नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
काठमाडौं । पर्यटन शब्दको कुरा गर्दा फ्रेन्च शब्द टुरिज्मबाट उत्पत्ति भएको हो । सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । यो व्यावसायिक रूपमा सञ्चालन हुन्छ । पर्यटकहरूले आफ्नो आनन्द र मनोरञ्जनका लागि पैसा खर्च गर्न तयार हुन्छन् । पर्यटन मुख्यरूपमा तीन आधारबाट तयार हुन्छ । (१) यातायात (२) स्थान विशेष (३) सर्व सुविधा । पर्यटन त्यस्तो विषयमा मात्र सम्बन्धित गरिएको छ जो घरबाट बाहिर स्वदेश वा विदेशमा छोटो अवधिका लागि यात्रा गर्दछ र उसले कमाउने उद्देश्य नराखी मनोरञ्जन, स्वास्थ्य, अध्ययन वा अन्य भिन्न परिवेशको अनुभव बटुल्दछ ।
पर्यटन प्राचीनकालदेखि नै मानवको लोकप्रिय विषयको रूपमा रहेको छ । मानिस सभ्यताको सुरुआतदेखि नै टाढा–टाढासम्म यात्रा गर्दै आइरहेको छ । प्राचीन कालमा सबैभन्दा पहिले भ्रमणको लागि निक्लने यात्रीहरूमा फोनेसियनहरूको नाम लिन सकिन्छ । आधुनिक युगमा यिनीहरू नै प्रथम पर्यटकहरूको रूपमा थिए । कुकलगायत कयौँ यात्रीहरूको प्रयासलाई मध्यनजर राख्दै अठारौँ शताब्दीलाई यात्राको सुनौलो युग मानिएको छ । खासगरी सन् १९६३ देखि सन् १९९३ सम्मको ३० वर्षको अवधिमा यात्राको क्षेत्रमा भएको प्रगति उल्लेखनीय मानिन्छ । उन्नाईसौँ शताब्दीको पहिलो ५० वर्षमा विश्वमा ठूलो वैज्ञानिक र प्राविधिक उन्नति भयो । बीसौँ शताब्दीको प्रारम्भसँगै पर्यटनका सम्पूर्ण अवयवहरूमा आमूल परिवर्तनको स्थिति सिर्जना हुन्छ ।
नेपालमा गगनचुम्बी चुचुराहरू, सांस्कृतिक र धार्मिक संयोजनको कारण विश्वका विभिन्न मुलुकहरूबाट बढ्दो मात्रामा पर्यटकहरू आकर्षित भइरहेका छन् । विश्वका उच्च हिमशिखरहरूको आरोहण गर्नेदेखि लिएर मानसिक शान्ति प्राप्त गर्न, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल हेर्न तथा अन्य विभिन्न उद्देश्यले यहाँ आउने पर्यटकहरूको संख्यामा प्रतिवर्ष वृद्धि भएबाट आर्जित विदेशी मुद्राको परिमाणमा पनि वृद्धि भइरहेको पाइन्छ ।
समग्रमा पर्यटकलाई दुई भागमा विभाजन गर्न सकिन्छः
(क) देशीय पर्यटक जसले आफ्नै देशको सीमाभित्र भ्रमण गर्दछ । जसका लागि आफ्नै देशको पैसा प्रयोग गर्दछ र यसले धर्म, भाषा, संस्कृति एवं अन्य विषयमा प्रायः फरकपनको महसुस गर्दैन ।
(ख) अन्तर्राष्ट्रिय पर्यटक भन्नाले कुनै विदेशी २४ घण्टाभन्दा वढी विदेशमा बस्ने गर्दछ तर जसले स्थायी बसोवास वा कमाउने उद्देश्य राख्दैन र उसले भ्रमणअघि भ्रमणस्थल, प्रज्ञापनपत्र, विदेशी मुद्रा, भाषा, संस्कृति आदिका बारेमा चासो एवं तयारी गर्नुपर्ने हुन्छ ।
नेपाल अधिराज्यमा पर्यटन उद्योगको विकास योजनाबद्ध तरिकाबाट गर्नुपर्ने आवश्यकतामा निकै जोड दिइएको छ । पर्यटन उद्योग सञ्चालन भएबाट विभिन्न देशका पर्यटकहरू नेपाल आउँछन् र नेपाललाई चिन्ने मौका पाउँछन् । जसको फलस्वरूप नेपालको नाउँ विश्वको हरेक कुना–कुनामा फैलिने हुन्छ । हरेक देशहरूमा नेपाल पर्यटकीय स्थलहरूको प्रचारप्रसार हुन्छ । यसले गर्दा विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न रुचाउँछन् । जति विदेशी पर्यटकहरू नेपाल आउँछन् त्यति नै बढि मात्रामा पर्यटन उद्योग फस्टाउने गर्दछ । दुर्गम स्थानमा रहेका मनोरम दृश्यहरूको अवलोकन गर्नको निमित्त पर्यटन व्यवसायको माध्यमबाट यातायातको विकास भएको हुन्छ । पर्यटन उद्योगको विकासबाट यातायात र सञ्चारको विकास गराउनमा मद्दत पु¥याउँछ । पर्यटकीय स्थलहरूकोे विकास गर्नको लागि पनि यातायात र सञ्चारको विकास गरिनुपर्ने हुन्छ । त्यसले गर्दा धेरै मानिसहरूमा विचारहरूको आदानप्रदान हुन सजिलो हुन्छ । मानिसहरूको चेतनामा समेत वृद्धि हुन जान्छ ।
सन् २०२२ मा छ लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२२ मा छ लाख चार हजार एक सय ४८ पर्यटक नेपाल भित्रिएका छन् । कोभिड १९ पछि सबैभन्दा बढी गत वर्ष पर्यटक नेपाल आएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२२ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । कोभिडको समय सन् २०१९ को तुलनामा करिब ६५ प्रतिशतले पर्यटक आगमन सुधार भएको बोर्डका प्रमुख कार्यकारी अधिकृतले बताए । सन् २०२१ को तुलनामा २०२२ मा ०७ प्रतिशतले बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२१ मा कुल एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२० मा एक लाख ३० हजार ८५ र २०१९ मा ११ लाख सात हजार एक सय ९१ पर्यटक नेपाल भित्रिएका थिए । सार्क मुलुकबाट सबैभन्दा बढी ४० दशमलव शून्य ०६ प्रतिशतले पर्यटक भित्रिएका छन् ।
गत अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ४ दशमलव शून्य ५ प्रतिशतले बढी हो । सार्कक्षेत्रबाट दुई लाख छ हजार २७ पर्यटक नेपाल आएका छन् । सन् २०२२ मा भारतबाट दुई लाख नौ हजार पाँच, बंगलादेशबाट २५ हजार तीन सय ८४, श्रीलंकाबाट चार हजार पाँच सय ९८, पाकिस्तानबाट तीन हजार नौ सय २८ र भुटानबाट तीन हजार २२ पर्यटक नेपाल आएका छन् । बोर्डले लिएको एक स्टप गन्तव्य रणनीति कार्ययोजनाअनुसार पर्यटक आगमन बढेको बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए । भारतबाट एकदम नै राम्रो रिकभरी भएको छ । पहिला १५ देखि २० प्रतिशतले वृद्धि हुनेगरेकोमा यो वर्ष ३४ प्रतिशत छ । उनले भने तर चाइनिज मार्केटलाई बढाउने चुनौती रहेको उनले बताए ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ मा एक वर्षमा छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिए । जुन सन् २०२१ को तुलनामा तीन सय नौ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा एक सय ६६ दशमलव ९२ प्रतिशत धेरै हो । विदेशी मुद्रा आर्जन गर्ने माध्यम समेत रहेको पर्यटन क्षेत्रमा देखिएका पछिल्लो केही तथ्यांकले यो पुनरुत्थानको चरणमा रहेको संकेत गरेको छ । बोर्डका अनुसार सन् २०२२ मा सबैभन्दा बढी दुई लाख नौ हजार एक सय पाँच जना भारतीय पर्यटक नेपाल आएका छन् । दोस्रोमा अमेरिकी पर्यटक ७७ हजार नौ जना नेपाल आएका छन् भने दोस्रोमा बेलायतबाट ४४ हजार सात सय ८१ जना पर्यटक नेपाल आएका छन् । सन् २०२२ मा पर्यटक आगमन सन् २०१९ को तुलनामा ७५ प्रतिशतले रिकभर गर्ने लक्ष्य लिइएको भए पनि त्यो लक्ष्य पूरा हुन सकेन । बोर्डले लिएको लक्ष्यअनुसार ७५ प्रतिशतको रिकभर हुनका लागि नेपालमा सन् २०२२ मा नौ लाख पर्यटक आउनुपर्ने थियो । सन् २०२० मा आएका पर्यटकको संख्या हेर्दा पर्यटन क्षेत्र पुनरुत्थानको बाटोमा रहेको देखिन्छ । सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक ल्याउने सरकारको योजना कोरोना महामारीका कारण सम्भव हुन सकेन ।
नेपालको पर्यटन क्षेत्रको अवस्थाबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा उल्लेख गरिएअनुसार वल्र्ड इकोनोमिक फोरमले व्यावसायिक वातावरण, पर्यटनसम्बन्धी नीति, पूर्वाधार तथा प्राकृतिक र सांस्कृतिक स्रोतहरूको प्रचुरताजस्ता मुख्य चारवटा आयामभित्रका विभिन्न १४ सूचकहरूको आधारमा तयार पारेको ‘द ट्राभल एन्ड टुरिज्म कम्पिटिटिभनेस रिपोर्ट २०१७’ नामक प्रतिवेदनअनुसार विश्वका एक सय ३६ देशमध्ये कुल ७ पूर्णांकमा ३ दशमलव ३ अंकसहित नेपाल एक सय तीन स्थानमा देखिएको छ ।
प्रतिवेदनअनुसार नेपालले एक वर्षमा जम्मा पाँच लाख ३८ हजारको संख्यामा मात्र विदेशी पर्यटक भित्र्याउन सकेको देखिन्छ । जुन नेपालले लिएको वार्षिक लक्ष्यभन्दा कम रहेको छ । प्रतिवेदनले प्राकृतिक स्रोत साधनको उपलब्धता तथा पर्यटकले सेवा प्राप्त गर्दा भुक्तानी गर्नुपर्ने मूल्यको हिसाबले नेपालको अवस्था राम्रो देखिएको छ । यी सूचकमा नेपाल क्रमशः २७ र १९औँ स्थानमा रहेको छ भने वातावरणीय दिगोपना, भौतिक पूर्वाधारहरू, पर्यटक सेवासम्बन्धी पूर्वाधार, व्यावसायिक वातावरण, सूचना तथा प्रविधिको प्रयोगको अवस्थाजस्ता सूचकहरूमा कमजोर अवस्थाको उजागर गरिदिएको छ ।
पर्यटन नीति, २०६५ मा उल्लेख गरिएअनुसार
(क) दीर्घकालीन दृष्टिकोण : नेपालका प्राकृतिक, सांस्कृतिक, जैविक एवं मानवनिर्मित सम्पदाहरूको संरक्षण तथा प्रवद्र्धन गर्दै नेपाललाई विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलको रूपमा विकास गर्नु पर्यटन क्षेत्रको दीर्घकालीन दृष्टिकोण रहेको छ ।
(ख) लक्ष्य : राष्ट्रिय सम्पदाहरूलाई दिगो उपयोगको माध्यमबाट पर्यटकीय क्रियाकलापमा प्रयोग गरी राष्ट्रिय आयमा पर्यटन क्षेत्रको उल्लेख्य मात्रमा वृद्धि गराई जनताको जीवनस्तरमा सुधार ल्याउनु पर्यटन क्षेत्रको लक्ष्य रहेको छ ।
नेपाल पर्यटकहरूका लागि प्रमुख आकर्षणको क्षेत्र हो । यहाँका हिमालहरू, प्राकृतिक सौन्दर्य र मैत्रीपूर्ण संस्कृति एवं समृद्ध कलाहरू नै पर्यटकहरू आकर्षित गर्ने मुख्य साँचोहरू हुन् । तर पनि यो क्षेत्र निकै समस्याग्रस्त रहेको कारणले गर्दा बढी पर्यटकहरूलाई आकर्षित गर्न र आएका पर्यटकहरूको बसाई अवधि लम्ब्याउन सकिएको छैन । नेपालमा यातायात साधन र सडकहरूको निकै कमी छ । यसले गर्दा पर्यटकहरूलाई कतिपय मनोरम क्षेत्रमा पु-याउन कठिनाइ परेको छ । पैदलयात्रा गर्ने बाटोहरू पनि बढी जोखिमपूर्ण छन् । विमान व्यवस्थाको कमीले गर्दा पनि पर्यटकहरूलाई बढी संख्यामा भित्र्याउन सकिएको छैन । पर्यटकहरूको बसाइलाई लामो र आकर्षक बनाउन विभिन्न प्रकारका मनोरञ्जनका साधनको व्यवस्था मिलाइनु पर्दछ । नेपालमा यस्ता मनोरञ्जनका लागि आवश्यक क्लब, नाचघर, सिनेमा, पसल, पार्क आदिको अभाव छ । केबुलकार स्किइङजस्ता साधनहरू त छँदै छैनन् । सांस्कृतिक कार्यक्रमहरूका साथै मनोरञ्जन कार्यक्रमको व्यवस्था गर्नसके मात्र हालको औसत पर्यटक बसाई दिनलाई १३ दिनबाट बढाउन सकिन्छ ।
पर्यटकीय दृष्टिकोणले उपयुक्त देशका विभिन्न भागमा पर्यटन उद्योग फैलिन नसकी केही क्षेत्रमा मात्र सीमित रहनु, दुर्गम हिमाली र पर्यटनका दृष्टिले महत्वपूर्ण अन्य स्थानहरूमा पर्यटन पूर्वाधारको आवश्यक विकास हुन नसकेको देखिन आउँछ । पर्यटनको प्रमुख केन्द्रको रूपमा रहेको काठमाडौं उपत्यकाको बढ्दो प्रदूषण र फोहोर तथा पर्यटनस्थलहरूको समेत उचित संरक्षण नगरिनुजस्ता समस्याहरू यस क्षेत्रको विकासका प्रमुख चुनौतीहरूको रूपमा रहेका छन् । देशका विकट क्षेत्रहरूमा रहेका पर्यटकीय स्थलहरूको पहिचान र विकास गर्न नसक्नु, पर्यटकीय क्षेत्रमा यातायात र सञ्चारको समुचित व्यवस्था मिलाउन नसक्नु, पर्यटकहरूको बसाइ लम्ब्याउने खालका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्नु, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलहरूको संरक्षण गर्न नसक्नु, राजधानीलगायतका विभिन्न ठाउँमा वातावरण प्रदूषण बढ्दै जानु आदिजस्ता कयौँ समस्याहरू आज पनि नेपालमा पर्यटन विकासको लागि अवरोधको रूपमा रहेका छन् । ऐतिहासिक, सांस्कृतिक एवं धार्मिकस्थल तथा स्मारक र जीवन्त सांस्कृतिक सम्पदाहरूको संरक्षण एवं प्रवर्द्धनका माध्यमबाट नेपाललाई सांस्कृतिक पर्यटकीय गन्तव्य स्थलका रूपमा तथा प्राकृतिक सौन्दर्य र जैविक विविधता आदिको संरक्षण र प्रवर्द्धनबाट पर्यावरणीय पर्यटनको प्रवर्द्धनमार्फत बढीभन्दा बढी पर्यटकहरूलाई आकर्षण गर्नु अपरिहार्य भएको छ । पर्यटकीय पूर्वाधारहरूको विकास र सांस्कृतिक सम्पदास्थलहरूको पहिचान गरी एकीकृत तथ्याङ्कीय आधार निर्माण गर्ने, सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षणमा स्थानीय निकाय एवं सर्वसाधारणहरूको सहभागिता अभिवृद्धि गर्ने तथा साहसिक र जैविक पर्यटन तथा रचनात्मक एवं नवीनतम पर्यटनको विकास एवं विस्तार गर्ने कार्य आजको प्रमुख आवश्यकता बनेको छ ।
वर्तमान पन्ध्रौँ योजना २०७६–२०८१ मा पर्यटन विकास कार्यक्रमअन्तर्गत नेपाल एक आकर्षक, सुरक्षित र मनोरम पर्यटकीय गन्तव्य बनाउने सोच राखिएको छ । त्यस्तै विश्व पर्यटन बजारमा नेपाललाई अग्रणी स्थानमा स्थापित गर्ने लक्ष्य राखिएको छ । यसको साथसाथै नेपाललाई सुरक्षित, गुणस्तरीय र पर्यटनमैत्री बनाई आकर्षक पर्यटक केन्द्रको रूपमा विकास गर्नु, पर्यटकीय गन्तव्यस्थल तथा उपजमा विविधीकरण गरी पर्यटन क्षेत्रको अर्थतन्त्रको योगदान वृद्धि गर्नु, पर्यटकीय क्षेत्रबाट प्राप्त लाभलाई समन्यायिकरूपले जनस्तरसम्म पु¥याउने आदिजस्ता उद्देश्यहरू राखिएको पाइन्छ ।
पर्यटन क्षेत्रको राम्रो सम्भावना बोकेको मुलुक नेपालमा आर्थिक र सामाजिक विकासका लागि ग्रामीण पर्यटन निकै महत्व रहेको छ भन्ने कुरालाई नकार्न मिल्दैन । नेपाल आउने पर्यटकहरूमध्ये अधिकतर पदयात्राका जाने गरेका छन् । यस्ता क्षेत्रमा अन्नपूर्ण, सगरमाथा र लाम्टाङ नै प्रमुखरूपमा रहँदै आएका छन् । त्यसैगरी पर्यटकीय स्थलको रूपमा राजधानीबाहेक नगरकोट, धुलिखेल, पोखरा र चितवन नै विकसित भएको देखिन्छ । मुलुकका यस्ता प्रमुख पर्यटकीय स्थल र सोवरपरका ग्रामीण क्षेत्रको आर्थिक र सामाजिक विकासलाई नियाल्ने हो भने निकै राम्रो पाइएका छन् । त्यस्ता ग्रामीण भेगहरूमा शिक्षाको स्तर मुलुकको अन्य क्षेत्रको तुलनामा निकै राम्रो पाइएको छ । यसको साथसाथै वैकल्पिक ऊर्जाको प्रयोग, स्वास्थ्यसम्बन्धी चेतना र सुविधा, वातावरण संरक्षण प्रतिको सचेतता र भौतिक निर्माणजस्ता आधारभूत कुराहरूमा पनि पर्यटकीय दृष्टिकोणले पनि महत्व पाएका त्यस्ता भेगमा अन्य क्षेत्रको तुलनामा निकै उन्नति भएको देखिन्छ । यस्तो हुनुमा पर्यटकहरूको आगमनबाट होटेल, लज, रेष्टुराँ तथा स्थानीय उत्पादनहरूको बिक्री र स्थानीयस्तरमा रोजगारीको अवसरहरू प्राप्त हुनुलाई नै प्रमुख कारक तत्वको रूपमा हेर्नुपर्ने अति आवश्यक रहन आएको छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया