Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगगरिखाने शिक्षाको सुनिश्चितताको लागि मन्त्रीलाई सुझाव

गरिखाने शिक्षाको सुनिश्चितताको लागि मन्त्रीलाई सुझाव


काठमाडौं । नवनियुक्त शिक्षामन्त्रीज्यूबाट शिक्षा क्षेत्रमा लामो समयदेखि जरो गाडेर बसेका बेथितिलाई छिमल्न ठूलै अठोट र निर्भिकताको खाँचो पर्दछ। मन्त्रीज्यू विगतमा पनि शैक्षिक सुधारका अभियन्ताको रूपमा परिचित व्यक्तित्व हो । उहाँको अनुभव र अध्ययनले नेपालको शैक्षिक क्षेत्र सुधारको जग बस्ने अपेक्षा गर्दै सुधारका केही सुझावहरू पस्किने जमर्को गरेको छु । मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो । सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्य मान्यता पहिचान र समायानुकूल परिमार्जन तथा परिस्कृत गर्र्दै जीवनशैलीमा उतार्न सक्षम सकरात्मक नागरिक शिक्षाले उत्पादन गर्नुपर्दछ । रोजगार सिर्जनाका अवसर र प्रयाशलाई कोरोनाले थलापारेको जगजाहेर नै छ। विगतमा भविष्यदर्शी शिक्षा योजनाको अभावमा नवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुुन्छ । अहिले पढेलेखेका भनिएका युवायुवति नै हातमा उच्च अङ्क प्राप्त गरेका सर्टिफिकेट लिएर रोजगारीको लागि भौतारिएका छन् । शिक्षाले दैनिक जीवनमा आइपर्ने चुनौतीलाई सहजरूपमा सामना गर्नसक्ने सिर्जनात्मक एवं रचनात्मक प्रतिभाको विकास गर्न सक्नु पर्दछ । श्रमप्रति आस्था र विश्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्नेे उद्देश्यकेन्द्रित शिक्षाका नीति तथा कार्यक्रम हुनुपर्दछ । खै गरिखाने रोजगारमुखी शिक्षा? रोजगार सिर्जना गर्दै स्वरोजगार बन्न र विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्षम नागरिक बनाउने शिक्षा नीति आजको आवश्यकता हो ।

नेपाली युवायुवती आफ्नै देशमा उपलब्ध पेसा अँगाल्न हिच्किचाउँदै हजारौँ, लाखौँ रूपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूलखेती, भेडा चराउने, गधा जोत्नेजस्ता कृषिजन्य काम गर्न तँछाड मछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारिका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ति पुगेको पाइन्छ । तर गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्योभन्दा तल्लोस्तरको काम गर्न मुगलान नै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतीर अभावै अभावबाट छटपटिई निराश भई बिरक्तिएर विदेशिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती देखिन्छ । यसरी तावाबाट उम्केको माछा भुङ्ग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नु पर्ला ? आदि प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन ।

शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशील जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिएको पाईन्छ । गुणस्तर प्राप्ताड्ढको आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै छ । जसको कारणबाट आमाबुबाको अर्थ नबुझ्ने तर डयाडममको संस्कारमा हुर्कने, दुध कहाँबाट आउँछ भन्दा डेरीबाट भन्ने गाईभैँसीको जानकारी नराख्ने कृषिमा हलो, फाली, करुवा दाँते आदिको बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्पव्यावहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षत्कार गर्ने गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्बन गरिनु पर्दछ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ । माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको पौरखी शिक्षा हुनुपर्दछ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षाको खाँचो छ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्ताङ्कभन्दा पनि उसले देखाउने बानी व्यवहार, चालचलन, चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्दछ ।

पेपर–पेन्सिल परीक्षाको आधारमा मात्रै विद्यार्थीको उपलब्धिस्तर गणितीय प्रस्तुति गरिने परम्परालाई निरुत्साहित गर्दै शिक्षाको मूल मर्मअनुसार व्यवहारमा सकरात्मक परिवर्तनको आधारमा मूल्यांकन गर्ने उपायहरू खोजिनु पर्दछ । उच्च अङ्क प्राप्त गर्नेले त्यसको औचित्य पुष्टि गर्न व्यवहारमा उतार्न सक्नुपर्दछ । हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकि एक सय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुनरावलोकन गरिनु पर्दछ । त्यसप्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अङ्क मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ ।

कतिपय विषयमा पूर्णाङ्क प्राप्त गर्नु आठौं आश्चर्य भएको छ । अर्कोतर्फ कतिपय विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनीहरूको अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्न । सिर्जनशील लगनशील प्रतिस्पर्धी उत्साही, ऊर्जाशील सफल नागरिक बनाउने खालको व्यावहारिक पौरख शिक्षा आजको आवश्यकता हो । जसअनुसार श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनुपर्दछ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनु पर्दछ । साथै उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्य मान्यता संस्कार एवं भावना आदिलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनु पर्दछ । राज्यले तोकेको पाठयक्रमको अतिरिक्त तीव्र गतिमा विज्ञान र प्रविधिमा आएको परिर्तनलाई शिक्षण सिकाइमा आत्मसात् गरिनु पर्दछ  ।

विद्यालयको वातावरण विद्यार्थीको वैयक्तिक एवं पारिवारिक विभिन्नतालाई उच्च मूल्यांकन गरेर सोहीअनुसार अधिकतम सम्बोधन गर्ने खालको बालमैत्री हुनुपर्दछ । कक्षाकोठा विद्यालय परिसर स्वस्थ स्वच्छ एवं चित्ताकर्षक हुनु पर्दछ । अतः शिक्षकले सर्वप्रथम बालबालिकालाई पढ्नु पर्छ, अनि मात्र त्यसलाई सम्बोधन गर्नेगरी विषयवस्तु र विधिको छनोट गरिनुपर्दछ । अभिभावकले अँगालेको पेसालाई सम्मानपूर्वक कक्षा शिक्षणमा प्रवेश गराई छलफल गराउनु पर्दछ । विद्यार्थीलाई सामाजिक, सांस्कृतिक कार्यक्रमको तर्जुमा र सम्पन्न गर्न जिम्मेवारीपूर्वक सक्रिय सहभागी गराउने परिस्थिति बनाउनु पर्दछ । विद्यार्थीले सामान्यतया छ घण्टा मात्रै विद्यालय र बाँकी १८ घण्टा घरपरिवार र समुदायमा बिताउँछन् । तसर्थ घरपरिवार र समुदायप्रति जिम्मेवार र जवाफदेहीपूर्वक व्यवहार गर्ने ल्याकतको विकास उनीहरूमा गरिनुपर्दछ ।

घरपरिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यालयले विद्यार्थीको पठनपाठन बारेमा अभिभावसँग निरन्तर सम्पर्क राख्ने नीति लिनुपर्दछ । त्यसकारण त्यहाँको वातावरण पनि बालबालिकाको रुचि र क्षमताअनुसार दिनानुदिन विज्ञान र प्रविधिमा भइराखेको प्रगतिको उच्चतम प्रयोगको अभ्यास गर्ने गराउने सहज अवसर पाउने खालको हुनुपर्दछ । उनीहरूको जीवनशैलीलाई सुविधा सम्पन्न, प्रभावकारी र प्रभावशाली बनाउँदै निरन्तर समाज र देशलाई प्रगतिन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउने खालको प्रगतिशील शिक्षा आजको खाँचो हो । बालबालिकाभन्दा हामी जान्नेछौँ हामीले भनेको मात्र उनीहरूले मान्नुपर्छ भन्ने पुरातनवादी सोचका आधारमा उनीहरूलाई जबरजस्त लाद्ने खालको विषयवस्तु र विधि भन्दा पनि उनीहरूको क्षमता मागअनुसारको शैक्षिक वातावरण बनाउने पौरखी नागरिक उत्पादन गर्ने पहिलो सर्तको रूपमा लिन सकिन्छ । कार्यकुशलतालाई निखार दिन स्थानीय आवश्यकताअनुसारको खपत हुने जनशक्ति उत्पादन गर्ने खालका पाठ्यक्रम निर्माण र कार्यान्यवन गरिनु पर्दछ । व्यावसायिक शिक्षाको प्रयोगात्मक कक्षामा उत्पादित सामान बजारसम्म लाने र ग्राहकलाई बेच्ने अभ्यास गराएर उनीहरूमा आत्मवल र आत्मविश्वास गराउनु पर्दछ ।

मानवीयलगायतका साधन स्रोतको उच्चतम प्रयोग गर्ने वातावरण सिर्जना गर्नु पर्दछ । शिक्षाकर्मीहरूको पेसागत दक्षता र समर्पण बढाउने खालका सेवासुविधाको व्यवस्था गरिनुुुपर्दछ । त्यस्तै शिक्षक र त्यससँग आवध शिक्षाकर्मीहरूको पेसागत दक्षताको मूल्याङ्कन विद्यार्थीको उपलब्धिको आधारमा गरिनु पर्दछ । त्यस्तै बालबालिकाको सक्रिय सहभागिता विद्यालयभित्र तथा बाहिरका कार्यक्रममा प्रत्यक्ष र परोक्षरूपमा बढाउन बालक्लबलाई स्थापना गरी सक्रिय बनाउनु पर्दछ । उनिहरूमा आत्मबल र आत्मविश्वासको वृद्धि र विकास गर्न सामाजिक परोपकारी कार्यकलापमा प्रत्यक्ष सहभागी हुन प्रोत्साहित गरिनुपर्दछ । किनकि विद्यार्थीहरू भविष्यका कर्णाधार र वर्तमानका साक्षेदार हुन् भन्ने मान्यताअनुरूप उनीहरूको संलग्नतालाई उच्च प्राथमिकता दिइनुपर्दछ । त्यसैगरी विद्यार्थी विद्यालयबाट भागेर घर जानेभन्दा पनि घरबाट भागेर विद्यालय आउने खालको उत्साहजनक स्वस्थ वातावरण विद्यालयमा सिर्जना गर्न सक्यौँ भने उनीहरूले आफ्नो क्षमता चाहनाअनुरूपको व्यावहारिक ज्ञान सीप अभिवृत्ति हासिल गर्न सक्छन् ।

कक्षाकोठा र क्रियाकलाप लोकतान्त्रिक अभ्यास र अनुभूति दिने हुनुपर्छ । अनुशासनको नाममा भावना र विचार प्रस्फुटन हुनलाई कुण्ठित गर्ने परम्परालाई निरुत्साहित गरिनुपर्दछ । ठूलो मान्छेभन्दा पनि असल नागरिक बन्न प्रेरित अर्थात् आफ्नो खुट्टामा आफैँ उभिने पौरखी नागरिक बन्ने अभ्यास गर्ने थलोको रूपमा विद्यालय बन्नुपर्दछ । अतः उच्च प्राप्ताङ्कलाई मात्र गुणस्तर देख्ने सामाजिक संस्कार संस्कृति र भौतिक उपलब्धिलाई मात्र प्राथमिकता दिइने प्रगतिशील शिक्षाभन्दा श्रमप्रति सम्मानपूर्वक व्यवहार गर्दै परिश्रमको मूल्य र मान्यतालाई मर्यादित बनाउनेतर्फ प्रयास गर्ने खालको शिक्षा आजको खाँचो हो । जसले श्रमको पूजा गर्दै भेदभावरहित भावना र व्यवहार भएको संस्कारयुक्त तथा कुनै कुरा सिकेपछि त्यसको आधारमा अन्य कुराहरू रचना र सिर्जना गर्दै परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्नसक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त पौरखी नागरिक उत्पादन गर्ने गरिखाने शिक्षा आजको खाँचो हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया