Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगराष्ट्रिय अर्थतन्त्र सबलीकरणमा कफीको महत्व

राष्ट्रिय अर्थतन्त्र सबलीकरणमा कफीको महत्व


काठमाडौं । हाम्रो देश प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरूमध्ये वन जंगल तथा यहाँभित्र पाइने अलौकिक तथा अद्वित्तीय जडीबुटी तथा गैरकाष्ठ वन पैदावरको महत्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका गैरकाष्ठ वन पैदावार नेपाल र नेपालीको लागि मात्र होइन, समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिको तर्फबाट अद्वित्तीय उपहार हो । गुणस्तर जीवनको लागि जडीबुटीको यस्ता वनस्पतिको महत्वपूर्ण योगदान छ । मानवको स्वास्थ्य ठीक हुनको लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिकरूपमा तन्दुरुस्त हुन आवश्यक छ । स्वस्थ नागरिक र स्वस्थ समाजद्वारा नै देशको विकास सम्भव छ ।

अपार सम्भावना बोकेको महत्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्वपूर्ण साधन हुन् । वर्षेनी अरबौँ धनराशिको विभिन्न गैरकाष्ठ वन पैदावारहरू विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीहरूको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार गैरकाष्ठ वन पैदावारको संकलन तथा बिक्री वितरणबाट अरबौँ धनराशि वर्षेनी भित्रिने गरेको छ । कफीलगायत अन्य महत्वपूर्ण जडीबुटीको बिक्री वितरणबाट गुल्मी, पाल्पा, अर्घखाँची, इलामजस्ता जिल्लाहरूमा करोडौं रुपैयाँ वर्षेनी भित्रिने गर्दछ । हरेक मंसिर १ गते राष्ट्रिय कफी दिवस मनाउने भएकोले यस लेखमा कफी उत्पादन र महत्वबारे छोटो चर्चा गर्ने प्रयास गरीएको छ ।

कफीको पृष्ठभूमिलाई हेर्दा यसको उत्पत्ति अरब, एवाइसिनियाको पहाडी भागमा भएको मानिन्छ । कफीलाई अरवियनहरूले नै सबैभन्दा पहिला प्रयोगमा ल्याएको पाइन्छ । अरबी प्रजातिको कफी सबैभन्दा पहिला इथियोपियामा काल्दी नाम गरेको गोठालाले पत्ता लगाएको पाइन्छ । कफीका फल खाएका बाख्राले केही असाधारण व्यवहार देखाएकोले त्यसलाई मानिसले खाँदा उत्तेजना र स्फुर्ति आएकाले यसलाई विभिन्न तरिकाबाट अपनाई प्रयोग गर्दै आएको पाइन्छ । कफी उत्पादन गर्ने देशमा ब्राजिल, भियतनाम, कोलम्बिया, इन्डोनेसिया, इथियोपिया, भारत, होन्डुरस, युगान्डा, मेक्सिको र ग्वाटेमाला प्रमुख छन् । नेपालमा सर्वप्रथम सन् १९३८ सालमा गुल्मीको आपचौरमा खेती गरिएको पाइन्छ । त्यसपछि क्रमिकरूपमा यसको विस्तार गरेको पाइन्छ । हाल देशका ५४ जिल्लामा कफीखेती गरिएको छ । जसमध्ये काभ्रे, नुवाकोट, गुल्मी, कास्की, लमजुङ आदि कफीखेती गर्ने जिल्लाको अग्रस्थानमा छन् ।

कफीको बीउको कप्टेरालाई भुटी पिसेर धुलो बनाई गरम पानीमा राख्दा विशेष प्रकारको बास्ना आउने गर्दछ र एक उत्तेजनात्मक पेयको रूपमा प्रयोग गरिन्छ । कफीका दानाहरूमा १ दशमलव २ देखि २ दशमलव ६ प्रतिशतसम्म र बजारमा पाइने इन्सटेट कफीमा शून्य दशमलव १ देखि शून्य दशमलव ३ प्रतिशतसम्म कफीनको मात्रा हुने गर्दछ । कफीलाई यसको विशेष स्वादको लागि चकलेट, क्यान्डी, आइसक्रिम र खाद्यपदार्थमा पनि मिसाउने चलन छ । कफी रुबियसी परिवारअन्तर्गत कफी समूहमा पर्दछ । कफीका छवटा विभिन्न प्रजातिहरू रहेका छन् । तीमध्ये मुख्यतयाः अरबीका, रोबुस्टा, लाइबेरिका जातका कफीको खेती गर्नेगरेको पाइन्छ । विश्वमा उत्पादन हुने कफीमा अधिकांश उत्पादित कफी अरबीका कफीले नै ओगटेको छ । त्यस्तै नेपालमा पनि यही जातको कफीको खेती गरिन्छ ।

अरबीका कफीको बोट वयस्क हुँदा करिब ३ दशमलव ५ मिटर अग्लो हुन्छ । हाँगाहरू साना, मसिना र दुवै साइडमा तेर्सिएर निस्की माथिपतिर बढ्छन् । पात चिल्लो, लाम्चो र टुप्पातिर तिखो हुन्छ । फलहरू झुप्पामा सरदर १५ देखि २० वटा लाग्ने गर्दछ । पाक्दा फलको रङ्ग कलेजी रातोबाट गाढा कालो रातो हुन्छ । अरबीकाअन्तर्गतका जातमध्ये केन्ट, कुर्ग, चिक्स, ब्ल्यु माउन्टेन, गोल्डेन ड्रप अथवा अमेरिलो मुख्य छन् । कफी रोबुस्टा जातिका पातहरू आरबीकाको भन्दा ठूलो र केही खस्रा खालका हुन्छन् । बोटहरू पनि ठूला हुन्छन् । एउटा झुप्पोमा २५ देखि ५० वटा फलहरू लाग्छन् । पातको रङ्ग तामाको जस्तो हुन्छ । यी जातमा आरबीकाको तुलनामा कम रोग लाग्ने गर्दछन् । यो जातलाई गर्मी हावापानीमा पनि उन्नतसाथ उत्पादन गर्न सकिन्छ । त्यस्तै लाइबेरिका जातका कफीका बोटहरू करिब ७ दशमलव ५ मिटर अग्लो हुने गर्दछ । यो काँटछाँट नगरी सिधै बढ्न दिइन्छ । बोटको काण्ड करिब ४० सेमी गालाइको हुन्छ । यसको पात १५ सेमी जति चौडाइ, छालाजस्ता बाक्ला र लुसो हरियो खालका हुन्छन् । फलहरू गुच्छामा दुई/तीनवटा मात्र हुने गर्दछ । बिरुवाहरू कम मलिलो, ढुंगेन बलौटे माटोमा पनि फस्टाउने गर्दछ ।

कफी नेपालको परम्परागत बाली होइन । अरबिका कफीका विभिन्न जातहरू बर्मा, भारत, ब्राजिल, पपुवान्यूगिनी, एल साल्भाडोर आदिबाट नेपाल भित्र्याइएका छन् । तिनिहरू बोर्बाेन, टिपिका, पाकस, काटिसिक, टेकिसिक, कातुरा, सेलेक्सन–१०, काटिमोर, काबेरी आदि हुन् । कफीको उत्पादनको लागि नर्सरी स्थापना तथा व्यवस्थापन महत्वपूर्ण हुन्छ । यसका लागि माउबोट माउबोट छनोटदेखि रोप्ने, बिरुवा हुर्काउने तथा बिक्रीवितरण नभएसम्म नर्सरीमा गरिने सम्पूर्ण कार्य नै नर्सरी व्यवस्थापन हो । कफीको बीउको दुई स्रोत हुन्छन् जुन प्रमाणित स्रोतबाट खरिद गर्ने तथा माउबोट छनोट गरी बीउ तयार गर्नु हो । व्यावसायिक कफीखेतीको लागि आवश्यक कफीका जातमा हुनुपर्ने गुणहरूमा अनुसन्धान प्राप्त निकायबाट प्रमाणित बीउ, राम्रो बास्ना र मीठो स्वाद भएको, ठूला फल र फलमा दिउलको अनुपात बढी भएको, रोग, कीरा नलाग्ने वा सहन सक्ने, सुक्खापन सहन सक्ने, आँख्लाबीचको दूरी कम भएको, शाखा हाँगा र प्रशाखा हाँगा न धेरै न थोरै पलाउने, विभिन्न हावापानीमा उत्पादन हुन सक्ने, कम छहारीमा पनि राम्रोसँग उत्पादन हुने आदि पर्दछन् । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो तीन आर्थिक वर्षमा कफीको निर्यात तथा आयात विवरण निम्नानुसार छ ।

No description available.

नेपालमा कफीखेतीलाई योजनाबद्ध तरिकाबाट विकास गर्नलाई राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना भएको पाइन्छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा कफी कृषक, उद्योगी, व्यवसायी, संघसंस्थाहरूलगायत कफी सरोकारवाला सबैको उपस्थितिमा प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कफी दिवस मनाउँदै आएको पाइन्छ तर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिताको कारण मंसिर १६ गते ‘व्यावसायिक कफीखेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट’ भन्ने नाराका साथ मनाइयो ।

नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक बनावटको आधारमा कफीखेती हाम्रो देशमा सम्भावना धेरै छ । सोअनुसार अझै कफीखेती उत्पादन गर्न सकिएको छैन जुन कुरा माथिको आँकडाले देखाउँछ । हाम्रो घरमा तथा विभिन्न उत्सवमा आउने पाहुनाहरूलाई आदरका साथ सबैभन्दा पहिले कफी पिऔँ भन्ने प्रचलन रहेको छ । अतः कफीखेतीको सम्भावनालाई योजनाबद्ध तरिकाबाट तीनै तहको सरकारले व्यावसायिकरूपमा विकास गराउन सकेमा वैदेशिक रोजगारीमा विदेश पलायन भएका युवा शक्तिलाई देश तथा, गाउँ तथा घरमै रोजगारीको सिर्जना गरी नेपाल कफीमा आत्मानिर्भर भई साथै विदेशमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । सोबाट नेपाल समृद्धिको यात्रामा अघि बढ्न सक्दछ । यसको लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्रभावकारी भूमिका खेल्न अति आवश्यक छ । लेखकः गुणस्तर जीवन विषयमा विद्यावारिधि । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया