Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालमा कृषिजन्य उद्योगको महत्व, समस्या तथा सुझाव

नेपालमा कृषिजन्य उद्योगको महत्व, समस्या तथा सुझाव


काठमाडौं । नेपालमा हालसम्म थुप्रै किसिमका कृषिजन्य उद्योगहरू स्थापना गरिसकिएका छन् । खाद्यान्न बाली, नगदेबाली तथा पशुजन्य उत्पादनमा आधारित यस्ता उद्योगहरू अर्थतन्त्रमा सञ्चालनमा रहेका छन् । तर यस्ता उद्योगहरूले स्थापित क्षमता पूरारूपमा उपयोग गर्न सकिरहेका छैनन् । कारखानाको संख्यात्मक वृद्धिले उत्पादनको परिमाण अवश्य बढेर गएको छ । तर स्थापित क्षमताको कम उपयोगले गर्दा पुँजीगत साधनको ठूलो अंश लामो समयदेखि अनुत्पादकरूपमा रहेको देखिन्छ । नुडल्स, बिस्कुट, चिनी, चुरोट, वनस्पति घ्यू तथा जुटका सामान बनाउने उद्योगका क्षमताको उपयोगसम्बन्धी तथ्याङ्कलाई हेर्दा महंगो पुँजीको पूर्ण सदुपयोग हुन सकिरहेको छैन । त्यस्तैगरी उद्योग व्यवसायको कुल क्षमतामा आधारित भई भर्ना गरिएको मानवसाधनको पनि कम मात्रामा उपयोग भइरहेको आफैँमा प्रस्ट हुन्छ । कृषिजन्य उद्योगहरूको विकासको आधार नै कृषिउत्पादन हो । खाद्यान्नबाली, नगदेबाली, दालबाली, पशुजन्य पदार्थलाई यस्ता उद्योगले कच्चा पदार्थको रूपमा प्रयोग गर्ने हुँदा उद्योगको विकास यस्ता वस्तुको उत्पादनको परिमाणमा भर पर्दछ । तर कृषिक्षेत्रको उत्पादकत्वको अवस्था न्यून रहेकाले यस्ता उद्योगले कच्चापदार्थको अभावको सामना गर्नुपरेको छ । नेपालमा लामो समयदेखि विभिन्न किसिमका खाद्यान्न तथा नगदेबालीको उत्पादन गरिँदै आएको छ । देशमा हिमाली, पहाडी तथा तराईका विभिन्न ठाउँमा हावापानीको उपयुक्तताअनुसार विभिन्न किसिमका बालीनाली लगाइँदै आएको छ । तर तिनीहरूको उत्पादकत्व उल्लेखनीयरूपमा बढाउन सकिएको छैन । कृषिजन्य उद्योगहरूको स्थापना, सञ्चालन तथा कच्चा पदार्थको उत्पादनसमेत गर्नको लागि ठूलो मात्रामा पुँजीको आवश्यकता पर्दछ । अझ यस्ता उद्योगहरू ग्रामीण क्षेत्रमा खोलिनु उपयुक्त हुने हुँदा ग्रामीण उद्यमीसँग पर्याप्त मात्रामा लगानी गर्ने साधन तथा क्षमता हुनु आवश्यक छ । तर नेपालमा ग्रामीण क्षेत्रमा बसोबास गर्ने किसानहरूसँग पर्याप्त मात्रामा पुँजी छैन । उनीहरूलाई आवश्यक पर्ने ऋण उपलब्ध गराउने संस्थाहरू पनि ग्रामीण क्षेत्रमा स्थापना गर्न सकिएको छैन । यसले गर्दा यस्ता उद्योगहरूको स्थापना तथा सञ्चालनमा कठिनाइ परिरहेको छ ।

कृषिजन्य उद्योगको स्थापनाको लागि बजार, कच्चापदार्थको उपलब्धताजस्ता कुराको अध्ययन आवश्यक हुन्छ । बजार नभएको वस्तुको उत्पादनले साधन र स्रोतको उपयोगलाई गलत बाटोतिर लैजान्छ । त्यस्तै गरी उत्पादित वस्तु बेच्नु पनि त्यत्तिकै आवश्यक कुरा हो । कुन ठाउँमा कस्ता उद्योग स्थापना गर्न सकिन्छ ? तिनीहरूबाट कति उत्पादन लिन सकिन्छ ? कहिलेसम्म त्यहाँ उत्पादन कार्य जारी राख्न सकिन्छ ? कति लगानीको आवश्यकता पर्दछ भन्नेजस्ता कुराको सही पहिचान गर्नको लागि व्यापक अध्ययन तथा अनुसन्धानको आवश्यकता पर्दछ । तर नेपालमा सबै कृषिजन्य उद्योगको सम्भाव्यताका बारेमा अध्ययन हुन सकेको छैन । अध्ययनको अभावले कच्चापदार्थ तथा सीमित पुँजी पनि सही तरिकाले उपयोगमा आउन नसकेको देखिन्छ । जुनसुकै किसिमका उद्योगको विकासका लागि पानी, बाटो, विद्युत्, सञ्चारजस्ता आधारहरूको आवश्यकता पर्दछ । अझ कृषिजन्य कतिपय कच्चापदार्थ तथा उत्पादन चाँडै नष्ट हुने प्रकृतिका हुन्छन् । किसानबाट उत्पादन भइसकेपछि उपभोक्तासमक्ष पु-याउन्जेलसम्म संरक्षणको आवश्यकता पर्दछ । तर नेपालमा यस्ता पूर्वाधारको सबै ठाउँमा उचित किसिमले विकास हुन सकेको छैन । अझ कृषिजन्य उद्योगको लागि प्रतिकूल अवस्था छ । यस्ता उद्योगहरू ग्रामीण क्षेत्रमा स्थापना गर्नुपर्ने हुन्छ तर त्यस्ता उद्योगका लागि आवश्यक आधारहरू ग्रामीण क्षेत्रमा छैनन् । यसले गर्दा कृषिजन्य उद्योगको समुचित विकास हुन सकिरहेको छैन । कृषि व्यवसायको विकास तथा विस्तारले औद्योगिक विकासमा सघाउ पु-याउँदछ । नेपालमा विगतदेखिका औद्योगिक क्रियाकलापलाई हेर्दा कृषिक्षेत्रबाट साधनहरू प्राप्त गरी प्रशस्तमात्रामा उद्योगव्यवसायहरू सञ्चालनमा रहेको पाइन्छ ।

विसं २०५२ सालमा ल्याइएको दीर्घकालीन कृषि योजनाको कार्यान्वयनपछि सन् २०१५ देखि सन् २०३५ को २० वर्षे अवधिको लागि कृषि विकास रणनीति लागू गरिएको छ ।

कृषिप्रधान देश हुनाले प्राचीनकालदेखि नेपालमा विभिन्न प्रकारका कुटी र उद्योगहरू चलाइएका छन् । यसमा मुख्य हाते तानमा घरबुना, खाडी, प्रटासी, आदि सुती कपडा बुनिन्छ । यो व्यवसाय पहाड, तराई, उपत्यका सबैमा चल्दछ । पोखरा, मोरङ, टोखा, धुनी बेँसी, सेरावेशी आदि बेतका मेच र अन्य वस्तुहरू बनाउने प्रख्यात ठाउँहरू हुन् । बुट्टा भर्ने, रङ्ग भर्ने, मोजा बुन्ने, पडाका जुत्ता बुन्ने आदि सहरी क्षेत्रका मुख्य कुटी र साना उद्योगहरू हुन् । खेती गरेर उत्पादन भएको वस्तुको आधारमा सञ्चालन भएका कुटी र उद्योगलाई कृषि उपजमा आधारित कुटी र उद्योग भन्दछन् । चामल, तेल, पिठो, फलफूल, दुध प्रशोधन आदि उद्योग कृषि उत्पादनमा आधारित कुटी र उद्योगहरू हुन् । पलान्चोक, पोखरा, सेराबेँसी, नेपालगञ्ज र टोखामा उखु पेलेर सखर चाकु बनाउने काम हुन्छ । फलफूल उद्योग भद्रपुर, विराटनगर र काठमाडौंमा सञ्चालित छन् । यस उद्योगअन्तर्गत नेपाली कागज उद्योग प्रख्यात छ । खासगरी नेपाली कागज र पूर्वीय पश्चिमी पहाडी क्षेत्रमा प्रख्यात छन् । कुनै खासगरी उत्ररी पहाडी भागमा आधुनिक प्रकारको कागज उद्योग स्थापना गरिएको छ । बनेपा, पनौती, चौतारा आदिमा पनि नेपाली कागज उत्पादन गरिन्छ । राडी, पाखी, गलेबन्दी, बखु आदि बुन्ने काम यसअन्तर्गत पर्दछ । जनावरको रौंबाट यी कार्यहरू खासगरी शेर्पा, गुरुङ, मगरहरू लागेका छन् । खासगरी उत्तर, दक्षिण उचाइ क्षेत्रमा यसको कार्य सञ्चालन गरिएको छ । भोटे र शेर्पाहरूले चौरीको दुधबाट छुर्पी बनाउँछन् ।

ढलौटको मूर्ति, घण्टा, भाँडावर्तनहरू आदि बनाउने यस उद्योगअन्तर्गत पर्दछ । पाटनमा क्युरियोका सामान, हस्ती हाड बनाउने प्रख्यात छ । पित्तलको भाँडा बनाउने काममा पाल्पा प्रख्यात छ । ठूला सहरहरूमा सुन, चाँदी, हिरामोतीका गहनाहरू बन्दछन् । धातुकला, मूर्तिकला, चित्रकला, काष्ठकला र अन्य क्युरियोका सामान उत्पादन गर्ने उद्योगहरू र पर्यटन सहायक कुटी र उद्योगमा गनिन्छन् । हाम्रो देशमा वर्षेनी लाखौँ पर्यटकहरू आउँछन् । उनीहरू नेपालको धानुकला, मूर्तिकला र काष्ठकलादेखि ज्यादै प्रभावित हुन्छन् । प्याकिङ बट्टा बनाउने, सिसी बनाउने, जुटबोरा बनाउने आदि कामहरू यस कुटी र उद्योगअन्तर्गत पर्दछन् । चिनी कारखाना, मैदामिल, चामल उद्योगलाई जुटबोरा आवश्यक हुन्छन् । ती कारखानाहरूले आवश्यक जुट कुटी र उद्योगलाई तयार गर्न लगाउँछन् ।

नेपालको आर्थिक विकासमा घरेलु तथा साना उद्योगको पुरातनालदेखि नै विशिष्ट स्थान रहेको छ । हाम्रो समाजले स्वदेशी घरेलु उद्योगबाट धेरै कुरामा आफ्नो आवश्यकताको पूर्ति गरी आएको छ भने कुरा कौटिल्यको अर्थशास्त्र र चिनियाँ यात्रुहरूको बयानबाट थाहा हुन्छ । नेपालमा बनेको मालसामानको सराहनी सम्राट चन्द्रगुप्तका मन्त्री चाणक्यलेपनि गरेका छन् । वास्तवमा किराँतीहरूको पालामा हस्तकला र व्यापार कृषि भन्दा विकसित र उन्नत अवस्थामा थियो भने कसै–कसैको भनाइ छ । नेपाली हस्तकला तथा शिल्पकलाको प्रमुख विशेषता के देखिन्छ भने शुरु पूर्वकाल देखि १९औँ शताब्दीसम्म यसको क्षेत्र केही वस्तुहरूको उत्पादन गर्ने कार्यमा मात्र सीमित नरही ज्यादै विस्तृत तरिकाले फैलिएको देखिन्छ । त्यस बेलाका मानिसहरू खाद्यान्न प्रशोधन गर्ने साधारण कामदेखि लिएर कपडा बुन्ने, खानी खन्ने, खानीबाट निस्किएको घाउ बगाल्ने, कडा धातु गलाई सामान बनाउने आदि स्थिर ज्ञान चाहिनेजस्तो काम पनि गर्दथे । अठारौँ शताब्दीसम्म नेपाल आउने युरोपीय पर्यटकहरूले नेपालीहरूले हातले तयार गरेका सुर्ती, ऊनी कपडा, फलाम, तामा, पित्तल तथा ढलौटका विभिन्न सामानहरूको उत्कृष्ट नमूनाहरू हेर्ने मौका पाएका थिए ।

नेपालको प्राचीन हस्तकला र साना उद्योगहरूको नाउँमा ढिकी चलाउनेजस्तो सामान्य कामदेखि लिएर कपडा बुन्ने, खानी खन्ने, धातु पगाली मूर्ति बनाउनेजस्ता गाह्रा कामहरू र ठूलो कुशलता चाहिने कलापूर्ण वस्तुहरूको उत्पादन गर्नमा समेत नामी थिए । नेवार र मगरहरूले बुन्ने खाडी र चांगा ज्यादै सुन्दर र बलिया थिए । गुरुङ र लिम्बुहरूले बुन्ने उनी वस्तुहरू भोटेहरूले बुनेको भन्दा मसिना थिए । धागो कात्ने र कपडा बुन्ने कार्य नेपालमा अधिकतम मात्रामा अततीदेखि आजसम्म गरिँदै आएको छ । धागो कात्ने र कपडा बुन्ने कलामा नाम कमाएका केन्द्रहरू काठमाडौं र पोखराका धेरैजसो भागहरू गोर्खा, नेपालगञ्ज, लमजुङ, जुम्ला आदि हुन् । यस कार्यमा धेरैजसो महिलाहरू नै लागेका छन् । तर हाल भने नेपालमा खासगरी सहरी क्षेत्रमा अन्य विदेशबाट आएका सस्ता र आधुनिक डिजाइनदार सुती र सिन्थेटिक पडाहरूले बजार ढाकिएको हुँदा मानिसहरूको मागमा ठूलो परिवर्तन आई सहरी क्षेत्रमा घरेलु उद्योगबाट उत्पादित वस्तुहरूको मागमा ज्यादै कमी हुनगएकोले कपडा बुन्ने कार्य खाली ग्रामीण क्षेत्रमा मात्र सीमित हुनगएको छ ।

उद्यमव्यवसाय सञ्चालन गर्न, वस्तुहरू बजारमा बिक्रीवितरण गर्न तथा उत्पादन प्रविधिमा समसामयिक सुधार गर्न दक्ष जनशक्तिको आवश्यकता पर्दछ । तर नेपालमा कृषिशिक्षा तथा त्यससम्बन्धी तालिमको अभावको कारणले गर्दा यस क्षेत्रलाई प्रवद्र्धन गर्नसक्ने जनशक्तिको अभाव रहेको छ । ग्रामीण क्षेत्रमा छरिएर रहेका कच्चा पदार्थलाई समेटी गुणस्तरीय उत्पादनमा परिणत गर्न आवश्यक पर्ने जनशक्तिको अभावमा कतिपय उद्योगहरू सञ्चालन गर्न सकिएको छैन । त्यस्तै उत्पादित वस्तु उपभोक्तासमक्ष समयमै पु-याउन पनि त्यत्तिकै कठिन छ । जनशक्तिको अभावको कारणले प्रविधिमा समयानुकूल सुधार गर्न कठिन देखिएको छ । यी सबै कारणहरूले गर्दा नेपालमा कृषिजन्य उद्योगको महत्व तथा व्यापक सम्भावना रहँदारहँदै पनि आवश्यक गतिमा विकास गर्न सकिएको छैन । कृषिजन्य उद्योगहरूको कच्चा पदार्थको मूल आधार नै कृषिउत्पादन हुन् । यस्ता उद्योगको सफलता तथा दीर्घकालीन सञ्चालन कृषिउत्पादनमा भर पर्दछ । यसअर्थमा कृषिजन्य उद्योगलाई दीर्घकालसम्म सञ्चालन गर्नका लागि कृषिको उत्पादन बढाउनुपर्दछ । लामो समयसम्म प्रायः स्थिर रहेको उत्पादकत्वको अवस्थामा सुधार ल्याउनु पनि आवश्यक छ । खाद्यान्न तथा नगदेबालीको उत्पादन बढ्न सकेमा उद्योगहरू फस्टाउन सक्ने हुँदा मल, बीउ, प्राविधिक जनशक्ति, साखको सुविधा तथा अन्य सहयोग जुटाई यस्ता वस्तुको उत्पादन बढाउन सकिन्छ । नेपालको ग्रामीण क्षेत्रमा रहेका अधिकांश किसानहरू पशुजन्य पदार्थ, तरकारी, फलफूल बिक्री गर्न हुँदैन भन्ने मान्यतामा विश्वास गर्दछन् । देशको कुल गार्हस्थ्य उत्पादनको एक तिहाइभन्दा बढी कृषि क्षेत्रबाट प्राप्त हुने र करिब दुई तिहाई जनसंख्या रोजगारी तथा जीविकाका लागि यस क्षेत्रमा निर्भर रहने भएकोले नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको स्पष्ट छ ।

आर्थिक सर्वेक्षण, आर्थिक वर्ष २०७८/७९ मा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षमा कृषि कर्जा तथा साना किसानका लागि लगानीअन्तर्गत २०७८ फागुनसम्म कुल ७६ जिल्लाका ५३८ (७१ प्रतिशत) स्थानीय तहमा साना किसान वित्तीय संस्थाको सेवा पुगेको छ । यस अवधिमा ग्रामीण स्वावलम्बन कोषतर्फका तीन सय तीन र साना किसानतर्फका नौ सय ७२ गरी कुल १२ सय ७५ सहकारी संस्थाहरू आबद्ध छन् । यी संस्थाहरूमा सेवा प्राप्त परिवार सङ्ख्यामा २०७८ फागुनसम्म १० लाख १० हजार आठ सय ४३ पुगेको छ । साना किसान सहकारी अनुशरणका माध्यमबाट स्थापना हुने क्रममा रहेका थप एक सय ६७ संस्था र सोमा संलग्न सदस्यहरू समेत जोड्दा झण्डै ११ लाख परिवारमा साना किसान सहकारी संस्थामा सेवा पुगेको छ । यसबाट ५० लाख जनसंङ्ख्या लभान्भित भएको अनुमान छ । २०७८ को फागुनसम्म साना किसान विकास कार्यक्रमअन्तर्गत सहकारी संस्थाहरूबाट साना किसानहरूलाई गरेको कर्जा लगानी २०७७ फागुनको तुलनामा २६ प्रतिशतले वृद्धि भई ७९ अर्ब ३१ करोड १२ लाख पुगेको छ । साना किसान सदस्यहरूको सेयर, बचत र जगेडा कोषमा २०७७ फागुनको तुलनामा २०७८ फागुनमा मसान्तको २४ प्रतिशतले वृद्धि भई कुल ५८ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ पुगेको छ । २०७८ फागुनसम्म साना किसान वित्तीय संस्थाबाट २८ अर्ब २५ करोड ५१ लाखबराबरको कृषि कर्जा प्रवाह भएको छ । आर्थिक वर्ष २०७७७८ मा अघिल्लो आर्थिक वर्षको तुलनामा कृषि कर्जा प्रवाहमा २७ दशमलव ९ प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा कृषि कर्जा प्रवाहमा २० दशमलव ६ प्रतिशतले मात्र वृद्धि भएको थियो ।

२० देखि ३० वर्ष उमेर समूहका कम्तीमा १२ कक्षा पास गरेका साना किसान सदस्यका ३१ सय ६२ जना छोरोछोरीलाई इजलरायलमा कृषिसम्बन्धी सैद्धान्तिक र व्यावहारिक तालिमको अवसर प्रदान गरिएको छ । जसमध्ये ३१ सय ४५ जना तालिम लिई नेपाल फर्किएका छन् । बाग्मती प्रदेश सरकारको सहकार्यमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि एक अर्ब ६० करोडबराबरीको सहुलियतपूर्ण ऋण कार्यक्रम सञ्चालनमा छ । आर्थिक वर्ष २०७७/७८ देखि सुरु भएकोले यो कार्यक्रममा २०७८ फागुनसम्म एक अर्ब ७२ लाख लगानी भएको छ । २०७८ असार मसान्तसम्म कोभिड १९ बाट मृत्यु भएका साना किसानका परिवारलाई वित्तीय संस्थाको ग्राहक संरक्षण कोषबाट प्रतिमृतक १० हजार सहयोग उपलब्ध गराउने व्यवस्था रहेको छ  । यसअन्तर्गत एक हजार २१ सदस्यको मृत्यु भई एक करोड दुई लाख १० हजार रुपैयाँ राहत रकम भुक्तानी गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म चियाको निर्यात दुई अर्ब २२ करोड र कफीको निर्यात चार करोड ८२ लाख रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा यस्तो निर्यात क्रमशः तीन अर्ब र पाँच करोड ५२ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म एक अर्ब ४७ करोडबराबरको दुग्धपदार्थ पशुजन्य खाद्य उत्पादन आयात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा यस्तो आयात एक अर्ब ३६ करोडबराबरको रहेको थियो ।

पन्ध्रौं योजना २०७६—२०८१ मा कृषि विकास कार्यक्रमअन्तर्गत खाद्य तथा पोषण सुरक्षा तथा खाद्य सम्प्रभूतासहितको दिगो प्रतिस्पर्धी एवं समृद्ध कृषि अर्थतन्त्र बनाउने सोच लिइएको छ । प्रतिस्पर्धी जलवायुअनुकूल आत्मनिर्भर एवं निर्यातमुखी उद्योगको रूपमा कृषि क्षेत्रलाई रूपान्तरण गर्दे समावेशी र दिगो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ । साथै कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्नु, कृषिमा आधारित उद्योगको विकास गरी रोजगारी तथा आम्दानी वृद्धि गर्नु, व्यवसायीकरण तथा प्रतिस्पर्धात्मक क्षमता विकास गरी कृषि क्षेत्रको व्यापार सन्तुलन गर्ने उद्देश्य पनि राखिएको पाइन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #page 2

तपाईको प्रतिक्रिया