Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआठराई त बिजुलीमय भइसकेको रहेछ

आठराई त बिजुलीमय भइसकेको रहेछ


काठमाडौं । हामीले २०३० सालमा एसएलसीको परीक्षा दिँदा राति पढ्नको लागि मट्टीतेलले बल्ने लालटिन वा कुपी बाल्न पथ्र्यो । लालटिन पनि हुनेखाने परिवारले मात्र बालेका हुन्थे । नत्र कुपी वा धिप्री मात्र हुन्थ्यो । त्यसमा पनि मट्टीतेल पनि फारु गरेर बाल्नु पर्दथ्यो । कतिपयकोमा कुपी त हुन्थ्यो तर कुपीमा हाल्ने मट्टीतेल हुँदैनथ्यो । अझ कमजोर आर्थिक अवस्था भएकाहरू त न कुपी न मट्टीतेल दियालो (सल्लोको भित्रको छिप्पिएको रातो हुर्र बल्ने भाग) बालेर पढ्ने गर्दथे । हाम्रो बा (हजुरबुबालाई हामी बा भनेर बोलाउँथ्यौँ)लाई सल्लाको दाउराबाट दियालो निकाल्ने शोख नै थियो । बन्चरो वा खुर्पा, खुकुरी आदिले दियालो निकाल्नुहुन्थ्यो । जति छिप्पिएको र रातो दियालो निकाल्न बा सफल हुनुहुन्थ्यो उति नै खुसी हुनुहुन्थ्यो । हामी पनि बाले निकालेका राता झरिला दियालो देखेर दङ्ग पर्दथ्यौँ । राति झरिला दियालो बलेको देखेर हाम्रो तनमन नै उज्यालो हुन्थ्यो । पछि लालटिनभन्दा चहकिलो बल्ने माल्दाजुले सानो ढुङ्ग्रोजस्तो सिसा भएको बत्ती ल्याउनुभयो काठमाडौंबाट जसलाई ल्याम्प भन्थ्यौँ । गाउँकै आकर्षण थियो । त्यसबेला हाम्रो कल्पनामा बिजुली थिएन । म २०४९ सालमा तेह्रथुम जिल्ला विकास समितिको सभापति हुँदा सदरमुकाम म्याङलुङ बजारमा समेत स्थानीय खोरुङ्गा खोलाबाट निस्किएको सानो बिजुलीले दुःखले काम चलाएको थियो । केन्द्रीय प्रशारण लाइनको सम्भावना त हाम्रो कल्पनादेखि पनि निकै टाढा थियो । यता निकै वर्षपछि गाउँ त बिजुलीमय भइसकेको रहेछ ।

यति छिटै तेह्रथुमको ग्रामीण क्षेत्र फेदाप आठराईमा केन्द्रीय प्रसारण लाइन जोडिएर गाउँ नै बिजिुलीमय भएकोलाई विशेष नै मान्नु पर्दछ । कुनै वार्षिक योजना वा कार्यक्रममा नपरेको तर राजनीति पहलकदमीले यो काम सम्पन्न भएको देखिन्छ । फेदाप आठराईजस्ता पहाडी ग्रामीण इलाकामा यति छिटै के कारणले विद्युत्को प्रशारण लाइन जोडिन सम्भव भयो ? कसको राजनीति पहुँच र पहलकदमीले यो सम्भव भयो ? यसबारेमा केही छलफल चलाउनु उचित नै हुन्छ ।

फेदाप आठराईका गाउँहरूका घरहरूमा केन्द्रीय प्रशारण लाइन जोडिनुमा तेह्रथुमका नेकपा माओवादी केन्द्रका नेता र हाल कोशी प्रदेशका यातायत मन्त्री दुर्गा चापागाई ‘सचिन’लाई जस जान्छ । सचिनकै राजनीति पहुँच र पहलकदमीले यो सम्भव भएको देखियो । सचिनको घर तेह्रथुमको आठराईमा भएको र उनको राजनीति कार्यक्षेत्र पनि तेह्रथुम नै भएकोले उनले आफ्नो जन्मक्षेत्र र राजनीति कर्मक्षेत्रमा मौका मिलेको बेलामा जनताको मन जित्ने कुनै विकासको उपहार लिएर जानु स्वाभाविकै हो ।

सचिन माओवादी नेता वर्षमान पुनः ऊर्जामन्त्री भएको बेलामा उनका स्वकीय सचिव थिए । यही मौकामा उनले विकासको चौका हाने । सचिनले स्वकीय सचिव भएको बेला राजनीति लाभ लिए । यो व्याक्तिगत नभएर विकासको लाभ थियो । निजी लाभ नभएर समुदायको लागिको लाभ थियो । धेरैले मन्त्रीको त्यसमा पनि जलस्रोत तथा ऊर्जाजस्तो आकर्षक मन्त्रालयमा मन्त्रीको स्वकीय सचिव भएको मौकामा भरमग्दुर व्याक्तिगत लाभ लिन पछि पर्दैनन् तर सचिनमा यतातिर ध्यान गएको देखिएन । सामूहिक विकासमा मात्रै ध्यान दिएको पाइयो । जसको कारणले आठराई फेदापले सोचेको भन्दा छिटै बिजुलीमय हुन पायो । कामको मूल्यांकन राजनीति आस्था आग्रह पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष भएर गर्नुपर्दछ । आठराई फेदापका ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइनमा जोडिएको बिजुली गाउँभरि वितरण मात्र भएको होइन कि काठका खम्बाहरू विस्थापितत भएर स्टिलका खम्बाहरू पनि गाडिएका छन् । जसको कारणले धेरै गर्दा धेरै लामो समयसम्म फेदाप आठराईका जनतालाई दिगोरूपमा बिजुलीको सेवा लिने आधार बनेको छ ।

आठराई पहाडी ग्रामीण क्षेत्रमा शिक्षा र चेतनामा धेरै अघि बढेको क्षेत्रमा गनिन्छ । नेपालको ग्रामीण क्षेत्रमा जनस्तरबाट २०१७ सालमा स्थापित भएको तत्कालीन वीरेन्द्र इन्टर कलेज हाल तेह्रथुम क्याम्पस जेठो संस्था हो । जसले त्यो भेगमा राजनीतिक तथा शैक्षिक जागरणमा ठूलो भूमिका छ । निकट भविष्यमा जेठो क्याम्पस भएको गाउँ चुहानडाँडाको थुम्कीमा हवाई मैदान बन्ने योजनामा छ । यस्तोमा केन्द्रीय प्रसारणलाइन जोडिनु सबै किसिमले उचित भएको छ । २०३३ सालसम्म आठराई तेह्रथुम जिल्लामा नै थियो । २०३३ सालको सरकारको निर्णयले आठराईको आधा भाग ताप्लेजुङ जिल्लामा गाभियो । भौगोलिक अनुकूलता मिलाउन यसो गरिएको भनिएको थियो । ताप्लेजुङतिरको आठराईमा पनि यसरी नै विद्युत्को केन्द्रीय प्रसारण लाइन जोडिएको वा स्थानीय उत्पादनले झिलिमिली भएकै होला सायद ।

मध्यपहाडी राजमार्ग अहिले पाँचथर फिदिम जोरसालबाट झरेर तमोर नदी तररे चुहाण्डाडा, आठराई फेदाप भएर तेह्रथुमबाट धनकुटा हुँदै पश्चिम नेपालतिर तन्किएको छ । यातायतले गर्दा आठराई अहिले पहिलाजस्तो दुर्गम रहेन । अहिले यातायतका सञ्जालले कच्चा सडक नै भए पनि नजोडिएको कुनै गाउँ छैन । ती सडकहरूको गुणस्तर उठाउन भने समय लाग्ला नै । यस्ता सडकका सञ्जाल र विद्युत् समेतले मानिसहरूलाई पहाडी गाउँबाट बसाइँ सर्नबाट केही हदसम्म रोकेको छ । तर मानिसहरूको आय र उत्पादन बढेन भने यसले पनि रोक्न सक्तैन । बिजुली बले पनि मोटर गुडे पनि युवाहरू बाहिरिने क्रम रोकिएन भने खेतबारी बाँझो रहने क्रम रोकिएन भने यस्ता विकास पनि ओझेलमा पर्दछन् । यसतर्फ सबैको ध्यानआकृष्ट हुनुपर्दछ । देश युवाविहीन र उत्पादनविहीन भयो भने त्यो देश कहिल्यै उँभो लाग्दैन । सबैथोकमा परनिर्भर नेपालको लागि गम्भीर चिन्ताको विषय हो ।

गाउँमा यातायतका सञ्जालहरू अविश्वासनीय तरिकाले फैलिएको पाइन्छ । फिदिम बजारदेखि केही तलको जोरसाल बजारबाट झरेपछि हिवाँ खोला र तमोर नदीको दोभान पुरानो नामी माझी टाहार छेउको तमोर नदीको पुल पारी पुगेर केही माथि चढेपछि मङसारी हात्तीखर्क हुँदै थोकलुङ, सिम्ले जलजले, तम्फुला म्याङलुङ जोडिने बाटो छुटिएको भेटिन्छ । अलिक माथि पुुगेपछि छातेढुंगा हुँदै पूर्वप्रधानमन्त्री केपी ओलीको जन्मगाउँ इवा जाने बाटो जोडिने बाटो भेटिन्छ । यो हरेक गाउँका प्रतिनिधि उदाहरण हुन् । यस्ता बाटाहरू अनेक भेटिन्छन् वडा र टोल–टोलमा । त्यसैले तेह्रथुमको यातायत विकासमा अहिले अनुकूलता बढेको छ भन्दा अत्युक्ति नहोला ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया