Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली कांग्रेसभित्रको संस्कार र संस्कृति

नेपाली कांग्रेसभित्रको संस्कार र संस्कृति


काठमाडौं ।  नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी हो । राष्ट्रियता, लोकतन्त्र समाजवादजस्तो स्पष्ट र पारदर्शी कार्यनीति लिएर अघि बढेको नेपाली कांग्रेस पार्टीमा आजको मितिसम्म आइपुग्दा आठ लाख ४० हजार एक सय छ (१४औँ महाधिवेशन) सक्रिय कार्यकर्तासहित मुलुकको आर्थिक, सामाजिक, सांस्कृति र राजनीतिक परिवर्तनमा दृढ भएर अघि बढिरहेको छ ।

कार्यनीति र प्रतिबद्धता र लक्ष्य लिएर अघि बढेको नेपाली कांग्रेसको स्थापना २००६ साल चैत्र २७ गते स्थापना भएको थियो । नेपालको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको साक्षी र अभियानमा सहभागी भएको पार्टीलाई सहीरूपमा गन्तव्यमा डो-याउने क्रममा समाजवादी नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला हुँदै वर्तमान सभापति शेरबहादुर देउवाले नेतृत्वमा गरेर अघि बढिरहेको छ ।

नेपाली कांग्रेस पार्टीभित्र सयौँको बलिदान, हजारौँ, लाखौँको योगदान तथा कैयौँ अग्रजहरूको अथक मिहिनेत, परिश्रमको परिणाम आज नेपाली कांग्रेस देशकै ठूलो पार्टी र विश्वकै एउटा उदाहरणीय लोकतान्त्रिक शक्तिको रूपमा नेपाली आकाशमा चम्किरहेकोे छ । पछिल्लो समय नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले पार्टी परित्याग गरेको विषयले निकै चर्चा पाएको छ । ‘स्वर्णिम वाग्लेलाई पार्टीले चिन्न सकेन’, ‘नेतृत्वले बुझ्न सकेन’, ‘दक्षता र क्षमता भएको व्यक्तिलाई कांग्रेस पार्टीभित्र ठाउँ छैन’ आदि इत्यादि । स्वर्णिम वाग्ले नेपाली कांग्रेसभित्रका क्षमता भएका हजारौँ सुन्दर ताराहरूमध्ये एक थिए ।

निश्चितरूपमा सुन्दर ताराको चर्चा भएझैँ स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको विषयले राजनीतिक डायस्फोरामा चर्चा पाएको यथार्थ हो । हजारौँ ताराहरूमाझ स्वर्णिम वाग्ले नेपाली कांग्रेसभित्रैमा रहिरहेको भए पक्कै पनि कांग्रेसभित्रका विज्ञहरूको तारापुञ्जको वैभव अझै प्रभावशाली र शसक्त हुने नै थियो । तर, विडम्बना र यथार्थ उनले पार्टी परित्याग गरिसकेका छन् । उनको बहिर्गमनले नेपाली कांग्रेसभित्र नयाँ पुस्तालाई थप अवसरको ढोका खोलेको छ ।

पञ्चायत विरुद्धमा लडिरहेका नेपाली कांग्रेसका आदर्शवादी नेता बीपी कोइाराला बिरामी हुँदा अमेरिका निवासी सुदिप शाहले उतिबेला नै १० हजार अमेरिकी डलर सहयोग पार्टीलाई पठाएका थिए । उनले कुनै पनि लाभको पद नलिई योगदान मात्रै दिएर बिदा भए । नेपाली कांगे्रसभित्र विशेष योगदान गर्ने मधुनिधि तिवारी प्रख्यात अर्थशास्त्री थिए । उनले चाहेको भए कांंग्रेसबाहेक अन्य पार्टीबाट धेरै लाभ लिन सक्दथे । त्यस्तै, डा. दिनेश प्रसाद पन्त बेलायतबाट गोल्डमेडलिस्ट नै थिए । उनले कुनै पनि ठूलो लाभको पद नलिई पार्टीलाई योगदान मात्रै गरिरहे ।

विज्ञता भएर देश, समाज र पार्टीका लागि गरिने योगदान, उक्त व्यक्तिले प्राप्त गर्ने लाभको पदलाई हेर्ने हो भने स्वर्णिम वाग्ले नेपाली कांग्रेसभित्र अवसरको लागि ढुके बसेका अवसरवादी थिए भन्ने कुरा अहिले आएर पुष्टि हुनआएको छ । उनले पढे, अध्ययन गरेर विज्ञ बने । उनलाई नेपाली कांग्रेसले आफ्नो पहिचान दिलायो, पार्टीका नेता मात्रै बनाएन विज्ञताको प्रयोग गर्ने अवसर दियो । स्वर्णिम वाग्लेजस्ता हजारौँ विज्ञहरू नेपालमा एकसे एक छन् । स्वर्णिम वाग्लेलाई हजाराँैको माझमा एक भनेर चिनाउने काम नेपाली कांग्रेसले ग-यो ।

स्वर्णिम वाग्लेलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नेपाली कांग्रेसले बनायो । दुई पटक राष्ट्रिय योजना आयोगको सदस्य बनेका उनी २०७४ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर काम गरे । देशकै ठूलो मासवेश पार्टीले परिचय दियो, प्लेटफर्म दियो, उनले त्यहीभित्र आफ्नो परिचय बनाए, लाभको पद लिए । ठूलो पार्टीमा सधैँ एउटै व्यक्तिलाई पद दिइरहन सकिँदैन, अन्य नयाँ पुस्तालाई नेतृत्व विकास गर्ने अवसर दिन खोज्दा उल्टै नेतृत्वलाई गाली गर्दै भागे । यो कांग्रेसभित्रको पलायनवादी प्रवृत्ति हो । यस्तो प्रवृत्तिले नेपाली कांग्रेस पार्टीको विकास र पुस्तान्तरण हुन सक्दैन ।
स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले दिएको लाभको पद छोडेको पाँच वर्ष मात्रै भएको छ । लाभको पद पाउँदा पार्टीभित्रको मान्छे हुने लाभको पद नपाउँदा अवसरको लागि अन्त्य दौडने व्यक्ति बीपीले परिकल्पना गरेको आदर्शवान् कांग्रेस, निष्ठावान् कांग्रेसी हुँदै होइन ।

लाभको पद नलिएरै पनि पार्टीभित्र योजना बनाउने, भिजन बनाउने, योजनाका प्रयोगमा समस्याहरूको पहिचान गर्ने र पार्टीलाई जुझारु सुझाव दिने धेरै नै जिम्मेवारीहरू उनको काँधमा थिए । तर, उनले जिम्मेवारीहरू पूरा गरेनन् । गत निर्वाचन पनि उनीमाथि स्वतन्त्र पार्टीलाई सहयोग गरेको आरोपहरू लागेकै थिए ।  म २०५२ सालमा काठमाडौं जिल्ला कार्य समितिको निर्वाचित सदस्य हुँ । प्रकाशमान सिंह अध्यक्षदेखि यता तीन पटक जिल्ला सदस्य भए । महाधिवेशन प्रतिनीधि, महासमिति सदस्य र तरुण दलको केन्द्रीय सदस्य समेत भएर काम गरे ।

यस पटकको आम निर्वाचनमा काठमाडौं क्षेत्र नं ७ बाट पहिलो नम्बरमा मेरो नाम सिफारिस भईआएको थियो । मैले सांसद पाउने सांसदको टिकट गठबन्धन बनाउने क्रममा माओवादीलाई दिनु प-यो । मैले पार्टीको निर्णय भनेर खुरुक्क मान्न तयार भए । मेरै पालामा अस्कल क्याम्पसमा स्ववियु सभापति जितेका प्रदिप पौडेल आज पार्टीमा महामन्त्री छन् । म जिल्ला सदस्य हुँदा त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य रहेका गगन थापा अहिले नेपाली कांग्रेसमा महामन्त्री हुनुभएको छ । मेरो पालो आएन भनेर मैले पार्टी छोडेर हिँड्न मिल्छ ? त्यो त निष्ठा, प्रतिबद्धता र राजनीतिक नैतिकता सबै हिसाबले गलत हुन्छ ।

पुरानाले नयाँलाई अवसर दिनु पर्दछ तर त्यसो भन्दै पुरानालाई पनि झनै अवसर नदिने भन्ने हुँदैन । स्वर्णिम वाग्लेले पार्टी छोडेर जाँदा सभापति शेर बहादुर देउवा र महिला नेतृ आरजु राणालाई गाली गर्दै पार्टी छोडेर गए । यो पलायनवादी प्रवृत्ति मात्रै नभएर पार्टीभित्रको गद्दारी र बेइमान पनि हो । नेपाली कांग्रेसभित्र करिब एक सय वर्षको इतिहास भइसकेको संस्कृति भनेको ठूलालाई आदर गर्ने, पुरानालाई सम्मान गर्ने र सहकार्य गर्ने हो । सामान्य राजनीतिक संस्कार र नैतिकता समेत भुलेर स्वर्णिम वाग्लेजस्ता अवसरवादीहरूले महिलाको हक अधिकारको लागि लडिरहनु भएकी, देश विकासको लागि सदैव चिन्तित र स्वर्णिम वाग्लेलेझैँ अन्तर्राष्ट्रिय छवी बनाएकी आरजु राणा र जीवन नै पार्टीका लागि समर्पित गरेका शेरबहादुर देउवाविरुद्ध तथानाम भन्दै हिँड्ने छुट आगामी दिनमा कसैलाई पनि दिइनु हुँदैन ।

यस्तो पलायनवादी प्रवृत्ति रोक्न सक्नुपर्दछ । साथै पार्टीभित्र लाभको पद लिएकाहरूको सिट रोल नै बनाएर आफ्नो पार्टी जीवनमा कुन–कुन लाभको पद लिएको छ ? सो लाभको पद लिँदा के–कस्तो नतिजा आउने काम गरेको छ, सो आधारमा अंकको व्यवस्था गर्ने हो भने भविष्यमा पार्टी सदस्य गरेको, परिश्रम, योगदान र पार्टीले दिएको प्लेटफर्म आदि सबै छर्लङ्ग हुनेछ । नेपालमा राजनीतक संस्कारविहीनता नयाँ कुरा होइन, स्वर्णिम वाग्लेले आज कसलाई के गाली गरेभन्दा पनि भोलि गाली खाने कसको पालो भनेर सोच्नुपर्ने बेला भएको छ । आज कांग्रेसभित्र वर्षौँ रहेर, पैसा र प्रतिष्ठा कमाएर पेट भरिए पनि नेतृत्वलाई गाली गर्दै बाहिर निस्कने प्रवृत्ति भोलिका दिनमा एमालेभित्र, माओवादीभित्र फैलनेतर्फ सबै सचेत हुनपर्दछ ।

अवसरवादीहरूको चिरफार गर्दै सही, असलीरूपमा योगदान गरेका, पुराना, जीवन नै पार्टीका लागि अर्पण गरेकाहरूको अवमूल्यन हुन दिनु हुँदैन । लोकतन्त्रमा पार्टी फेर्न, गुट फेर्न र गठबन्धन फेर्ने छुट सबैलाई छ । त्यसो भन्दै स्वर्णिम वाग्ले जसरी पलायनवादी प्रवृत्तिको विकास हुन नदिन पार्टीले अवसर र लाभको पद दिनुअघि नै प्रतिबद्धता, योगदान र दृढ संकल्प छ कि छैन भनेर पटक–पटक कसी लगाउनेतर्फ नेपाली कांग्रेसको नेतृत्वलाई सुझाव छ ।
(लेखक नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि हुन्) ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4


तपाईको प्रतिक्रिया