Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगएभोकाडोको खेतीबाट आयआर्जन

एभोकाडोको खेतीबाट आयआर्जन


काठमाण्डौं,फागुन २२
नेपाल कृषि प्रधान देश हो । यहाँ ६६ प्रतिशतभन्दा बढी मानिसहरू कृषि पेशामा आश्रित रहेका छन् । कृषिबाट ३३ प्रतिशत जीडीपी प्राप्त हुन्छ । तसर्थ केही वर्षअघिसम्म देशका विभिन्न ग्रामीण क्षेत्रका केही घर कम्पाउन्ड र करेसाबारीमा सौखका लागि एक÷दुई बोट रोपेको देखिने एभोकाडोको पछिल्लो समयमा व्यावसायिक खेती सुरु भएको छ । यो घिउ फल पनि भनिने एभोकाडोमा व्यावसायिक भविष्य देखेका कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । यसबाट राम्रो आम्दानी हुने देखिएपछि मुलुकका कृषकहरू यस खेतीप्रति दिनप्रतिदिन आकर्षित हुँदै गएका छन् । यस खेतीबाट राम्रो बजार मूल्य र लामो उत्पादन अवधिका कारण पूर्वी नेपालका कृषकहरू सुन्तला र अरु नगदेबाली छाडेर एभोकाडो खेतीमा लागेका हुन् । वास्तवमा भन्ने हो भने केही वर्ष पहिलासम्म घर परिवारमा खान र आफन्तलाई कोसेलीका रूपमा दिन मात्र लगाइने गरेको यस फलको खेती विस्तार भएको थिएन । भर्खरै मात्र उत्पादन लिन थालिएको यो फल किसान र उपभोक्ताका लागि नौलो हो ।
देशमा रहेका विभिन्न किसिमका कृषि उपजहरूको योगदानलाई सामान्य रूपमा अवलोकन गर्दा खेरी कुल ग्रार्हस्थ कृषि उत्पादनमा विभिन्न बालीहरूको योगदान खाद्यान्न तथा अन्य बाली ४४ दशमलव ४९, तरकारी तथा नर्सरी ९ दशमलव ७१, पशुपालन आठ दशमलव शून्य सात, वन आठ दशमलव शून्य सात र फलफूल तथा मसला बाली सात दशमलव शून्य चार प्रतिशत रहेको अनुमान छ । यसमध्ये एभोकाडो पनि एक किसिमको फलफूल हो । यो फलफूलको नाम नेपाली समाजमा कमै मात्रलाई थाहा छ । मुलुकमा यसको खेती कमै मात्रमा छ । यो फलफूल प्रायः विदेशीले मात्र खाने गर्छन् भने आजकाल नेपालीहरू पनि यस फलफूलप्रति बढी आकर्षित हुँदै गएका छन् । हाम्रो देशको कुरा गर्ने हो भने धनकुटा, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोटलगायतका जिल्लाहरूमा एभोकाडोको खेती हुँदै आएको छ । यसको खेती खासगरी तुषारो नपर्ने र हावा धेरै नलाग्ने ठाउँमा यसको खेती गरिने पाइन्छ । यो खेती एकपटक लगाएपछि धेरै वर्षसम्म फल दिइरहेको हुन्छ । यसको बिरुवा सरकारी तथा निजी फार्महरूबाट सजिलैसँग किन्न पाइन्छ । देशमा एभोकाडोको बीउबाट बिरुवा उत्पादन गरिए पनि अझै कलमी भने गर्न सकिएको छैन । यसको बिरुवा लगाउने समय मंसिर, पुस र माघ महिनाबाहेक अरु सबै महिनाहरूमा लगाउन सकिन्छ । यो बिरुवा लगाएको ५÷६ वर्षपछि यसले उत्पादन दिन थाल्छ । यसको बिरुवा हेर्दा ज्यादै राम्रो देखिन्छ । यसले वातावरणलाई स्वच्छ बनाउने कार्य पनि गर्दछ । यसको बोट हेर्दा हरियो बोट, ठूला पात र फल लाग्दा हरियो लाम्चो हुने भएकाले एभोकाडो फल सहजै चिन्न सकिन्छ । यो फल पाकेपछि प्याजी रङको हुन्छ । यसको रुख ठूलो हुन्छ र जरा भने त्यति तलसम्म नजाने भएको हुँदा हावा हुरीले यसको बोट ढल्ने धेरै सम्भावना हुन्छ । यसको प्रतिबोट ३० देखि १ सय किलोग्राम एभोकाडो उत्पादन हुने गर्छ । यसको खेती गर्दा एक बोटबाट अर्को बोटको दूरी ८ मिटर हुनुपर्दछ ।

एभोकाडोको बजार देशमा दिनहुँ बढ्दै गएको छ । हाल हाम्रो देशमा एभोकाडोको बजारलाई अवलोकन गर्ने हो भने धनकुटा, सर्लाहीको नवलपुर, काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा किन्न पाइन्छ । त्यस्तैगरी सानेपा, पुल्चोकस्थित नमस्ते सुपर मार्केट र भाटभटेनी सुपरमार्केटमा पनि किन्न पाइन्छ । यसको मूल्य भने विभिन्न स्थानमा विभिन्न किसिमको रहेको पाइन्छ । यसको सरदर मूल्य प्रतिगोटा सानो र ठूलोको ९५ देखि २ सय ७५ रूपैयाँसम्म पर्ने गर्छ । यसो हुनुमा यसको बजार प्रतिस्पर्धा नहुनु र निश्चित ठाउँमा निश्चित ग्राहकहरू मात्र भएका कारणले गर्दा बजारको आकार सानै रहेको छ । यसले एभोकाडोको बजार अझै व्यावसायिक बन्न नसकेको स्पष्ट हुन्छ ।समग्रमा भन्नुपर्दा मेक्सिको र अमेरिकालगायतका मुलुकबाट भित्रिएको बताइने यसको व्यावसायिक खेती समुद्री सतहको ५ सयदेखि १७ सय मिटर उचाइको उष्ण र समशीतोष्ण हावापानीमा गर्न सकिन्छ । यो फलको बिरुवा रोपेको ४ देखि ६ वर्षभित्रै उत्पादन दिने यसको प्रचुर व्यावसायिक सम्भावना रहेको कृषि सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको छ । यसमा प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले एभोकाडोको माग र उपभोक्ता दिनदिनै बढ्दै गएका छन् । यस बिरुवाको धेरै जातमध्ये हालसम्म हाम्रो देशमा भने एभोकाडोका १७ जात देखिएका छन् । यो खेतीमा लागेका कृषकहरूलाई हौसला दिन हावापानीअनुसार उपयुक्त जातका बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराउन जरुरी रहेको सम्बन्धित क्षेत्रको विज्ञहरूको भनाइ रहेको पाइन्छ । फलफूलको खपत नेपालमा बढ्दै गएको छ, तर अपेक्षित रूपमा उत्पादन बढ्न सकेको छैन । भारत र चीनबाट आयात हुने फलफूलमा नेपाल निर्भर हुँदै गइरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चिया, कफी, अलैँची, सुपारी, आलु, केरा तथा कागतीको उत्पादनमा प्राथमिकता दिएको छ । गत आर्थिक वर्षमा यस परियोजनामा चार अर्ब ७७ करोड विनियोजन गरिएको छ । देशमा फलफूलको तथ्यांक स्थितिलाई मध्यनजर गर्ने हो भने यसको क्षेत्रफल एक लाख १९ हजार एक सय १४ हेक्टर, उत्पादन १० लाख ९६ हजार सात सय ७४ मेट्रिक टन र उत्पादकत्व नौ हजार दुई सय आठ प्रतिकिलो हेक्टरमा भएको अनुमान गरिएको थियो । यसमध्ये यो एभोकाडो पनि एक किसिमको घिउ फल हो । यो खादा ज्यादै पोषिलो र तागतिलो पनि छ । नामैले घिउफल भएकाले बाहिरको पातलो बोक्रा निकाल्न र भित्रको बीउ गेडा वरिपरि भएको क्रिमलाई झिकेर दुध वा दहीसँग फिटेर खानापछि खान सकिन्छ ।

आजभोलि तारे होटलहरूमा केरा, गाँजर, मेवासँग एभोकाडोलाई मिलाएर सलादको रूपमा मिसाएर खाने चलन बढ्दोरूपमा रहेको पाइन्छ । यस किसिमको घिउ फलमा प्रतिसय ग्राममा एक दशमलव सात ग्राम प्रोटिन, खनिज एक दशमलव एक, फ्याट २२ दशमलव आठ ग्राम, फस्फोरस ८० मिलिग्राम र क्याल्सियम १० मिलिग्राम पाइने खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । देशको हावापानीलाई हेर्ने हो भने यो फल ज्यादै नै उपयुक्त देखिन्छ । यहाँका मध्यम वर्गको लागि यसको खेती अति नै उपयोगी देखिएको छ । आयआर्जन गर्नको लागि यसमा धेरै सम्भावना बोकेको देखिन्छ । यसको उपभोक्ताहरूको संख्या पनि दिनप्रतिदिन यस फलप्रति बढ्दो रूपमा रहेको पाइन्छ । उपभोक्ताको मागबमोजिम यसको बजार कम नै देखिएको पाइन्छ । अतः क्रमिकरूपमा यसको बजार पनि विस्तार हुँदै गएको एकातिर छ भने अर्कोतिर बहुसंख्यक व्यक्तिले यसको स्वाद मीठो मानेर यसको खोजीमा लागेको देखिन्छ । यसको लागि नेपाल सरकारले पनि बेलैमा यस खेतीको लागि चाहिने आवश्यक बीउबिजन, बेर्ना तथा आवश्यक सामग्रीको व्यवस्था गरिदिने हो भने यस फलप्रति कृषकहरू आकर्षित भएका छन् । जसले गर्दा धेरै कृषकहरूको जीवीकोपार्जनको लागि यस खेतीले निकै नै सहयोग गर्न सक्ने कुरामा सम्बन्धित विज्ञहरूले औँल्याएका छन् । देशमा खाली रहेको भूमिको सदुपयोग एकातिर हुन्छ भने अर्कोतिर आयआर्जनको दरिलो स्रोत पनि हुन जाने कुरामा कसैको दुईमत नहोला ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया