Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकृषि विकासमा खर्बुजाको योगदान

कृषि विकासमा खर्बुजाको योगदान


काठमाडौं । नेपालको खासगरी मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रका पहाडी जिल्लाहरूलाई हरेक वर्ष खाद्यान्न संकटले सताउने गरेको छ । एकातिर खाद्यान्न संकटको समस्या छ भने अर्कोतिर विश्व जलवायुमा आएको परिवर्तनको कारण अनावृष्टि, अतिवृष्टि, भू–क्षय जस्ता समस्या पनि यही क्षेत्रमा धेरै देखिने गरेको छ । यस्ता समस्याहरू दिनानुदिन बढ्दै जाँदा खेतीयोग्य जमिन घट्नुका साथै कृषि उत्पादनमा पनि नकारात्मक असर परेको छ । जसले गर्दा खाद्य सुरक्षाको स्थिति कमजोर भई भोकमरीको स्थिति बढ्दै गएको छ । यस्ताखाले जल्दाबल्दा समस्याहरूलाई निराकरण गर्नका लागि बेलैमा सचेत हुन र आवश्यक कदम चाल्नु परेको छ । यसका लागि वन जंगल एवं पानीका मुहानहरूको संरक्षण, खाली जमिनमा वृक्षारोपण, भिरालो जमिनमा खेतीगर्ने, वृक्षारोपण गर्ने, जमिनको बढीभन्दा बढी मात्रामा सदुपयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यस्तैगरी अर्को जटिल समस्याको रूपमा विश्वमा आज खासगरी विकसित देशहरूमा पेट्रोलियम पदार्थको विकल्पको रूपमा जैविक इन्धनको प्रयोग भइरहेको छ । जैविक इन्धन उत्पादन गर्न प्रमुख रूपमा खाद्यान्नको प्रयोग गर्ने गरिएको छ । जसले गर्दा उत्पादनको तुलनामा खाद्यान्नको खपत एवं माग दुवै बढ्न गई खाद्य सुरक्षामा गम्भीर असर पुग्न गएको छ । यसरी तत्काल जैविक इन्धनको प्रयोगको सम्भावना कम देखिए तापनि भविष्यमा त्यो अवस्था नआउला भन्न सकिन्नँ । त्यसको लागि विद्यमान कृषि जैविक विविधताको पहिचान, संरक्षण र उपयोगलाई बढावा दिँदै आधुनिक कृषि पद्धतिको उचित संयोजनबाट उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नुपर्ने अवस्था देखापरेको छ ।

कृषिप्रधान देश हुनुको साथसाथै ६५.७ प्रतिशत जनता यसमा निर्भर रहेका छन् । देशको अर्थतन्त्र कृषिमा आधारित छ । देशको प्रमुख औद्योगिक उत्पादनमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण छ । देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब ३३ प्रतिशतको हाराहारीमा रहेको छ । आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास अनिवार्य भएकोले लगानीमार्फत् कृषिमा आधुनिकीकरण तथा बजार प्रवर्द्धनमा सहयोग पु-याउन खोजिएको हो । वैदेशिक व्यापारको निकासीयोग्य वस्तुहरूमा अधिकांश कृषिसँग नै सम्वन्धित छ । प्रथम पञ्चवर्षीय योजना कालदेखि सातौं पञ्चवर्षीय योजना कालसम्म कृषिलाई पहिलो प्राथमिकता दिँदै आएको कुरा स्पष्ट छ । यसरी कृषि विकासको लागि ठूलो धनराशि खर्च भए तापनि उल्लेखनीय प्रगति हुन सकेको छैन । जबसम्म कृषिको चौतर्फी विकास हुन सक्दैन तबसम्म देशको चौतर्फी विकास हुन सक्दैन । कृषिको विकास नभएसम्म प्रशस्त खाद्यान्न उत्पादन हुन सक्दैन । हाम्रो देशमा बढ्दो जनसंख्याको कारणले गर्दा प्रतिव्यक्ति खाद्यान्न उत्पादकत्वमा वृद्धि गर्नुपर्ने आजको समयको माग हो ।

विश्वव्यापीकरणले गर्दा सम्पूर्ण आर्थिक क्षेत्रमा आमूल परिवर्तन भएको यस शताब्दीमा कृषि क्षेत्रलाई पनि यस्तो परिवर्तनले उल्लेखनीय रूपमा प्रभाव पारेको छ । बालीनाली, तरकारी, फलफूल र पशुपक्षीको किसिम, खेतीपाती गर्ने तौरतरिकादेखि लिएर मानिसको स्वाद, चाहना र आकांक्षासमेतमा ठूलो परिवर्तन आएको छ । यस्ता परिवर्तनले हाम्रा सामु ठूलो चुनौती र अवसरहरू देखिएका छन् । मुलुकमा यातायात क्षेत्र क्रान्तिकारी विकास, भौगोलिक परिवेशले उपलब्ध गराएको हावापानीको अवसर र आधुनिक प्रविधिहरूको सदुपयोगबाट दिगो आर्थिक वृद्धि तथा खाद्य सुनिश्चित गर्न सकिने सम्भावना छ । विश्वमा चर्किंदो खाद्य संकटले गर्दा धन कमाउन सबैभन्दा सम्भावना भएको क्षेत्र कृषि हो । यसमा पनि फलफूल खेतीको सम्भावना नेपालमा धेरै देखिएको छ । यसमा मुलुकको भू–बनोटलाई अवलोकन गर्ने हो भने पनि अधिकांश भाग पहाडैपहाडले भरिएको छ । यसले गर्दा ती डाँडाकाँडामा फलफूल खेती गर्न सकिएको खण्डमा ठूलो धनराशि भुक्तानी छिमेकी मुलुकहरू भारत र चीनलाई दिनुपर्ने थिएन । हाम्रो देशमा उत्पादित फलफूलबाट नै देशको मागबमोजिमको फलफूल आपूर्ति गर्न सकिने थियो । यी फलफूलमध्ये खर्बुजा पनि एक किसिमको महत्वपूर्ण फलफूल हो ।

बढ्दो गर्मीसँगै राजधानीमा दैनिक ९० मेट्रिक टनभन्दा खर्बुजा भारतबाट भित्रिने गरेको तथ्यांकले देखाएको छ । मुलुकमा मौसम परिवर्तनसँगै बजारमा खर्बुजाको माग अत्यधिक भएपनि हाल नेपाली उत्पादन भने न्यून रहेको सम्बन्धित क्षेत्रका अधिकारीहरूको दाबी छ । यो एक किसिमको गर्मीका लागि उपयुक्त मानिने फलफूल हो । यो हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक ४० देखि ५० मेट्रिक टन भित्रिने गरेको अनुमान गरिएको छ । त्यस्तैगरी बल्खुमा दैनिक ३५ देखि ४५ मेट्रिक टन खर्बुजा भारतबाट आउने गरेको नेपाल फलफूल व्यवसायी संघ बल्खुले जनाएको छ । हाम्रो मुलुकको कुरा गर्ने हो भने विशेष गरेर तराईका जिल्लाहरूमा जनकपुर, झापा, वीरगञ्ज, महोत्तरी लगायतका जिल्लाबाट सिजनअनुसार खर्बुजा उपत्यकामा भित्रिने गरे तापनि त्यसले वार्षिक १५ देखि २० दिनको मात्र बजारको माग आपूर्ति गर्न सक्ने अवस्था रहेको सम्बन्धित क्षेत्रको भनाइ छ । देशको विभिन्न जिल्लाबाट आयात गरिने खर्बुजाले उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकिने कारण वर्षैभरि भारतबाट आयात गर्नुपर्ने बाध्यता टड्कारो रूपमा देखा परेको छ । देशको सबैभन्दा ठूलो मानिने कालिमाटी तरकारी तथा फलफूल थोक बजार, बल्खु फलफूल थोक बजार र बालाजु लगायतका बजारमा खर्बुजा प्रतिकिलो २५ देखि ३० रुपैयाँथोक मूल्यमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।

समग्रमा भन्नुपर्दा हाम्रो देशमा विभिन्न किसिमका फलफूलहरूको खेती हुन्छ । यसमध्ये खर्बुजा गर्मीको लागि उपयुक्त फल हो । देशका विभिन्न भागहरूमा गर्मी समयमा यसको माग बढी हुने गर्छ । यसले केही हदसम्म भएपनि गर्मी हटाउने गर्दछ । यसको प्रयोग दिनहुँ बढ्दो रूपमा भएको पाइन्छ । यसले गर्दा यसको मूल्यमा पनि वृद्धि भएको छ । यस कारणले गर्दा मुलुकको विभिन्न शहरी क्षेत्रमा यसको माग दिनहुँ बढ्दै गएको छ । यसको खेती प्रायःजसो तराईका बीस जिल्लालगायत पहाडी भेगमा पनि गर्ने गरिएको छ । मुलुकका सानास्तरका कृषकहरूको लागि थोरै पुँजीमा यसको खेती गर्न सकिन्छ । विशेष रूपमा राजधानी काठमाडौंमा मात्रै एक सय २० मेट्रिक टन भन्दाबढी खर्बुजाको माग रहेको अनुमान गरिएको छ । यसमा ८० मेट्रिक टन भारतीय बजारबाट आउँछ भने ४० मेट्रिक टन खर्बुजा नेपालमै उत्पादन हुने गरेको सम्बन्धित क्षेत्रको दाबी छ । खर्बुजा उत्पादनका साधनहरू जस्तै भूमि, श्रम, पुँजी र प्रबन्धलाई उचित प्रयोगद्वारा धेरैभन्दा धेरै उत्पादन कसरी गर्ने र यो व्यवसायबाट धेरैभन्दा धेरै मुनाफा कसरी कमाउने भन्ने कुरा व्यावसायिक कृषकलाई सिकाउनुपर्छ । कृषि उत्पादन अर्थशास्त्र एउटा यस्तो व्यावहारिक ज्ञान हो, जसले कृषि व्यवसायमा उत्पादनका साधनहरूलाई आपसमा कुन स्तरमा मिलाउने अथवा साधनहरूलाई कुन अनुपातमा राख्ने भन्ने कुरा थाहा पाउनुपर्छ । जसले गर्दा प्रतिइकाई उत्पादन वृद्धि गर्न सकिन्छ । जसले गर्दा आयआर्जन वृद्धि गरी कृषकहरूको जीवनस्तर उकास्न मद्दत पु¥याउने हुन्छ । यसर्थ कृषि विकास गर्ने निकायको रूपमा रहेको नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेलैमा मुलुकको खर्बुजाको मागलाई आपूर्ति गर्न सकिने खालको यसको खेती विस्तार गर्नुपर्ने आजको टड्कारो आवश्यकता एकातिर छ भने अर्कोतिर छिमेकी मुलुकहरूबाट आयात गर्ने खर्बुजालाई प्रतिस्थापन गरी स्वदेशी खर्बुजाको उत्पादनमा जोड दिनुपर्ने सम्बन्धित क्षेत्रको भनाइ पाइन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया