Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगज्येष्ठ नागरिकको हितमा भएका प्रयास र प्रगति

ज्येष्ठ नागरिकको हितमा भएका प्रयास र प्रगति


काठमाडौं । नेपाल सरकारले प्रत्येक वर्षको पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने प्रचलनको सुरुवात गरेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा मनाउन लागिएको दिवसमा सम्माननीय राष्ट्रपतिज्यूबाट शताब्दी महिला तथा पुरुषलाई अभिनन्दनलगायत उत्कृष्ट योगदान पु-याउने समाजसेवीलाई प्रशंसा तथा कदरपत्र आदि प्रदान गर्दै मनाइँदै छ । एक दिन दिवसमा मात्र ज्येष्ठ नागरिकलाई सम्मान गर्दैमा दिवसले सार्थकता पाउन सक्दैन । ज्येष्ठ नागरिकको हेरचाह र सहज जीवन जिउने वातारवरण हामी सबैको दायित्व हो भन्नेतर्फ हेक्का रहनुपर्दछ ।

देश विकासको महायज्ञमा सबै उमेरका जनताको सक्रिय सहभागिता अपरिहार्य रहन्छ । तुलनात्मक रूपमा युवावर्गको योगदान उल्लेख्य रहने भए पनि ज्येष्ठ नागरिकको भूमिकालाई पनि नजरअन्दाज गरिनु हुन्न । ज्येष्ठ नागरिकहरू देशको समृद्धिको यात्रामा निःशुल्क योगदान गरी मातृभूमिको सेवा गर्न लालयित छन् । ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा भोगेका असीमित अनुभवहरूको सदुपयोग देश विकासमा लगाउने योजना तथा नीतिहरू राज्यले बनाउन चुक्नु हुन्न । ज्येष्ठ नागरिक राज्यका अमूल्य सम्पत्ति हुन् । ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पुँजीका रूपमा विकास गरिनु पर्दछ । विकास निर्माणमा, आइपर्ने जोखिम र अवरोधहरूलाई ज्येष्ठ नागरिकले विगतमा भोगेका र समाधानमा अपनाएका ज्ञान, सीप र दक्षताको प्रयोगबाट सहजरूपमा समाधान खोज्न टेवा पुग्छ । जसबाट समय र लगानीको बचत गर्न सकिन्छ । सरकारी गैरसरकारी क्षेत्रमा बसेर कामगरेका निवृत्त कर्मचारीको विज्ञताको यथाशक्य प्रयोग ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने लक्ष्य प्राप्तिमा होस्टमा हैँसे हुन सक्छ । कतिपय अवस्थामा निवृत्तहरूको योग्यता, दक्षता र अनुभव हासिल गर्न राज्यको लगानी समेत रहेको हुन्छ । स्वतन्त्ररूपमा समाजमा आफ्नो संस्कार संस्कृति र सीप जगेर्ना गर्दै जीविका चलाइरहेका ज्येष्ठ नागरिकको दक्षताको उपयोग परम्परागत कला संस्कृतिको संरक्षण र पुस्तान्तरणका साथै पर्यटन प्रवर्द्धनमा समेत सदुपयोग गर्न सकिन्छ ।

मेरो समाज मेरो योगदानजस्ता अभियान सञ्चालन गरी ज्येष्ठ नागरिकलाई सामाजिक रूपान्तरणमा उत्साहप्रद सहभागिता गराउन सरकार र सरोकार पक्षले ध्यान दिनु जरुरी छ । वृद्धवृद्धाले आफ्नो लामो जीवनभरि संगालेका ज्ञान सीप पछिल्लो पुस्ताका लागि अर्ती उपदेश अमूल्य मार्गदर्शनको रूपमा सदुपयोग गरिनु बुद्धिमानी ठहर्छ । कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको अनि पितृ देवो भव, मातृ देवो भवजस्ता परम्परागत आदर्श वाक्य आत्मसात् गर्दै सुसंस्कृत र सभ्य बन्न मार्गदर्शन प्रदान गर्दछ ।

सदिऔँदेखि चल्दै आएको ज्येष्ठ नागरिकप्रतिको संरक्षण र सम्मानमा पछिल्लो समयमा विचलन आउन थालेको जगजाहेर नै छ । संयुक्त परिवारबाट एकल परिवारमा बस्ने चलन बढ्दै गएको परिवेशमा आर्थिक, सामाजिक र मानसिकरूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महसुस हुँदै छ । बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधैमाथिको भनाइ चरितार्थ हुँदै गएको छ । अचेलको बाबुभन्दा छोरो जान्ने खुकुरीभन्दा कर्द लाग्ने प्रवृत्ति हावी हुनु शुभसंकेत होइन । वृद्धवृद्धाप्रति सन्ततीको कर्तव्यबोध र जिम्मेवारीको भावना क्रमशः ह्रास हुँदै गएको छ । पारिवारिक स्नेहबाट अग्रजहरू विमुख हुँदै छन् । दुःख, पीडा र हिनताबोधजस्ता निराशाजनक जीवन जिउन विवश हुनपुगेका वृद्धवृद्धाको संख्या बढ्दो क्रममा छ । मानव जीवनचक्रमा एक पटक पुग्नैपर्ने वृद्ध अवस्था हो । माया, ममता र करुणाका खानी ज्येष्ठ नागरिकको चित्त दुखाउनु सन्तती, समाज र सरकारका लागि आत्मघाती कदम हो ।

ज्येष्ठ नागरिकसम्बन्धी पहिलो विश्व सम्मेलन सन् १९८२ जुलाई २६ देखि अगष्ट ६ सम्म अष्ट्रियाको भियनामा भएको थियो । दोस्रो सम्मेलन सन् २००२ अप्रिल ८ देखि १२ स्पेनको म्याड्रिडमा सम्पन्न गरियो । सन् १९९० मा बसेको संयुक्त राष्ट्रसंघ महासभाले प्रत्येक वर्ष १ अक्टोवरलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । पारित प्रस्तावमा वृद्धवृद्धाहरूका स्वतन्त्रता, सहभागिता, रेखदेख, आत्मसन्तुष्टि र मर्यादालाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

विश्वमा प्रत्येक सेकेन्डमा दुई जना ६० वर्षे ज्येष्ठ नागरिकमा प्रवेश गर्छन् । अहिले विश्वमा ९० करोडको हाराहारीमा रहेका ज्येष्ठ नागरिक सन् २०५० सम्ममा डेढ अर्ब पुग्ने प्रक्षेण गरिएको छ । स्वास्थ्य र जनचेतनामा सकारात्मक परिवर्तनका कारण नेपालीको सरदर बाँच्ने आयुदर वृद्धि हुँदै गएको छ । नेपालीको सरदर बाँच्ने आयु दर ६८ वर्ष पुगेको छ । यस आर्थिक वर्षदेखि सरकारले ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर घटाएर ६८ वर्ष कायम गरेको छ । जसको फलस्वरूप ६० वर्षे ज्येष्ठ नागरिकको संख्या बढ्नु स्वाभाविकै हो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या वृद्धिदर २ दशमलव १ प्रतिशत थियो भने ज्येष्ठ नागरिकको जनसंख्या वृद्धिदर ३ दशमलव ४ प्रतिशत रहेको देखिन्छ । नेपालको जनसंख्याको ८ दशमलव १३ प्रतिशत ज्येष्ठ नागरिक छन् । पुरुषको भन्दा महिलाको संख्या उच्च रहेको छ । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको मौलिक हकको सुनिश्चित गरेको छ । विद्यमान ज्येष्ठ नागरिक ऐनले ७० वर्ष उमेर नपुगेका सामान्य ज्येष्ठ नागरिक र ७० वर्ष उमेर पूरा गरेकालाई वरिष्ठ ज्येष्ठ नागरिकको रूपमा परिभाषित गरेको छ । त्यस्तै असहाय, अशक्त र एकलको आधारमा ज्येष्ठ नागरिकको वर्गीकरण गरिएको छ ।

विगत पछिल्ला पाँच राष्ट्रिय जनगणनाको विश्लेषण गर्दा ज्येष्ठ नागरिकको संख्या बढ्दो क्रममा नै छ ।
क्रसं   साल      ६० वर्षमाथिको जनसंख्या      प्रतिशतमा
१.      २०२८      ६,४८,७०३                               ५.६१
२.      २०३८     ८,५७,०६१                                ५.७१
३.      २०४८     १०,७१,२३४                               ५.८१
४.      २०५८    १४,७७,३७९                              ६.५०
५.      २०६८    २१,५४,४१०                               ८.१३

ज्येष्ठ नागरिकको संख्यात्मक वृद्धिअनुसार उनीहरूको गाँस, बास र कपासको उचित प्रबन्ध गर्ने दायित्व सन्तति र सरकारको हो । साधरणतया वृद्ध अवस्थामा देखिएका र भोगिएका समस्याहरूमा खानपान र औषधि उपचारको उपयुक्त व्यवस्था, बसोबासको उचित प्रबन्ध, मर्यादा, आत्मसन्तुष्टि, मनोरञ्जनात्मक वातावरणको सहजता, सिर्जनात्मक अनुभवको उपयोग, आर्थिक तथा सामाजिक सुरक्षाको सुनिश्चितता, आरोग्य वा वृद्धआश्रमको उचित व्यवस्थापन आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । ज्येष्ठ नागरिकको दिनचर्यालाई सक्रिय, स्वस्थ र आत्मनिर्भर बनाउन उनिहरूको शारीरिक र मानसिक तन्दुरुस्तीअनुकूल बालबच्चा हेर्ने, खाना बनाउने, कृषिकर्ममा लगाउने, व्यापार व्यवसायमा सक्रिय बनाउन सकिन्छ । त्यस्तै विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका चिकित्सक, व्यवस्थापक, प्राविधिकलगायतका विज्ञहरूको अनुभवलाई सामाज सेवा र देश निर्माणमा सदुपयोग गर्न सकिन्छ ।

ज्येष्ठ नागरिकको हितमा नेपालमा विविध नीति तथा रणनीति अवलम्बन गरिएका छन् । चालू पन्ध्रौँ योजनाले ज्येष्ठ नागरिकहरूको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाई उनीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रले समृद्धिको लागि उपयोग गर्ने लक्ष्य लिएको छ । विगतदेखि नै विभिन्न आर्थिक वर्षका बजेटमार्फत ज्येष्ठ नागरिकको उल्लिखित अनुभवलाई स्थानीय सरकारसँगको सहकार्यमा ज्ञानकेन्द्र, ध्यानकेन्द्र र आरामकेन्द्र स्थापना गर्दै पुस्तान्तरण गर्दै जाने अवधारणा ल्याएको छ । त्यस्तै अल्जाइमरलगायत उमेरगत रोगहरूको निःशुल्क उपचार तथा असहाय ज्येष्ठ नागरिकका लागि संरक्षणको व्यवस्था समेत गर्ने उल्लेख छ । ज्येष्ठ नागरिकको लागि मासिक तीन हजार भत्ता, निःशुल्क स्वास्थ्य बीमा, यातायात तथा औषधोपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्र, सेवाप्रवाहमा विशेष प्राथमिकता दिइने नीति लिइएको पाइन्छ । सरकार र सरोकार संघसंस्थाको पहलमा ज्येष्ठ नागरिक कोष स्थापना भए पनि प्रभावकारिता ल्याउन थप पहल गर्नुपर्ने खाँचो खट्किएको छ ।

ज्येष्ठ नागरिक ऐन, तथा नियमहरूमा भएका कल्याणकारी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य र जिम्मेवारीबोध हुनुपर्दछ । दिवा सेवा तथा दिवा मिलन केन्द्र, असक्त स्याहार केन्द्रलगायतका सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन र सहकार्यमा सरकारी र गैरसरकारी संघसंस्थाका सद्भाव, सहयोग, सहकार्य र समन्वयमा मात्र ज्येष्ठ नागरिकका लागि गरिएको कल्याणकारी कामले सार्थकता पाउन सक्छन् । वर्तमानमा कोरोना उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकको उपचार र संरक्षणमा सबैको उत्तिकै चिन्ता र चासो हुनुपर्दछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया