Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगखोइ कोरोना प्रतिरोधको मार्गचित्र ?

खोइ कोरोना प्रतिरोधको मार्गचित्र ?


बाबुकाजी कार्की
कोरोना (कोभिङ—१९) को सुरुवात चीनको वुहानबाट डिसेम्बरको अन्त्यतिर सुरु भएर अहिले विश्वका ७७ मुलुकहरुमा फैलिइसकेको छ । यसको फैलिने तीव्रताको क्रम हेर्दा निकट भविष्यमा नै विश्वभर फैलिने प्रबल सम्भावना छ । यस महामारीको कारण दिनप्रतिदिन मर्नेहरुको संख्या पनि बढ्दो क्रममा छ । अहिलेसम्म मृत्यु हुनेहरुको संख्या तीन हजार नाघिसकेको र संक्रमितको संख्या एक लाखको हाराहारीमा पुगेको छ । भाइरसको कारणबाट मृत्यु हुनेमा चीनको हुबेई प्रान्तको मात्रै ९० प्रतिशतभन्दा बढी भएको पाइएको छ । चीनपछि अन्य १२ देशमा पनि कोरोनाका कारण एक सयभन्दा बढी जनाको मृत्यु भइसकेको छ । इरान, इटली, दक्षिण कोरिया, जापान, फ्रान्स, अमेरिका, हङकङमा पनि यसकै कारण मृत्यु हुने क्रम बढिरहेको छ । संक्रमणको दर दिनानुदिन ज्यामितीय हिसाबले बढेको छ । अहिले कोरोनाको संक्रमण विश्वका धनी र साधनस्रोत सम्पन्न देशहरुमा फैलिएको छ । विपन्न र विकासोन्मुख देशमा अहिलेसम्म खासै असर नदेखिनुमा रोगको परीक्षण प्रक्रियामा प्रभावकारिता नहुनु वा यात्रु प्रवाहमा कमी भएको हुनसक्छ । तर यस्ता देशहरुमा यदि भाइरस प्रवेश गरेमा निश्चय नै महामारीको रुप नलेना भन्न सकिन्न । आर्थिक र प्राविधिकरुपले अत्यन्त सबल राष्ट्र चीनलाई समेत कोरोना भाइरसको सामना गर्न हम्मे–हम्मे परेको जगजाहेर नै छ । संक्रमितहरुको उपचारको लागि रातारात अस्पताल निर्माण, सहर नै मानवशून्य बनाउने हैसियत भए पनि चीनले अहिलेसम्म भाइरसलाई निर्मूल पार्न सकेको अवस्था छैन । तथापि पछिल्ला दिनहरुमा क्रमिकरुपमा नियन्त्रण हुँदै गएको तथ्यांक सार्वजनिक भइराखेको छ । अहिले दक्षिण कोरिया, जापानमा संक्रमणले तीव्रता लिएको देखिन्छ । बुद्धिमान देखेर र मूर्ख परेर चेत्छ भनेझैँ हामीले पनि अरुको अवस्थाबाट सिकेर बेलैमा सरकारले कोरोनाविरुद्धको मार्गचित्र बनाएर नै रोकथामको उपाय अवलम्बन गर्न चुक्नुहुँदैन ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिअनुसार नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको जानकारी गराएको छ । सुरुमा कोरोनाविरुद्धका कार्यक्रमबारे बेखबर रहेको सरकार चीनको वुहानबाट नेपालीको उद्धार गरी क्वारेन्टाइनको राम्रो व्यवस्था गरेकोले प्रशंसा पाएको छ। तर त्यसपछि भविष्यमा जुनसुकै बेलामा आइपर्ने कोरोनाको चुनौतीका लागि तदारुकता नदेखाएको गुनासो विभिन्न माध्यमबाट सार्वजनिक भइराखेको छन् । कोरोना संक्रमणको तीव्रताअनुसार नेपालले पनि आफ्नो प्रतिरोध र प्रतिरक्षाका लागि आक्रामक कार्ययोजना अघि सार्न विलम्ब गर्नु अक्षम्य गल्ती नहोला भन्न सकिन्न । अहिलेसम्मको संक्रमणको प्रवृत्ति हेर्दा ढिलोचाँडो धेरथोर आकारमा कोरोना भाइरस विश्वका सबै देशमा पुग्ने निश्चित नै देखिन्छ । त्यसकारण यसबाट आत्तिनुभन्दा पनि धैर्यपूर्वक सहजता अपनाउनु बुद्धिमानी हुन्छ ।विश्वका कतिपय देशहरुले कोरोना संक्रमणलाई गम्भीरतापूर्वक लिएको पाइन्छ । मनिसको जमघट हुने राष्ट्रिय अन्तर्राष्ट्रिय सभा, समारोह, सम्मेलन, पर्व उत्सव स्थगित गरिएका समाचारहरु एकपछि अर्को गरी आइराखेका छन् । कोरोनाको संक्रमणको डरले साउदी अरबले विदेशी मुस्लिमलाई पवित्र तीर्थस्थल मक्का र मदिनाको तीर्थयात्रामा रोक लगाउने निर्णय गरेको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले त्यहाँका विद्यालयहरु केही समयका लागि बन्द गर्ने संकेत गरेका छन् । मौजुदा परिस्थितिमा सुधार नआएर जोखिम कायमै रहेमा साउदी अरबमा मूसलमानहरुको पवित्र तीर्थाटन हज र जुलाईमा जापानको टोकियोमा हुने ओलम्पिक खेल समेत प्रभावित हुने सम्भावना देखिन्छ । सुरुमा नेपाललाई कोरोनामुक्त देश घोषणा गरेर पर्यटकहरुलाई नेपाल भ्रमणमा आउन पर्यटन मन्त्रालयले आह्वान गरेर अदूरदर्शी र अपरिपक्वता देखाएको थियो । यस उरन्ठेउलो निर्णयको सर्वत्र आलोचना भएपछि भर्खरै सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई स्थगित गरेको छ । सभासम्मेलन लगायतका भीडभाडजन्य कार्यक्रम नगर्न नगराउन सरकारले अपिल गरेको छ । अझै पनि परिस्थितिको गम्भीर विश्लेषण गरेर व्यवहारमा नै तदारुकता देखाएको पाइँदैन । कागजी झटारो र अपिलले मात्रै भविष्यमा आइपर्ने विपत्ति टर्नेछैन ।

कोरोना संक्रमित देशबाट आउने यात्रुहरुलाई प्रतिबन्ध लगाउने तथा आफ्ना नागरिकहरुको स्वदेश फिर्तीको अभियान एकपछि अर्को देशले चालेका समाचारहरु सार्वजनिक भइराखेका छन् । त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति माइक पेन्सको नेतृत्वमा कोरोनासँग जुध्नको लागि कार्यदल नै गठन गरेका छन् । अमेरिकी सरकारले कोरोना भाइरसको उपचारका लागि औषधि खोप तयार गर्न झण्डै ३ अर्ब डलर छुट्याउने निधो गरेको छ । तर वैज्ञानिकहरुका अनुसार यस्तो खोप तयार गर्न कम्तीमा पनि २ वर्ष लाग्न सक्ने अनुमान गरेका छन् ।
अहिलेसम्मको अध्ययन र अनुभवबाट संक्रमितमध्ये २ देखि ३ प्रतिशतको मात्र मृत्यु हुने देखिए पनि यसको निश्चित उपचार विधि पत्ता लागिसकेको छैन । यसको उपचारभन्दा पनि रोकथामका उपायहरु प्रभावकारीरुपमा अवलम्बन गर्नुको विकल्प छैन । रोगको लक्षण र सर्ने माध्यम तथा बच्ने उपायहरुबारे व्यापक जनचेतनाको खाँचो टड्कारो देखिन्छ । मनिसले आफ्नो बानी व्यहोरा र आहारविहार स्वस्थकर बनाएमा कोरोना भाइरस संक्रमणबाट बच्न सकिने स्वास्थ्यकर्मीको सुझावलाई आत्मसात् गर्नेतर्फ हेक्का राख्नु बुद्धिमानी हुन्छ । कोरोना प्रतिरोधका लागि सरकारले कोरोना संक्रमणपूर्व र संक्रमणपश्चात् गरिनुपर्ने कार्ययोजनाको मार्गचित्र नै बनाएर प्रतिरोधमा उत्रिन विलम्ब गरिनुहुँदैन । नेपालीहरु वैदेशिक रोजगारीमा गएका देशहरुमा कोरोना फैलिएमा त्यसको प्रत्यक्ष असर नेपालले व्यहोर्नुपर्ने हुन्छ । चीनबाट उद्धार गरेजस्तै अन्य देशहरु दक्षिण कोरिया, जापान, खाडीका मुलुकलगायतका देशहरुबाट आफ्ना नागरिक ल्याएर निश्चित अवधिको लागि क्वारेन्टाइनमा राख्ने पर्याप्त संरचना छैन । नेपाल प्रवेशका नाकाहरुमा उच्च सतर्कताको अभाव, भारतसँगको खुला आवगमनका कारण पनि भाइरसको जोखिम उत्तिकै छ। यसर्थ, कोरोना जोखिमको सामना गर्न विमानस्थल र सीमा नाकामा उच्च सतर्कता अपनाउने, कोरोना संक्रमित देशहरुमा गरिने उडान केही समयको लागि स्थगित गर्ने, अस्पतालहरुलाई साधन स्रोत सम्पन्न पारेर तयारी अवस्थामा राख्ने, ठूला सभासम्मेलन भोजभतेर नगर्ने, रोग प्रतिरोध क्षमता कम भएका बालबालिका, वृद्धवृद्धा, उपचाररत बिरामीहरुको रेखदेखमा विशेष चनाखो रहने, सचेतनामूलक कार्यक्रमहरुलाई सहज र व्यापक बनाउने आदि काम राज्यको प्रमुख दायित्वभित्र पर्छ । मानव जमघट धेरै हुने विद्यालय कलेज ठूला उद्योगधन्दा आदि परिस्थितिको गाम्भीर्य सूक्ष्म आँकलन गरेर केही समयका लागि बन्द गरिनुपर्दछ । संक्रमणबाट बच्न सर्वसाधारणले अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने मास्कको सहज उपलब्धता, भाइरस परीक्षण कीटको पर्याप्त व्यवस्थापनमा पनि सरकार चनाखो हुनुपर्दछ ।

कोरोनाको संक्रमणबाट जोगिन र सामना गर्न प्रत्येक नागरिकले आआफ्नो तर्फबाट पनि बेलैमा सजगता अपनाउनुपर्दछ । सरकारको मात्र भर र गाली गरेर पूर्वतयारीमा बेवास्ता ग¥यौँ भने गम्भीर आत्मघाती भूल नहोला भन्न सकिन्न । प्रत्येक घरघर र व्यक्तिले कोरोनाविरुद्धको तयारी आवश्यक हुन्छ । घरको सरसफाइमा प्रयोग हुने डिटोल, साबुन, दिनहुँ प्रयोग हुने खाद्यान्न २÷३ महिनालाई पुग्ने गरी राख्नुपर्दछ । रुघाखोकीको औषधि ज्वरो नाप्ने थर्मोमिटर आदि स्वास्थ्यका सामान्य सामग्री पनि जोहो बेलैमा गर्नु राम्रो हो । बालबच्चा र वृद्धवृद्धाको राम्रो हेरचाह, मासुजन्य वस्तुको सेवन नगर्ने, घरपालुवा जनावरबाट टाढै बस्ने तथा स्वास्थ्यकर्मीको सुझावअनुसार दिनचर्या बिताउनु श्रेयस्कर हुन्छ । कोरोना भाइरसको समस्या विश्वव्यापी भएकोले आत्तिएर मानसिक तनावमा बस्नुभन्दा पनि सतर्कता एवं संयमपूर्वक सामना गर्ने उच्च मनोबलसाथ दिनचर्या बिताउनु बुद्धिमानी हुन्छ ।


क्याटेगोरी : विचार / ब्लग


तपाईको प्रतिक्रिया