Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसमृद्धिको आधार साक्षरताको विकास र विस्तार

समृद्धिको आधार साक्षरताको विकास र विस्तार


काठमाडौं ।  साक्षरता मानवको सशक्तीकरण र समृद्धिको प्रस्थानविन्दु हो । जीवनमा उन्नतिको खुड्किला पछ्याउने दीप तथा चढ्ने बैशाखीे हो साक्षरता । साक्षर र शिक्षित व्यक्तिको जीवनपयोगी साधनस्रोतमा सहज पहुँचको सुनिश्चितता हुन्छ । व्यक्तिको अन्तरनिहित प्रतिभा आविष्कार गरी सक्षमता र सफलता हासिल गर्ने कुन्जी एवं जति खर्च ग-यो त्यति बढ्ने सर्वश्रेष्ठ पुँजी साक्षरता हो । साक्षरता व्यक्तिको सशक्तीकरणको स्तरोन्नतिका लागि भिटामिन र गरिबी, रोग, भोक, रुढीवादी एवं अन्धविश्वासलगायतका पछौटेपनबाट सुरक्षित राख्ने एन्टीबायोटिक हो । साक्षरताले मानव विकासको सीमित सम्भावनाबाट असीमित सम्भावनको दैलो उघार्छ । विज्ञान र प्रविधिको द्रुत गतिमा भएका ज्ञान एवं सीपसँग साक्षात्कार गर्दै प्रविधि र समृद्धि भित्र्याउन कम्तीमा पनि साक्षर हुनुको  विकल्प छैन ।

सामाजिक रूपान्तरण गरी देश विकास गर्न त्यस देशको साक्षरता प्रतिशत उच्च हुनु पहिलो सर्त हो । साक्षरता प्रतिशत र देश विकासको गति सामनुपातिक हुने यथार्थता हो । राष्ट्रिय योजना आयोगको प्रतिवेदनअनुसार नेपालमा गरिबीको रेखामुनि अझ २५ दशलमव ४ प्रतिशत जनता छन् । तर यूनडीपीको प्रतिवेदनले ६५ प्रतिशत भएको दाबी गरेको छ । अशिक्षाले गर्दा गरिबी र गरिबीले गर्दा अशिक्षाको निरन्तर चलिरहने दुष्चक्रलाई तोड्न साक्षरता निर्विकल्प अस्त्र हो । विसं २००७ सालमा नेपालको साक्षरता २ प्रतिशत थियो ।

प्रजातन्त्रको अभ्युदयपश्चात् विभिन्नरूपमा साक्षरता कार्यक्रम सञ्चालन हुँदै आएको पाइन्छ । तर पनि छ दशकभन्दा लामो अवधि खर्चिँदा पनि वर्षको १ प्रतिशतका दरले पनि साक्षरतामा प्रगति भएको देखिँदैन । विसं २०५८ को जनगणनाअनुसार नेपालको साक्षरता ५३ दशमलव ७४ प्रतिशत रहेको देखिन्छ । जसमा पुरूष ६५ दशमलव ०८ र महिला ४२ दशमलव ४७ प्रतिशत छ । महिला र पुरूषबीचको साक्षरता खाडल २२ प्रतिशत छ । यस्तो न्यून साक्षरता प्रतिशत भएको मानवीय साधनस्रोतबाट देश विकासमा उल्लेख्य योगदानको अपेक्षा गर्न सकिन्न । सदिऔँदेखि समाजलाई गाँजेर बसेको निरक्षरतालाई चुट्कीको भरमा निर्मूल पार्न पनि सकिन्न ।

साक्षरता अभियान काम हो बखान होइन । यसरी लामो समयसम्म साक्षरता कक्षाहरू सञ्चालन गर्दा पनि आशातित उपलब्धि हासिल किन गर्न सकिएन ? अध्ययनको विषय बन्नु पर्दछ । के विगतका साक्षरतासम्बन्धी योजना तथा कार्यक्रमहरू भरपर्दो तथ्याङ्कमा आधारित थिए त ? पुनर्विचार गर्ने बेला आएको छ । साक्षरतासम्बन्धी विस्तृत र अद्यावधिक तथ्याङ्कको अभिलेखीकरण कसरी राख्न सकिएला ? यी र यस्तै मुद्दाको पर्याप्त अध्ययन अनुसन्धानको आधारमा कार्यक्रमहरू एकिन गर्नुपर्ने हुन्छ ।

साक्षरता प्रतिशतलाई यथाशक्य छिटो बढाउन नेपाल सरकारले विगत वर्षहरूदेखि १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरहरूका लागि साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । नेपालजस्तो आर्थिक, सामाजिक, सांस्कृतिक, जातीय विविधता र भौगोलिक विकटता भएको विसम परिस्थितिमा साक्षरता अभियानको लक्ष्यमा पुग्न विभिन्न खाले समस्या र चुनौती सामना गर्नु स्वाभविकै हो । दिगो र भरपर्दो अद्यावधिक तथ्याङ्कको व्यवस्थापन अभावमा विगतका साक्षरता कार्यक्रमको उपलब्धि ‘हिँड्दै छ पाइला मेट्दै छ’ जस्तै भएको छ । आगामी दिनहरूमा तथ्याङ्कको वैधता र विश्वसनीयतालाई उच्च प्राथमिकता दिएर नामनामेसी सङ्कलन र व्यवस्थापनको खाँचो खट्किएको छ ।

साक्षरता अभियानलाई सफल पार्न धेरै चुनौतीहरूको सामना गर्न नपर्ला भन्न सकिन्न । निरक्षरहरूको साक्षरता कक्षामा अनियमितता तथा निरक्षरले बीचैमा कक्षा छाड्ने नकारात्मक प्रवृत्तिलाई निरुत्साहित गर्दै उत्साहजनक र जाँगरिलो सहभागिता जुटाउन सकिएला ? चिन्ता र चिन्तनको विषय हो । साक्षरताको विषयवस्तुलाई उनीहरूको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ज्ञान सीपमा समयसापेक्षरूपमा परिमार्जन र परिष्कृत गर्दै पेशागत दक्षतामा अभिवृद्धि गरी निर्वाहमुखीबाट व्यावसायिकमुखी बनाउँदै लाने रणनीतिको अवलम्बन आजको आवश्यकता हो ।

साक्षरतालाई निरक्षरले अपनाई आएको पेसामैत्री बनाएर कहरले नभई रहरले पढ्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । साक्षरताले नाना, छाना र खाना सुनिश्चित गर्न टेवा पुगोस् । सहभागीले दैनिकीमा भोगेका समस्या र चुनौतीलाई सम्बोधनका लागि दक्षता आर्जन गर्ने खालका विषयवस्तुले साक्षरताप्रति उनीहरूको चाहना र विश्वास बढाउन सक्दछ । साक्षरताको ज्ञान र सीप कैँचीका दुई धारजस्तै हुन्, एउटा धार बोधो (भुत्ते) भएमा अर्को जतिसुकै धारिलो भए पनि निरर्थक हुन्छ । साक्षरतालाई सीपसँग जोड्ने कार्यक्रम सुरूआत गरिनु पर्दछ । साक्षरता कार्यक्रमलाई सशक्त व्यापक र प्रतिफलमुखी बनाउन सार्वजनिक सरकारी अवधारणाअनुसार विकेन्द्रितरूपमा सञ्चालन गर्ने नीति आवश्यक देखिन्छ ।

निरक्षरताको कारणबाट आइलागेको अन्धविश्वास र पछौटेपन यथाशक्य छिटो छिमल्न प्रत्येक नागरिक साक्षर हुँदै शिक्षित हुनुको विकल्प छैन । साक्षरता कार्यक्रम र अभियानलाई सरकार र सरोकार पक्षको जवाफदेहीपूर्ण सहकार्यको खाँचो पर्दछ । नेपाललाई निरक्षरतामुक्त राष्ट्र बनाउन संघ, प्रदेश र स्थानीयतहका सरकारको जवाफदेही र जिम्मेवारी तोकिनु पर्दछ । साक्षरता शिक्षालाई उपलब्धिमूलक बनाउन परम्परागत विधि र विषयलाई समयानुकूल परिमार्जन र परिष्कृत गर्दैै लानु बुद्धिमानी ठहर्छ । अब निरक्षरहरू पढ्न साक्षरता कक्षामा आउनुपर्छ भन्ने पुरातन सोचलाई तोड्दै साक्षरता कक्षा नै निरक्षरसम्म जानुपर्छ ।

सोही मान्यताको आधारमा निरक्षर महिला, दलित, पिछडिएको जातजाति र सीमान्त एवं विपन्न वर्गको पहिचान गरी माग र आवश्यकताको आधारमा मात्र कक्षा वितरण गरिनु पर्दछ । साक्षरता कक्षा वितरण व्यवस्थालाई समावेशी सहभागितामूलक एवं विकेन्द्रीकृत गर्दै साक्षरता कक्षा सञ्चालनमा संलग्न हुने स्वयम्सेवक, स्थानीय निरीक्षक र व्यवस्थापकीय पदाधिकारी आदिको चयन निरक्षरता उच्च प्रतिशत भएको समूहका योग्यता पुगेका स्थानीय महिला, दलित, पिछडिएका जातजातिलाई नै रोजगारीको प्राथमिकता दिइने नीति लाभदायक हुन्छ नै । मातृभाषामा आधारभूत शिक्षा हाँसिल गर्न पाउने संवैधानिक व्यवस्थालाई प्रत्याभूति गर्दै जाने नीतिअनुरूप नेपाली लगायत अन्य मातृभाषामा समुदायको मागअनुसार पाठ्यक्रम र पाठ्पुस्तक विकास गरी पठनपाठनको व्यवस्था गरिनु पर्दछ ।

समाजमा वर्षौँदेखि जरा गाडेर बसेको निरक्षरतारूपी अभिशापलाई छिमल्न सबै संघ, सस्था र व्यक्तिको सामूहिक सद्भाव, सहयोग, सहकार्य, समन्वय, समर्पण, समीक्षा र स्वामित्व (सात स) अपरिहार्य हुन्छ । विदेशी अनुदानमा नभई स्वदेशी धनमा सञ्चालित साक्षरता अभियानलाई सफल पार्न सबैका लागि साक्षरता अभियान र साक्षरता अभियानका लागि सबै भन्ने सदवाक्यलाई व्यवहारमा उतार्ने अठोट गरेमा सबै खाले पछौटेपनको कारक निरक्षरताको दलदलबाट नेपालीलाई उद्दार गर्न सकिएला ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया