Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकांग्रेस, रामचन्द्र र गोल्छे सार्की

कांग्रेस, रामचन्द्र र गोल्छे सार्की


‘जुन दिन नेपाली कांग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्नेछ, यो निरर्थक भएर जानेछ । र जुनदिन यसले प्रजातन्त्रको आदर्श त्यागेर केबल सत्ताको राजनीति गर्नेछ, यो समाप्त भएर जानेछ ।’
–जननायक विश्वेश्वर प्रसाद कोइराला –वि.सं २०३३ साल पुष ।

नेपाली कांग्रेसका संस्थापकमध्येका सिद्धान्तकार वैचारिक जननेतृत्व बीपी कोइरालाले माथि उल्लिखित भनाइ (भविष्य दृष्टि) अघि सार्नुअघिदेखि नै प्रजातन्त्रको आदर्श त्यागेर केवल सत्ताको राजनीति गर्न थाल्यो भने चीनको कोमिन्ताङ पार्टी इतिहासको कन्टेनरमा थन्किएजस्तै हुनेछ भनेर पटक–पटक लेख्दै बोल्दै आइरहनुभएको हाम्रो पुस्ता सबै जानिफकार नै छौँ । बीपीलाई कांग्रेसको संस्थापकमध्ये एक किन भनिएको भने सुवर्ण शमशेर, गणेशमान सिंह, टङ्कप्रसाद आचार्य, कृष्णप्रसाद भट्टराई आदि इत्यादिहरू पनि संस्थापक नेताहरूमै पर्नु हुन्छ । मातृका प्रसाद कोइरालाको नाम पनि त्यसमा आउनुपर्नेमा उनको नाम त बीपीले भन्ने गर्नुभएको ‘इतिहासको कन्टेनर’मा कहाँ हराइसक्यो, आगामी पुस्तालाई केही मतलब हुने कुरो भएन ।

बीपीले यसोे भन्नुभएको विसं २०३३ देखि आज ०७९ सम्म गणना गर्दा ४६ वर्ष अर्थात् साढे चार दशक बढी हुँदोरहेछ । बीपीको साढे चार दशकअघिको यो भविष्यदृष्टि आज आएर अक्षरंश सत्य र चरितार्थ भएको पाउँदा एकप्रकारले छक्क पर्नुजस्तो पनि हुन्छ ।

विसं २०५३ सालमा सभामुख रामचन्द्र पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, जलस्रोत मन्त्री पशुपति शमशेर जबरा, परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी र प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल (मनमोहन अधिकारी अस्पतालको बेडमा रहेका उनको किर्ते साइन गरिएको र वामदेव फुटेर पछि गिरिजाको पोल्टोमा राजनीति पुगेको भन्ने पनि छ)ले महाकाली सन्धिमा जुन हस्ताक्षर गरे त्यो ‘राष्ट्रघात’ थियो भन्ने ‘चुचे नक्सा प्रकरण’मा आइपुगेर पछि त्यो दशी प्रमाणले साबित भयो । त्यही महाकाली सन्धिकै हस्ताक्षर आधारमा भारतले नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी आफ्नो नक्साभित्र पा¥यो । अन्तर्राष्ट्रिय अदालतमा जाँदा ‘महाकाली सन्धि’ देखाएर भारतले मुद्दा जित्नेहुँदा चीन, अमेरिकाजस्ता हितैसी हिमायती दाबेदार मुलुकहरूले पनि नेपालको पक्षमा एक शब्द बोल्ने ठाउँ पाएनन् । होइन भने आजको विश्वमा स्थापित सार्वभौमिकता परिभाषामा भारतजस्तो एउटा धाक इज्जत भएको त्यत्रो ठूलो मुलुकले नेपालजस्तो सानो र निरिह छिमेकी मुलुकको भूमि त्यसरी आफ्नो नक्साभित्र पार्नु सम्भव थिएन । युद्ध भएर हार्नु जित्नु भएको भए अर्कै कुरो हुन्थ्यो ।

नभन्दै महाकाली सन्धिमा कांग्रेसले आफ्नो राष्ट्रियताको अडान छोडेपछि बीपीले भन्नुभएजस्तै कांग्रेसको राजनीतिक अवस्था औचित्यहीनजस्तै नै हुन पुगेको थियो । कहिले निर्दलीय कालखण्डका प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, सूर्यबहादुर थापा प्रधानमन्त्री हुने, कहिले बामदेव गौतमलाई एमालेबाट फुटाएर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनेजस्ता देश जनता र प्रणालीका लागि औचित्यहीन कामहरू मत्र भए । यसै कालखण्डमा हो कांग्रेसले खासगरि चिनियाँ सहयोगका ४२ भन्दा बढी नाफामा चलेका रोजगारी दिइरहेका उद्योगहरूलाई कौडीको मूल्यमा विदेशीलाई (त्यसमा डा. रामशरण महत, महेश आचार्य आदि इत्यादि कांग्रेसी सांसद मन्त्रीहरूले राजधानीलगायतका ठाउँहरूमा ठूला–ठूला महल व्यापार खडा गरे) बेचेर आम बलिया पाखुरी नेपाली युवालाई खाडी मुलुकमा रगत पसिना बगाउन धकेलियो । जुन संख्या आजको मितिमा तीन करोड जनसंख्यामा ८० लाख नाघेको भन्ने पछिल्लो तथ्यांक हो । यस्तो परिणममा बीपीले भन्नुभएको जस्तो कांग्रेसको औचित्व इतिहास बन्न सक्दैन ।

‘जुनदिन कांग्रेसले प्रजातन्त्रको आदर्श त्यागेर केवल सत्ताको राजनीति गर्नेछ, यो समाप्त भएर जानेछ’ भन्ने बीपीको भविष्य दृष्टि अक्षरंश चरितार्थ भएको उदाहरण स्वयं पङ्क्तिकार नै पनि साक्षी प्रमाण छ । मेरो कांग्रेसको राजनीति भनेको १९ वर्षको उमेरमा फाँसी या जन्मकैद हुनसक्ने मुद्दा खेपेर सात वर्ष कारावास जीवन झेलेर २०३७ सालमा आममाफीमा छुटेपछि अहोरात्र एक मिनेट र एक क्षण पनि यताउति नभई बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, सिके प्रसाईँजस्ता नेताहरूसँग अत्यन्त निकट रहेर काम गरेको, पञ्चायत कालखण्डमा निर्दलको विकल्प ‘दुई दलीय व्यवस्था’ लेख लेख्दा छाप्ने पत्रिका जब्थ, खारेजी र सम्पादक÷प्रकाशक जेल हुने गरेका । नेपाली जनआन्दोलन विषयक दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका आज ६९ वर्षको उमेरसम्म पनि कांग्रेसको रुख चिह्नमा नै मत दिने गरेको । ६० वर्षको कांग्रेस जीवनमा यसपटक ‘रुख’ चिह्नमा भोट हाल्न खोजेको मतपत्रमा रुख चिह्न नै रहेनछ । ललितपुरमा बसोबास गर्दै आएको त्यहाँ कांग्रेसले एमाले फुटेको माधव कुमार नेपालको पार्टीको चुनाव चिह्न ‘कलम’मा भोट मागेको रहेछ । मैले माधव कुमार नेपालको पार्टीलाई भोट दिने कुरै थिएन । श्रीमतीजीलाई केमा भोट हाल्नुभयो ? भनेर सोधेको ‘मैले त घण्टीमा हालेँ’ भन्नुभयो । यो भनेको कांंग्रेस समाप्तिको दृश्य उपस्थित हुन थालेको भएन ?

शेरबहादुर देउवा नै हुन प्रधानमन्त्री हुँदा ‘प्रचण्डको टाउको झोलामा लिएर आऊ र त्यहीँ झोलामा पैसा लिएर जाऊ’ भन्ने सरकारी उर्दी जारी गर्ने व्यक्ति । यस्तो उर्दी जारी गर्नु नै पनि आजको विश्वमा आफ्नो जमानाको इदि अमिन (जसले आफ्ना शत्रुको मुटु कलेजो झिकेर भुटेर खान्थ्यो अरे) लाई पनि न सुहाउने लाजमार्दो कुरो थियो) तर आठ लाख भनिएका कांग्रेसका सक्रिय सदस्यहरू दासमानसिकताबाट माथि उठ्न नसकेका कारण कतैबाट करेक्सन आवाज उठेन । कुरो आयो गयो भइगएको थियो । हुँदाहुँदा तिनै शेरबहादुरले प्रचण्डसँग चुनावी गठबन्धन गरेर दुनियाँको कुनै पनि प्रजातन्त्रको मूल्यमान्यताभित्र नपर्ने काम गरे । नेपाल आमाका १७ हजार सपूतहरूको बलिदान र आहुतिबाट श्रापित ‘पाँच हजार मारेको त म आफैँ जिम्मा लिन्छु भन्दै हिँडेका मिस्टर प्रचण्ड (हालका प्रधानमन्त्री)लाई शेरबहादुरले टाउकोमा बोकेर हिँडिरहेका अहिलेको अवस्थालाई कांग्रेस जीवन्तताको व्याख्या भाष्य गर्नु भनेको उही दासमानसिकता र कविलाई चेतनामा मात्र हो । नवजागरणबाट आलोकित जनमतले भने बीपीको भविष्यवाणी मार्गदर्शन गरेको साढे चार दशक ४६ वर्षपछि अक्षरंश चरितार्थ भएको नै बुझ्नेछन्, बुझ्नुपर्ने हुन्छ ।

रामचन्द्र पौडेल राष्ट्रपतिमा नियुक्त भएको दुई दिनपछिको कुरो हो, वर्तमान गण्डकी प्रदेशका कांग्रेस प्रमुख पोखराका शुक्रराज शर्मा रामचन्द्रलाई बधाई दिन भनेर काठमाडौं आउनुभएको रहेछ । कांग्रेसको प्राधिकार नेतृत्वमा मैले कल्पना न गरेको कांग्रेसी शुक्रराज शर्मा भेटिनुभएको मैले रेकर्ड पनि राखिदिने गरेको छु । उहाँले १६ वर्ष कास्की कांग्रेसको सभापति भएर काम गर्दा (०४६ देखि ०६२—०६३ को जन आन्दोलन सम्म) ३५ गाविसमा १५÷१६ वटामा त भवन खडा भएर आफ्नै कार्यालयबाट काम भइरहेका र बाँकी गाविसलाई पनि जमिन भएर भवन खडा गर्न मात्र बाँकी छाडेर त्यसपछि सांसद हुनुभएको हो । जब कि त्यहीँ जोडिएको पर्वत जिल्लाको जिल्ला कांग्रेस भवन शेरबहादुर देउवाले सिलान्यास गरिसक्दा पनि आपसी कलहले गर्दा वर्षौँ बितिसक्दा पनि अझै गाह्रो ठडिन सकेको छैन । कांग्रेसका पुराना नेता लोकनाथ आचार्यले आफैँ लगेर पङ्क्तिकारलाई त्यो अलपत्र कांग्रेस जिल्ला कार्यालाय देखाउनु भएको हो । एउटा कास्की जिल्लाबाहेक प्राय सबै जिल्लाको कथा पर्वत जिल्लासँगै मिल्छ । सबै जिल्लाका कांग्रेस प्राधिकार नेताहरू राजधानी या सदरमुकामहरूमा निजी महल खडा गर्न लागे भने शुक्रराजजीचाहिँ पार्टी कार्यालय भवनहरू खडा गर्न दत्तचित्त हुनुभएछ । उहाँको अनुभव वृतान्त ‘कांग्रेसमा संकल्पित ५२ वर्ष’ पुस्तक प्रस्तुति क्रममा उहाँका बारे थाहा पाएर पहिले त मलाई अचम्मै लागेको थियो । शेरबहादुर देउवा नेतृत्वको प्रधिकार कांग्रेसमा घुस नखाने र तस्कर, माफिया विदेशी गुप्तचरका भरिया न भएका नेतृत्व भेटिनु विरलै हुनेमा शुक्रराजजी एक अपवाद हुनुहुन्थ्यो । हाम्रो राजनीतिमा प्रवेश पनि दुई वर्षले मात्र फरक । उहाँको विसं २०२३ सालदेखि रहेछ भने पङ्क्तिकारको २०२५ सालदेखि हो । जेल, नेल, संघर्ष, गाथा शारीरिक बौद्धिक योगदानको कुरो गर्दा पनि कुनै रामचन्द्र शेरबहादुरको भन्दा कम होइन, हामी दुवैको पनि । यसै अर्थमा काठमाडौं आउनुभएका बखत फोन गर्न भुल्नु हुन्न र भेटवार्ता भलाकुशारी हुने गर्छ । यसपटकको हाम्रो भलाकुसारी वार्ताको विषय रामचन्द्र पौडेल राष्ट्रपति भएका राष्ट्र, जनता र प्रणालीलाई के अर्थ ? भन्नेमै केन्द्रित थियो ।

रामचन्द्र पौडेलको ‘राष्ट्रपति पद’बारे कुरो थाल्दा पोखराका शुक्रराज शर्मा किन तानिए भन्ने सन्दर्भमा अलिकति उहाँबारे पनि साथीहरूमा नलेज होस् भन्ने नै हो । दोस्रो शुक्रराजजी र रामचन्द्रको गृहजिल्ला एउटै प्रदेश गण्डकीमै पर्छ । ‘राष्ट्रपतिमा रामचन्द्र पौडेल र कांग्रेस’बारे शुक्रराजजीको के भनाइ रह्यो त्योे अफ द रेकर्ड भएका कारण यहाँ उल्लेख गर्न मिलेन । लेखकीय धर्मले पनि दिँदैन । मैले त्यहाँ भनेका कुरा मात्र यहाँ उल्लेख गर्न मिल्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग मेरो जान पहिचान विसं २०३८ सालमा बीपीले नेविसं केन्द्रीय कार्यालय सचिव पदमा राखिदिनुभएदेखि हो । ‘समाजवादबारे कुरा गर्नु छ । मेरो डेरामा आउनुहोस्’ भनेका जस्ता कुरादेखि यस चार दशकका धेरै जम्का भेट र घटनाक्रमहरू छन्, जसको वर्णन यहाँ आवश्यक भएन । औचित्य पनि छैन ।

मैले मुख्यरूपमा रामचन्द्र पौडेललाई पहिलो पटक चिन्न जान्न पाएको भनेको विसं २०५१ सालको मध्यावधिबाट कांग्रेस एमालेभन्दा सानो पार्टी भएर सभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सम्झौता हस्ताक्षर गर्दादेखि हो । कांग्रेस–राप्रपाको त्यो सम्झौता हुँदा कांग्रेका तर्फबाट रामचन्द्र पौडेल र राप्रपाका तर्फबाट कमल थापाले हस्ताक्षर गरेका थिए । विडम्बनाको अध्याय त्यो हस्ताक्षर हुँदा ठीक पुस १ गते परेको थियो । त्यस्तो संयोगलाई उदयपुरका घाघडान कांग्रेस नेतृत्व अर्जुन कुमार खड्काले आफ्नो अनुभव वृतान्त ‘कांग्रेसमा कथा व्यथा’ पुस्तकमा ‘०४६ सालको उपलब्धिलाई कालो विरालोले बाटो काटिदियो’, लेख्नुभएको छ ।

त्यसपछि यताको कांग्रेसको मनपरितन्त्र लुटतन्त्र सत्ता रजगज कालखण्डमा एउटा प्रधानमन्त्री पार्टी सभापतिबाहेक सबै हालीमुहाली मच्चाउनेमा उहाँ नै सदाकाल हालीमुहालीमा रहनुभयो । उहाँको पाँच दशकभन्दा बढीको राजनीतिक जीवन भन्ने छ । छोरा, छोरी भाइ, भतिजा, सम्धी आदि इत्यादिका खुब भरणपोषण गर्नुभयो भन्ने त कांग्रेस वरिष्ठ भएको नाताले दैनिक समाचारहरू आइरहने भए । तर देश, जनता र प्रणालीको हित हुने भने रामचन्द्र पौडेलले कतै एउटा राम्रो काम गरेर देश र जनताको हितको लागि यति काम गरे भन्ने छ ? छैन । अब राष्ट्रपति भएर ‘अरुले जे गरे मैले पनि त्यही गरेँ’ भनेर दाँत देखाउनुलाई नै उपलब्धि व्याख्या गर्ने । आज नेपालमा यस्तै उपलब्धि व्याख्या भइरहेका बखतमा अरु लम्बेतान कुरामा नजाऔँ ।

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल सभामुख हुँदाबखतको एउटा घानमा पङ्क्तिकार पनि लेपेटिएको त्यो घटना भने यहाँ ल्याउनै पर्ने हुन्छ । यसमा मेरो रामचन्द्र दाइप्रति व्यक्तिगत स्तरको कुनै आग्रह पूर्वाग्रह अनादर केही छैन । उमेरका हिसाबले आदर नै गर्छु । तर भविष्यका पुस्ताका लागि पाठ्यक्रम न हराओस् भन्नाखातिर दोस्रो स्वयं उहाँलाई पनि राष्ट्रपतिको भूमिका निर्वाह गर्दा अलिकति मार्गदर्शन पनि हुनेछ ।

भयो के भने रामचन्द्र पौडेल सभामुख हुनुहुन्थ्यो । ०५१ को मध्यावधि निर्वाचनबाट कांग्रेसभन्दा ठूलो दल भएको एमालेका मनमोहन अधिकारीको अल्पमतको सरकारलाई नौ महिना पनि टिक्न नदिएर गिरिजाप्रसादले राप्रपासँग मिलेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएका थिए । एउटा राष्ट्रघातिजस्तो गन्ध आउने बिललाई सरकारले संसद्बाट पास गराउन खोज्दा त्यही बखत हो माधव कुमार नेपालले तीन महिना संसद् जाम गरेका भनेर समाचार टिप्पणी मौका–मौकामा चर्चामा पनि आइरहन्छ । सभामुख रामचन्द्रले के भनेर माधव कुमारलाई फुस्लाए संसद् बैठक बस्यो र त्यही पहिलो बैठकबाटै एमालेले रोक्न खोजेको बिल कांग्रेस–राप्रपा सरकारले पास गर्न पायो । त्यसपछि झन् उग्र भएर एमाले सभामुखको पक्षपाति भूमिकाप्रति उफ्रिन थाल्यो । त्यहीबखत हो, एमालेका पिछडा वर्गबाट प्रतिनिधित्व गरेका सांसद गोल्छे सार्कीले सभामुख रामचनद्रलाई पिटेका आम पाठ्यक्रम बनिसकेकै छ । यो एउटा व्यक्ति गोल्छे सार्कीले अर्को व्यक्ति रामचन्द्र पौडेललाई पिटेको मात्र अर्थ कुरो होइन । यो एउटा सांसदले सभामुखलाई पिटेको व्यवस्थासँग जोडिएको प्रश्न भएर आम पाठ्यक्रम बनेको हो ।

यसमा पङ्क्तिकार लपेटिएको प्रसङ्गचाहिँ के हो भने तिनताका बुधबार गोरखापत्रमा एउटा स्तम्भ लेख्दथ्यो । विमल मित्रको ‘फ्रक’ कथाकी सात वर्षीया नायिका गाई चराइरहेका बखत ससुरा आउँदा बुहारीले कपाल छोप्नुपर्ने मान्यताअनुसार फ्रक उचालेर टाउको छोप्ने प्रयास गर्दा कट्टु नलगाएकी नाङ्गै देखिएकी थिइन । रामचन्द्रको निष्पक्ष सभामुख भूमिका पनि कथाकी बालिकाले ससुराका अगाडि लाज छोपेजस्तै भयो लेखेको थिए । अध्यक्ष गोविन्द भट्टलाई रामचन्द्रले फोन गरेर ‘सभामुखको गरिमामा आँच पुग्ने लेख गोरखापत्रमा छापियो’ भनेर हकारेछन् । अध्यक्षले प्रधान सम्पादक वालमुकुन्द देवलाई हकार्दा ‘रेवतीजीको लेखले सभामुखको भूमिकामा आँच पुग्ने होइन कि जोगाउने पो काम गरेको छ’ भनेपछि गोविन्द भट्ट हाँस्नुभएको वादेपाले नै बताउनुभएको । अस्तु
(दर्जनौँ पुस्तकका लेखक सुवेदी वरिष्ट पत्रकार तथा अथक राजनीतिक योद्धा हुनुहुन्छ)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया