Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकति सम्भव छ क्षयरोगमुक्त नेपाल ?

कति सम्भव छ क्षयरोगमुक्त नेपाल ?


काठमाडौं । गत शुक्रबार (चैत्र १० गते) ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइयो । आज आएर विश्व क्षयरोगको महामारीबाट त्रसित हुनपुगेको छ । यो विश्वमा प्रत्येक वर्ष लाखौँ मानिसहरू क्षयरोगको सिकार हुन पुगेका छन् । यसरी क्षयरोग एक संक्रामक रोग हो । यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस भन्ने आँखाले देख्न नसकिने साना–साना कीटाणुहरूबाट हुने रोग हो ।

सन् १८८२ मार्च २४ मा सर्वप्रथम चिकित्सक रोबर्ट कोचले मानव शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाए । यो पत्ता लगाएको सय वर्षपछि प्रत्येक वर्ष सम्झनास्वरूप मार्च २४ का दिन विश्व क्षयरोग दिवस मनाइने गरेको छ । हाल देशमा मुख्यगरी क्षयरोग श्वासप्रश्वासका माध्यमबाट रोग सर्ने गर्छ । तसर्थ देशमा दैनिक औसत ४६ जनाको मृत्यु हुनेगरेको सरकारी तथ्यांक रहेको छ ।

यसरी वार्षिक १७ हजार क्षयरोगीहरूको ज्यान जाने सम्बन्धित निकायले अनुमान गरेको छ । यसरी नेपालमा औसत २५ प्रतिशत क्षयरोगीको मृत्यु हुने गरेको छ । यसैक्रममा हेर्ने हो भने देशमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । यसरी आर्थिक वर्ष २०७८/७९ मा ३७ हजार आठ सय ६१ क्षयरोगका बिरामीको उपचार गरिएकामा ९१ दशमलव ५ प्रतिशत बिरामी निको भएका छन् । यी क्षयरोगीमध्ये ६१ दशमलव छ प्रतिशत पुरुष, ३८ दशमलव ०४ प्रतिशत महिला र ८ दशमलव ७ प्रतिशत १५ वर्षभन्दा मुनिका बालबालिका रहेका छन् ।

हाल नयाँ तथा पुराना क्षयरोगीको संख्या एक लाख १७ रहेको छ । जसमध्ये वार्षिक झन्डै ३२ हजार नयाँ बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । जुन क्षयरोगका बिरामी पत्ता लाग्ने दर प्रतिलाख जनसंख्यामा ९३ जना रहेका छन् । हाम्रो देशको सन्दर्भमा भन्नुपर्दा क्षयरोग विशेषगरी तराई र सहरी भेगका नागरिकमा बढी देखिने गरेको छ । जुन हाम्रा छिमेकी मुलुक भारत र चीन तुलनात्मक रूपमा विश्वमै धेरै क्षयरोगी भएको देशमा पर्छन् । फलतः हाम्रो मुलुकमा पनि यसको जोखिम उच्च देखिन्छ । हाम्रोजस्तो विकासोन्मुख देशमा क्षयरोगको विगबिगी धेरै रहेको पाइन्छ ।

गरिबहरूलाई सताउने गरेको क्षयरोगले दक्षिण एसियालाई अति असर पारेको छ । विश्वका कुल क्षयरोगीहरूमध्ये ४० प्रतिशत रोगीहरू दक्षिण एसियामा मात्रै रहेका छन् । यो रोगमा श्वासप्रश्वासले, थुकको छिटा आदिको माध्यमबाट सर्ने क्षयरोग लागेको एउटा व्यक्तिलाई उपचार नगर्दा उसबाट एक वर्षमा १०–१५ जनामा उक्त रोग सर्ने पनि स्पष्ट छ । यसले के देखाउँछ भने स्वास्थ्य सजगता नअपनाउने हो भने यो रोगको फैलावट धेरै हुनसक्छ ।

राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपचार केन्द्र, उपकेन्द्रहरूमा समाजका बुद्धिजीवी समाजसेवी र अन्य महानुभावहरूको सहभागितामा डट्स डाइरेक्टीली अवजरम्ड टिट्रमेन्ट सर्ट कोर्स समिति निर्माण भएका छन् । यस्ता समितिहरूले सामूहिक र व्यक्तिगतरूपमा पनि विभिन्न स्वस्थ्य संस्थालाई डट्स विधिअनुसार बिरामीहरूलाई उपचार गर्न सहयोग गर्ने गरेका छन् । कतिपय ठाउँमा सदस्य आफैँले र समाजमा रहेका अरु समय दिनसक्ने व्यक्तिलाई स्वयंसेवकको रूपमा काम गर्न प्रेरित गर्ने भएको छ ।

यसरी स्वयंसेवकको रूपमा धेरै व्यक्तिहरूले बीचैमा औषधि खान छाड्ने र औषधि नियमित नखाने बिरामीहरूलाई खोजी निमित्त पूरा अवधि औषधि खान सहयोग पु-याई व्यक्तिलाई निको बनाउने र अरु मानिसहरूलाई क्षयरोगबाट बचाउने महान् कार्य भएको छ । यसरी हाम्रो समाजमा क्षयरोगप्रति नकारात्मक धारणा डर र त्रासले जरो गाडेको छ, तर यस परिस्थितिमा डट्स कार्यक्रमले सफल बनाउनमा समुदायमा रहेका हरेक व्यक्तिहरूको सहयोगको आवश्यक रहेको छ । जुन क्षयरोग र गरिबी एक अर्कामा आबद्ध रहेका छन् । यसले क्षयरोगले गरिबी निम्त्याउँछ अनि गरिबी क्षयरोग त्यसकारण क्षयरोगलाई हटाउन गरिबी र गरिबीलाई हटाउन क्षयरोगले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

हाम्रो देशमा क्षयरोगीको संख्या सरकारी आँकडाअनुसार वर्षमा ३२ हजार मात्रै देखिए पनि यो संख्या ४५ हजार रहेको अनुमान सम्बन्धित क्षेत्रले गरिएको छ । यसर्थ राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार पछिल्लो एक वर्षमा डट्स विधिबाट उपचार गराउन सम्पर्कमा आएका नयाँ बिरामीको संख्या मात्रै ३५ हजार सात सय ३५ पुगेको छ । तीमध्ये सर्ने खालका क्षयरोगीको संख्या मात्रै १५ हजार ५७ जना रहेको केन्द्रले जनाएको छ । फलतः सम्बन्धित क्षेत्रको विज्ञको भनाइअनुसार सर्ने खालका क्षयरोगीहरूमध्ये ९० प्रतिशत उपचारपछि निको भएको जानकारी दिएका छन् । यसरी विश्व स्वास्थ्य संगठनले क्षयरोग नियन्त्रण कार्यक्रमका मुख्य उदेश्यहरू राखेको छ । जसमा निको हुने दर ८५ प्रतिशत रोग पत्ता लगाउने दर ७० प्रतिशत हुनुपर्ने भनेर राखेको छ ।

यसरी विश्व स्वास्थ्य संगठनले राखेका उद्देश्यहरू र हाम्रा उपलब्धिहरूलाई दाँज्ने हो भने यस कार्यक्रमले निकै सफलता पाएको थियो । यसरी डट्स कार्यक्रम क्षयरोग देखा परेको हुँदा यसको सफलताको लागि उत्साहित रूपमा यसलाई देशको प्रायः सबै जिल्लाहरूमा पनि यो कार्यक्रम लागू गरिने योजना बनाएको छ । जुन खकार जाँच गरी क्षयरोग पत्ता लगाइसकेपछि बिरामीलाई उपचार गरिन्छ । जसमा बिरामीले आठ महिना वा स्वास्थ्यकर्मीले निको भयो नभनेसम्म एक दिन नछुटाई औषधि खानु पर्दछ । अतः औषधि नियमित खान सुरु गरेपछि अरुलाई रोग सदैन । जुन बिरामीले बीचमा औषधि छाड्ने वा मात्रा नपु-याई खाने गरेमा रोगी आफू पनि निको हुँदैन र अरुलाई पनि निको नहुने रोग सारिरहन्छ । त्यसकारण पूरा समय नियमित उपचार गरेमा रोग निको हुन्छ ।

समग्रमा भन्नुपर्दा देशमा क्षयरोग निवारण गर्न विभिन्न प्रयास गरिएको भए पनि पूर्ण प्रभावकारी बन्न सकेको छैन । कुल जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमण जोखिमको सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको छ । क्षयरोगीको संख्या वर्षेनी बढिरहेको छ । जुन डट्स सेन्टरमा उपचारका लागि आउने सबै टीबीका रोगीको उपचार निःशुल्क हुनेगरेको छ । अतः देशमा चार हजारभन्दा बढी डट्स सेन्टर छन् । तर पनि रोगीको संख्या बढिरहेकाले सरकारले सन् २०३५ सम्ममा क्षयरोग निवारण गरिसक्ने लक्ष्यमा समेत असर पर्ने देखिन्छ ।

यसर्थ लक्ष्य भेट्टाउने हो भने मुलुकभरबाट खकारको नमूना संकलन गरी रोग परीक्षण, जनचेतना अभिवृद्धि, स्थानीय तहसँग समन्वय र आम नागरिकले बुझ्ने गरी क्षयरोगको प्रचारात्मक अभियान सञ्चालन गर्नुपर्ने हुन्छ । यो रोगलाई नियमित औषधिको सेवनबाट क्षयरोग निको हुने भए पनि मुलुकमा क्षयरोगीको संख्या बढ्दै गएको छ । यसर्थ प्रत्येक वर्ष रोगीहरूको संख्या थपिएको थपियै छ । यसमा उपचार गराउने विधि पनि पुरानै छ । यसकारण यसलाई बेलैमा सोचबिचार गरी कस्तो किसिमको उपाय अपनाउनुपर्ने हो सरकारले विज्ञहरूको सल्लाह लिई त्यो विधि अपनाउनु सान्दर्भिक देखिन्छ ।

तथापि स्वास्थ्यको हिसाबले हेर्ने हो भने देशमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या करिब दुई हजार आठ सय रहेको छ । यो संख्या नेपालको कुल जनसंख्याको अनुपातमा अन्त्यन्त धेरै हो । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ । यसको साथसाथै आव २०७८/७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा नौ सय ४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने छ सय ५९ जना मात्र उपचारमा थिए ।

यसर्थ विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुनेगरेका छन् । सन् २०२१ मा विश्वभरि करिब १६ लाखको क्षयरोगका कारण मृत्यु भएको थियो । नेपाल सरकारले आगामी आव २०८२/८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । यसरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९–२०८२/८३ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।


क्याटेगोरी : विचार / ब्लग


तपाईको प्रतिक्रिया