Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगधार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व

धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व


काठमाडौं । नेपालको मध्यभागमा अवस्थित देवघाट धाम विश्वकै सर्वाेत्तम तीर्थस्थल हो । च्यवन, वशिष्ठ, विश्वावसु, नारद प्रभृति मुनिगणले निसेवित स्वर्गका देवताहरू प्रतिवर्ष माघे संक्रान्तिमा स्नान गरी सभा गर्ने, गन्धर्व किन्नरहरूको विहारभूमि, जहाँ भगवान पशुपतिनाथ पनि सपरिवार पर्व–पर्वमा आई बस्ने कुरा पुराणहरूमा उल्लेख भएको छ ।

जगत्पावनी कृष्णागण्डकी र त्रिशुली नदी तथा देवगङ्गाको (देउती खोला) संगम विन्दु देवघाटलाई शास्त्रमा सिद्धाश्रम, शम्भुतपोवन, सप्तर्षितपोवन, हरिहर क्षेत्र, शालग्रामक्षेत्र, देवाट, आदिप्रयाग, कदम्बतीर्थ, गजेन्द्रतीर्थ, चक्रतीर्थ भनी वर्णन गरिएको छ । धार्मिक ऐतिहासिक र पुरातात्विक महत्वले परिपूर्ण देवघाट सबै जीवित प्राणीको स्वर्गद्वार हो ।
नेपालको मध्य भागमा रहेको त्रिशुली र कृष्णगण्डकीको संगम क्षेत्रभित्र रहेको भू–भागलाई देवघाट भनिन्छ ।

गोसाइँकुण्डबाट बगेको त्रिशुली र दामोदर कुण्डबाट बगेर कागबेनी हुँदै आएको शालिग्रामगर्भा कृष्णागण्डकी गण्डक ऋषिको गण्डकस्थलबाट उत्पन्न भएको कृष्णधारा यी दुई नदीको मिलन वेणीसंगम हो । गण्डकी नदी समान विश्वमा पुण्यदायिनी कुनै नदी वा तीर्थ छैन, द्वादशी समान पुण्यतिथि अरु छैन भन्ने कुरा स्कन्दपुराणमा चर्चा गरिएको छ । सत्ययुगमा उत्तम तीर्थ पुष्कर, त्रेतामा मिथिला, द्वापरमा मधुपुरी (मथुरा) हो भने कलियुगमा गण्डकी नदी र यसका आसपासका क्षेत्रहरू पुण्यदायी, कल्मष नाशक तथा वैकुण्ठादि लोक प्राप्त गराउने बताइएको छ ।

पछि सूर्यलोक प्राप्त हुनुको साथै शरीरका वाह्यभ्यन्तर रोगहरू पनि नाश हुने बताइएको छ । वराहपुराणमा वर्णन भएअनुसार शंकरले गण्डकी क्षेत्रमा पाँच दिन बसेर गाई चराउनु भएकोले गर्दा नै यस क्षेत्रलाई हरिहर क्षेत्र पनि भनिएको छ । विष्णुको प्रक्षलित जल भागीरथीको जो महत्व बुझिन्छ उनै भगवान साक्षात कृष्णा गण्डकीमा सर्वाङ्ग डुबेर बस्नुभएकोले भागीरथीभन्दा हजार गुणा पुण्यदायिनी छिन् भन्ने कुरा शास्त्रमा वर्णन गरिएको छ । त्यस्तो जगत् पावनी कृष्णा गण्डकीको र त्रिशुलीको संगम देवघाट हो ।

भगवान शंकरले कालकूट विष पान गरेपछि असह्य हुँदा त्रिशूल प्रहारबाट उत्पन्न भएको गोसाइँकुण्डबाट प्रवाहित त्रिशूली, जसमा नदीहरू बूढीगण्डकी, मस्र्याङ्दी, मादी, चेपे, तादी, सेती, दरौँदी, वेत्रावती समाहित छन् भने दामोदरकुण्डबाट प्रवाहित कष्णा गण्डकीमा रुरु, रुद्रमती, आँधी, सेतीवेनी, मोदीवेनी, मङ्गला, रहू, मृषा आदि नदीहरू मिलेका छन् । यसरी कृष्णागण्डकी, शुक्लागण्डकी र देवगङ्गा (देउती खोला) मिली बनेको संगमलाई देवघाटधामको त्रिवेणी पनि भनिन्छ । त्रिशूलीको पनि शास्त्रमा ठूलो महत्व बताइएको छ । त्योभन्दा बढी महत्व कृष्णागण्डकीको छ । स्वर्गको भ-याङ बनेकी कृष्णा गण्डकी क्षेत्रमा यमदूतहरू प्रवेश गर्न सक्दैनन् भनी स्कन्दपुराणमा वर्णन गरिएको छ ।

गयामा पिण्डदान गर्दा जति पितृहरू खुसी हुन्छन् त्योभन्दा बढी देवघाट बेनीमा पिण्डदान गर्दा खुसी हुन्छन् । जीवनमा एकपल्ट काली नदीको दर्शन मानव भएर गरेको छैन भने त्यसका सबै प्रयासहरू निष्फल हुन्छन् । अन्य तीर्थमा सय हजार पटक स्नान गरेको पुण्य देवघाट वेणी संगम वा कृष्णा गण्डकीमा एक पटक स्नान गर्दा पुण्य मिल्दछ । मुक्तिधारा पनि भनिएको देवताहरू वर्षैपिच्छे माघे संक्रान्तिमा यस पवित्रतम देवघाटमा आएर विहार गर्ने, सभा गर्ने, स्नान गर्ने भन्ने कुरा शास्त्रमा गरिएको छ ।

देवघाटहरि र हरको साधनाभूमि जसलाई माथि उल्लेख गरिएजस्तै हरिहर क्षेत्र पनि भनिन्छ । वर्षा ऋतुमा सबै नदी रजस्वला मानिए पनि शालिग्राम गर्भमा सदावहार धारण गर्ने हुनाले कष्णागण्डकीमा सधैँ स्नान गर्दा दोष नलाग्ने अझ दोब्बर पुण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख छ । विश्वमा प्रसिद्ध जगत्पावनी तीन नदीहरू छन् । एक नेपालमा रहेको कृष्णागण्डकी काली नदी हो । विश्वमा शालिग्राम प्राप्त हुने कुनै नदी छैनन् । त्यसैगरी दोस्रो जगत्पावनी नदी हो नर्मदा, जहाँ नदीको अन्तगर्भमा नै नर्मदेश्वर महादेव हजारौँ लाखौँ प्राप्त हुन्छन् । तेस्रो नदी भागीरथी गंगा, जसलाई स्वर्नदी (स्वर्गकी नदी) भनेर पनि चिनिन्छ । विश्वमा चर्चित ती नदीमध्ये कृष्णगण्डकी नेपालको देवघाट वेणी संगममा एकाकार भएर नारायणीको रूप धारा गर्न पुगेकी कृष्णधारा जसको मिलन विन्दु क्षेत्रलाई देवघाट भनिन्छ ।

देवघाट क्षेत्रमा विभिन्न दर्शनीय मठ मन्दिर, गुफा र आश्रमहरू रहेका छन् जसमध्ये मुकुन्देश्वर महादेव चक्रवर्ती मन्दिर, गलेश्वर आश्रम, पागलबाबा अघोर आश्रम, हरिहर आश्रम, महेश आश्रम, प्राणनाथ अनाथ आश्रम, कालिका मन्दिर, पशुपतिनाथ मन्दिर, सीतागुफा, वशिष्ठ गुफा, सूर्यकुण्ड, नेछेन थार्वलिङ बौद्ध गुम्बा (देवपुर), साँढेबगरको जलकुण्ड (महादेव मन्दिर), सत्यनारायण मन्दिर, केदारनाथ मन्दिर, श्री बद्रीनाथ मन्दिर, साई आश्रम, श्री स्वस्थानी परमेश्वरी मन्दिर, राधाकृष्ण मन्दिर एवं दुर्गा पञ्चायन मन्दिर, अभय वेदान्त साधना कुटीर, बराहमूर्ति तथा विष्णुपादुका, गङ्गामाता मन्दिर, ॐ शान्ति मैयादेवी ट्रष्ट सेवा संस्था, इन्दिरा सन्यास आश्रम (श्री दुर्गापञ्चाङ्ग शक्तिपीठ मन्दिर), अद्वैत संस्था आचार्यपीठ, कौडिन्य ऋषि आश्रम, शंङ्राचार्य मठ (चितवन), सीताराम मन्दिर (चितवन), लक्ष्मीनारायण मन्दिर (चितवन) शरणागती आश्रम (चितवन) सङ्कल्पेश्वर हनुमान मन्दिर (चितवन), श्री वागीश्वरी आध्यात्मिक परिषद् (चितवन वागिश्वरी क्षेत्र), विश्वशान्ति यज्ञशाला मन्दिर, अखण्ड दीपज्योति शिव मन्दिर (चितवन), श्री हरिकीर्तन वैदिक धर्मशाला, आनन्द साई श्रीराम कुटी अखण्ड धुना आश्रम, लिङ्गेश्वर शिवमन्दिर, देवघाट एनआरएन वृद्धाश्रम आदि रहेका छन् भने नवलपुरतर्फ मौलाकालिका, लक्ष्मी नृसिंह दिव्यधाम, श्री निम्बार्क दर्शन केन्द्र (राधाकृष्ण मन्दिर), शुकदेव भागवत् आश्रम आदि रहेका छन् ।

मौलाकालिका मन्दिरको सन्दर्भमा नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिकाअन्तर्गत, पूर्व–पश्चिम महेन्द्र राजमार्गको नारायणी–पुलबाट उत्तरतर्फ करिब चार किमि टाडा समुद्रसतहदेखि पाँच सय ६१ मिटर उचाइ पहाडी वनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित रहेको छ । ऐतिहासिक रूपमा, यो भनिएको छ कि १६औँ शताब्दीमा पाल्पाली राजाले देवी कालिकाको नाममा ‘प्रतीक’को प्रतीकात्मक प्रस्तुति स्थल सिर्जना गरेपछि पर्वत (मौला पहाड)को नाम राखिएको थियो । हिन्दु पौराणिक कथाअनुसार देवी काली वा कालिका माईलाई ऊर्जा, शक्ति र नयाँ सुरुवातको प्रतीकको रूपमा मानिन्छ ।

देवघाटमा मनाइने धार्मिक चाडपर्वहरूमा नववर्ष (वैशाख संक्रान्ति), वैशाख शुक्ल पञ्चमी, चण्डी पूर्णिमा (वुद्ध जयन्ती), अक्षय तृतीया, ज्येष्ठ शुक्ल त्रितीया (गलेश्वर बाबाको बृहत् भण्डरा), ज्येष्ठ शुक्ल दशमी, गुरु पूर्णिमा (आषाढ), श्रावण महिनाभरि बोलबम मेला, जनै पूर्णिमा (श्रावण), हरिशयनी एकादशी, भाद्रै कृष्णाष्टमी (श्रीकृष्ण जन्माष्टमी) पितृपक्ष पार्वणश्राद्ध (सोह्र श्राद्ध), नवदुर्गा पूजा, आश्विन शुक्ल पूर्णिमा, हरिबोधिनी एकादशी, बाला चतुर्दशी, पौष पूर्णिमा (स्वस्थानी व्रतरम्भ), मकर स्थान (माघे संक्रान्ति), सरस्वती पूजा (माघ शुक्ल पञ्चमी), स्वस्थानी पूर्णिमा समापन (माघ) महाशिवरात्री (फाल्गुन), रामनवमी, सूर्यग्रहण, चन्द्रग्रहण, गङ्गा आरती आदि हुन् ।

विश्वमा सूचना र सञ्चारको जगतमा एक्काईसौँ शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत् पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिल गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । त्यस्तै हाम्रो देशमा बढ्दो बेरोजगारीको समस्या समाधान गर्नको लागि समेत पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।

समृद्ध नेपाल सुखी नेपालीको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोशाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै धार्मिक पर्यटनलाई नयाँ आयामका साथ विकास गर्नु आजको आवश्यकता हो ।

हाम्रो देशमा तुलनात्मकरूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट आर्थिक तथा सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट हाम्रो देशको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।

हाम्रो देश धार्मिक, प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र धार्मिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । देवघाटजस्तो धार्मिक एवं ऐतिहासिक पर्यटकीयस्थल हुँदा हुँदै पनि त्यस क्षेत्रमा आवश्यक मात्रामा भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण देवघाट क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गरी सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गराउन सकिन्छ ।

ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै धार्मिक पर्यटन सर्किट बनाई देशको आवश्यकताअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो । यसको लागि विकासका संवाहक युवाको महत्वपूर्ण भूमिका रहन्छ ।  देवघाट क्षेत्रको लागि प्रभावकारी धार्मिक, सांस्कृतिक पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा सो क्षेत्रमा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षणस्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि आवश्यक मात्रमा प्रभावकारी बनाउन अझै सकिएको स्थिति छ भन्न सकिँदैन । स्थानीय बासिन्दाहरूले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले यस क्षेत्रमा प्रभावकारी पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई माथि भनेजस्तै प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र स्थानीय तहको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । देवघाट क्षेत्रमा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत प्रभावकारी संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय धार्मिक पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्न ढिला भइसकेको छ । जसको फलस्वरूप विकासका संवाहक युवा खाडी देशमा भासिन बाध्य छन् ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि हो । नयाँ धार्मिक पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । धार्मिक पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै देशका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । अतः देवघाटजस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रहरूको पहिचान गरी विश्व बजारमा प्रचारप्रसार गर्नसके पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर छ । हाम्रो देश नेपालमा मित्र राष्ट्र भारतका चारधामभन्दा कयौँ धामहरू छन् । सोको लागि विद्यमान नीति, कानून र प्रकृयालाई प्रभावकारी बनाई धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पर्यटनलाई एक उद्योगको रूपमा विकास गरी विकासका संवाहक युवा वर्गलाई रोजगारी दिनु आजको आवश्यकता हो । यसो भएमा राष्ट्रिय अर्थतन्त्रमा दरिलो टेवा पुगी हाम्रो जन्मभूमि पनि समृद्ध हुने थियो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया