Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजनता कति टुलुटुलु हेरेर बस्ने ?

जनता कति टुलुटुलु हेरेर बस्ने ?


काठमाडौं,हालै नयाँ सरकार गठन भएपछि पत्रपत्रिका, सामाजिक सञ्जाल एवं चिया, कफी पसलहरूमा नानाथरीका गफ, प्रतिक्रिया, सुझाव, सन्देशहरू हेर्न, पढ्न र सुन्न पाइन्छ ।एकथरी खुसी हुँदै नयाँ सरकारको समर्थनमा बोलेको पाइन्छ । सम्बन्धित नेताहरू धेरै र राम्रोभन्दा राम्रो पद पाउने प्रतीक्षा र मोलतोल गर्दै शक्तिकेन्द्रहरू धाउन थालिसकेको सुनिन्छ । नयाँ दलहरू मन्त्रीमण्डलमा संलग्न भएबाट अब कायापलट गर्ने भन्दै लेखेको पनि पाइन्छ ।

अर्का थरी के गर्ला र ? सक्ला र ? न सिद्धान्त मिल्छ न कुरा मिल्छ यस्तो गठबन्धन किन र कसरी बन्न गयो ? धेरै टिक्दैन, चाँडै ढल्छ भनी प्रश्नमाथि प्रश्न उठाएको र जनसमुदायलाई मुर्ख बनाउन खोजेको कडा प्रतिक्रिया व्यक्त गरेका छन् ।गठबन्धनमा भएका दलहरू हेर्दा लाग्छ यो गठबन्धन बन्न कुनै आधार नै छैन । नयाँ सरकारको यो परिवर्तनले पक्कै पनि नेपाली मात्र होइन विदेशी शुभचिन्तकमा पनि चहलपहल ल्याएको छ । मित्रराष्ट्र भारतका प्रधानमन्त्रीले चुनावी नतिजा प्राप्त भएको केही मिनेटमा नेपालका प्रधानमन्त्रीलाई बधाई दिएको र सहकार्य गर्न इच्छुक भएको उद्घोष गरेको छ । चीनबाट पनि बधाई सन्देश आइसकेको छ ।

एमाले र माओवादी अध्यक्षबीचको झगडा र वाकयुद्ध हरेक दिन हेर्न पाइन्थ्यो । दुवैले निम्नस्तरको अभिव्यक्ति दिनेगरेको समेत सुनिन्थ्यो । दुवै नेता कुनै हालतमा मिल्न सक्ने अवस्था नै छैनजस्तो लाग्थ्यो । हाल भाइरल भइरहेको एक टीभी अन्तरवार्तामा ‘एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आए के गर्न हुन्छ ?’ भन्ने प्रश्नमा माओवादी अध्यक्षले भनेका थिए, ‘एमाले प्रतिगामी र संविधानविरोधी दल हो र कुनै पनि हालतमा एमालेसँग मिल्न त के सोच्नै नसक्ने, पाँचदलीय गठबन्धन वर्षौँसम्म चल्ने, संविधान जोगाउने जिम्मा हाम्रो पाँचदलीय गठबन्धनको भएको र त्यही गठबन्धनबाटै प्रधानमन्त्रीको चयन हुनेछ ।’

हाल संसद्को चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षले नामै तोकेर गनाएका र भ्रस्ट भन्दै नेताहरू, केही हाल मन्त्रीमण्डलमा ठूलो पदमा आशीन छन्, आफू हारे पनि जसरी भए पनि हराउने ‘नो, नट अगेन’को अभियानमा संलग्न थिए । यिनीहरू महाभ्रष्टाचारी हुन् र जसरी पनि जेलमा कोच्नुपर्ने बाचा जनतासामु उद्घोष गरेका थिए । बोलेका भिडियो हाल राम्रै भाइरल भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राजावादी र संविधानविरोधी, राजतन्त्र फर्काउने दल भएबाट गठबन्धनमा संलग्न हुन नसक्ने बुझाइ थियो ।

चुनावमा जनताले कुनै एक दललाई सरकार बनाउने मत दिएको थिएन । नेपाली कांग्रेस सदनमा ठूला दल भए पनि मिलिजुली सरकारको जनादेश पाएको थियो ।दलहरूबीच सिद्धान्त नमिल्ने, प्राकृतिक नभए पनि सातदलीय गठबन्धनको सरकार बन्न पुग्यो । हिजोसम्म गालिगलोच गर्नेहरूले नै मिलेर आज नयाँ गठबन्धन बनाएका छन् । सर्वसाधारण झन् अचम्मित भएका छन् । दलहरूमा वितृष्णा बढेको छ ।

नयाँ दलहरूलाई वैकल्पिक दलको रूपमा मौका दिएको थियो । तर सरकार गठन गर्न समर्थन जनाएको र सरकारमा सहभागी भएबाट जनता आक्रोशित बनेका छन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरू विश्लेषण गर्दा जनतामा ठूलो निराशा देखिसकेको छ । ‘उही ड्याङको मुला’, ‘जो आए पनि कानै चिरेका’ भन्न थालेको छन् ।रास्वपा अध्यक्षले उपप्रधानमन्त्रीलगायत शक्तिशाली गृह मन्त्रालय हात पारेको छ । यो मन्त्रालय नै किन लियो र किन दियो आम चासोको विषय बनेको छ । गृहमन्त्री अदालतमा विचाराधीन आफ्नै मुद्दा बोकेको अवस्था छ । आफ्नै मातहतको विभागले सो मुद्दाको अनुसन्धान गर्ने भएबाट सो मुद्दा स्वतन्त्र र निष्पक्ष हुनेमा शंका उब्जेको छ । यहाँ पनि सेटिङको कुरा उठेको छ ।

आफैँले भ्रष्टाचारी भन्ने अनि उनैको मन्त्रीमण्डलमा मन्त्री बन्ने ? त्यो बोलीको अर्थ के ? जनताले कसरी बुझ्ने ? निर्मला हत्याकाण्डको विषयमा मन्त्रीपछिको पहिलो वक्तव्य आउनु सराहनीय त छ तर भ्रष्टाचारको कुरा कता हरायो ? बालुवाटार जग्गा काण्डका आरोपी, माओवादी क्यान्टोनमेन्टका भ्रष्टाचारी, ओम्नी काण्डका प्रमुखको हाल गठबन्धन सरकारमा मुख्य मन्त्रालय हाँकेर बसेका छन् । अब के होला ? ‘आया राम गया राम’ हुने त होइन ? अब साना–साना माछा मार्दै ठूलो माछा भगाउने त होला नि ?

बाम एकताको कुरा व्यापकरूपमा अगाडि बढाएको देखिन्छ । देश विदेशका शक्तिहरू खुलेर लागेको सुन्नमा आएको छ । एकीकृत नेकपा समाजवादी नेपाल सम्मिलित पार्टीलाई राम्रो राजकीय पद दिएर सरकारमा समाहित गर्ने प्रयास भएको बुझिन्छ । यदि सो सफल भए नेपालको राजनीतिमा फेरि अर्को प्रमुख टर्निङ प्वाइन्ट आउननेछ । नाटक के होला हेर्न बाँकी नै छ ।

नेका संसद्मा ठूलो दल हुँदा पनि विपक्षमा बस्नु त्यति सहज नहुन सक्छ । दलका इतर र भित्रबीच तालमेल नभएको र आफूखुसी निर्णय लिएको एक–आपसमा दोषारोपण गरेको सुनिन्छ । पार्टी सभापतिको राजीनामाको कुरा समेत उठेको छ । तर जे होस् नेकाको अब सरकार चलाउने रेल छुटिसकेको छ र अर्को आउने रेललाई कुर्नुको विकल्प देखिँदैन । नेका चुपचाप बस्ने अवस्था हुँदैन र आफ्नो तुरुप पनि चलाउँछ होला । तर अहिलेकै अवस्थामा त्यो सम्भव होलाजस्तो लाग्दैन ।

आफ्नै घरझगडालाई कसरी व्यवस्थापन गर्ने प्रमुख चुनौती देखिन्छ । यदि नेताहरू मिल्न नसके, संगठन सुधृढ गर्न नसके दल फुट भई सताछुल्ल हुने नकार्न सकिन्न । नेका मिल्नुको विकल्प नै छैन । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सम्झना र कार्यान्वयन यहाँ सान्दर्भिक हुन आउँछ ।हालसम्मको राजनीतिक उतारचढाव र अस्थिर परिस्थितिले साधारण जनताको धैर्यताको सीमा नाघेको देखिन्छ । नयाँ दलका किन नहोस्, नेता भनाउँदाहरू अवसरवादी, बेइमान, भ्रष्टको रूपमा लिएको पाइन्छ ।

देशका कर्णधार युवा विद्यार्थीहरूले राजनीति र राजनीतिक नेताहरूबाट के शिक्षा लिने ? राजनीतिक दलहरूबाट केही फाइदा लिने परिवार, आशेपासे, झोलेबाहेक अधिकांश युवाहरूको राजनीतिमा खासै सहभागिता देखिँदैन । गत चुनावमा खसेको मतसंख्याबाट पनि यसको पुष्टि भएको देखिन्छ । देशमा आफ्नो भविष्य राम्रो हुने विश्वास गर्न छोडेको छ । प्रत्येक दिन करिब तीन हजारको संख्यामा युवा तथा विद्यार्थीहरू आफ्नो देश, परिवार, साथीबाट अल्लग भई विदेश पलायन हुनु एक ज्वलन्त उदाहरण हो ।

जसरी पनि सत्तामा जाने, टिकाउने तथा शक्ति सञ्चय गर्नेबाहेक सर्वसाधारण जनताका आधारभूत आवश्यकताहरू के–कसरी परिपूर्ति गर्ने विषयमा हालसम्म पनि गम्भीर छलफल गरेको देखिँदैन । स्वीकृत कार्यक्रम समेत कार्यान्वयन समयमा गर्न नसकेको मात्र नभई विनियोजन रकम समेत उपयोग गर्न सकेको देखिँदैन । तल्लो निकायसम्म व्यापक भ्रष्टाचार मौलाएको छँदै छ ।
के विद्यमान नेतृत्ववर्ग देश हाँक्न सक्षम छ ? जनता निराश भएर कति टुलुटुलु हेरेर बस्ने ?


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया