Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविश्वव्यापी अर्थतन्त्रमा कोरोनाको प्रभाव

विश्वव्यापी अर्थतन्त्रमा कोरोनाको प्रभाव


विश्वनाथ खरेल
कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई नै सुस्त बनाउने विश्लेषण विश्व अर्थशास्त्रीहरूले गरिरहेका बेला नेपालको अर्थतन्त्रमा पर्ने असरबारे पनि गम्भीर अध्ययन सुरू गर्न ढिला भइसकेको छ । विश्वको दोस्रो अर्थतन्त्र भएको चीनबाट फैलिएको भाइरस संक्रमणले त्यो देशको अर्थतन्त्रमा सबैभन्दा बढी प्रभाव पार्ने देखिएको छ । यो वर्ष चिनियाँ अर्थतन्त्र चार प्रतिशतमात्र वृद्धि हुने र करिब दुई प्रतिशत वृद्धिदर घट्ने विश्लेषण गरिएको छ । चीनमा लगानी गरेका विश्वका ठूला कम्पनीहरूले आफ्नो उत्पादन बन्द गरेका छन् भने संक्रमण बढ्दै गए अन्यत्र स्थानान्तरण हुने सम्भावना पनि देखिन्छ ।

विश्व अर्थतन्त्रको ठूलो अंश पर्यटन हो । डेढ करोडभन्दा बढी चिनियाँ पर्यटकले विश्व भ्रमण गर्ने गरेकोमा यो अंश स्वात्तै घट्नेछ । चिनियाँ पर्यटक बढी आउने थाइल्यान्डले त आफ्नो कुल गार्हस्थ्य उत्पादनको प्रक्षेपित अनुमानलाई घटाइसकेको छ । विश्व सेयरबजारसमेत ओरालो लागेको छ । मूलतः कोरोना भाइरसको संक्रमणमा केन्द्र मानिएको हुबेइको वुहान सहर जो सुविधा सम्पन्न छ । एक लाख ८५ हजार नौ सय वर्गकिलोमिटर क्षेत्रफल रहेको चीनको हुबेइ प्रान्त नै सिंगो नेपालभन्दा अझै ठूलो छ । अत्याधुनिक सहरमा मानिसहरूको जीवन ‘लक डाउन’का कारण पिंजडाको सुँगाजस्तो भएको यथार्थ हो । संक्रमणले सैयौँको ज्यान लिइसकेको छ । वुहान हुँदै अहिले चीनका अनेकन क्षेत्र र सीमापार गरेर विदेशसम्म पनि कोरोना फैलिइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरू नै भ्याक्सिन पत्ता लगाउन नसकेर हैरान भइरहेका छन् । यस्तो डरलाग्दो रोगको उद्गम भूमिमा जीवनयापन गर्नुपर्दाको मनोवैज्ञानिक असर जो–कोहीले अनुमान गर्न सक्छ । गत सोमबारसम्म कोरोनाका कारण विश्वभर एक लाखभन्दा बढी संक्रमित पुष्टि हुँदा चीनकै मात्र ७९ हजार नौ सय ३६ जना संक्रमित छन् । कोरोनाका कारण हालसम्म चीनमा सबैभन्दा धेरै दुई हजार सात सय ४२ जनाको मृत्यु भएको छ  । यसर्थ प्रतिव्यक्ति उपभोगका आधारमा विश्वकै ठूलो अर्थतन्त्र चीनमा कोरोना भाइरस निमोनियाँ (कोभिड १९) को प्रकोपले पार्नसक्ने सम्भाव्य क्षतिबारे अहिले प्रारम्भिक आँकलन आउन थालेका छन् । सोमबार बिहानसम्म दुई हजार चार सय ६८ जनाको ज्यान लिइसकेको यो महामारी दक्षिण कोरियामा पनि फैलिएपछि विश्व अर्थतन्त्रमै अर्को त्रास सुरु भएको छ ।

विश्व जनस्वास्थ्य कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाको भनाइअनुसार कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र शून्य एकदेखि शून्य दशमलव तीन प्रतिशतसम्म ओरालो लाग्ने प्रक्षेपण गरिसकेकी छन् । उनका अनुसार चिनियाँ अर्थतन्त्रमा शून्य दशमलव चार प्रतिशत कमी आउनेछ । बार्कले एन्ड मोर्गन स्टेन्लीले यो महामारीका कारण विश्वव्यापी अर्थतन्त्रमा शून्य दशमलव दुईदेखि शून्य दशमलव चार प्रतिशतसम्म गिरावट आउन सक्ने प्रक्षेपण गरेको छ । यो प्रारम्भिक आकलन मात्रै हो । यसको प्रभाव विश्वव्यापी उत्पादनमूलक क्षेत्र र रोजगारीमा पर्ने असर कति गहिरो हुन्छ भन्ने अहिल्यै भन्न नसकिने अमेरिकी ट्रेजरी सेक्रेट्री स्टेभज मेनुचिनले बताएका छन् ।

९० को दशकपछि विश्व व्यापार नै चिनियाँ अर्थतन्त्रमा आश्रित हुँदै गइरहेको भन्ने कुरामा सायदै दुईमत होला । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार १६ दशमलव तीन प्रतिशत विश्वव्यापी आर्थिक गतिविधि पूर्णतः चीनमा निर्भर छन् । अर्थतन्त्रमा पर्ने यो अनुपातको असरलाई कम आँक्न मिल्दैन । यसको सबैभन्दा ठूलो प्रभाव उपभोगमा पर्नेछ र निजी उपभोगमा संकुचन आउँदा चिनियाँ मात्रै होइन, विश्वकै प्रमुख आयात/निर्यातकर्ता यसको चपेटामा पर्ने भएकाले सार्सको भन्दा यसको असर दोब्बर हुने आँकलन गरिएको हो, किनकी सार्सले चिनियाँ अर्थतन्त्रमा पारेको असर सीमित मात्रै थियो । यद्यपि कोरोना भाइरसको विश्व अर्थतन्त्र असर ‘भी’ आकारमा हुने अर्कोथरी अनुमान छ अर्थात् तीव्र गतिमा तल झरेसँगै पुनः माथि चढ्ने प्रकृतिको असर पर्ने अनुमान छ ।

हाम्रो देशको सन्दर्भमा भन्ने हो भने पनि नेपाली अर्थतन्त्रमा आन्तरिक र बाह्य झट्काको कतिसम्म गहिरो प्रभाव पार्छ भन्ने कुरा २०७२ को भूकम्प र सोही वर्षको अघोषित भारतीय नाकाबन्दीले प्रमाणित गरिसकेका छन् । दोहोरो झट्काकै कारण उक्त वर्ष आर्थिक वृद्धिदरमा तीन दशमलव पाँच प्रतिशत कमी आयो भने तीन प्रतिशत बिन्दुले गरिबी बढेको अनुमान छ । अतः अनुभवजन्य साक्षहरूले के देखाउँछन् भने नेपालजस्तो सानो (जसको आकार केवल ३० अर्ब अमेरिकी डलरबराबर मात्रै छ) र सीमित आर्थिक क्रियाकलापका भरमा आर्थिक वृद्धिदर हुने देशमा प्रकोपले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कम्तीमा शून्य दशमलव पाँचदेखि शून्य दशमलव पाँच प्रतिशतसम्म क्षति पु-याउँछन् । त्यसमा प्रकोपको आकार (डेन्सिटी) कत्रो र कस्तो छ भन्ने कुराले क्षतिको अनुपात भर पर्छ ।

उदाहरणका लागि २०७२ को भूकम्पले १० खर्ब रूपैयाँबराबरको क्षति ग-यो, जुन त्यस वर्षको जीडीपी अनुपातमा ४० प्रतिशत हाराहारी थियो । सोही वर्ष भारतले गरेको आर्थिक नाकाबन्दीले दैनिक औसत दुई अर्ब रूपैयाँबराबरको आर्थिक क्षति पु-याएको अनुमान छ । यसले समग्र आर्थिक वृद्धिदरमा साढे तीन प्रतिशत कमी ल्यायो । त्यसै गरी २०७४ सालको बाढी, पहिरो र डुबानले ६० अर्ब ७७ करोड रूपैयाँबराबरको क्षति पु-याएको प्रारम्भिक आकलन छ, तर उक्त वर्षको राष्ट्रिय लेखा गणनामा यसको क्षतिको हिसाबै समायोजन गरिएन । स्वतन्त्र अर्थशास्त्रीहरूको अध्ययनले भने जीडीपीमा करिब तीन प्रतिशत क्षति भएको देखायो । यी दुवै प्रकोपका कारण गरिबी रेखाआसपासमा रहेका करिब तीन प्रतिशत जनता पुनः चरम गरिबीमा धकेलिएको निष्कर्ष छ, ।

अन्त्यमा भन्नुपर्दा दक्षिण कोरिया नेपालीका लागि आकर्षक श्रमगन्तव्य हो । कोभिड–१९ को प्रकोप बढेपछि कोरिया सरकारले सन् २०२० को पहिलो लटमा छानिएका दुई सय नेपालीलाई कोरिया प्रवेशमा रोक लगाएको छ । यसको असर कति समय र कहाँ–कहाँ पर्छ अहिले नै भन्न सकिन्न । तसर्थ यसबाट हाम्रो अर्थतन्त्रमा पर्न सक्ने प्रभावबाट बच्न तयारी थाल्न आवश्यक छ । मूलतः दक्षिण कोरियामा रहेका ४२ हजार नेपाली त्यसको संक्रमणमा नपुरुन् र उनीहरूको उद्धारका लागि कुनै दाता गुहार्न नपरोस् । चीनबाट एक सय ७५ नेपाली ल्याएर क्वारेन्टाइनमा राख्न त ठूलै युद्ध जितेजस्तो भएको सरकारका लागि दक्षिण कोरियाको सिउलमा कार्यरत एक हजार मात्रै नेपाली स्वदेश फर्काउन प¥यो भने हालत के होला ?

सन् २००२ र २००३ मा सार्स रोगबाट चीन र हङकङसमेत गरी सात सय ७४ जना मरेका थिए । आधिकारिक तथ्यांकले, अहिले जनाएअनुसार सार्सभन्दा कोरोना भाइरसबाट धेरै मानिस मरेको देखाएको छ । चीनको वुहानमा एक करोड ५० लाख जनसंख्यामध्ये ४० लाख जनसंख्या नयाँं वर्षको अवसरमा बाहिरिए । विगत १८ वर्षसम्म छ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्दै आएको चीनका लागि यो आफैँमा ठूलो चुनौती र लडाइँ पनि हो । सन् २००३ मा चीनले सार्स रोगको सामना गर्दा केही समयका लागि दुई प्रतिशतभन्दा बढी आफ्नो आर्थिक वृद्धिदरमा कमी आएको थियो । यद्यपि, त्यतिखेर सार्स २७ देशहरूमा देखापरेको थियो । जुन बेला सार्सले चीनको अर्थतन्त्रमा लात्तो बजारेको थियो, त्यतिबेला चीनले संसारको अर्थतन्त्रको आठ प्रतिशत भाग ओगट्ने गरेको थियो । तर, आज त्यो स्थितिमा चीन छैन ।

चीनले विश्व अर्थतन्त्रको १९ प्रतिशतभन्दा बढी भार ओगटेको छ र त्योभन्दा पनि आज विश्व अर्थतन्त्रमा अमेरिकापछिको ठूलो अर्थतन्त्र भएको देश भइसकेको छ । आज यो देशले आफ्नो आर्थिक वृद्धिदर कायम राख्न नसक्दा आफूमात्र होइन, पूरै विश्व नै खल्बलिन्छ  । यो संसारभरिका अर्थशास्त्रीहरूले राम्ररी बुझेका छन् । चिनियाँ अर्थतन्त्रलाई पहिलो झड्का हो । त्यस्तै चिनियाँ मुद्रा (युआन) अमेरिकी डलरको तुलनामा सात प्रतिशतसम्म कमजोर हुनु अर्को ठूलो झड्का हो । यो झड्काले पनि चीनलाई अलि कम दुखिरहेको छ होला तर ढाडमा त त्यतिबेला असर प-यो जब पब्लिक बैंक अफ चाइनाले सर्वसाधारणबाट एक दशमलव दुई ट्रिलियन चाइनिज मुद्रा जम्मा गर्ने कार्य केही समयका लागि लम्ब्यायो ।

बजार र बैंकमा पैसाको तरलता कम भयो भनेर लिन लागिएको रकम तरलता बढी भएका कारण केही समयपछि लिने भनी लम्ब्याउनुले देशको अर्थतन्त्रमा यति ठूलो असर प-यो कि बैंकभरिको पैसा चलायमान भएन । जसले गर्दा यो महामारीबाट नेपाल अछुतो हुन सक्दैन त्यसैले बेलैमा रोकथामको नियन्त्रणमा युद्धस्तरमा लागि पर्नु नेपाल सरकार, राजनीतिक पार्टीहरू, नागरिक समाज, स्वस्थ्य क्षेत्रहरूका सम्पूर्ण विज्ञहरू यसमा लागि पर्नुपर्ने बेला खट्किएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया