Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअर्थतन्त्र सबलीकरणमा ओजोन तह सुधारको महत्व

अर्थतन्त्र सबलीकरणमा ओजोन तह सुधारको महत्व


काठमाडौं । वातावरण प्रदूषण विश्वका विभिन्न ठूला राष्ट्र तथा विकासोन्मुख देशका प्रमुख सहरहरूमा प्रमुख समस्याको रूपमा रहेको छ जसमा नेपालको काठमाडौंलगायत अन्य विभिन्न सहरहरू पनि अछुतो छैनन् । सहरीकरणको विस्तार, जनसंख्या वृद्धि, अव्यवस्थित फोहोरमैला व्यवस्थापन, पानी प्रदूषण, वायु प्रदूषण र खासगरी सवारीसाधनबाट हुने प्रदूषण आदि व्यापक भइरहेको छ । प्रदूषणलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा कमन ल पद्धतिका मुलुकमा जस्तै राष्ट्रहरूउपर दुष्कृतिको दायित्वको कानुन छ । तर त्यस्तो कानुन हामीकहाँ छैन, भएको कानुन पनि प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेको छैन ।

ओजोन तह, अक्सिजनको तीन अणु तीन परमाणुहरूसँग मिलेर बनेको एक ग्यास हो । जुन वायुमण्डलमा धेरै कम मात्रामा पाइन्छ । यो तिखो गन्ध भएको अत्यन्त विषालु ग्यास हो । यो पृथ्वीको वायुमण्डलको ३० हजार फिटमाथि स्थायीरूपमा तह बनेर बसेको हुन्छ । यसले सूर्यबाट आउने विभिन्न हानिकारक परावैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्दछ । तर पृथ्वीमा बढ्दो मात्रामा रहेका कार्बनडाइअक्साइड, कार्बनमोनो अक्र्साड, सल्फरडाइअक्साइड, सीएफसीजस्ता हरितगृह ग्यासका कारण ओजोन तह पातलिँदै गएको छ । यसै सन्दर्भमा पातलिँदै गएको ओजोन तहको अवस्था केही सुधारको बाटोमा फर्किएको जलवायु परिवर्तन र मौसमसँग आबद्ध वैज्ञानिकहरूले लामो अनुसन्धानापछि बताएका छन् । सोअनुसार अबको चार दशकभित्र ओजोन तह पहिलेकै अवस्था र आकारमा फर्किने उनीहरूको दाबी छ । ओजोन तहमा विनाशका कारक रहेको औद्योगिक रसायनको प्रयोगको कमीको कारण ओजोन तह फेरि साबिककै अवस्थामा पुग्ने दाबी पनि वैज्ञानिकको छ । स्मरण रहोस्, नासा र युरोपेली आयोग, विश्व मौसम विज्ञान, संयुक्त राष्ट्र संघ वातावरण कार्यक्रम, राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनलगायतमा आबद्ध वैज्ञानिकले यसबारे अध्ययन गरेका थिए । अमेरिकी मौसम विज्ञान समाजको ११ जनवरी, २०२३ मा सम्पन्न १०३औँ वार्षिक बैठकमा प्रस्तुत गरिएको अध्ययन प्रतिवेदनमा जीओ इन्जिनियरिङजस्तो नयाँ प्रविधिको प्रयोग गरी ओजोन तहको वर्तमान अवस्थाबारे अध्ययन गरेको उल्लेख छ । प्रत्येक चार वर्षमा हुने अध्ययन प्रतिवेदनको यस वर्षको संस्करणले ओजोन तहमा अझै पनि अनपेक्षित प्रभाव बढ्दो रहेको भन्दै विश्व समुदायलाई चेतावनी समेत दिएको छ ।

जलवायु परिवर्तनसम्बन्धी मोन्ट्रियल अनुबन्धमा आधारित रहेर भएको अध्ययनले ओजोन तहलाई क्षयीकरण गर्ने पदार्थमध्ये ९९ प्रतिशत त्यस्ता पदार्थ न्यूनीकरण गर्दै ओजोन तहको सुरक्षा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । ओजोन तहमा प्वाल परेर यसको तह विनाश हुँदा सूर्यबाट आउने हानिकारक परवैजनी किरण सिधै पृथ्वीमा आउँदा मानव अस्तित्वमा नै सङ्कट निम्त्याएको थियो । वर्तमानमा अपनाइएका परिवर्तनका नीति यथावत रहेमा ओजोन तहमा आगामी सन् २०६६ सम्म अन्टार्कटिकामा, सन् २०४५ सम्म आर्कटिकमा र सन् २०४० सम्म बाँकी विश्वको लागि ओजोन तह पुरानै अवस्थाको फर्किने अनुमान गरिएको छ । यो विश्वको लागि सकारात्मक पक्ष हो ।

पृथ्वीमा भएका अनेकौँ तत्वहरूमध्ये एकको घटी वा बढीले अरुलाई समेत असर पार्दछ । अन्य प्राणी, वनस्पति तथा समग्र जीवित प्राणी र मानवजातिको अस्तित्वमा समेत प्रश्नचिह्न खडा गर्न सक्दछ । पृथ्वीमा भएका विविध तत्वको कारणले वातावरणको नियन्त्रणमा भएको उदासीनताले वातावरणको क्षेत्रमा चिन्तित हुनुपर्ने अवस्था छ । वातावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, राजनीतिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित भएको वातावरण विनाश मानव बाँच्ने आधार संख्याहरू नष्ट हुँदै गएर पग्लिँदो हिमश्रृङ्खला जल्दोबल्दो समस्यामा परिणत भएकोले वर्तमान समयमा वातावरणलाई वातावरणप्रेमीले अति महत्वका साथ हेर्न थाल्नु स्वाभाविकै हो । हाम्रो देशको सन्दर्भमा योजनाकार र नीति निर्माणहरू वातावरणलाई असर पार्ने तत्वहरूको पहिचान गरेर मात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्थामा नपुगेको कारण यो वातावरणीय दुर्दशा भएको हो । यसको असर ओजोन तहमा समेत परेको छ । जसको परिणाम विगत तथा हालमा मानिसले वातावरणप्रति गरेको परिणाम तथा त्यसले मानिसलाई पारेको नोक्सानीलाई हेर्दा वातावरणको यथोचित संरक्षणविना दिगो विकास दीर्घजीवी हुन नसक्ने प्रस्ट छ । मानवजातिको समुन्नति एवं अस्तित्वकै लागि पनि वातावरणको महत्व प्रस्ट हुँदै गएको छ । तसर्थ, मानवजातिको सुख समृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जति महत्व छ त्यतिकै मात्रामा वातावरणको संरक्षण पनि अपरिहार्य छ । वातावरणीय विनाशले नेपाल र नेपालीहरूको वातावरणीय परिवेशमा नकारात्मक परिणाम ल्याई ठूलो धनजनको क्षति भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो असर परेको छ ।

मुख्यतः वातावरण तथा ओजोन तहको विनाशबाट जलवायु परिवर्तन भएको छ । जलवायु परिवर्तन विश्वव्यापी चुनौती र समस्याको रूपमा देखिएको छ । हरितगृह ग्यास उत्सर्जनमा न्यूनीकरण नहुनाले तापमान वृद्धि भएको छ । नेपालमा पनि राजधानी काठमाडौंमा ३६ डिग्रीसम्म तापक्रम मापन गरिएको छ । यो जलवायु परिवर्तनको असर हो । नेपालको हिमाली क्षेत्रमा शून्य दशमलव छ डिग्री सेल्सियसको दरले तापक्रम बढ्न गई हिम श्रृंखला पग्लनु, पानीको मुहान सुक्दै जानु, अनावृष्टि र अल्पवृष्टिजस्ता समस्या देखा पर्नु, दुई हजार मिटरको उचाइसम्म लामखुट्टे देखा पर्नु, वन्यजन्तु लोप हुनु, विभिन्न महामारी, हैजाजस्ता रोग फैलनु, विनाशकारी आँधी र बाढी आउनु, नदीनालाको सतह घट्दै जानु आदि वातावरण तथा ओजोन तह विनाशबाट उत्पन्न परिणाम हुन् ।

छ दशकअगाडि नेपालको जनसंख्या करिब ५० लाख थियो भने हाल करिब तीन करोड पुगेको छ तर वन, जङ्गल र जमीनको क्षेत्र बढेको छैन, जमीनको उत्पादकत्व बढेको छैन । कृषि आकाशे पानीमा निर्भरता, आयातीत बीउ, रासायनिक मल र कीटनाशक विषादीको प्रयोगबाट उत्पादन केही मात्रामा बढेको भए पनि गुणस्तरीय र स्वस्थ खाद्यान्न पाउनु चुनौती भएको छ । सन् १९७०/८० को दशकतिर अम्लीय वर्षाको समस्या चर्चामा थियो भने अहिले जलवायु परिवर्तनको चर्चा विश्वभर व्यापक छ । नेपालजस्तो कम विकसित देशमा औद्योगिक तथा सहरी विकासको क्रममा जल तथा वायु प्रदूषण र फोहरमैलाको समस्या र ग्रामीण भेगमा वनविनाश चुनौती बन्दै गएको छ । प्राकृतिक स्रोतको उच्च प्रयोगबाट सिर्जना भएको भू–क्षय, बाढी, पहिरो, कृषि उत्पादन र वनको उत्पादकत्वमा कमीजस्ता समस्याहरू वृद्धि भएका छन् । यी समस्याहरूले जनस्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ । वन विनाश, भू–क्षय, बाढी, पहिरोका साथै प्रदूषण एवं जलवायुको असरजस्ता वातावरणीय समस्या ठूलो चुनौतीको रूपमा बढिरहेको छ ।

वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्यक हुन्छन् । यी जैविक वस्तुहरूमा भएको वातावरण विनाशको मात्राले पनि बृहत्रूपमा प्रभाव पार्दछ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्दछ । मानिसको अस्तित्वको लागि वनजंगल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजंगल, जल आदिको अस्तित्व सङ्कटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो । मानिसको आफ्नो अस्तित्वको लागि प्रकृतिबाट धेरै वस्तुहरू ग्रहण गर्दछ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ न कि वातावरणीय विनाशबाट ।

अनियन्त्रित रूपमा डोजर चलाई प्राकृतिक स्रोत साधनको दोहन, होहल्ला, आवाज तथा हर्न, कारखानाको ध्वनि, सिमेन्ट, गिटी उद्योग, इँटा उद्योग आदिले वातावरण विनाश भई सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । फोहोरमैला व्यवस्थापनको लागि उचित ल्यान्डफिल्ड साइड नहुनु पनि वर्तमान वातावरणको विनाशको एक प्रमुख तत्वको रूपमा लिन सकिन्छ । घरायसी प्रयोजनबाट, कारखानाबाट, अस्पतालबाट, सडेगलेका वस्तुहरूबाट, वायु जल, माटो आदिमा हानिकारक तथा घातक फोहोरमैला निस्कन्छ । यसको उचित व्यवस्थापनको अभावले पनि वातावरणमा तीव्र हानि पु-याउछ ।

यस्तै भू–क्षय, हरितगृह प्रभाव, ओजोन तह विनाश, अम्ल वर्षा, वन विनाश, सवारीसाधन तीव्र वृद्धि अनियोजित सहरीकरण, अनियोजित औद्योगिकीकरण, जनसंख्या वृद्धि, जनचेतनामा कमी, राजनीतिक विकृति आदि कारक तत्वबाट वातावरण विनाश भई पग्लिँदो हिमश्रृङ्खला जल्दोबल्दो समस्या आदि वातावरण विनाशको कारक तत्वको उपज होइन र ? वातावरण विनाशबाट जलवायुमा परिवर्तन भई वर्षायाममा वर्षा नभई धान, मकै, आलुजस्ता कृषि उत्पादनमा ठूलो असर परेको छ । जनचेनतनामा वृद्धि, वन संरक्षण, बढ्दो सवारीसाधनको नियन्त्रण, भू तथा जलाधारको संरक्षण, जनसहभागितामा वृद्धि, विद्यार्थीहरूको भूमिका, गैरसरकारी संस्थालाई उचित प्रयोग, नैतिक शिक्षा, आमसञ्चार दिगो योजनाकार, संरक्षणको मुख्य संरक्षक तत्वहरू हुन् । यसले ओजोन तहको बचावटमा सघाउ पु-याई ओजोन तहलाई पुरानै अवस्थामा पु-याउन मद्दत पुग्नेछ र राष्ट्रिय अर्थतन्त्रमा समेत सबलीकरण हुनेछ । (लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि गरेका छन् ।)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया