Techie IT
×
गृहपृष्ठविचारकोप २७ बैठक : प्रमुख पाँच देश जिम्मेवार हुनैपर्छ !

कोप २७ बैठक : प्रमुख पाँच देश जिम्मेवार हुनैपर्छ !


काठमाडौं । यही ६ नोभेम्बर (२०२२) देखि इजिप्टको ‘शार्म–एल शेख’ सहरमा ‘युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज’ (यूएन एफसीसीसी) अन्तर्गत रहेर कोप–२७ को बैठक बसी रहेको छ । हुन पनि जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा पर्दै गएको छ भने, धरतीको अस्तित्व पनि रहने, नरहने भन्ने गम्भीर सवाल पैदा भएको छ । यस्तो बेला विश्वभरिका एक सय ९८ देशका सरकार प्रमुख र राष्ट्र प्रमुख तथा सरकारी एवं गैरसरकारी प्रतिनिधिहरूले इजिप्टको शार्म एल शेखमा भाग लिँदैछन् । सो बैठकले यो शताब्दीमा हामी बसिरहेको धरतीलाई सकेसम्म शून्य कार्बन उत्सर्जनतर्फ डोहो-याउन सरोकारवाला सबै पक्षलाई मनाउने र विश्व तापमानलाई २ डिग्री सेल्सियसभन्दा तल झार्ने लक्ष्य निर्धारण गर्ने अपेक्षा राखिएको छ ।

हुन पनि गत २९ कात्तिकमा अन्नपूर्ण दैनिकले छापेको समाचारमा जनाइएअनुसार विश्वमा हाल सबैभन्दा धेरै वार्षिकरूपमा कार्बन उत्सर्जन (उत्पादन) गर्ने प्रमुख पाँच राष्ट्रहरू चीन, अमेरिका युरोपिययन युनियन, भारत र रुस रहेका छन् । जस्तो कि, चीनले वार्षिक ११ हजार पाँच सय ३५ मेगाटन कार्बन उत्पादन गर्छ भने, अमेरिकाले वार्षिक पाँच हजार एक सय सात मेगाटन कार्बन उत्सर्जन गर्नेगर्छ । उता युरोपियन युनियन सम्बद्ध देशहरूले चाहिँ (धेरैवटा देश समेटिएको भए पनि) वार्षिक तीन हजार तीन सय चार मेगाटन मात्रै कार्बन उत्सर्जन गर्नेगर्छ ।

तथ्यांकअनुसार नेपालको तीनतिर सीमा जोडिएको छिमेकी देश भारतले वार्षिक दुई हजार पाँच सय ९७ मेगाटन कार्बन उत्सर्जन गर्नेगरेको तथ्यांक रहेको छ । त्यस्तै रुस विश्वको कार्बन उत्सर्जन गर्ने पाँचौँ देश हो । रुसले वार्षिक एक हजार सात सय ९२ मेगाटन कार्बन उत्सर्जन गर्नेगर्छ । त्यसपछि धेरै कार्बन उत्सर्जन गर्ने अरु देशहरू रहेका छन्, जापान छैटौँ, इरान सातौँ, जर्मनी आठौँं, दक्षिण कोरिया नवौँ, साउदी अरब १०औँ, इन्डोनेसिया ११औँ स्थानमा रहेका छन् । साथै मलेसिया, भियतनाम, क्यानाडा, तुर्किए (टर्की), दक्षिण अफ्रिका, ब्राजिल, मेक्सिको, अष्ट्रेलिया, अर्जेन्टिना, इजिप्ट, नाइजेरिया, इराक, कजाखस्तान, पाकिस्तान आदि ।

हुन पनि हामी (मानिस) बसेको धरतीलाई अलिकति पनि माया नगरी जताभाबी गरिरहेको हुनाले नै धरतीमा अनावश्यकरूपमा छिटोछिटो तापमान वृद्धि भइरहेको भन्ने विज्ञहरूको भनाइ रहेको छ । जसका कारण हामी बसेको धरती आवश्यकताभन्दा बढी तातिरहेको छ । फलस्वरूपः हिमनदी पग्लने, हिमाल पग्लने, हिमालमा हिउँ सुकेर कालो हुने, हिमालमा खोला बन्ने, हिम ताल फुट्ने क्रम बढिरहेको छ । जसका कारण विश्वभरि नै बेमौसममा अकस्मात् बाढी–पहिरो आउने, अत्यधिक चिसो बढ्ने, हिम पहिरो आउने भइरहेको छ ।

यसरी गत साउनमा सप्तकोसी नदीमा आएको बाढीलाई पनि एक उदाहरणका रूपमा लिन सकिन्छ । सो बाढीका कारण कोसी टप्पु क्षेत्रमा बसोबास गरिरहेका २० हजार मानिसहरू प्रभावित भएका थिए । सो बाढी दिउँसो आएको हुनाले बाढीप्रभावितहरू तुरुन्तै सुरक्षित क्षेत्रमा सरेका थिए । तर, सो क्षेत्र कोसी टप्पु वन्यजन्तु आरक्षणले आफ्नो बनाउने वा भनौँ हडप्ने भन्ने हल्ला सुनेपछि ती बाढीपीडित र प्रभावितहरू तुरुन्तै फेरि साविक ठाउँमै आएर बस्न थालेको भन्ने समाचार आएको थियो । यसले मान्छेहरू आफ्नो ज्यानभन्दा पनि आफ्नो अचल सम्पत्ति घर, जग्गा र जमीनकै लोभमा पर्ने रहेछन् ! आफ्नो अचल सम्पत्ति घर, जग्गा र जमिनकै लोभमा मर्ने रहेछन् भन्ने देखाएको थियो । धेरैचाहिँ उदयपुरको बेलका नगरपालिकाका जनता प्रभावित भएका छन् ।

जलवायु परिवर्तनका कारण पछिल्लोपटक लगातार असामान्य ढंगले बढ्दै गएको गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामयिक रूपमा पानी पर्ने, आगलागी हुने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधी–बेहरी आउने, हिउँ पग्लने, हावा–हुन्डरी चल्ने, समुद्रमा पानीको सतह बढ्ने क्रम बढ्नुको मुख्य कारणमा विश्वमा बढ्दै गएको जलवायु परिवर्तन र मौसम परिवर्तनका कारणले नै हो भन्नेमा दुईमत छैन । त्यसो त लगभग तीन महिनाअघि युरोपका विभिन्न देशहरू जस्तैः स्पेन, बेलायत, फ्रान्स, इटली आदि देशमा अत्यधिक गर्मी भएको कारण धेरै मानिसहरूले अकालमै ज्यान गुमाएका थिए । हो, यसरी असामान्य ढंगले बढ्दै गएको गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामयिकमा रूपमा पानी पर्ने, आगलागी हुने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधीबेहरी आउने, हिउँ पग्लने, हावाहुन्डरी चल्ने, समुद्रमा पानीको सतह बढ्ने क्रम भनेको जलवायु परिवर्तनका कारण धरती तात्दै गएकाले गर्दा हो, यसमा कसैको बिमति रहने गरेको छैन । तर, जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम कसरी घटाउने, कसले घटाउने ? यस सम्बन्धमा विश्वका औद्योगिक, धनी र प्रभावशाली राष्ट्रबीच मतैक्य हुन सकेको छैन ।

अर्कोतिर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गतवर्ष प्रकाशित गरेको वायु प्रदूषणसम्बन्धी एक अध्ययन प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण विश्वका विभिन्न देशमा वर्षेनी ७० लाख मानिसहरूले अल्पायुमै जीवन गुमाइरहेका छन् । वायु प्रदूषणका प्रमुख कारणहरूमा औद्योगिक उत्पादन, उद्योगधन्दा र कलकारखाना भए पनि जलवायु र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मानिन्छ ।

विज्ञहरूका अनुसार नेपालको राजधानी काठमाडौं विश्वकै ५० प्रदूषित सहरमध्ये पहिलो नम्बरमा रहेको थियो र छ । सो समयमा डा. माधव अधिकारीले ‘नेपाल समाचारपत्र दैनिक’मा एक लेखमा लेखेअनुसार वायुको गुणस्तर सूचकांक (एक्यूआई) काठमाडौंको रत्नपार्कमा तीन सय ७१, ललितपुरको भैँसेपाटीमा तीन सय २९, भक्तपुरमा दुर्ई सय १६ र चितवनको सौराहामा दुई सय १० अंक रहेको थियो, गतवर्ष । जब कि सोही लेखमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार भने, वायुको गुणस्तर सूचांक (एक्यूआई) ३५ भन्दा कम राम्रो हो । त्यस्तै ५१ देखि एक सयसम्म सामान्य हो भने, दुई सय एकभन्दा माथि अस्वस्थकर हो । साथै तीन सय एकभन्दा माथि घातक हुन्छ । यसरी हेर्दा नेपालमा जहाँ–जहाँ वायुको गुणस्तर सूचांक (एक्यूआई) मापन गरिएको थियो, ती सबै ठाउँमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक घातक रहेको देखिन्थ्यो ।

गएको केही वर्षदेखि विश्वका धेरै देशहरू जस्तैः चीन, अष्ट्रेलिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानाडाका साथै कतिपय युरोपियन देशहरूमा कयौँ हप्तासम्म अनियन्त्रित ढंगले जंगलमा लगाताररूपमा आगलागी र डढेलो लागेको थियो । यो वर्ष युरोपका धेरै देशमा अप्रत्यासितरूपमा बढेको गर्मी र वायु प्रदूषणका कारण लगभग १५ हजार मानिसहरू मरेको रिपोर्ट आएको थियो । यसरी धेरै अघिदेखि विश्वभरि जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै वायु प्रदूषण पनि बढ्दो क्रम रहेको देखिन्छ । त्यसैले यसको असर कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विषय विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविद्लगायत जलवायु परिवर्तन र त्यसले निम्त्याएको वायु प्रदूषणका बारेमा चिन्ता व्यक्त गर्दै आवाज उठाउँदै आएका छन् । त्यसो भए पनि हाल बढी उत्पादन (उत्सर्जन) भइरहेको कार्बनका कारण जलवायु परिवर्तनमा पनि ठूलो असर परिरहेको छ । जसका कारण हुने वातावरण विनाश, हिमनदी पग्लने क्रम र यसले हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने वा अन्त्य हुने, बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने र यसका रोकथामका लागि कस–कसले कसरी काम गर्ने ? भन्ने विषयमा ‘कोप–२७’ को भेलामा पनि ठोसरूपमा विश्वका धनी, ठूला र शक्तिशाली देशहरूबीच खासै मतैक्य हुन सकेन भन्ने समाचार आएको छ । वास्तवमा सो समाचारले हामी सबैलाई दुःखी बनाएको छ । त्यसो त हाल विश्वमे धेरै कार्बन उत्सर्जन गर्ने पाँच देशमध्ये चीन, रुस र भारत नै ‘कोप–२७’ को भेलामा उपस्थित भएनन् यसले केको संकेत गर्छ, भनिरहनु पर्दैन ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया