Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्वच्छ ऊर्जा विस्तारमा नेपाल

स्वच्छ ऊर्जा विस्तारमा नेपाल


काठमाडौँ । केही वर्षअघिसम्म ऊर्जा सङ्कटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ । नेपालले प्रदूषित ऊर्जा स्रोतहरूबाट स्वच्छ विद्युत् ऊर्जातर्फ छिटाभन्दा छिटो रूपान्तरणको दिशामा बढेको छ । यसले हरित गृह ग्यासको उत्सर्जन कम गर्नुका साथै आर्थिक जोखिमतालाई घटाउन पनि मदत पुग्दछ ।

नेपालको ९८ प्रतिशत विद्युत् उत्पादन जलविद्युत् र नवीकरणीय ऊर्जाका स्रोतहरूबाट हुने गर्दछ । यस्ता स्वच्छ ऊर्जाका स्रोतहरूबाट अहिले २२ सय मेगावाट विद्युत् आपूर्ति भइरहेको छ भने पाँच हजार मेगावाट निर्माणाधीन रहेका छन् । त्यसैले देश विद्युत्बाट खाना पकाउन, विद्युतीय सवारी, औद्योगिक तथा व्यापारिक क्षेत्रमा आपूर्ति गर्ने सम्भावना रहेको छ भने कृषि क्षेत्रमा तताउन, चिस्याउन र पानी तान्न सकिन्छ । यसले गर्दा नेपालको ऊर्जासँग सम्बन्धित क्षेत्रबाट हुने कार्बनडाइअक्साइडको उत्सर्जनलाई २०३० सम्म ८.६ मिलियन मेटिक टन र २०४५ सम्म ३५ सय मिलियन मेटिक टन न्यूनीकरण गर्न सकिन्छ ।

यसबाहेक स्वच्छ ऊर्जा उत्पादनको उल्लेखनीय उपयोगबाट नेपालले दक्षिण एसियामै हरित गृह ग्यास उत्सर्जन कम गरी घरायसी उत्सर्जनलाई घटाउन सक्ने देखिन्छ । यसका लागि नेपालले सुक्खा याममा स्वच्छ ऊर्जाको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसो भएमा ४५ गिगावाट जलविद्युत् र नौ गिगावाट सौर्य ऊर्जाबाट प्रतिवर्ष नौ अर्ब अमेरिकी डलरबराबरको राजस्व आम्दानी हुन सक्छ । यस्तो व्यापारले प्रतिवर्ष एक सय मिलियन टनभन्दा बढी कार्बनडाइअक्साइड उत्सर्जन घटाउन सकिन्छ । यसले कोइला बालेर र प्राकृतिक ग्यासका उत्पादन केन्द्रहरूबाट उत्पादन हुने उत्सर्जनलाई प्रतिस्थापन गर्न योगदान पुग्दछ ।

नेपालले परम्परागत वायोमास र आयातित इन्धनबाट स्वच्छ ऊर्जा स्रोतको रूपमा रूपान्तरण हुने हो भने नेट निरो उत्सर्जनको लक्ष्य हासिल गर्न यससम्बन्धी दीर्घकालीन रणनीति बनाउनुपर्ने विज्ञहरूको सुझाव छ । ऊर्जा क्षेत्रले नेपालको कुल उत्सर्जनको झण्डै ५४ प्रतिशत हिस्सा ओगट्ने कार्बनडाइअक्साइडको उत्सर्जनमा ठूलो योगदान दिन सक्ने देखिन्छ ।

हरितगृह अत्यन्त न्यून मात्र उत्सर्जन गर्ने नेपालले जलविद्युत् तथा नवीकरणीय ऊर्जाको उपयोग गरी देशभित्र ऊर्जाको माग पूरा गर्न र छिमेकी मुलुकहरूमा समेत निर्यात गरी त्यहाँको कोइला र प्राकृतिक ग्यासको खपत घटाई हरित गृह ग्यासको उत्सर्जनलाई न्यूनीकरण गराउन सहयोग गर्नसक्ने बारेमा यो दिवसमार्फत जानकारी गराउने अवसर प्राप्त हुने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीले बताए ।

जलविद्युत्ले नेपालको विद्युत् प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको छ । यद्यपि, नेपालमा जलविद्युत् उत्पादनमा विविधता रहनु एउटा मुख्य चुनौतीको विषय रहेको छ । वर्षायाममा विद्युत् उत्पादन बढी हुने गर्दछ भने हिउँदको सुक्खायाममा आवश्यक विद्युत् उत्पादन हुन नसक्दा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । नेपालको विद्युत् उत्पादन क्रमशः बढ्दै गएको छ, जसले बढ्दो विद्युत्को मागलाई धान्न सक्ने देखिन्छ । साथै, बढी भएको विद्युत् निर्यात गर्नसक्ने अवस्थामा रहे पनि यससम्बन्धी थप नीतिको खाँचो रहेकोे छ ।

नेपालले यस्ता चुनौती र अवसरहरूलाई आत्मसात् गर्दै ऊर्जा सम्मिश्रणबाट विद्युत् उत्पादनको कर्भलाई बिस्तारै बढाउँदै लैजान सकिन्छ । विद्युत्को बढ्दो मागलाई पूरा गरी अन्तरदेशीय ऊर्जा व्यापारलाई कार्यान्वयनमा ल्याउन सकिन्छ । नेपालले यहाँ रहेको सौर्य ऊर्जाको अपार सम्भावनालाई पनि उपयोग गरी सुक्खायाममा जब नदीहरूमा पानीको बहाव घट्दै जान्छ, त्यतिबेला जलविद्युत्को परिपूरकको रूपमा विद्युत् उत्पादन गर्न सकिन्छ । जब कि नेपालमा सौर्य ऊर्जाको सम्भावना उच्च रहेको छ । यस अतिरिक्त विद्युत्को अभाव भएका क्षेत्रहरूमा ऊर्जा भण्डारण प्रणालीमार्फत विद्युत् आपूर्ति गर्न सकिन्छ, जसले ग्रामीण क्षेत्रमा स्तरीय ऊर्जा वितरणलाई बढाउन मदत पुग्दछ र अतिरिक्त प्रशारण पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकतालाई कम गर्न सकिन्छ ।

एक वर्ष अघिसम्म बिजुली खेर गइरहेको अवस्था थियो । विद्युत् निर्यातको कुरा वर्षौँदेखि अड्किरहेकामा ढिलै भए पनि भारतले ३९ मेगावाट बिजुली खरिद ग¥यो । सबैभन्दा नजिकको बजार भारत हो । उहाँहरूको बिजुली खरिद गर्ने केही नीति–नियम छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गत चैतमा भएको भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहमति भयो । विद्युत् उत्पादन, प्रसारण र वितरणमा त्यसले विशेष हिस्सा राखेको छ । बंगलादेशलाई बिजुली बिक्री गर्ने विषयमा पनि केही कामहरू भएका छन् । नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय संवाद गर्ने तयारी हुँदै छ । तीनवटै देश नेपाल, भारत र बंगलादेश बीबीआईएनमा छौँ । विद्युत् उत्पादन, प्रसारण र बिक्री गर्ने विषयमा सहमति भएको छ । नेपाल र भारतबीच केही समय पहिले भएको संयुक्त ऊर्जा सहकार्यसम्बन्धी अवधारणामा पनि सो विषय समेटिएको छ । अहिले पनि बंगलादेशले भारतबाट बिजुली लगिरहेको छ । सुनकोशी तेस्रो आयोजना बंगलादेशसँग मिलेर निर्माण गर्ने तयारी भएको छ । नेपालले अब श्रीलङ्कालाई पनि बिजुली बिक्री गर्न सक्ने अवस्था छ ।

नेपाल विद्युत् प्राधिकरणले साढे पाँच महिनाको अवधिमा १० अर्ब ३८ करोड ९६ लाख रुपियाँ (छ अर्ब ४९ करोड ३५ लाख भारतीय रुपैयाँ)को विद्युत् भारत निर्यात गर्न सफल भएको छ । गत जेठ १९ गतेदेखि विद्युत् निर्यात गर्न थालेको प्राधिकरणले कात्तिकसम्ममा एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् निर्यात भएको छ ।

भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री हुने गरेको छ । आईएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा बल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार हुँदै आएको छ । यो व्यवस्थाअनुसार हरेक ब्लकको मूल्य फरक–फरक हुने गर्दछ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ २३ पैसा रहेकोे छ ।

आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार, गत फागुन मसान्तसम्म मुलुकमा कुल जडित विद्युत् क्षमता दुई हजार दुई सय ५ मेगावाट पुगेको जनाएको छ, जसमध्ये जलविद्युत्बाट दुर्ई हजार २२ मेगावाट विद्युत् उत्पादन भएको छ । यसरी हेर्दा कुल क्षमताको ३ प्रतिशतभन्दा कम मात्र उत्पादन हुँदा समेत नेपालले विद्युत् निर्यात गर्ने क्षमता राखेको छ भने यदि यसले पूर्ण क्षमतामा उत्पादन गर्नसकेको खण्डमा देशको अर्थतन्त्रमा चमत्कारी परिवर्तन ल्याउन सक्ने सम्भावना देखिन्छ ।

स्वच्छ ऊर्जाको रूपान्तरणमा नेपालले विश्वमै नेतृत्व लिन सक्ने देखिन्छ । कोप २७ को अवसरमा आयोजित ऊर्जा दिवसले नेपालको यस सम्भावनालाई विश्वमा उजागर गर्ने अवसर दिएको छ । नेपाल ग्रीन ग्रिड इनिसेटिभ एन्ड पावरिङ पास्ट कोल एलायन्समा सहभागी हुनुका साथै कोइलारहित प्रतिबद्धतामा हस्ताक्षर गर्ने अन्तिम चरणमा रहेको छ ।

ऊर्जाका विविध पक्ष र जलवायु परिवर्तनलगायत नवीकरणीय ऊर्जा र ऊर्जा सङ्क्रमणका बारेमा नेपालले धेरै काम गरेको छ । विशेषगरी ऊर्जा क्षेत्रमा हाल देखिएको सङ्क्रमण र भविष्यका लागि सम्भावित ऊर्जा स्रोतको रूपमा हरित हाइड्रोजनका बारेमा पनि जोड दिइएको छ । नेपाल सरकारले सन् २०४५ सम्म नेट जिरो कार्बन उत्सर्जन गर्ने लक्ष्य घोषणा गरेको थियो । यद्यपि, नेपालको ऊर्जा क्षेत्र अहिले पनि परम्परागत वायोमास र आयातित इन्धनमा नै निर्भर रहेको छ । यसले वातावरण, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पु-याएको छ ।

हरित ऊर्जा क्रान्ति तथा आर्थिक वृद्धि, समावेशिता र दिगो विकासका उद्देश्यहरू हासिल गर्न स्वदेशमै उत्पादन हुने विद्युतको खपत वृद्धि गरी महंगो मूल्यमा आयात गरिने इन्धनलाई कम गर्न, स्वदेशी स्वच्छ ऊर्जाबाट बढ्दो ऊर्जाको माग पूरा गर्न र छिमेकी मुलुकहरूलाई विद्युत् निर्यात गरी असन्तुलित व्यापारघाटा कम गर्न एवं विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना रहेको छ । नेपालको ऊर्जा विकासका लागि मिश्रित स्वच्छ ऊर्जा विकास र रूपान्तरण अति नै महत्वपूर्ण विषय हो जसले क्षेत्रीय जलवायु न्यूनीकरणलाई अगाडि बढाउन मदत पुग्दछ । यसरी विद्युत्को अधिकतम् प्रयोग गरी केही वर्षभित्रै सम्पूर्ण नेपालीलाई स्वच्छ विद्युतीय ऊर्जा उपलब्ध गराउन सकिने अवस्था रहेको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया