Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसशंकित बनिरहेका स्विस बैंकका चिनियाँ निक्षेपकर्ता

सशंकित बनिरहेका स्विस बैंकका चिनियाँ निक्षेपकर्ता


स्विट्जरल्यान्डका ठूला बैंकका कार्यकारी अधिकारीहरुले धनी चिनियाँ ग्राहक आफ्नो बचत रकमलाई लिएर चिन्तित रहेको बताएका छन् । युक्रेनमाथि रुसले आक्रमण गरेयता बैंकहरुको प्रतिबन्ध कार्यान्वयन गर्ने नीतिलाई लिएर चिनियाँ बचतकर्ता डराएका छन् ।

‘स्विट्जरल्यान्डले आफ्नो तटस्थता छोडेपछि हामी केवल आश्चर्यमा मात्र हैन, सशंकित भयौँ’, एक बैंकका एसिया व्यवसाय हेर्ने बोर्ड सदस्यले भने, ‘मसँग प्रमाणको लागि तथ्यांक नै छ– साँच्चै बैंकमा खाता खोल्न सयौँ ग्राहक तयार थिए, अहिले त्यो छैन ।’
यसका बाबजुद चिनियाँ कम्पनीहरुले स्विट्जरल्यान्डमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरिरहे पनि स्विट्जरल्यान्डका १० ठूला बैंकमध्ये ६ वटाका वरिष्ठ अधिकारीका अनुसार निजी ग्राहकसँग उनीहरुको अनुभवबारे सोध्दा सबैले उही बताए । धेरैले नाफादायी व्यवसाय र तिनको भविष्यको उन्नतिको महत्वपूर्ण स्रोतमा यसले पार्ने असरप्रति चिन्तित रहेको बताए ।

‘प्रतिबन्धको प्रश्न ग्राहकसँगै जोडिएर आएका छन्’, एक बैंकरले भने, ‘गत वर्षको अन्त्यतिर यो साँच्चै एउटा ग्राहकसँगको ध्यान आकर्षण गर्ने कुरा थियो । उनीहरु आफ्नो पैसा हामीसँग सुरक्षित हुने कि नहुने भनी बुझिरहेका थिए ।’

आरबीसीका विश्लेषक एन्की रेन्जेन पनि यसलाई स्विट्जरल्यान्डको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत हिस्सा ओगट्ने बैंकिङ क्षेत्रको जोखिमलाई जोड दिन्छिन् ।

‘स्विस बैंकहरुको नाफाका लागि एसिया बलियो योगदानकर्ता हो’, उनी भन्छिन्, ‘यदि तपाईं तिनीहरुको सेयर मूल्य हेर्नुहुन्छ भने उनीहरु एसियाली सूचकहरुमा निकै अन्तर्सम्बन्धित छन् किनभने आम्दानीको त्यस्तो ठूलो हिस्सा त्यही क्षेत्रबाट आइरहेको छ र ऐतिहासिक रुपमा सम्पत्ति व्यवस्थापनमा आम्दानी वृद्धिको ठूलो हिस्सा पनि छ ।’

केही स्विस बैंकहरुले उनीहरु यसअघि नै यदि चीनसँगको अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिए त्यसले बिगार्नसक्ने भन्दै कसरी मिलाउने भनी चिन्तित रहेको बताएका छन् । खासगरी ठूला चिनियाँ ग्राहकलाई कसरी सुनिश्चित र सुरक्षित राख्ने भन्ने चिन्ता उनीहरुमा छ ।

बैंकहरुमाथि मात्र केन्द्रित वनटबेलका विश्लेषक एन्ड्रिज वेन्डिटीले पनि सबै स्विस सम्पत्ति व्यवस्थापकहरु देशको प्रतिबन्ध कार्यान्वयनतर्फको अग्रसरताले पार्ने प्रभावप्रति गम्भीर देखिएको बताउँछन् । ‘अहिले बोर्ड र कार्यकारीस्तरीय बैठकको एजेन्डा नै यसैमाथि छ’, उनले भने, ‘आउनसक्ने स्थितिप्रति उनीहरु तयार रहने प्रयासमा छन् ।’

गत वर्ष युक्रेनमाथि रुसले आक्रमण गरेयता स्विस सरकारले युरोपेली सरकारसँग नजिकिने गरी कदम अगाडि बढाएको छ । रुसी राष्ट्रपतिका निकटस्थ धनाढ्य र रुसविरुद्ध प्रतिबन्ध लगाएको छ ।

जासुसी बलुन विवाददेखि बेइजिङले मस्कोलाई हतियारको आपूर्ति गरिरहेका अड्कलबाजीजस्ता पछिल्ला हप्तामा धेरै घटनाक्रमले चीनविरुद्धको प्रतिबन्धको सम्भावनालाई नजिक ल्याइसकेको छ ।

बर्नमा रहेका एक अमेरिकी कूटनीतिज्ञले आफ्नो कार्यालयका अधिकारीले स्विट्जरल्यान्डमा रहेको चिनियाँ सम्पत्तिलाई नजिकबाट नियालिरहेको बताएका थिए ।

फाइनान्सियल टाइम्ससँग कुरा गरेका एक बैंक कार्यकारीले पनि रुसी ग्राहकविरुद्ध स्विट्जरल्यान्डले छिटो कदम चालेको विश्वास व्यक्त गरे । ‘केही ठाउँमा हामीले स्विट्जरल्यान्डले के गर्नेछ र गर्नेछैन भनेर रेखा नै कोर्नुपरेको थियो’, उनले भने ।

हुन त अहिले पनि सरकारले देशको तटस्थतालाई महत्त्वका साथ कायम राखेको छ तर रुसमाथिको प्रतिबन्धले रुसको अन्तर्राष्ट्रिय कानुनका आधारभूत मूल्यमान्यताको उल्लंघनको अवस्थाविरुद्ध देशको तटस्थताप्रतिको विश्वसनीयता तौलिएको छ ।

विदेशमन्त्री इग्नाजियो कासिसले तटस्थताको अर्थलाई घरेलु बहस बनाएका छैनन् । उनले साझेदारहरुसँग बहुसहकार्यमूलकको रुपमा सार्वजनिक वकालत गरेका छन् ।

स्विट्जरल्यान्ड अहिले पनि गोप्य सम्पत्तिको विश्वकै नम्बर १ केन्द्र हो । यहाँ विश्वको कुलमध्ये एक चौथाइ सम्पत्ति रहेको मानिन्छ ।

स्विस प्रतिबन्धका कारण अहिले स्विट्जरल्यान्डमा करिब आठ अर्ब अमेरिकी डलर फ्रिज भएको छ जुन स्विस अर्थ मन्त्रालयको स्टेट सेक्रेटारियटका अनुसार झण्डै साढे ७ हजार धनी रुसीहरुले देशमा राखेको ४६.१ अर्ब स्विस फ्रान्कको सानो हिस्सामात्र हो । बितेका दशकयता एसिया आम्दानीको महत्वपूर्ण ठूलो स्रोत बनेको छ ।

स्विस सरकारले देशमा कति चिनियाँ सम्पत्ति छ भन्ने सार्वजनिक गरेको छैन तर सन् २०१४ मा बाहिरिएका कागजातदेखि अन्तर्राष्ट्रिय अनुसन्धानमूलक पत्रकारको समूह (आईसीआईजे)ले पूर्वप्रधानमन्त्री वेन जियाबाओका छोरासमेत चिनियाँ सत्ता हाँकिरहेका धेरै नेता र उनीहरुको सन्तानको स्विस बैंकहरुमा खाता रहेको खुलासा गरेका छन् ।

स्विस बैंकरहरुले भने आफ्ना धेरैजसो चिनियाँ ग्राहक प्रतिबन्धका लागि अयोग्य हुने बताएका छन् । एक बैंकरले अनुभव साट्दै धेरैजसो सफल, साना आकारका उद्यमी रहेको बताउँदै उनीहरुको सम्पत्ति १ करोडदेखि ५ करोड स्विस फ्रान्कसम्म रहेको बताए । त्यसप्रकारका ग्राहकलाई स्विस बैंकबाट विच्छेद गर्दा बैंकिङ क्षेत्रलाई ठूलो क्षति हुने उनको भनाइ छ ।

तर सम्पत्ति व्यवस्थापनमा रहेका अन्य एक वरिष्ठ अधिकारी भने धेरै सकारात्मक देखिए । ‘चिनियाँ ग्राहकहरुसँग मेरो कुराकानी भएको थियो जो गत वर्ष स्विट्जरल्यान्डले प्रतिबन्धलाई मान्दा चिन्तित थिए । तर उनीहरु अझैसम्म हामीसँगै छन्’, उनले भने, ‘गत वर्ष चीन र अमेरिकाबीच ७ खर्ब डलरको व्यापार भएको थियो, त्यो यतिचाँडै परिवर्तन हुनेवाला छैन ।’ (फाइनान्सियल टाइम्सबाट भावानुवाद)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया