Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगओस्टियोपोरोसिस (हड्डी मक्किने रोग)बाट कसरी जोगिने ?

ओस्टियोपोरोसिस (हड्डी मक्किने रोग)बाट कसरी जोगिने ?


काठमाडौं । ओस्टियोपोरोसिस भनेको हड्डी खोक्रो, कमजोर तथा पातलो हुनु हो । हड्डी शरीरमा हुने एउटा जीवित तन्तु हो, जसले मानवशरीरको अस्थिपञ्जर, ढाँचा, बनावट, गति र चाल एवं भित्री अंगहरूको सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । शरीरमा हड्डीका तन्तुहरू निरन्तर नयाँ बन्ने र नष्ट हुने प्रक्रिया चलिरहेको हुन्छ । नयाँ हड्डी बन्ने प्रक्रयाभन्दा खिइने (गुमाउने) प्रक्रिया बढी भएमा ओस्टियोपोरोसिसको विकास हुन्छ । अर्थात् मानव शरीरमा निरन्तररूपमा नयाँ हड्डी बन्ने र पुरानो हड्डी नाश हुँदै जाने प्रक्रियाको सन्तुलन नभएमा ओस्टियोपोरोसिस हुन्छ । जसले गर्दा हड्डी कमजोर हुन गई सामान्य चोटपटक लाग्दा पनि हड्डी बाङ्गो हुने र भाँचिने समस्या हुन सक्छ । जसमा मुख्यतः काछ, मेरुदण्ड र नाडीको हड्डी पर्दछन् । हाडको खोक्रोपन कुन अवस्थामा छ भनेर सूक्ष्मदर्शक यन्त्रको सहयोगले पनि जाँच गर्न सकिन्छ । तन्दुरुस्त हड्डी माहुरीको चाकाजस्तो खँदिलो हुन्छ भने मक्किएको हड्डीका तन्तुहरू त्यति खँदिलो नभएर खाल्डो अथवा खोक्रोपन बढी भएको अवस्थामा रहेको हुन्छ ।

No description available.

यो रोग ४० प्रतिशत जति महिला र १३ प्रतिशत जति पुरुषहरूमा ५० वर्षको उमेर नाघेपछि देखा परेको विभिन्न अध्ययनहरूमा पाइन्छ । विशेषगरी छिट्टै रजस्वला चक्र रोकिएका महिलाहरू उच्चतम जोखिममा पर्दछन् । तर नेपालमा कति प्रतिशत मानिसमा ओस्टियोपोरोसिस छ भनेर अनुमान लगाउनुबाहेक यकिन तथ्यांक उपलब्ध छैन ।

ओस्टियोपोरोसिस कसरी पत्ता लगाउने ?
मानव शरीरको हड्डीमा रहेको खनिज पदार्थको घनत्व ९द्ययलभ ःष्लभचब िम्भलकष्तथ–द्यःम्० को जाँचबाट हड्डीको कमजोरपन अथवा मक्किएको कति छ भन्ने कुरा पत्ता लगाई समयमै उपचार सुरु गरेमा हड्डी मक्किने र भाँचिने प्रक्रियालाई रोकथाम गर्न सकिन्छ । डेक्सा स्क्यानको मद्दतले बीडीएम पत्ता लगाउन सकिन्छ । यद्यपि, नेपालमा यस्तोखाले जाँच अझै पनि सर्वत्र सजिलै उपलब्ध हुन सकेको छैन र यो रोगलाई सरकारी तबरबाट खासै महत्व नदिएको अवस्था छ ।

ओस्टियोपोरोसिसका लक्षणहरू के–के हुन् ?
सामान्यतया प्रारम्भिक चरणमा हड्डी कमजोर भए पनि लक्षणहरू नदेखिन सक्छ । ओस्टियोपोरोसिस बढ्दै गएर जब अझ बढी हड्डी कमजोर भइसकेको हुन्छ, तब मात्र यसका लक्षणहरू देखा पर्दछन् । सिधा बस्न तथा हिँडडुल गर्न कठिनाइ हुने, ढाड दुख्ने, विभिन्न जोर्नीहरू दुख्ने, अररो हुने, सानो चोटपटकले पनि अनपेक्षितरूपमा हड्डी भाँचिनेलगायत मेरुदण्डका हड्डीहरू खुम्चिएर एक–अर्कामा लिप्त हुँदा शरीरको उचाइ घट्ने र कुप्रो पर्ने यसका लक्षणहरू हुन् । प्रायजसो अवस्थामा हाड भाँचिइसकेपछि मात्रै ओस्टियोपोरोसिस निदान भएको हुन्छ ।

ओस्टियोपोरोसिस हुने जोखिम कसलाई बढी हुन्छ ?
उमेर जति बढ्दै जान्छ, हड्डी खिइने तथा हड्डी कमजोर हुने सम्भावना उति नै धेरै हुन्छ, त्यसैले ओस्टियोपोरोसिस हुनुको प्रमुख कारण बढ्दो उमेर नै हो । अझ क्याल्सियम र क्याल्सियमयुक्त खानाको सेवन कम गर्ने मानिसमा यसको समस्या अझै धेरै हुने सम्भावना हुन्छ ।

त्यसैगरी, ५० वर्षभन्दा माथिको उमेर, कम तौल, टेस्टोस्टेरोन र एस्ट्रोजेन नामक हर्मोनको कमी, प्रोस्टेट ग्रन्थीसम्बन्धी समस्या भएका व्यक्तिहरू, स्तन क्यान्सरको बिरामी, धूमपान, सुर्तीजन्य पदार्थ सेवन, अधिक मदिरापान, पोषणरहित आहारलगायत कोर्टिकोस्टेराइड तथा हाइपरथाइराइडिज्मको समस्या भएका व्यक्तिले सेवन गर्ने औषधिको प्रतिअसरको परिणामस्वरूप पनि ओस्टियोपोरोसिसको समस्या हुने गर्दछ । विशेषगरी एसियन मुलका महिलाहरू, छिटो रजस्वला सुकेका महिलाहरू, हाडजोर्नीसम्बन्धी अन्य रोग लागेका व्यक्तिहरू, मिर्गाैलाको समस्या, आमाशय तथा आन्द्रासम्बन्धी रोगहरू, बाथरोग तथा बाथजन्य रोगहरूको उपस्थिति, शारीरिकरूपले निष्क्रिय जीवनशैली भएका व्यक्तिहरू पनि ओस्टियोपोरोसिस हुनसक्ने उच्च जोखिम वर्गमा पर्दछन् ।

ओस्टियोपोरोसिसको उपचार तथा रोकथाम के छ त ?
विभिन्न अवस्थामा ओस्टियोपोरोसिसको कारण र सिकिस्तपनलाई अध्ययन गरी उपचार पद्धति सुरु गरिन्छ । हड्डीमा खनिज पदार्थको अवस्थिति बीएमडी जाँचको सहयोगले अबको १० वर्षमा हड्डी भाँचिने कत्तिको सम्भावना छ भन्ने कुरा अनुमान गरी उपचार सुरु गर्न सकिन्छ । औषधि सेवनलगायत जीवनशैली पद्धतिमा परिवर्तन गरी जोखिमका कारणहरूलाई हटाई रोकथाम गर्न सकिन्छ । क्याल्सियम र भिटामिन डी सेवन गर्नुको साथसाथै विशेषज्ञ चिकित्सकको परामर्श र निकट निगरानीमा विशेष किसिमका खाने औषधिहरू साथै वर्षमा एक पटक जोलेड्रोनिक एसिड सुई दिएर समयमै रोकथाम गर्न सकिन्छ । सन्तुलित भोजन (क्याल्सियम बढी पाइने खानाहरू जस्तैः ताजा फलफूल, बदाम, सागपात, माछा, माछाको तेल, दुध र दुग्ध पदार्थ इत्यादि) सेवन गर्ने, दिनहुँ केही समय घाममा बस्ने (जाडो मौसममा कम्तीमा १५ मिनेट र गर्मी महिनामा १० मिनेट)। जसको मद्दतले शरीरमा प्रशस्त मात्रामा भिटामिन डी प्राप्त भई हाडलाई मजबुत हुन् मद्दत पुग्छ । हरेक हप्तामा पाँच दिन दिनहुँ ३० मिनेट जति शारीरिक व्यायाम गर्दा पनि हड्डी बलियो हुन मद्दत पुग्दछ र ओस्टियोपोरोसिसको समस्याबाट केही हदसम्म टाढा रहन सकिन्छ । सामान्यतया दिनहुँजसो खेल्ने, उफ्रने, नाच्ने, व्यायाम गर्ने र शारीरिकरूपमा बढी सक्रिय रहने व्यक्तिहरूमा ओस्टियोपोरोसिस कम देखिन्छ ।

No description available.

यस्तो समस्याबाट विशेषतः ज्येष्ठ नागरिकहरू पीडित हुने भएकोले उमेर ढल्कँदै जाँदा ढाड दुख्ने समस्या देखिएमा ओस्टियोपोरोसिसको बारेमा पनि हेक्का राख्नु अत्यन्त आवश्यक हुन्छ । बेलैमा समस्याको निदान नभएको खण्डमा दुखाइको मात्र समस्या नभई स–सानो चोटले पनि हड्डी भाँचिने सम्भावना अत्यधिक रहने हुनाले उनीहरूको उमेरअनुसारको गुणस्तरीय जीवनका लागि प्राथमिकताका साथ समस्याको समयमै निदान एवं उपचार हुनु अत्यन्त आवश्यक छ । साथै ओस्टियोपोरोसिसको लागि सम्भाव्य जोखिम वर्गमा पर्ने व्यक्तिहरूले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्दै यसप्रति थप चनाखो हुन जरुरी छ । (लेखक डा. सिग्देल पाटन अस्पताल र आरोग्य स्वास्थ्य सदन, नेपाल बाथरोग उपचार केन्द्रमा कार्यरत वरिष्ठ वाथरोग विशेषज्ञ हुन् ।)


क्याटेगोरी : विचार / ब्लग, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया