Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकामीरिताको साहसिक कर्म !

कामीरिताको साहसिक कर्म !


काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै धेरै पटक (२६औँ पटक) सगरमाथा चढ्ने कीर्तिमान बनाएका छन्, नेपालका ‘लिजेन्डरी’ पर्वतारोही तथा हिमाल आरोहण क्षेत्रका सफल गाइड कामीरिता शेर्पाले । उनले सबैभन्दा पछिल्लो पटक गत वैशाख २३, २०७९ मा सगरमाथा आरोहीहरूका लागि बाटो बनाउँदै डोरी टाँग्दै यो सिजनको प्रथम सगरमाथाा आरोही पनि बनेका छन् । उनीसँगै उनका सहयोगीहरू समेत ११ जना सो दिन सगरमाथाको शिरमा पाइला राख्न पुगेका थिए । संभवतः उनले फेरि आफ्ना क्लाइन्टहरूसँग यो सिजनमा अर्को एक पटक सगमाथाको शिरमा पाइला राख्ने छन् । हुन पनि गत वर्ष (सन् २०२१) मा नै उनले विश्वकै अग्लो हिम चुचुरो सगरमाथा/एभरेस्ट अर्थात् ‘चोमोलुङ’को शिरमा २५औँ पटक मानव पाइला राख्न सफल भएका थिए । स्मरणीय छ, सगरमाथा आरोहण गर्न जाने विदेशी टोलीहरूलाई फाइनल रूपमा आरोहण गर्न लानु÷जानुअघि डोरी टाँग्ने गरिन्छ ।

निश्चय नै उनको सो साहसिक कर्म नेपाल र नेपालीहरूका लागि मात्रै नभएर विश्व पर्वतारोहण जगत र विश्वका पर्वतारोही प्रेमी जनहरूका लागि पनि एक अविस्मरणीय घटना हो । किनभने कामीरिताले सगरमाथा आरोहणमा राखेको २६औँ पटकको ‘विश्व कीर्तिमान !’ ‘लर्तरो र सानोतिनो काम पक्कै पनि हुँदै होइन । हुन पनि विश्वको सबैभन्दा अग्लो हिम चुचुरो सगरमाथाको शिरमा यसरी २६औँ पटक मानव पाइला राख्ने काम विश्वका धेरै कम मानिसहरूले मात्रै गर्न सक्ने/राख्न सक्ने दुर्लभ कीर्तिमान पनि हो भन्न सकिन्छ ।

त्यसो त उनले तीन वर्षअघि (सन् २०१९ मा) २४औँ पटक सगरमाथा आरोहण गरेर फर्केपछि आफूले ‘विश्व कीर्तिमान’ राख्नकै लागि भनेर २४औँ पटक सगरमाथा आरोहण गरेको नभएर कर्म गर्ने क्रममा (स्मरणीय छ, उनी पर्वतारोहीका साथै हिमाल आरोहण क्षेत्रका सफल गाइड/सरदार पनि हुन् ।) चढेको हुनाले र सगरमाथा चढ्न आउने विदेशीहरूलाई अझै केही वर्ष सगरमाथा चढाउने क्रम जारी रहने हुनाले २८, २९, ३०, ३१औँ पटक पनि सगरमाथाको चुचुरोमा पुग्न/चढ्न सक्ने भनी अन्तर्वार्ता दिने क्रममा बताएका थिए । त्यसैले अझै पनि यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने क्रम जारी रहेकोले गर्दा यही वसन्त ऋतुको मौसममा कामीरिता शेर्पाले २७औँ पटक सगरमाथा आरोहण गर्नुहुने सम्भावना पनि कायमै रहेको छ । संभवतः आजभोलि नै ‘२६औँ पटक सगरमाथा चढेर विश्व कीर्तिमान राखिसकेका पर्वतारोही कामीरिता शेर्पाले २७औँ पटक सगरमाथा हिम चुचुरो चढे’ भन्ने अर्को सुखद समाचार फेरि पनि आउने/सुन्ने सम्भावना छँदैै छ ।

यसरी कर्म गर्दागर्दै विश्व पर्वतारोहण इतिहासमा २६औँ पटक सगरमाथाको चुचुरोमा मानव पाइला राख्न सफल भएका कामीरिता शेर्पाले सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा कर्म गर्न सुरु गरेका थिए भने, सन् १९९४ मा पहिलो पटक सगरमाथा चढ्न सफल भएका थिए । त्यस्तै सन् १९९८ देखि सफल गाइड/सरदारको जिम्मेवारी बहन गर्दै आएका छन् । सो क्रममा उनले सन् २००९ (मे ५ र २३), सन् २०१० (मे ५ र २४) र सन् २०१३ (मे १० र २२) मा एकै सिजनमा दुई–दुई पटक सगरमाथा चढेका थिए ।

तर, उनी आफूले रोजीरोटी गर्ने र जीवन निर्वाह गर्ने क्रममा २५ वा २६ अथवा २७औँ पटक सगरमाथा शिखरको चुचुरो चुम्न सफल भएका भए पनि नेपालका पर्वतारोही तथा पर्वत आरोहणमा गाइडको काम गर्ने हाई एल्डिच्युड कामदार (खास गरी शेर्पा गाइड)हरूप्रति नेपाल सरकारको बेवास्ता रहेको भन्ने सम्बन्धमा भने ठूलो गुनासो रहने गरेको छ, कामीरिता शेर्पाको । वास्तवमा कामीरिता शेर्पाजस्ता पर्वतारोहण क्षेत्रमा अद्भूत व्यक्तित्व बनाएका र नेपालका मात्रै नभएर विश्वभरिकै पर्वतारोहीहरूमाझ ‘लिजेन्डरी’ व्यक्तित्व बनाएका व्यक्तित्वले नेपालका पर्वतारोही तथा पर्वत आरोहणमा गाइडको काम गर्ने हाई एल्डिच्युड कामदार (खास गरी शेर्पा गाइड)हरूप्रति नेपाल सरकारको बेवास्ता रहेको भन्ने जुन गुनासो वा दुःखेसो गरेका छन्, सो सम्बन्धमा भने हामी नेपालीहरूले खासगरी, सम्बन्धित निकाय (नेपाल सरकार)ले एक पटक ठण्डा दिमागले सोचविचार गरेर तुरुन्तै सकारात्मक ढंगको प्रतिफल दिने गरी कदम चालिहाल्नुपर्ने देखिन्छ । अन्यथा नेपालका पर्वतारोही तथा पर्वतारोहणमा गाइडको काम गर्ने हाई एल्डिच्युड कामदार (खास गरी शेर्पा गाइड)हरू नेपाली उखान ‘भिल्लको देशमा मणि’ भनेझैं हुनुपर्ने देखिन्छ ।

विश्वकै अग्लो हिम शिखर सगरमाथा आरोहण र त्यसमाथि मानव निर्मित कीर्तिमानहरूको ओइरो नै लागेको छ । त्यसरी सगरमाथा आरोहण र त्यसमाथि मानव निर्मित कीर्तिमानहरूको ओइरोको सम्बन्धमा भन्नुपर्दा धेरैजसो नेपाली शेर्पाहरूले नै यस्तो कीर्तिमानहरू राख्ने गरेको देखिन्छ । जस्तैः यसअघि नै आप्प शेर्पाले २१ पटक र फुर्वाटासी शेर्पाले पनि २१ पटक नै सगरमाथा शिखरको चुचुरोमा पाइला राख्न सफल भइसकेका छन् । त्यस्तै स्वर्गीय भइसकेका नेपालकै सुन्दरे शेर्पा, आङथार्के शेर्पा, जाङबु शेर्पा, पासाङल्हामु शेर्पा, आङरिता शेर्पा, बाबुछिरी शेर्पालगायतले पनि सगरमाथा आरोहण गर्ने क्रममा त्यतिबेलै विभिन्न खाले कीर्तिमानहरू राखिसकेका छन् । त्यस्तै भविश्यमा पनि सगरमाथा शिखर चढ्ने क्रममा कयौँ नेपाली (शेर्पा)हरूले अनेक कीर्तिमान राख्ने नै छन्, यसमा कुनै शंका छैन । तर, अहिले नै किटेर भन्न सकिने कुरोचाहिँ भएन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया