Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमलाई मृत्युदण्ड स्वीकार छ !

मलाई मृत्युदण्ड स्वीकार छ !


काठमाडौं । अन्ततः मैले न्याय पाइनँ । कसरी पाउँछु न्याय ? थारूले न्याय पाएको इतिहास कहाँ छ र ? थारूहरूले न्यायालयबाट करिब चार लाखभन्दा बढी पटक जमिनी मुद्दाको हार व्यहोरेका छन् । सत्य यही हो, सदियौँदेखि जातभोग गर्दै आइरहेको जमिनको न्यायिक फैसला नभएकै कारण थारूहरू कमैया बन्न पुगे । मुद्दा मामिलाका कारण थारूहरूको जमिन मात्रै गुमेन, चाँदीको सिक्कासमेत स्वाहा भयो । थारूहरू विगतदेखि वर्तमानसम्म न्यायालय र प्रशासनको सिकार भएकै छन् । साँच्चैभन्दा नश्लीय शासकको नोकरवाद लाद्ने गधा बनाइएका छन् थारूहरू ।

मैले जनताबाट न्याय पाएकै हुँ । त्यो पनि घटनास्थल वरिपरिकै मतदाताबाट । एकपटक होइन, तीनतीनपटक मैले पाएको न्यायको थप्पा थारूको मात्र थिएन, पहाडियाहरूको समेत थियो र छ । कतै हामीले प्राप्त गरेको मतबारे सम्मानित अदालत अञ्जान पो छ कि ! होइन भने म त्यही रेशम चौधरी हुँ, जसले २०७४ को निर्वाचनमा विजय प्राप्त गर्दा प्रमाणपत्रको लागि अदालतको ढोका खट्खटाएको थिएँ । तर सम्मानित सर्वोच्च अदालतले मेरो निवेदन दरपिठ गरिदियो । तँ थारू होस् ! प्रवासमै बसेर चुनाव जित्ने अधिकार कहाँ छ तँलाई ? ठानेर होला सम्मानित न्यायालयले मेरो निवेदन लिनै उचित ठानेन ।

नश्लवादको चिन्तन वोक्नेहरूले म र मेरो पार्टी नागरिक उन्मुक्तिलाई जातीयवादी राजनीतिक दलको उपमा भिडाउने गर्छन् । हो, हाम्रो पार्टी जातिवादी नै हो तर नेपाली जातिवादी । असली पहिचानको जातीयवादको मुद्दा बोक्ने पार्टी धर्म, बेच्ने होइन धर्म बचाउने पार्टी, जात सफाया गर्ने होइन जात संरक्षण गर्ने पार्टी हो, नागरिक उन्मुक्ति पार्टी । जहाँ सबैलाई सम्मान छ । त्यही पार्टीको नेताले आज न्याय पाएन । मुद्दा हारेर रेशमले रोष प्रकट गरेको भन्ने ठान्दै हुनुहुन्छ भने त्यो एकदम सत्य हो । हो, मैले रोष प्रकट गरेकै हो । मैले रोष प्रकट नगरे कसले गर्ने ? अब मैले न्याय भएन भनेर जाने ठाउँ कहाँ हो ?

टीकापुर घटना राजनीतिक घटना हो । २०७२ भाद्र ७ गते थारूहरूको जुलुस टीकापुर बजारमा थारूहरू प्रदेश लेख्न गएकै हो । तर टीकापुरमा थारूहट प्रदेश लेख्ने आन्दोलनको आह्वान मेरो निर्देशनमा भएको थिएन । जेठानको देहान्त भएकोले भाद्र ४ गतेसम्म त म काठमाडौंमै थिएँ । धनगढीमा हुने सर्वदलीय बैठकमा भाग लिन गइदिनु प¥यो भन्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका नेता भीम रावलको आग्रहपछि म धनगढी गएको हुँ । आन्दोलन चलिरहेकाले भाद्र ७ गतेसम्म सुरक्षाकर्मीको सबै बन्दोबस्त मलाई पूर्व गृहमन्त्री भीम रावलले नै गरिदिनुभएको हो । भाद्र ६ गते टीकापुर सशस्त्र प्रहरी उग्रतारा गणमा भएको सर्वदलीय बैठकमा सबैलाई मैले भनिदिएकै हुँ । आन्दोलन मेरो नियन्त्रणमा छैन, म त्यो आन्दोलनको संयोजक पनि होइन ।

भाद्र ७ गते टीकापुरमा हुने थारू आन्दोलनका बारेमा प्रशासन जानकार थियो । त्योे आन्दोलनलाई रोक्न मैले कति प्रयत्न गरेँ त्यो तत्कालीन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई थाहा छ । जिल्ला प्रहरी प्रमुख विक्रमबहादुर चन्द्रलाई थाहा छ । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्षलाई थाहा छ । स्थानीय सबै राजनीतिक दलका प्रतिनिधिलाई थाहा छ । सर्वदलीय बैठकमै अब रेशमलाई दोष दिनुहुन्न भनेर सबैले स्वीकारेका छन् । अनि म दोषी भएँ कसरी ? भाद्र ७ गते बिहान ९ बजेसम्म मैले के प्रयत्न गरिनँ ? थारू आन्दोलनको भिडमा जाऔं कमरेड विकासले मार्दिन्छु भन्याछन् । अखण्ड सुपको भिड गए मेरो कपाल पनि बाँकी रहनेवाला थिएन । सुरक्षाकमीसँग सल्लाह गर्न खोज्यो ‘तँ आन्दोलनकर्मी होस्’ भन्छन् । कतै केही सिप नलागेपछि म रेडियो हेर्न बर्दियातिर लागेको हुँ ।

भाद्र ७ गतेको घटनापछि म भारतमा हुँदासमेत सामाजिक सद्भाव खलबलिन नदिन के मात्रै प्रयत्न गरिनँ मैले ? म नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको सम्पर्कमै थिएँ । भारतबाटै केवालाल चौधरीको संयोजकत्वमा एमाले नेता भीमबहादुर रावलसँग वार्ता गर्न पठाइदिएकै हुँ । प्रवासमा मलाई उकास्ने कति थिए कति ? यदि म अर्काको उक्साहटमा मात्रै लागेको भए आज देश जातीय द्वन्द्वमा फसिरहेकै हुन्थ्यो होला ।

एकान्तमा एक्लै गम्छुँ, मलाई टीकापुर घटनाको ब्रह्मा, विष्णु, महेश, जिसस, अल्लाह, बुद्ध कसैले पनि दोषी प्रमाणित गर्न सक्दैन होला । तर सम्माननीय सर्वोच्च अदालतले गरिदियो । साँच्चैभन्दा मैले न्याय पाइनँ । अर्काको भावनामा बगेर मलाई अपराधी ठहर गर्न पाइन्नँँ । श्रीमान्ले मेरो बयान पढिदिनुभएन जस्तो लाग्यो । मिसिल हेरिदिनुभएन मेरो हकमा त्यसैले मेरो हकमा न्याय भएन, फैसला मात्रै भयो । त्यो पनि पपुलिस्ट फैसला । सुरु अदालतको पुनरावेदन सुन्ने अन्तिम अदालत सबै पपुलर मात्रै बन्न खोजे । आज न्यायलाई विश्वले समेत ढोग्छ । ढोग्नै नमिल्ने फैसलाको प्रतिलिपि बोकेर म कुन न्यायालयको ढोका ढक्ढक्याउन जाऊँ ?

टीकापुर घटना नहुनुपथ्र्यो भयो । आठ प्रहरी र एक बालकले साहादत प्राप्त गरेकै हुन् । तर के ती सहिदहरूको संसार कुनै बन्द कोठा वा गुफामा गरिएको हो र ? त्यो घटनाका प्रत्यक्षदर्शी पनि त हजारौँ थिए । मिसिलमा उल्लेख गरेजस्तो भाला बन्चरो कुनै थारू आन्दोलनकर्मीले बोकेका थिएनन् । कसैलाई दोषी करार गर्ने मलाई कुनै हक छैन तर वास्तविक घटना कसले घटायो त्यो टीकापुरलाई थाहा छ । सहादत प्राप्त गर्नेको परिवारले पनि अन्तिम सत्य थाहा पाउनुपर्छ । मेरो श्रीमान्, दाइ, भाइ, छोराको हत्या के कसरी भयो ? कसले कसरी मारे ? किन मारे ? त्यो अन्तिम सत्य थाहा पाउने चेष्टा पनि प्रहरी परिवारले गर्नैपर्छ । उहाँहरूको मनमा एउटा शंका उब्जिनैपर्छ । कतै विभीषणको भेषमा आफ्नै भाइहरू हत्याराको झुण्डमा मिसिएका त थिएनन् ?

नेपाली दाजुभाइ दिदीबहिनीहरू यदि म ती सहादत प्राप्त सहिदको हत्यारा हुँ भने मलाई त्यति क्रूर अपराधीलाई यति सहज सजाय साह्रै अपुग हुन्छ । म भन्छु ! म हत्यारा हुँ भने मैले मारेको हतियार कहाँ छ ? त्यसैले फाँसी किन नदिने ? भाला घोचीघोची आठ सुरक्षाकर्मी र एक दूधे बालकको हत्यारालाई जन्मकैदको सजायले मात्रै पुग्छ र ?

न्याय मैले पाउनैपर्छ । न्यायको आशा अझै मरेको छैन । यो मेरो सानो रोष मात्रै हो, जसलाई नलेखी म बस्नै सकिनँ । कति सत्य चाहेर पनि लेख्न सकिरहेको छैन । इच्छाउँदैमा सबै कुरा लेख्नु पनि हुन्न । तर तीनतीनवटा फैसलाको खोटले साह्रै चोट दिएको छ मलाई । सहनै नसकिने चोट । व्यर्थै चोट सहिरहनुभन्दा एकपटकको मृत्युदण्ड जाति हुन्थ्यो ।

अब मलाई अत्यन्तै महत्वपूर्ण निर्णय चाहिन्छ । कि न्याय कि मृत्युदण्ड । साँच्चिकै दोषी भए मृत्युदण्ड स्वीकार गरेर टुँडिखेलमा सबैको सामु झुण्डिएर मर्ने इच्छा छ मेरो । नभए मलाई न्याय दिनैपर्छ । सम्मानित सर्वोच्च अदालतको फैसलाबाटै मेरो छोरा छुट्छ र घर लिएर जाऊँला भनेर मलाई लिन आएकी मेरी आमा जेलमा मेरो मुख हेर्नसमेत आउनसकेकी छैनन् । चोट लागेर रोष प्रकट गरेकोजस्तो देखिए पनि सत्य यही हो । न्यायका लागि कुनकुन कहाँकहाँसम्मको दैलो चहार्नुपर्छ, त्यो प्रयत्न मैले जरुर गर्छु । अन्तमा गीतको एक टुक्काबाट बिट मार्न चाहन्छु ।
श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन
दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन । (डिल्लीबजार कारागारबाट)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

ताजा अपडेट