Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र

बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र


काठमाडौं । वस्तु तथा सेवाको उत्पादन, विनिमय र वितरणका लागी वित्तीय लगानी आवश्यक हुन्छ । लगानीसँगै उत्पादन, रोजगारी र आय जोडिन पुुग्दछन् । वस्तु तथा सेवाको उत्पादन र उपभोगका माध्यमद्वारा बजारमा मुद्राको वितरण हुने गर्छ । बढ्दो वित्तीय लगानीले आयमा वृद्धि गर्दछ र बढेको आयले उपभोगमा तीव्रता ल्याउँछ । उपभोगमा भएको खर्चले अर्थतन्त्रलाई चलायमान राख्दछ । आर्थिक क्रियाकलाप वित्तीय लगानीमा निर्भर हुन्छ । बढ्दो वित्तीय लगानीले अर्थतन्त्रलाई अभिवृद्धि गरिरहेको हुन्छ ।

वास्तवमा अर्थतन्त्र मुलुकभित्र हुने तीनै हरेक क्रियाकलापको जोड हो । कुनै पनि देशको वास्तविक अवस्थाको चित्रण अर्थतन्त्रले गरिरहेको हुन्छ । अर्थतन्त्रलाई चलायमान बनाउन लगानीको स्रोत परिचालन गर्ने काम मुलुकभित्र अवस्थित वित्तीय संस्थाहरूले गर्दछन् । वित्तीय लगानीका स्रोत बैंक तथा वित्तीय संस्थाहरू हुन् । वित्तीय लगानीको अवस्था अब्बल रहेको अर्थतन्त्र आर्थिकरूपमा बलियो हुन्छ । तर नेपाल हाल यस्तो अवस्था देखिँदैन । यहाँ वित्तीय लगानी उकालो लागिरहे पनि अर्थतन्त्रचाहिँ ओरालो झरिरहेको छ । वित्तीय लगानी र अर्थतन्त्रबीचको सम्बन्ध सकरात्मक हुनुपर्ने हो तर सम्बन्ध नकरात्मक बन्दै गइरहेको छ ।

वित्तीय लगानीलाई स्वतस्फुर्तरूपमा प्रभावकारी बनाई आर्थिक क्रियाकलापलाई उत्पादन र उपभोगतर्फ सक्रिय बनाउनुपर्नेमा वित्तीय लगानी आफ्नो अस्तित्व बचाउनमै तल्लीन देखिन्छ । आज यसले लक्ष्यलाई पक्रन सकेको छैन । यसको प्रमुख लक्ष्य त लगानी सुरक्षित राख्न, नाफा सुनिश्चित गर्न, कम जोखिम उठाउन, छोटो समयमा आर्थिक उपार्जन गर्नतर्फ केन्द्रित भएको देखिन्छ । जसका कारण हरेक वर्ष वित्तीय लगानी बढिरहे पनि अर्थतन्त्रले उकालो यात्रा तय गर्न सकेन । मुलुकमा व्यापारघाटाको गति झनै तीव्र बन्दै गयो  । वैदेशिक सञ्चिति ओरालो लाग्यो, रेमिट्यान्स हुण्डीमार्फत सवार हुन थाल्यो ।

विगत पाँच वर्षदेखि २०७९ असारसम्म अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा १२ प्रतिशतदेखि २८ प्रतिशतसम्म वृद्धि भएको देखिन्छ । तर निक्षेपको वृद्धि भने ५ प्रतिशतदेखि १७ प्रतिशतसम्म मात्र छ । यसले निक्षेपको तुलनामा कर्जा बढेको देखाउँछ यसरी निक्षेपको तुलनामा कर्जामा बढी लगानी हुँदा बैंक तथा वित्तीय संस्थाबाट मुद्रा बाहिरिने गर्दछ । आर्थिक वर्ष २०७८/८९ को दोस्रो त्रैमासदेखि लगानीयोग्य कोषको अभाव हुन थालेपछि वित्तीय क्षेत्रमा गर्नुपर्ने लगानीको वृद्धिदर घट्दै गएको छ ।

पछिल्लो समय मुलकमा कर्जा लगानी र आयातको सम्बन्ध नकारात्मक हुनुपर्नेमा लगानी बढिरहँदा व्यापारघाटा पनि बढिरहेको छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरूको लगानी आयात प्रवर्द्धन र अनुत्पादक क्षेत्रमा भएको प्रस्टीन्छ । आर्थिक वर्ष २०७७ को असार मसान्तमा १० खर्ब ९९ अर्ब व्यापारघाटा रहेकामा २०७९ जेठ मसान्तमा आइपुग्दा १७ खर्ब २० अर्ब पुग्यो । जुन अघिल्लो वर्षको तुलनामा २३ प्रतिशत अधिक हो । यसलाई न्यूनीकरण गर्नका लागि आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अन्त्यदेखि नेपाल राष्ट्र बैंकले विभिन्न किसिमका नियन्त्रणात्मक उपकरणहरू परिचालन गर्न थालेको थियो । जसले आरामदायी, विलासी तथा दैनिक उपभोगको प्रत्यक्ष प्रयोगमा नआउने वस्तुलाई तत्काल नियन्त्रण गर्ने नीति अपनाएको थियो ।

विगत केही वर्षदेखि नेपाल आयात प्रवर्द्धन गर्ने मुलुकको रूपमा चिनिँदै आएको छ । अति न्यून निर्यात र तीव्र आयातले मुलुकको ठूलो आर्थिक स्रोत बाहिरिरहेको छ । निर्यातको अंश जम्मा ९ दशमलव ४३ प्रतिशत छ भने आयातको अंश ९० दशमलव ५७ प्रतिशत छ । लगानी उत्पादनशील क्षेत्रमा नजाँदा देश आयातमा झनै बढी निर्भर हुँदै जानुपरेको हो । नत्र भने वार्षिक बजेट १७ खर्ब ९३ अर्ब हुँदा व्यापारघाटाचाहिँ १७ खर्ब ९० अर्ब हुँदैनथ्यो । अर्थतन्त्रका लागि व्यापारघाटा वार्षिक बजेटको आकार हाराहारी हुनु दुःखद अवस्था हो ।

तरलता अभावले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको लगानी प्रायः ठप्प हुँदै गएको छ । लगानी ठप्प हुँदै जाँदा अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन । लगानी उत्पादनशील क्षेत्रमा न्यून, आयातमा ठूलो, उद्देश्य नखुलेका लगानीहरू पनि आयात व्यापारतर्फ केन्द्रित, घरजग्गाजस्ता क्षेत्रमा लगानी बढ्नाले घरजग्गाको मूल्य अकाशिएको अवस्था छ । लगानी उद्योगधन्दाहरूमा पर्याप्त हुन नसक्दा एकातिर उद्योगधन्दाहरूले पर्याप्त उत्पादन गर्न सक्दैनन अर्कातिर आयात कम हुँदा राजस्व संकलनमा पनि नकारात्मक असर पर्छ । अहिले आयातमा आधारित राजस्व न्यून संकलन भएकोले राजस्वको निर्धारित लक्ष्य पूरा हुन सकेको छैन ।

अर्थतन्त्रमा वित्तीय लगानी बढ्नु राम्रो पक्ष हो । यो लगानी उत्पादनशील क्षेत्रमा गरियो भने वस्तुको माग सिर्जना हुन्छ, मागबमोजिमको आपूर्ति हुन्छ जसबाट मौद्रिक कारोबार चलायमान हुन्छ, रोजगारी बढ्छ, आम्दानी बढ्छ  । अन्ततः उत्पादन पुनः बढ्न जाँदा समग्र व्यावसायिक चक्रमा सकारात्मक प्रभाव देखा पर्दछ । वित्तीय लगानीलाई जबसम्म उत्पादनशील क्षेत्रमा मात्र प्राथमिकता दिएर उत्पादन बढाउने र आयात प्रतिस्थापनको रणनीतिलाई अपनाइँदैन । त्यसबेलासम्म व्यापारघाटा उकालो लागिरहनेछ । देश नुनदेखि सुनसम्मका सामान आयात गरी जीवन निर्वाह गर्ने अवस्थामा पुग्दछ र पुगेको छ । हालको व्यापारघाटा यसैको परिणाम हो ।

अवका दिनमा व्यापार–व्यवसाय गर्ने वर्गमा आयातित होइन, उद्यमी बनेर व्यापार गर्नुपर्छ भन्ने सोच आउनु जरुरी छ । उद्यमीको उत्पादनसहितको व्यापारलाई राज्यले यथोचित सहुलियत नदिँदासम्म यो क्षेत्र अगाडि आउन सक्दैन । व्यापार–व्यवसायमा पारदर्शिता नहुँदा व्यापारको न्यून अंश मात्र करका रूपमा आउने गरेको छ । व्यापारमा भन्सारदेखि नै वस्तु तथा सेवाको वास्तविक मूल्य कायम नगरी कम मूल्यको बिलिङ गरी वस्तु आयात हुन्छ र उपभोक्तासम्म आउँदा त्यसको मूल्य अनुमान गर्न सकिँदैन । व्यापारीहरूको वास्तविक कारोबार र कागजी कारोबार फरक परिरहेको छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूलाई पनि असल ऋणी पहिचान गर्न कठिन भएको उनीहरूले बताइरहेका छन् ।

अब अर्थतन्त्रको सबलीकरणका लागि आयातलाई प्रतिस्थापन गर्दै जानुपर्ने देखिन्छ । विलासिताका वस्तुहरूमा बढी कर लगाई आयातलाई सीमित गर्नुपर्छ । सरकारले स्वदशी वस्तु प्रयोगमा जोड दिने वातावरण सिर्जना गरी स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नेतर्फ ध्यान दिनुपर्छ । देशमा रहेका साना तथा घरेलु उद्योगहरूको संरक्षण, प्रवर्द्धन र विकासमा सहजता प्रदान गर्नुपर्छ । यसले वर्तमान अर्थतन्त्रमा देखापरिरहेको वित्तीय संकटलाई घटाउन मद्दत पु-याउँछ । अहिलेको आर्थिक समस्यालाई समाधान गर्न सरकार सरोकारवाला निकायहरू, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, व्यापार–व्यवसायसँग सम्बद्ध पक्ष, आम उपभोक्ता सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी वहन गर्न आवश्यक छ । कर्जालाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी उत्पादन बढाउन, रोजगारी सिर्जना गर्न, मुद्रालाई चलायमान बनाउँदै जानु पर्छ । समयको सजगताले आर्थिक क्षेत्र विचलित हुनबाट रोकिन्छ र धमिलो अर्थतन्त्र सङ्लिन थाल्छ । (लेखक अर्थशास्त्रको लेक्चरर हुनुन्छ ।)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया