शक्ति जुन भन्नुभएको छ, त्यो कुनै रामराजा र आफूलाई भन्नुभएको होइन । उहाँले भन्नुभएको नेपालमा अन्तर्राष्ट्रिय शक्ति पहिलो र राष्ट्रिय शक्ति दोस्रो भएको छ भन्ने हो । तर आफ्ना नेताका यति कुरा पनि नबुझ्ने तपाईँहरूजस्तालाई दोस्रो पुस्ताको नेतृत्व मानिरहने हो भन्नेचाहिँ अवश्य नै एक दिन दोस्रो शक्ति हुने निश्चित छ ।‘ त्यो पछि मध्यावधिमा पुष्टि पनि भयो ।

मेरो यस्तो औँला गड्याइपछि गणेशमानजीमाथिको त्यो किचकिच अभियान त अन्त्य भयो । तर उनीहरूको ममाथि टेढो आँखा प्रारम्भ भयो । त्यसबखत कांग्रेसको प्रधिकार अफिसका लागि प्रदीप गिरिजी अछुतजस्तै हुनुहुन्थ्यो । मेरो नियमित प्रदीपजीसँग उठबस छ भन्ने उजुरी लिएर तीनै जना (शैलजा जानुभएन) किसुनजीकहाँ पुगेछन् । ‘तिम्रो विरोध गर्न मोराहरू (मोराहरू किशुनजीको थेगो हो) आएका थिए‘ किशुनजीले आफैँ सुनाउनुभएको । शैलजा चप्पल प्रकरणसम्म आइपुग्दा त उनीहरू मेरा विशुद्ध हिंसामा समेत ओर्लिएका प्रस्ट हुन्छ ।

(२) बहुदलवादको यो घटना अलिकति रोचक हँसीमजाकजस्तो तर गम्भीर कुरो पनि छ । म तिनताका सूर्य बहादुर थापाहरूको ग्याङले चर्चित तुल्याएको ‘जनज्योति साप्ताहिक‘मा सम्पादनकार्य हेर्थेँ । धनगढी हो वा कैलाली अहिले बिर्सेँ समाचार आयो ‘देउवाबाट आफ्नै फोटोमा माल्यार्पण‘ संवाददाताले पठाएको समाचार पढ्दा शेरे पश्चिमका नामले विभूषित शेरबहादुर देउवाको सम्मानमा मञ्चमा देउवाको ठूलो फोटो राखिएछ र प्रमुख अतिथिबाट फोटोमा माल्यार्पण कार्यक्रम हुँदा असावधानीवश ‘आफ्नै फोटोमा माल्यार्पण‘ हुन पुगेछ । मलाई लाग्यो, ‘यो समाचार त मास्टरपिस छ । यसलाई फ्रन्ट पेजमा वक्स गरेर हाइलाइटेड तरिकाले छाप्नुपर्छ ।’ समाचार छापिएपछि सत्ता उन्मादले होस गुमेको देउवाले थाहा पाए । रिसाए । प्रदीप गिरिको मानिस गिरीले नै सिकाएर रेवती रमणले त्यस्तो समाचार बनाएको कसैले देउवाको कानमा फुकिदिएछन् ।

त्यसपछि जब–जब प्रदीपजी शेरबहादुरको निकट हुन खोज्नुहुन्थ्यो टेढा–टेढा आँखा लगाएर टाढा भइहाल्दारहेछन् । देउवाको चालढाललाई सुरु सुरुमा त प्रदीपजीले त्यति ख्याल गर्नुभएन । तर जब कालक्रममा कांग्रेस पार्टीभित्र सुशील कोइराला हाबी भएर देउवालाई गर्नु अनिवार्यजस्तै भइसक्दा पनि आफूलाई कुनै भाउ नदिएको पाएर भने प्रदीपजी पनि छक्क पर्नुभयो ।  केही कारण नभई शेरबहादुरजस्तो साथी आफूसँग टाढा हुनु औचित्य थिएन । कारण खोज्दै जाँदा ‘आफ्नै फोटोमा माल्यार्पण‘ भन्ने जनज्योति साप्ताहिक प्रकरण पत्ता लगाउनुभयो । मलाई आएर भन्नुभयो, ‘तिमीले राष्ट्रपुकारमा मेरोविरुद्ध एउटा लेख लेखिदिनुप-यो, होइन भने शेरबहादुर देउवाले मलाई आफूनिकट आउनै दिएनन् । गिरिजाले लखेट्ने अनि म कहाँ जाने ? तिमी मेरो मानिस हौ भन्ने देउवाको भ्रम हट्ने गरी विरोधमा लेखिदेऊ‘ । राष्ट्रपुकारमै छाप भन्नुको तात्पर्यचाहिँ राष्ट्रपुकारबाहेक शेरबहादुर देउवाहरूले अरु पत्रिका पढ्दैनथिए ।

मलाई ठूलो समस्या प-यो । प्रदीपजीजस्तो बौद्धिक हाइटको, फेरि आफूले गुरु मानेको साथीका विरुद्ध कलम चलाउँदा धेरैजसो आफ्नो हुर्मत हुने सम्भावना हुन्थ्यो । कसरी प्रदीपजीको विरोधमा लेखेर आफूलाई सही प्रमाणित गर्ने ? एक हप्ताजति त मैले छेउटुप्पो केही भाषा नै पाइनँ । तर प्रदीपजीको आग्रह भने फेरि पनि आइरह्यो र एक दिन लु यो हप्ताको ‘राष्ट्रपुकार‘मा आउँछ भनेर बचन दिएँ । अब त जे भए पनि जस्तो भए पनि प्रदीपजीका विरोधमा मलाई लेख्नै पर्ने भयो ।

प्रदीपजीको लेखन र वाणीमा महाभारतका कथाहरूको खुब उल्लेख हुनेगरेको पाइन्थ्यो । उहाँ बालककालमा आमाले भात खुवाउन गाउँभरि हल्ला गरिसक्दा पनि प्रदीपजी भने पिताजी सुत्ने गर्नुभएको ठूलो खाटको मुनि झ्यालको उज्यालोमा महाभारत पढिरहेको भेटिने किस्साहरू पनि छन् । महाभारतका साना–साना पात्रहरूबाट पनि ठूला–ठूला अर्थ लाग्ने लेख्न भाषण गर्न उहाँ धेरै पोख्त हुनुहुन्थ्यो । प्रदीपजीलाई यहीँनेर हिर्काउन सक्दा मात्र विरोध र आलोचनाको इज्जत जोगिन सक्दथ्यो ।

मैले विरोध र आलोचना गर्दै राष्ट्रपुकारमा पूरा शास्त्रार्थ छाँट्दै लेखेँ । ‘प्रदीपजी आफ्ना लेख र भाषणहरूमा महाभारतका कथा हाल्न छोड्नूस् । किनभने महाभारत भाइ–भाइका झगडा मारपिट एक–अर्कालाई सिध्याउने कथा हो । आज नेपाललाई भाइ–भाइका बीच मारपिट झगडाको कथा होइन, एकता र विश्वासको कथा चाहिएको छ । त्यो कथा रामायण हो । त्यसो हुँदा अब आफ्ना लेख र भाषणहरूमा महाभारतका कथाको उदाहरण दिनुभन्दा रामायणका कथाहरूको उदाहरण दिन थाल्नुहोस् ।‘ मेरो यस्तो आलोचनाबाट प्रदीपजी धेरै खुशी हुनुभयो । शेरबहादुर र उहाँको सम्बन्ध कालक्रममा नङमासुको जस्तो भएको त इतिहासको पाठ्यक्रम नै भइसकेको छ ।

(३) आखिरी दिनको यो कोरोना आउनु तीन/चार महिनाअघिको कुरो हो । एकदिन भन्नुभयो, ‘तीन/चार महिना ढुक्कले दिल्लीमा बस्नेगरी समय निकाल मैले एउटा आत्मवृतान्तजस्तो लेखेको छु । त्यसमा तिमीले मैले बिर्सेका कुरा पनि सम्झाउन सक्छौ । तिमीलाई देखाएर मात्र फाइनल गर्न चाहन्छु । तिम्रो पनि एउटा राम्रो आत्मवृतान्त आउनु अत्यन्त आवश्यक छ । त्यसको पनि एउटा खाका खिच्ने काम गरौँला ।’  प्रदीपजीको यस्तो प्रस्ताव अत्यन्तै स्वागतयोग्य र हृदयलाई अल्हादिन तुल्याउने खालको थियो । तीन/चार महिनापछि त्यस्तो समय निकाल्ने बचन गरेको थिएँ । प्रारब्धले गर्दा त्यो बचन पूरा हुन पाएन ।

यतिखेर ४५औँ अघिको भावुक कालखण्डसम्म कांग्रेसका देउवा, रामचन्द्र, शेखर कोइराला आदि इत्यादि कांग्रेस प्राधिकार नेताहरूलाई एउटै कुरा आग्रह गर्न चाहन्छु । यो नैतिकता, नीति, सिद्धान्त, विचारधारा, मूल्य, मान्यता कुल्चेर गरिएको देउवा–पचण्ड (पाँचदलीय) गठबन्धनका प्रदीपजी पनि मतियार भन्ने दूष्प्रयास नहोस् । त्यसबखत उहाँ अस्पतालको ओछ्यानमा क्यान्सरसँग लडिरहनुभएको थियो । अस्तु ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया