Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगफरैना : साहसिक नारीको अविचलित गाथा

फरैना : साहसिक नारीको अविचलित गाथा


काठमाडौं । सन्तोष श्रेष्ठ मूलतः सङ्गीत साधक हुन् । सङ्गीत क्षेत्रमा एक अब्बल र अद्वितीय पहिचान छ उनको । मध्यपश्चिमको दाङमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका सन्तोष श्रेष्ठ बहुआयामिक व्यक्तित्व हुन् । उनी गीतकार, सङ्गीतकार, कवि र कर्णप्रिय गायक हुन् ।

यही मीठो स्वर र अतृप्त भोकको साधनाले उनलाई सङ्गीतकारको उच्चकोटीमा दर्ज गराएको हो । विद्यार्थीकालमा स्कुलमा आयोजना हुने लोकगीत प्रतियोगितामा उनी प्रायः अग्रस्थानमा नै रहन्थे । यही प्रेरणा र हुटहुटीले काठमाडौं हान्निएका सन्तोषसँग बाल्यवस्थादेखि नै अनेकौँ तृष्णाहरू थिए, अनेकौँ सपनाहरू थिए । गायक बन्ने, सङ्गीतकार बन्ने, लेखक बन्ने आदि आदि । तिनै तृष्णा र सपनाहरूको खेतीमा रमाउँदा रमाउँदै सारङ्गीका तार र हार्मोनियमका किबोर्डहरूमा निरन्तर चलिरहेका औँलाहरूमा कलम चलमलाउन थाल्यो र जन्मिन पुग्यो एक ओजस्वी कृति उपन्यास ‘फरैना’ । तत्क्षणबाटै उनको अर्को चम्किलो पहिचान बन्यो कुशल साहित्यकार । त्यसपछि सन्तोष कलाकारबाट कुशल उपन्यासकारमा दर्ज भए ।

फरैना एक सामाजिक उपन्यास हो । प्रकृतिप्रेम र मानवप्रेमभन्दा माथि उठेर समाजमा व्याप्त अमानवीय घटनाको गतिलो उत्खनन हो यो फरैना । दाङको झिङ्नी गाउँलाई केन्द्रविन्दु बनाएर लेखिएको छ । श्रेष्ठको यो पहिलो उपन्यासले पहिलो चोटि नै पाठकसामु श्रेष्ठताको पगरी पायो । उनका साङ्गीतिक शुभचिन्तकले मात्र रुचाएनन् आम पाठकलाई पुस्तक किन्न पसल धाउन लालायित बनायो । त्यतिले पनि पुगेन । थारु समुदाय त छँदै छ, अन्य समुदायको आँखामा फरैना स्नेहपूर्वक टाँसिन लाग्यो । अनि आफ्नो दैनिक खर्च कटौती गरेर फरैना पढ्न प्रेरित ग-यो ।

महानायक राजेश हमाल, कानुनविद् डा. भिमार्जुन आचार्य, वरिष्ठ गजलकार प्राडा कृष्णहरि बराल, पूर्वसभासद शान्ता चौधरी उपन्यासको महकमा यसरी डुबे कि फरैनाबाट माथि उठ्नै सकेनन् । शान्ताले त टिप्पणी गर्दै गर्दा गला अवरुद्ध पार्दै पीडा सम्झिइन्, ‘यो पात्र मै हुँ, यो मेरै कथा हो, धरोधर्म यो मेरै पीडाप्रताडनाको कुम्लो हो, भगवान् कसम यो फरैना म हुँ ।’

कमैया के हो ? कमलरी के हो ? यो संस्कार हो या संस्कृति ? समाजजन्य उत्पीडन हो या लोकोक्ति ? स्पष्टरूपमा जान्न र बुझ्न फरैना पढ्नै पर्छ । पश्चिम नेपालमा यस्ता थुप्रै विकृतियुक्त प्रथाहरू छन् । कानुनतः अहिले नभए पनि । कमैया प्रथा, कमलरी प्रथा, हलिया प्रथा, डोले प्रथा, बेठबेगारी प्रथा आदि । यी प्रथाहरूबाट त्यहाँका ठूलाबडाको मानसम्मान भएको मानिन्छ भने समाजका गरिब र सीमान्तकृत वर्गको अपमान भएको ठानिन्छ । यो अहिलेको विश्लेषण हो । उहिले त यो वर्ग बडाहरूको मनोरञ्जन र आफ्नो सुखसयलको साधन थियो । यो त त्यस समाजका ठालु, पुँजीपति, जमिनदार र उच्च वर्ग मानिने जो–कोहीले तल्लो वर्ग अर्थात् सीमान्त वर्गमाथि देखाउने व्यवहारबाट उत्पादित अत्याचारै अत्याचारको कुटिरो हो ।

शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा पश्चिम नेपालमा प्रचलित यी कुप्रथाको अन्त्य त भयो तर अवशेषहरू अझै निमिट्यान्न हुन बाँकी छन् । फरैना उपन्यासले अझै छ है होशियार ! भन्न खोजेको पनि हो कि जस्तो लाग्छ । कमलरी प्रथालाई कथावस्तु बनाएर प्रकाशित उपन्यास फरैनाकी केन्द्रीय पात्र हुन्, थारु लक्काजवान युवती ‘फरैना’ । असाध्य सुन्दरी, सुललित जिउडाल, उनी कमलरी बस्न सुहाउँदै नसुहाउने व्यक्तित्व । तर पनि परिस्थिति निर्मम बनेको छ उनको सामुन्ने । ऋण पनि मिनाहा हुने जग्गा पनि अधिया कमाउन पाइने लोभ र त्रासको हुण्डरीबाट बच्न बुबा रूपलाल वयस्क छोरी फरैनालाई जमिनदार रामप्रसादको घरमा कमलरी पठाउँछन् । त्यो बेला फरैनाकी आमा जुगन्न्या बितिसकेकी र रूपलालले दोस्रो विवाह गरिसकेको हुन्छ । यसर्थ फरैना जन्मघरबाटै सौतेनी आमाको पीडा बोकेर जमिनदारले दिने पीडामा थप्न पुग्छिन् ।

फरैना कमलरी बस्न जान लाग्दा कतै बुबाको मन पग्लिएर नजान भन्छन् कि भनेर बालाई सोध्छिन्, ‘बा ! म त्याँ किन जाने नगए हुँदैन ?’ छोरीप्रति माया भए पनि कान्छी श्रीमतिको वचन र मालिकको ऋणको अगाडि रूपलालको केही जोर चल्दैन । ‘जानै पर्छ जा छोरी हामी गरिब हौँ हाम्रो कर्म यस्तै छ मालिकको काम नगरी जीवन चल्दैन भनेर जान प्रेरित गर्छन् । त्यसपछि फरैना अमिलो मुख लगाएर कमलरी जान बाध्य हुन्छिन् । दुःखसुख, न्याय÷अन्याय सबै थाहा पाउने भइसकेकी फरैना कमलरी बस्दा मालिक मालिक्निका असैह पीडाप्रताडना खेप्छिन् ।

No description available.

बिरामी पर्दा उपचार हुँदैन त्यो दिन झन् कडा काम गर्नुपर्छ । ‘म सबै काम गरेर पढ्न जान्छु मालिक !’ भन्दा ‘तैँले पढेर के हुन्छ ? के यस्तै जग्गाजमिन हुन्छ तेरो ? तैँले किन पढ्नु प-यो काम गर्ने जात हो काम गर’, भन्छन् । उनलाई सुत्ने ठाउँ पनि सिँढीमुन्तिर हुन्छ । सर्पको डर त्यत्तिकै । खाना पनि राम्रो दिइँदैन मालिकले खाएपछि छोडेको मात्र खानुपर्छ । लाउने अनि ओढ्ने ओछ्याउने कपडा राम्रो दिइँदैन झुत्रोझाम्रोमै चित्त बुझाउनुपर्छ । मनलाग्दी सुत्न पाइँदैन बिहान भालेको आवाजसँगै उठिहाल्नुपर्छ नत्र तिखो हप्किको सिकार बन्नुपर्छ । मीठो बचन कहिल्यै मिल्दैन सधैँ कर्कस वाणी सुन्नुपर्छ । मानौँ फरैना मान्छे नै होइन पशु हो, उसको जिन्दगी होइन कुनै निर्जीव वस्तु हो । तर फरैनाको नजरमा बरु यी मान्छे होइनन् पशु हुन् । यिनको न मुटु छ न हृदय । उनी यस कालकोठरीबाट जतिसक्दो उन्मुक्ति चाहन्थिन् ।

यस्तो अत्याचार र अमानवीयताको जन्जिरमा जकडिएकी फरैना हतोत्साहित र अविचलित भने कत्ति पनि हुन्नन् । भित्री मनमा विद्रोहको राको झन तेजिलो हुँदै बढ्छ । यसै क्रममा उनको एकमात्र भाइको मृत्युु हुन्छ । आमा पहिल्यै मरिसकेकी हुन्छिन् । जमिनदारको विरुद्ध चेतना जगाइ भन्ने आरोप लगाएर जमिनदारहरूले रूपलालको छाप्रोमा आगो लगाइदिन्छन् । जमिनदारको यस्तो हर्कत देखेर फरैनामा क्रान्तिको ज्वाला निस्किन्छ ।

उनी अठोट गर्छिन्, एक दिन जमिनदारको शोषणका विरुद्ध क्रान्ति छेड्ने र हजारौँ कमैया कमलरीलाई मुक्त गराई यिनै जमिनदारमाथि शासन गर्ने । त्यतिबेला भूमिगत रूपमा माओवादी युद्धले पनि चर्को रूप लिएको हुन्छ । मालिकहरू यो युद्धबाट थर्कमान देखिन्छन् । जंगलबाट उनको प्रेमी सोमलाल र सडकबाट फरैनाको नेतृत्वमा मालिकका विरुद्ध एकसाथ आन्दोलनको आँधीबेहरी उर्लिन्छ ।

मालिकहरू आन्दोलन दबाउन पुलिससँग नमिलेका होइनन् तर केही ताकत चल्दैन । मालिकको घरमा काम गर्दै केही जागरुक व्यक्तिले दिएका किताबहरूको अध्ययन र न्यायप्रेमी जनताको सहयोगले फरैनामा झन् शाहसको वृद्धि हुन्छ र फरैना क्रान्ति सफल गरेर लक्ष्यको अन्तिम विन्दु देशको राष्ट्रपति हुन्छिन् । उपन्यासको कथावस्तु सोलोडोलो यसरी
नै बुनिएको छ ।  उपन्यास पढ्दा एकदमै सरल छ ।

पढ्न बस्दा नटुङ्ग्याई उठ्न मन लाग्दैन । केही थारु भाषा समेत मिसाइएकोले रोचक पनि छ । सन्तोषका गीत सङ्गीतको उचाइभन्दा उपन्यासको कद निश्चय पनि अग्लो छैन तथापि हत्तेरिका भन्न मिल्दै मिल्दैन । उपन्यासको लाममा अगाडि नै छ । उपन्यासमा प्राप्त हुने साहित्यिक पक्ष जति हुनुपर्ने हो त्यो भेटिँदैन । बढी सामाजिक, बढी क्रान्तिकारिता र राजनीतिक भएजस्तो लाग्छ । भावगाम्भीर्यता जति खँदिलो हुनुपर्ने थियो नभएकै हो कि लाग्छ । आशा गरौँ आउने खेती अवश्य मलिलो हुनेछ । गणेशमानले आन्दोलनको त्यत्रो मोर्चा सम्हाले तर प्रधानमन्त्री भएनन् ।

फरैनालाई राष्ट्रपति बनाइहाल्नुपर्ने अवस्था कहाँबाट आयो लेखकप्रति शंका उठ्छ । समाज बदल्न खाँचो नेतृत्वको हो पदको होइन । यस उपन्यासमा जमिनदार बाहुन नबनाएर एउटा ठकुरी बनाएको भए यो बढी रोचक र सान्दर्भिक हुन्थ्यो कि ? किनभने बाहुनको भन्दा ठकुरी अलि बढी रसिला, जोसिला र रवाफिला हुन्छन् । उपन्यासबाट दाङको झिङ्नी गाउँमा ठकुरीहरू रहेनछन् भन्ने बुझिन्छ । क्रान्तिकारी छोरी फरैनाको सफलता बा र आमाले देख्न नपाउँदा कताकता पाठकको मनमा न्यास्रो र खल्लोपना महसुस हुन्छ । उपन्यासलाई लेखकले जबर्जस्त कारुणिक बनाउन खोजेजस्तो लाग्छ । जे होस् उपन्यास पठनीय छ । संग्रहनीय छ । सन्तोषको सुनाखरी व्यक्तित्वका हिसाबले पनि फरैनाले फराकिलो ठाउँ ओगट्दै जाओस् । लेखकलाई हार्दिक बधाई ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया