Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ

सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ


काठमाडौं । हालै विशेषज्ञ, अर्थविद्, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र देशको लागि आश गरेका व्यक्ति डा. स्वर्णिम वाग्लेले पत्रमार्फत पार्टी परित्याग गरेको सूचना सामाजिक सञ्जालमा राम्रै ठाउँ पायो । साथै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएर आउने उपनिर्वाचनमा तनहुँ क्षेत्र १ बाट उम्मेदवार हुने पनि समाचार आयो । यी दुवै एकाएक भाइरल हुनपुगे र टिकाटिप्पणीहरू आउने क्रम जारी भयो ।

उनले ज–जस्लाई पत्रमा सम्बोधन गरेका थिए उनीहरूको प्रतिक्रिया हालसम्म बाहिर आएको सुनेको छैन, आउँछ होला नै । ज–जसले डा. वाग्लेलाई अवसर दिए, काँधमा बोके, लगानी गरे, पुल्पुल्याएले उनीहरूलाई बुझ्न नसक्नु दुर्भाग्य नै हो ।

जुन पत्र बाहरियो त्यसमा कुनै नयाँ र अचम्म मान्नुपर्ने केही देखिएन । पार्टीमा सबैले उठाउँदै आएका कुराहरू नै थिए । विभिन्न परिवारको ‘परिवारवाद’ भन्ने चलन हालसम्म पनि विद्यमान नभएको होइन । उक्त पत्रमा उनको आक्रोशको गन्ध देखिन्छ र पार्टी छोड्ने एक बहाना मात्र हो भनिन्छ । छोड्नेले आरोप लगाउनु अनौठो होइन ।

उनीले आफू र परिवारले पार्टीप्रति गरेको योगदानबारे उल्लेख गरेको देखिन्छ । पार्टीमा भएका बेथिति र खासगरी नेताका परिवार, दाइ र भाउजू गिरोहको हाबी भएको, निरन्तर हेपाइ र अपमानमा परेको आरोप लगाएको बुझिन्छ भने अन्त्यमा छुट्टै वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्ने र त्यसमा आबद्ध हुन आह्वान गरेको देखिन्छ ।

उनले ठीक गरे या बेठीक त्यो त आगामी दिनहरूमा हेर्न र सुन्न पाइन्छ नै तर बौैद्धिक र विज्ञको रूपमा परिचितको यो कदम भएकोले पार्टीका कार्यकर्ता र जनताहरूबाट व्यक्ति र पार्टीबारे अनेकन प्रश्न उठाएको सुनिन्छ ।

डा. वाग्लेलाई अवसरवादीको संज्ञा दिएको पनि देखियो । उनी कसरी राष्ट्रिय योजना आयोगको लाभको पदमा पुगे ? प्रतिस्पर्धा वा परीक्षा दिएर त पक्कै होइन । नेपालमा कसैको आशीर्वाद र पारिवारिक सम्बन्ध नभई यस्तो गरिमामय पदमा आसीन हुन कदापि सक्दैन जुन जनताहरूले थाहा नपाएको होइन । लाभको पद उनले लिनचाहिँ भ्याए र पदमा बसेर कति फाइदा लिए उनलाई थाहा नै होला ।

आयोगको उपाध्यक्षको हैसियतले विकास शब्दहरू प्रयोग गरी भाषण गर्नेबाहेक उल्लेखनीय के–के गरेको हो र साँच्चै के उपलब्धि भयो खासै बाहिर आएको देखिँदैन । तर उनको उचाइ कहाँबाट कहाँसम्म पुग्यो जनता तथा पार्टीका कार्यकर्ताहरूले थाहा नपाएका होइनन् । अवसर पाए धेरै राम्रो गर्नसक्ने क्षमता भएका इमान्दार नेपालीहरूको कुनै कमीचाहिँ छैन तर तिनीहरू भाग्यमानी हुनसकेको देखिँदैन ।

भन्ने गरिन्छ, एक समय डाक्टर वाग्लेको दाइ र भाउजूसँग घनिष्ठ सम्बन्ध थियो । सम्बन्ध राम्रो हुँदा त सबै ठीकठाक थियो, रमाएकै थिए । दाई–भाउजु–साला–भतिजको त कुनै कुरा उल्लेखसम्म भएन र उठाउन पनि सकेन । तर एकाएक कसरी सो विषय बाहिरियो र अन्त्यमा पार्टी नै परित्याग ? त्यस्को मुख्य कारण कार्यकर्ता र जनता सुन्न आतुर छन् ।

नेपाली कांग्रेसमा परिवारवाद, पार्टीभित्र गुट उपगुटमा विभाजित हुने कुनै नौलो कुरा होइन र हाल सालै मात्र उठेको पनि होइन । यो नेपालको प्रत्येक राजनीतिक दलहरूमा हुनेगरेको क्यान्सर रोगजस्तै हो । यो राम्रो भने पक्कै होइन ।

राजनीतिमा परिवारवाद, गुट, उपगुट र विभाजनबाट कार्यकर्ताहरू मात्र होइन सचेत जनताहरू पनि वाक्क दिक्क भएको र आवाज उठाउने गरेको देखिन्छ । इमान्दार र योग्य पार्टी कार्यकर्ताहरू यही परिवारवाद र विभाजनबाट सिकार भएको र पार्टीबाट पलायन समेत भएको सुनिन्छ । डा. वाग्लेले यी कुरा नबुझेको पक्कै थिएनन् होला । यी मुद्दाहरू पार्टी परित्यागअगावै किन बोल्न सकेनन् ?

गत संसदीय निर्वाचन र आउने उपनिर्वाचनमा डा. वाग्ले उमेदवारको आकांक्षी भएको सुन्नमा आएको थियो । केही पदाधिकारीले उनको समर्थन पनि गरेका थिए । आउने उपनिर्वाचनमा पनि इच्छा देखाएको हुनुपर्छ । तर आफ्नो इच्छाअनुरूप नभएपछि धैर्यको बाँध टुत्न पुग्यो र बहाना बनाई पार्टीत्याग गर्न पुगेको देखिन्छ । ‘आफू भलो त जगत भलो’ भनेझैँ जबसम्म उनले मज्जा र लाभ लिन पाए सबै ठीक र आफूले लाभ पाउन छाडेपछि सबै बेठीक हुन पुग्यो ।

अचम्मको कुरा त के भने पार्टी परित्याग पत्र लेखेको मसी सुक्न नपाउँदै विनाहिचकिचाहट तनहुँ क्षेत्र १ उपनिर्वाचनको लागि टिकट माग्न राष्ट्रिय स्वतन्त्र पार्टीमा पुगेको देखियो । बीपीको सिद्धान्तको कुरा गर्दै नथाक्ने उनी राष्ट्रिय स्वतन्त्र पार्टीको कुन सिद्धान्तबाट आकर्षित हुनपुगे र पार्टी प्रवेश गरे ? लोकतन्त्रको नै कुरा गर्ने हो भने रास्वपा ‘एक व्यक्तिको हालीमुहाली’ भन्ने कुरा विगतका विभिन्न घटनाले देखाइसकेको छ । साथै जे गर्न नहुने भनी डकाथ्र्याे र आफैँले अयोग्य र विस्थापित गर्ने नेता भनेकाहरूको पछिपछि गई हात समात्न पुगिसक्यो ।

आफैँले वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्ने पत्रमा उल्लिखित कुरा कता गयो ? धेरै अरु नेताहरूझैँ बोल्नमा माहिर उनी सत्ता र लाभको लागि जे गर्न पनि पछि नहट्ने अवसरवादी हुन् भन्ने पुष्टि भएको भन्ने कुरा बाहिर आउन थालेको छ । हुन त आफूले जहाँ अवसर पाइन्छ त्यतातिर जाने मानवजातिको स्वभाव नै हो भन्नेहरूको पनि कमी छैन र डा. वाग्लेले राम्रो गरे भन्ने पनि छन् । ठीक हो वा होइन मूल्यांकन जनताबाट होला नै ।

उनले ज–जसलाई आफ्नो पत्रमा सम्बोधन गरेका थिए उनीहरूको प्रतिक्रिया हालसम्म बाहिर आएको सुनेको छैन, आउँछ होला नै । ज–जसले डा. वाग्लेलाई अवसर दिए, काँधमा बोके, लगानी गर्नेहरूले उनलाई राम्ररी चिन्न नसक्नु दुर्भाग्य नै हो । भविष्यवाणी गर्न धेरै चाँडो होला तर डा. वाग्लेको हालसम्मको गतिविधि हेर्दा कुनै एक समूहमा बसेर मिलिजुली काम गर्ने स्वभावका हुन्जस्तो लाग्दैन र हेर्नु छ पार्टीको भविष्य के होला ? राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिनै पर्छ ।

नेपाली कांग्रेस र सम्बन्धित पदाधिकारी, नेता र कार्यकर्ताहरूले पक्कै पाठ लिनुपर्ने देखिन्छ । हुन त गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतले पार्टी परित्याग गरेको उदहारण छ ।

नेपाली कांग्रेस एक ऐतिहासिक पुरानो ठूलो दल हो । इतिहास छ, सिद्धान्त छ, गाउँ–गाउँमा आफ्नो निकायहरूको उपस्थिति साथै जनताहरूको आपार समर्थन नभएको पनि होइन तर समयअनुसार गति लिन सकेको देखिँदैन ।

पार्टीको विभिन्न आन्तरिक र बाह्य निर्णय चाहे त्यो नीति निर्माण, विकास, व्यक्ति छनोटले गर्दा हाल जनताहरूको अपेक्षाकृत साथ पाउन सकेको देखिँदैन । जनइच्छाअनुसार हिँड्न नसकेको आरोप लागेको छ । ठूला–ठूला पार्टीप्रति सन्तुष्ट नभएर नै वैकल्पिक राजनीतिक दलहरूको जन्म भएको देखिन्छ । गएको स्थानीय निर्वाचनमा होस् या संघीय निर्वाचनको नतिजाले सो कुराको पुष्टि गरिसकेको छ । अधिकांश पार्टी कार्यकर्ताहरू निराश देखिन्छ र बोलीको सुनुवाइ नभएको गुनासाहरू सर्वत्र सुनिन्छ ।

पार्टीमा परिवारवाद, गुट, उपगुट पक्कै छ । मासबेस (जनतामा आधारित) पार्टीमा यस्तो हुनु स्वाभाविक मान्न सकिन्छ । तर आज जनता र कार्यकर्ताहरूको बुझाइ ठीक विपरीत देखिन्छ ।

काठमाडौंका पूर्वमेयर पीएल सिंह भन्ने गर्नुहुन्थ्यो, ‘नेपालमा थरीथरीका कांग्रेस (क्लब)हरू देख्न सकिन्छ, झण्डा एउटै छ तर मूल नेपाली कांग्रेस खोज्नुपर्ने अवस्था छ ।’

आज समय आइसकेको मात्र नभई हतार भइसकेको छ । शीर्ष नेताहरूबाट पार्टीभित्रका समस्या कसरी सुधार्न सकिन्छ गम्भीर हुने बेला भइसकेको छ । हालैको मन्त्रिपरिषद्मा आठमा चार जनाको नाम दिन नसक्नु गुट, उपगुट र अन्तरकलहको उपज हो । आन्तरिक खिचातानी बाहिरी सतहमा आउँदा देशमा कस्तो सन्देश जान्छ गम्भीर भएर सोच्नुपर्ने होइन ? जनचाहनाको विकासनिर्माणका कुरा एकजुट भएर कहिले गर्ने र लाग्ने ? ‘सानो माछा मार्दै गर्दा ठूलो माछा उम्कने’ जस्तै नहोला भन्न सकिन्न ।

नेपाली कांग्रेसको यो क्यान्सरजस्तो रोग माथि केन्द्रदेखि तल वडा र इकाइसम्म फैलिएको देखिन्छ । निर्वाचनमा चाहिने मात्रामा सफलता हासिल गर्न नसकेको सर्वविदितै छ । घात, अन्तर्घातको सिलसिला रोक्ने कुनै सङ्केत देखिँदैन, बढ्दो छ । विभिन्न राजनीतिक दलहरूसँग गठबन्धन गरी चुनावमा भाग लिने र शक्तिमा जाने रणनीतिले गर्दा कतिपय योग्य कार्यकर्ताहरू चुनाी प्रक्रियामा सक्रिय भाग लिनबाट वञ्चित हुनपुगेको छ । कार्यकर्ताहरूको मनोबल गिरेको देखिन्छ र आफ्नो राजनीतिक भविष्यप्रति चिन्तित देखिन्छ ।

पदमा बसेका चाहे त्यो इकाइ, प्रदेश, नगर, क्षेत्र, जिल्ला र केन्द्र किन नहोस् आफ्नो पाएको पदको जिम्मेवारी राम्ररी निभाउनुपर्ने देखिँदैन । परम्परागत हिसाबले पार्टीको व्यवस्थापन गरेर पार्टी चलाउन कठिन हुने देखिइसकेको छ । न जेल जीवन बिताए न ढुङ्गामुढा नै गरे तर उनीहरूमा विशेषज्ञता थियो राजनीतिलाई पेसा बनाएका थिएनन् । मतदाताहरूको चाहना यस्तै थियो, छ र त जिताएर जनचाहना प्रस्तुत गरे । जनताले पार्टी होइन योग्य र क्षमतावान् व्यक्तित्व हुनुपर्ने सन्देश दिएको देखिन्छ ।

पार्टी दरिलो गर्न कार्यकर्ताहरूको व्यक्तित्व/नेतृत्व विकास, विषयगत क्षमताको विकास, पार्टीको नीति, सामुदायिक विकासका अवधारणाबारे समय–समयमा प्रशिक्षणलगायत अनिवार्यरूपमा तालिम, छलफल गर्नुपर्ने हुन्छ । आज विश्व डिजिटल युगमा प्रवेश गरेको अवस्था छ । कार्यकर्ता एवं नेताहरूमा यसको ज्ञान हुनुपर्ने नै हुन्छ । पद ओगटेका, नेतृत्वमा पुगेकाहरूको खास ध्यान गएको देखिँदैन । के आगामी दिनहरूमा यसरी पार्टी चाल्न सक्छ ?

भविष्यमा पार्टी नेतृत्व दिनसक्ने सम्भावित युवासमूहको सहभागितामा कमी र घट्दो क्रम देखिसकेको छ । यस्ता समूहलाई कसरी भित्र्याउने, सहभागी गराउने, खासै व्यावहारिक कार्यनीति देखिँदैन । देश विकासको लागि विशेषज्ञहरू राम्रा पार्टीमा प्रवेश गर्न इच्छुक भए पनि पार्टीले कसरी व्यवस्था गर्ने नीति छैन । पार्टी प्रवेश भए भविष्यमा केही गर्ने मौका पाउँछौँ भन्ने सन्देश दिन सकेको छैन ।

कलेज क्याम्पसमा भएको विद्यार्थी संगठनको हालैको निर्वाचन हेर्दा त्यो विद्यार्थीहरूको निर्वाचन नभई ‘ग्याङ फाइट’ भएको जस्तो देखियो । यसरी आएका विद्यार्थीनेताबाट जनताले के अपेक्षा गर्ने ? साधारण विद्यार्थीहरूले कसरी लिन्छन् होला ? पार्टीको ध्यान जानुपर्ने देखिन्छ ।

वैकल्पिक राजनीतिक दलहरू देशमा मौका छोपेर यस्ता प्रतिभाशाली युवा समूह तथा विशेषज्ञहरूलाई सजिलै प्रवेश गराउने नीति अवलम्बन गरेको छ । डा. वाग्ले रास्वपा सजिलै प्रवेश गरेको एक उदाहरण हो ।

आज देश डामाडोल स्थितिमा पुगेको देखिन्छ । जनता चरम निराशाबाट गुज्रेको अवस्था छ । पुरानो नै तवरले र बीपी, गणेशमान, किशुनजीको नाममा राजनीति गर्ने बेला पकै होइन । एक ऐतिहासिक पुरानो ठूलो दलको नाताले सम्बन्धित सबैको होस खोल्ने नै छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया