Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय

बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय


काठमाडौं । कुनै पनि व्यक्तिको ज्ञानोपार्जनका लागि पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्छ । तर विगतमा विश्वका धेरै देशमा सार्वजनिक पुस्तकालयहरूको कमीको कारण अध्ययनशील व्यक्तिहरूले आफ्ना ज्ञान अभिवृद्धि गर्ने मौका पाएनन् ।  वस्तुतः सार्वजनिक पुस्तकालयको अवधारणा एवं विकास चौधौँ शताब्दीमा इटालीमा सुरु गरिएको हो । सत्रौँ शताब्दीमा बेलायतमा सिटी लाइब्रेरीको रूपमा व्यापक विस्तार एवं विकास गरी सन् १८५० मा पब्लिक लाइब्रेरी एक्ट बनाई कार्यान्वयन गरियो । त्यसपछि क्यानडा, अमेरिका, जापान आदि देशहरूमा पब्लिक लाइब्रेरीको विकास एवं विस्तार गरियो ।

नेपालमा शिक्षित व्यक्तिहरूको संख्या कम हुनाले यहाँ धेरै वर्षसम्म पुस्तकालयको आवश्यकता महसुस गरिएन । सन् १९३० मा यहाँ स्वर्गीय महाकवी लक्ष्मीप्रसाद देवकोटाको पहलमा सरस्वती सदनको रूपमा प्रथम सार्वजनिक पुस्तकालय स्थापना गरियो ।  सन् १९५० पछि यहाँका विश्वविद्यालय, महाविद्यालय र विद्यालयहरूमा पुस्तकालयहरू स्थापना गर्न थालियो । जसले गर्दा यहाँको समाजमा केही मात्रामा भए पनि चेतनाको लहर फैलाउन सघाउ पु-यायो । यहाँ हालसम्म पनि जुन गतिमा पुस्तकालयहरूको विकास एवं विस्तार हुनुपर्ने थियो त्यस्तो हुन सकेको छैन । यहाँका विश्वविद्यालय र केही विद्यालयहरूमा पुस्तकालयहरू स्थापना गरिए पनि पाठकहरूको संख्या भने निकै कम छ । गाउँघरका विद्यालयहरूमा त यिनीहरूको संख्या झन् कम छ ।

केही सामुदायिक विद्यालयका पुस्तकालयहरू आजसम्म पनि राम्ररी प्रयोग गर्न सकिएको छैन । यहाँ हालसम्म पनि पढ्ने संस्कृतिको विकास गर्न नसकिएकोले यस्तो भएको हो ।  बालबालिकाहरूले अरुले गरेका काम देखेर सिको गर्छन् । यिनीहरूले आफ्ना आमाबाबुले पुस्तक पढेको देखे भने पुस्तकपुस्तिका पढ्नुपर्ने रहेछ भन्ने ठान्छन् र विभिन्न पुस्तकपुस्तिका पढ्न अभ्यस्त हुन्छन् । यो कुरा सबै अभिभावकले बुझ्नुपरेको छ ।  अभिभावक तथा बालबालिकाहरूले आफ्ना रुचिअनुसार साहित्यका विभिन्न विधाका पुस्तक तथा पुस्तिकाहरू पढ्ने बानी बसाल्नुपर्छ । यसो गर्नसके अभिभावक एवं बालबालिकाहरूको ज्ञानको दायरा फराकिलो हुने मात्र होइन, उनीहरूको इन्टरनेटमा धेरै समयसम्म झुम्मिने कुलत पनि विस्तारै न्यून हुँदै जान्छ ।

बालबालिकाहरूलाई प्राथमिक तहदेखि नै विभिन्न पुस्तकपुस्तिकाहरू निरन्तर रूपले अध्ययन गर्ने बानी बसाल्न सके उनीहरूमा पठन संस्कृतिको विकास भई भविष्यमा पुस्तकालयमा गएर अध्ययन गर्न अभ्यस्त छन् । योबाहेक आजको सूचना प्रविधिको युगमा इ–लाइब्रेरीको नितान्त आवश्यक छ जसले पठन संस्कृतिको विकासमा मात्र सघाउ नपु-याई भविष्यको कर्णाधारहरूको जीवनमा समेत आमूल परिवर्तन ल्याउनेछ । पुर्खाले आर्जेका ज्ञान, सीप र अनुभवलाई संचित गर्न सके भावी पुस्तालाई काम लाग्नेछ । पुस्तकालयमा यिनीहरू राम्ररी सञ्चय गर्न सकिन्छ । विश्वमा पूर्वीय दर्शन र साहित्य अब्बल मानिन्छ । यसैले आज उक्त दर्शन र साहित्य पश्चिमाहरूको लागि खोज र अध्ययनको विषय भएको छ । सार्वजनिक पुस्तकालयहरूको विकास गर्न सके उक्त दर्शन र साहित्यलाई जीवन्त राख्न सकिन्छ ।

केही वर्षअघिसम्म नेपाल संस्कृत विषयको लागि उर्वर भूमि मानिन्थ्यो । तर, वर्तमान समयमा यहाँ उक्त विषयको महत्व घटेको छ । सार्वजनिक पुस्तकालयहरूको ठोस विकास गर्नसके उक्त विषयका पुस्तक तथा पुस्तिकाहरू सञ्चित गरी इच्छुक व्यक्तिहरूको चाख अभिवृद्धि गर्ने ठूलो सघाउ पुग्ने कुरामा शंका गर्न सकिँदैन । विकसित देशहरूमा सार्वजनिक पुस्तकालय सर्वसाधारणको जमघट हुने थलो हो । जहाँ बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकहरूका लागि छुट्टाछुट्टै क्षेत्रहरू छुट्याइन्छ । यस्ता पुस्तकालयहरूमा विभिन्न उमेर समूहकोे रुचि एवं आवश्यकताअनुसार पुस्तकपुस्तिकाहरू राखिन्छन् । यति मात्र होइन यी पुस्तकालयहरूमा पाठकहरूका बैठक एवं छलफलका लागि छुट्टै कोठाको व्यवस्था गरिन्छ ।

सार्वजनिक पुस्तकालयहरूमा अनलाइन अध्ययनका लागि कम्प्युटर र इन्टरनेटको व्यवस्था गरिएको हुन्छ भने अनुसन्धानकर्ताहरूको लागि आवश्यक स्रोतसाधनहरूको पनि व्यवस्था गरिएको हुन्छ । यस्ता पुस्तकालयहरू विकसित देशहरूमा प्रत्येक विश्वविद्यालय तथा विद्यालयको आ–आफ्नै पुस्तकालयहरू हुन्छन् । जहाँ विद्यार्थीहरूको आवश्यकताअनुसार पुस्तकपुस्तिकाहरू राखिन्छन् । उक्त देशहरूमा समुदायका नागरिकको सहज पहुँच हुने स्थानमा पुसतकालय स्थापना गरिन्छ । यहाँको हरेक सहर र इलाकामा सामुदायिक पुस्तकालयहरू स्थापना गरिन्छ जसको व्यवस्थापन सम्बन्धित स्थानीय सरकारले गर्दछ ।

विकसित देशहरूमा सहर होस् वा गाउँ एउटा पुस्तकालय हुनुपर्ने प्रावधान छ । पुस्तकालयको सहज पहुँचले गर्दा यी देशका नागरिकहरूमा पठन संस्कृतिको विकास मात्र नभई सर्वांगीण विकासमा समेत केही योगदान पुगेको छ । नेपालमा पुस्तकालयको संख्या एवं यसको लागि आवश्यक जनशक्तिको कमी छ । आजको सूचना तथा प्रविधिका युगमा प्रत्येक वडा तहसम्म पुस्तकालयहरू स्थापना गरी पठन संस्कृतिको विकास गर्नुपर्नेमा स्थानीय तहको केन्द्रमा समेत पुस्तकालय नहुनु दुःखको कुरा हो ।

वर्तमान समयमा यहाँका विभिन्न ठाउँमा सामुदायिक भवन निर्माणको लागि होडबाजी चलेको भए पनि पुस्तकालय स्थापनाका लागि कसले चासो देखाएको देखिँदैन । यति मात्र होइन, केही ठाउँमा स्मार्ट सिटी निर्माण गर्ने चर्चा छ । तर, स्मार्ट गाउँपालिकामा स्मार्ट लाइब्रेरी स्थापना गर्ने कुरा छैन । जुन दुःखको कुरा हो । यथार्थतः भौतिक विकासले मात्र कुनै पनि देश सम्पन्न बन्न सक्दैन । यसका लागि त मानव जातिको बौद्धिक विकासको आवश्यकता पर्छ । जसका लागि सार्वजनिक पुस्तकालय महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x