Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअसामान्य आर्थिक गतिविधि र आसेपासे अर्थतन्त्र

असामान्य आर्थिक गतिविधि र आसेपासे अर्थतन्त्र


काठमाडौं । आर्थिक वृद्धिका लागि लगानी हुनुपर्छ । लगानीले उत्पादनका प्रक्रियामा जब ऊर्जा दिन थाल्छ, आर्थिक उत्पादन र रोजगारी एकसाथ बढ्न थाल्छ । त्यसपछि अर्थतन्त्रमा गुणक प्रभाव परी अन्य व्यवसायलाई धक्का दिन्छ र समग्र आर्थिक गतिविधि चलायमान हुन्छन् ।

तर नेपालको अर्थतन्त्रमा आर्थिक सिद्धान्त र आर्थिक प्रवृत्ति त्यति मिलेको देखिँदैन । असामान्य अवस्थामा पनि केही आर्थिक वृद्धि हुने र सामान्य अवस्थामा पनि उपलब्धि नदेखिने स्थिति पनि देखिँदै आएको छ । जस्तो कि दश वर्ष सामाजिक द्वन्द्व भएको समयमा पनि सीमान्त आर्थिक वृद्धि भयो, गरिबी सामान्य घट्यो, सहरीकरण बढ्यो । राज्यकोषको स्थिति पनि द्वन्द्वबाट त्यति प्रभावित भएन, बजेटका आकार र आन्तरिक आयमा सामान्य वृद्धि रह्यो ।

२०१९ को नोभेम्बरदेखि फैलिएको महामारीले विश्व अर्थतन्त्रमा ठूलो अवरोध आयो । आर्थिक गतिविधि मात्र हुन नसकेका होइनन् कि जनजीवन पनि गतिशील भएन । नेपालको पनि जनजीवन स्तब्ध हुन गई लगानी, उत्पादन, रोजगारी सबै आर्थिक गतिविधिहरु ठप्प भए । कलकारखाना, व्यापार स्थल र सार्वजनिक क्षेत्रहरुमा बन्दाबन्दी लागू भयो । २०२० त निकै निराशाप्रद थियो भने २०२१ बाट अर्थतन्त्र सामान्यीकरण हुनेतर्फ विस्तारै अघि बढ्यो । अहिले पनि अर्थतन्त्र तङ्ग्रिसकेको छैन, बजेट तथा कार्यक्रमहरु शिथिल अर्थतन्त्रलाई सुधार्न क्रियाशील छन् । तर बैंकहरुले यही अवधिमा धेरै नाफा गरे । आव २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ मा बैंकहरुको नाफा लगातार बढेको यिनीहरुको वार्षिक हिसाबले देखाएको छ । गत आर्थिक वर्ष ‘क’ श्रेणीका २७ बैंकहरुले २३ प्रतिशत नाफा कमाए । कतिपयको अर्थमा बैंकहरुको नाफा स्वाभाविक छैन, कतिपयले आसेपासे पुँजीवादले यस्तै अस्वाभाविक नतिजा देखाउँछ भनिरहेका छन् । केही विचारकहरु त बैंकहरु कति पनि मानवीय देखिएनन्, न आर्थिक नीतिलाई दिगो बनाउन नै लागिपरे भनिरहेका छन् । यस्तो आर्थिक गतिविधिले दिगो अर्थतन्त्रको संकेत गरिरहेको छ त ?

आर्थिक गतिविधिलाई गतिशील बनाउने आर्थिक र गैरआर्थिक कारक हुन्छन् । सैद्धान्तिक रुपमा आर्थिक सिद्धान्त र प्रवृत्ति आकलनका विधिबाट आर्थिक वृद्धिलाई कसरी प्रभाव पर्ला भनेर आकलन गर्न सकिन्छ तर ती मात्र पर्याप्त कारण होइनन् । आर्थिक गतिविधि सञ्चालनका लागि आर्थिक कारण र सामाजिक प्रवृत्ति पनि समान रुपमा जिम्मेवार छन् । आर्थिक सिद्धान्तहरु सामान्यीकृत हुने हुनाले पनि खास परिवेशमा ती कुराहरु हुुबहुु लागू नहुन सक्छन् । जस्तो कि सबैजसो मुलुकहरुले आन्तरिकभन्दा बाह्य ऋणलाई बढावा दिन्छन्, तर जापानले बाह्य ऋण लिँदैन, आन्तरिक ऋण मात्र लिन्छ । आन्तरिक ऋण पनि कुल गार्हस्थ्य उत्पादनको ठूलो सीमामा लिन्छ । नेपालमा आर्थिक र राजनैतिक रुपमा पनि आन्तरिक ऋण मात्र लिनु त्यो पनि ठूलो सीमामा लिनु संवेदनशील विषय हो । यस वर्षको बजेटमा त बाह्य ऋणको अंशभन्दा आन्तरिक ऋणको मात्रा बढी छ ।

आन्तरिक आर्थिक गतिविधिलाई पनि सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारणले प्रभाव पार्छ । त्यसैले सामान्य आर्थिक सिद्धान्त जसरी आर्थिक गतिविधिहरु सञ्चालित छैनन् । आर्थिक सिद्धान्त र मान्यताहरु सामान्यतामा आधारित हुन्छन् ।

आर्थिक गतिविधि खासै चलायमान नभएको समयमा पनि सीमित रुपमा भए पनि गरिबी घट्नु, सहरीकरण बढ्नु र सामाजिक सूचकमा परिवर्तन देखिएका छन् । समाजमा बढेको चेतनाको स्तरका कारण मानवीय व्यवहारमा परिवर्तन आयो, जसमध्ये केही बाध्यात्मक चयनका रुपमा थियो । जसका कारण मानिसहरु आर्थिक व्यवहारलाई परिवर्तन गर्न बाध्य भए । सुविधा र अवसरका खोजीमा आन्तरिक र बाह्य रुपमा बसाइँ सरे । सहरमा बस्ने मानिसहरुले उच्च तहको सेवा लिन सुरु गरे । सहरहरु व्यवस्थित–अव्यवस्थित रुपमा विस्तार भए । सहरले मजदुरी र ज्याला संरचनालाई परिवर्तन ग-यो । सहरका बासिन्दामा कामको उपलब्धता साथै ज्याला पनि सापेक्षिक बढ्न गयो । केही हदमा जीवन निर्वाहको सहजता आयो । सहरमा गाउँको तुलनामा बढी ज्याला आर्जन गर्नसक्ने स्थिति सिर्जना भयो । ससाना निर्वाह व्यवसाय पनि सञ्चालनमा आए । बाहिर बसाइँ सर्ने व्यक्तिबाट आर्थिक विप्रेषण प्राप्त हुन थाल्यो, जुन जीवन निर्वाह र सहरीकरणका ऊर्जाको रुपमा रह्यो । सामाजिक विप्रेषणका रुपमा प्राप्त भएका सीप, ज्ञान र संस्कारले उत्पादनशील क्षेत्र पायो र गरिबी निवारणमा सहयोग पुुग्न गयो । साथै सरकारले पनि सीमित रुपमा नीति हस्तक्षेपका विधिहरु प्रयोगमा ल्यायो । सहर बजार र केही उत्पादन केन्द्रले मात्र प्रमुख आर्थिक क्रियाकलाप सञ्चलन गर्दै आएका छन् । विराटनगर ग्रोथ कोरिडोर, वीरगञ्ज ग्रोथ कोरिडोर, काठमाडौं उपत्यका, पोखरा उपत्यका, भैरहवा ग्रोथ कोरिडोर र नेपालगञ्जले नै ८० प्रतिशतभन्दा बढी औपचारिक आर्थिक उत्पादन गर्दछन् ।

आर्थिक गतिविधि निकै सीमित हुँदा बैंकहरुले नाफा कमाउनुका पछि केही वस्तुुगत कारणहरु छन् । बैंकहरुको काम नै वित्तीय मध्यस्थता सेवामार्फत नाफा कमाउने हो । त्यसो गर्न बैंकहरुमा जोखिम विश्लेषण क्षमता छ । कहाँ लगानी गर्दा प्रतिफल उच्च भन्ने विश्लेषणपछि मात्र बैंकहरु लगानी स्वीकृत गर्दछन् । नाफाका मामिलामा बैंकहरु अमानवीय नै हुन्छन् । बैंकहरुले सुरक्षित स्थानमा मात्र लगानी गरे, कतिपय ऋण पहिल्यैदेखि पनि थियो, त्यसलाई पुनर्तालिकीकरण गरी नाफा लिइरहे । दोस्रो, कोभिडको महामारीमा नगद प्रवाह कम भएकाले सर्वसाधारणहरु सामान्य स्वास्थ्य सेवा तथा दैनिक आवश्यकता पूरा गर्न पनि ऋण लिन थाले । आर्थिक गतिविधि नबढे पनि उपभोग कर्जा विस्तार भयो । तेस्रो, बैंकहरुले आयातबाट दोहोरो फाइदा हात पारे । पहिलो विदेशी मुद्रा सटहीको फाइदा र दोस्रो प्रतितपत्रको कमिसन । तेस्रो, आयात व्यापारले लगानी जोखिम घट्यो । अर्को फाइदा ब्याजदर बढ्न गई कर्जाको प्रतिफल उच्च भयो । पाँचौँ, सरकारको ट्रेजरीमा पाइने २–३ प्रतिशत ब्याजदर १०–११ प्रतिशतसम्म पुुग्यो । सातौँ, अन्तरबैंक कर्जाले पनि ब्याज बढायो । आठौँ स्प्रेडदर परिर्वतनका कारण पनि नाफा बढ्यो । नवौँ, बैंकहरु ठूलो लगानीमा सुरक्षित खेल खेल्न थाले, त्यो हो रियल स्टेटमा लगानी । निष्क्रिय पुँजीपतिहरु आफ्नो लगानी घर जग्गामा लगाएर बैंकसँग सुरक्षित खेल खेल्न हौसिए । दशौँ तरलता अभावका कारण नेपाल राष्ट्र बैंकले नीति छुट र सहजीकरण पनि ग¥यो । यी कारणले गर्दा आर्थिक गतिविधि नभएको अवस्थामा पनि सामान्य अवस्थाभन्दा बढी ब्याज आर्जन गर्न २७ ‘क’ श्रेणीका ठूला बैंकहरु सफल भए । तर यसले समग्र अर्थतन्त्रलाई स्वाभाविक चलायमान बनाउन भने सकेन । आर्थिक वृद्धिका केही ऐँजेरु देखिए भने केही मात्रामा सतहमा ‘बबल्स’ देखिए ।

मुलुकमा विस्तारै आसेपासे अर्थतन्त्र विकास भइरहेको छ । आर्थिक विकासका लागि व्यवस्थित र दिगो नीति संयन्त्र एवम् रणनीतिबेगर तदर्थ रुपमा लगानी, नाफा, उत्पादन गर्ने क्रियाकलाप नै आसेपासे अर्थतन्त्र हो । यो तत्काल नाफा कमाउने तदर्थ सोच र व्यवहार हो । यस अवस्थामा व्यापारी तथा उद्यमीहरु आफूलक्षित नीति र सहुलियतका लागि नीतिनिर्मातालाई प्रभाव पार्दछन्, अनुरोध गर्दछन् र फाइदा लिन्छन् । नीतिले न आम उद्यमीलाई न्याय गर्छ न दिगो आर्थिक आधार नै बनाउँछ । तत्काल फाइदा लिने र भविष्यको वास्ता नगर्ने सोच उद्यमी तथा व्यापारीमा हुन्छ । घोषित नीति एउटा भए पनि नीतिका छिद्रहरुबाट सीमित लगानीकर्ता/उद्यमीहरु संरक्षित हुुन्छन् । प्रणालीले स्वचालित काम गर्दैन वा गर्न दिइँदैन । यसपछि अनुदार उदारवादको अभ्यास सुुरु हुन्छ । राजनैतिक दल र नीतिनिर्माताहरु आफूसम्बन्धित व्यवसायीलाई संरक्षण गर्न पुग्छन् । छद्मभेषी अर्थतन्त्र विकास हुन्छ, जसको जग दह्रिलो हुँदैन ।

आसेपासे अर्थतन्त्र मात्र होइन, नेपालमा किराया अर्थतन्त्र पनि विकास भएको छ । यो प्रवृत्ति नवौँ योजनादेखि नै विकास हुनथालेको हो । किराया प्रवृत्तिले अर्थतन्त्रका गतिविधिहरुलाई बढाउँछ तर सुरक्षित खेलमार्फत । घर, जग्गा, सेयर, मोटरमा गरिएको लगानी सुरक्षित हुन्छ तर यसले रोजगारी सिर्जना र मूल्य शृंखला विकास गर्दैन । उत्पादन उद्योग र कलकारखानाहरु स्थापनामा खासै ध्यान दिइँदैन । किराया प्रवृत्तिमा बैंक तथा वित्तीय संस्थाहरु लगानीमा जोखिम लिँदैनन्, दीर्घकालीन सोच राख्दैनन् र अर्थतन्त्रलाई कृत्रिमजस्तो कारोबारबाट सुुन्निने बनाउँछन् । ग्रोथलेस लगानी हुन्छ, जबलेस लगानी हुन्छ । भाडा, किराया र कमिसनमा नै अर्थतन्त्र रमाएको हुन्छ । परिणमतः मूल्यवृद्धि, बेरोजगारी, विलासिताका वस्तुको सञ्चय भण्डार हुन्छ । अर्थतन्त्रले सिनर्जी असर देखाउँदैन र बहुसंख्यक सर्वसाधारणहरु समस्यामा पर्दछन् ।

बैंकहरु वित्तीय मध्यस्थता सेवामार्फत बचतकर्ता, आफू र उद्यमी तीनै पक्षलाई नाफा उत्पादन गर्ने पात्र हुन् । यसकारण जहिले पनि नाफा कमाउनका लागि सुरक्षित लगानी गन्तव्य खोजिरहेका हुन्छन् । अहिलेको अवस्थामा जहाँ उच्च प्रतिफल छ, भोलि त्यही क्षेत्र प्रतिफलदायी नहुन सक्छ । त्यसैले नीति र सूचना विश्लेषण, बजार अनुसन्धान र उपभोक्ता चाखको आकलन गरेर नै बैंकहरु तीनपक्षीय नाफा विस्तार गर्न सक्दछन् । वित्तीय संकट भएको समयमा बैंकहरुले लिने लगानी रणनीति र सामान्य अवस्थामा लिने रणनीति फरक हुन्छ । यसर्थ बैक तथा वित्तीय क्षेत्रले दीर्घकालीन नाफाका लागि लगानी रणनीति फेर्नुपर्छ । छोटो अवधिमा धेरै नाफा कमाउनेभन्दा पनि लगातार प्रतिफल दिइरहने क्षेत्रतर्फ रणनीतिक फड्को लिनु आवश्यक छ ।

आर्थिक विकासको प्रधान आधार दिगो आर्थिक वृद्धि हो । तेह्रौँ योजनादेखि स्थापित उच्च, फराकिलो, समावेशी र दिगो आर्थिक वृद्धि गर्ने लक्ष्यलाई चालू पन्ध्रौँ योजनाले पनि निरन्तरता दिएको छ । यस अवस्थामा सर्वसाधारणलाई वित्तीय समावेशिता, शिक्षा र सेवा दिने गरी बैंकहरु परिचालन गर्नुपर्दछ । सरकारी लगानीहरु आर्थिक नीतिका लक्ष्यप्राप्तिमा कठोर हुनुपर्दछ । अहिले बैंकहरु सहर र सुविधा क्षेत्रका संस्था बनेका छन्, गाउँमा लगानी र उत्पादनको सम्भावना छ । बैंकहरु साना सम्भावना, ठूला उद्योग, उत्पादन व्यवसाय र सबैका सेवक भएर परिचालित हुनुुपर्छ । अहिलेको मौद्रिक नीति आर्थिक नीतिको आशयलाई कार्यान्वयन गर्न सक्षम छैन । सहकारीहरु आन्तरिक सुशासनमा कमजोर छन्, वित्तीय जोखिम बढ्दै छ । यसर्थ आर्थिक नीति शिल्पीहरुबीचको सहकार्य पनि आवश्यक छ ता कि बैंकहरु दिगो आर्थिक वृद्धिमा परिचालित हुन सकून् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया