Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसहकर्मीहरूका नाममा पूर्वी पहाडका एक जना पत्रकारको खुला पत्र

सहकर्मीहरूका नाममा पूर्वी पहाडका एक जना पत्रकारको खुला पत्र


काठमाण्डौं,चैत २८
प्रिय सहकर्मीहरू । हामी पत्रकारहरू यतिखेर सेल्फ क्वारेन्टाइनमा छौँ ।
कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका अवधिमा पनि आफ्नै स्रोत साधनको परिचालन गर्दै समाचार संकलन र सम्प्रेषण गर्नु नै छ । एकातिर हामी आफैँ श्रमजीवी भएकाले काम नगरी झन् हुँदै हुँदैन । यो बेला हाम्रो कार्यस्थल काम गर्ने शैली थोरै बदलिएको छ तर दिनचर्या खासै बदलिएजस्तो लाग्दैन । कार्यालय जानेहरू रुटिनअनुसार कार्यालय गएर त कार्यालय नजानेहरू घरैमा बसेर पनि समाचार र सञ्चार माध्यमका लागि सामग्री उत्पादन गर्नु छ । अझ श्रव्यदृश्य माध्यममा काम गर्ने सञ्चारकर्मीहरू फिल्ड र स्टुडियोमै खटिरहेका छौँ । यो हाम्रोे रहर नभएर बाध्यता अनि जिम्मेवारी र कर्तव्य पनि हो ।

यद्यपि लकडाउन सुरु भएपछि हामी पत्रकार, पत्रकारहरूका पेशागत संघठनदेखि छाता संस्थाका अगुवाहरू मुलुकको खास समस्याभन्दा पनि निश्चित विषयमा एक अर्काबीच आलोचना गर्ने, दलगत स्वार्थले ओतप्रोत भएर विचार पर्वाह गर्ने, तीनै तहका सरकाले गरेका कामको कि धेरै खुलेर प्रशंसा कि त आफ्नो पेशागत र पदीय मर्यादाभन्दा तल झरेर आलोचना तथा नकरात्मक टिप्पणी गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत आफ्नो असली रूप समाजलाई देखाउने काममा उद्यत भइरहेका छौँ कि ? भन्ने मलाई महसुस भएर यो पत्र तयार लेख्दै छु । मलाई पत्र लेख्न निम्न घट्नाले प्रेरित गरेका हुन् । एक साताअघि काठमाडौँ प्रेसमार्फत सार्वजनिक भएको समाचार सामग्री डिलिट भएको वा गर्न लगाइएको प्रसङ्गमा पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रकाशित गरेको विज्ञप्तिका विषयमा पेशागत संघठनका तपाईं नेतृत्व वर्गले जुन शैलीमा जुहारी खेल्नुभो नि, त्यस घट्नालाई मात्रै हेर्ने हो भने पनि हामी संघठन पदाधिकारीहरू आ–आफ्ना गुटलाई बलियो साबित कतिपसम्म लागि परेका छौँ भन्ने विषय पुष्टि गर्छ । यद्यपि ती गुटहरू गिरोहमा परिणत भइसकेका छन् । तिनले हामी कसैको भलो गर्दैन भन्ने कुराको हेक्का हामीले राखेका छैनौँ ।

प्रेस विज्ञप्तिमा के लेखिएको थियो वा त्यो कसले प्रकाशित ग¥र्यो अनि कसले गर्न लगायो भन्ने विषय आन्तरिक संघठन वा नेपाल पत्रकार महासंघको बन्द कोठामा हुने छलफलको विषय हो जस्तो मलाई लाग्छ । यदि विज्ञप्ति नै आएको थिएन भने महासंघ ‘चुँ’ बोलेन भनेर आक्षेप डुक्रिने पनि हामीहरू नै हौँ । पेशागत संघठनमा आबद्ध नेता पत्रकारहरूको यो रोग र यस्तै खालको झोक केवल प्रेस संघठन मात्रै होइन सबै संघठनहरूमा देखिन्छ । केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म आइपुग्दा प्रत्येक पत्रकारहरूको स्वार्थ बाझेको पाइन्छ । ती स्वार्थ अब गुट हुँदै गिरोहमा परिणत भइसकेका त छैनन ?

अर्को सन्दर्भः हामी कोही जनप्रतिनिधि, कर्मचारी र शक्तिमा रहेका पदाधिकारी र सत्तामा रहेका दल निकट नेताहरू निकट भएर उनीहरूको जयजयकार गर्दै भक्ति भजन गाउँदै उनीहरूकै अगाडिपछाडि डुलिरहेका छौँ । कोही उनीहरूले गरेका गतिविधिलाई नियालेर उनीहरूले जे गरिरहेका छन् ती कुरालाई समाचार सामग्री बनाएर प्रस्तुत गरिरहेका छौँ त कोही यो गरे नि बेठीक त्यो गरे नि बेठीक भनेर कटु आलोचना मात्रै गरिरहेका छौँ । कोही हाम्राले गरेको सबै राम्रो राम्राले राम्रो गरे पनि नराम्रो त कोही राम्राले गरेको राम्रो पनि नराम्रो अनि हाम्राले गरेको चाँही आची पनि राम्रो भनेर भक्तिभाव दर्शाउदैछौँ । आखिर किन भइरहेछ यस्तो ? पत्रकारलाई कसैले तेस्रो आँखा, कसैले ‘वाच डक’ त कसैले चौथो र कसैले चुथ्थो अङ्ग भन्ने गरेका छन् कि यही भएर हो हामी पत्रकार खण्ड–खण्ड र झुण्ड–झुण्डमा विभक्त भएको ? तर समाजले परिभाषित गर्ने माथिकामध्ये कुनचाँहि वर्गको पत्रकार ? भनेर हामी सबैले सोच्नु बेला यही हो जस्तो मलाई लागेको छ ।
पछिल्ला दिनहरूमा स्वास्थ सामग्री खरिद र ठेक्का रद्दको प्रसङ्ग होस् वा सेनालाई सामग्री खरिदको अख्तियारी दिने प्रसङ्ग नै किन नहोस् । हामीले दिइरहेका समाचारमा दलीय गोत्रको गन्ध प्रस्टरूपमा आइरहेका छन् ।

यो बेला कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणको पूर्वतयारीमा मुलुक जुटिरहेको छ । दुई साता लामो लकडाउनले श्रमजीवी र मजदुर वर्गको हातमुख जोर्ने मेसो टुटिसक्यो । समस्यामा जुध्नेहरू जुधिरहेका छन् । राहत र सहयोग संकलन गर्नेहरूले गरिरहेका छन् । अनि वितरण गर्नेहरू पनि गाउँ टोलमा कुदिरहेकै देखिन्छन् ।
पछिल्ला दिनहरूमा स्थानीय सरकारमा रहेका जनप्रतिनिधिमध्ये कोही गाउँको तरकारी भेला गरेर बजारमा त कोही बजारबाट खाद्य सामग्री लगेर गाउँमा वितरण गरिरहेका छन् । यद्यपि खास ठाँउहरूमा उनीहरू पुग्न नसकेको भने साँचो हो । एक जना जनप्रतिनिधि बजारमा साग बाँड्दै हिड्छन्, कसैले तस्बिर खिचेर समाजिक सञ्जालमा पोष्ट गर्छ, हामी तरकारी वितरणका नाममा भीड जम्मा ग¥र्यो, सस्तो लोकप्रियताका भन्छौँ । कसैले कीटनाषक औषधि छर्कियो वाइयात नाटक भन्छौँ, कसैले गाउँमा लगेर चामल बाँड्यो कोही हाइ गर्छौँ त कोही अर्को चुनावका लागि जनमत निर्माण गर्न लाग्यो भन्छौँ । एकातिर राहतका नाममा भीडभाड गर्नुहुँदैन सोसल डिस्टेन्स कायम गर्नुपर्छ भनेर हामी नै कराइरहेका छौँ फेरि कसैले फरक ढंगबाट केही सामग्री वितरण ग¥यो नाटक भन्दै आलोचना गर्छौँ ।

अन्त्यमा म सानो छँदा आमाले सुनाउनुभएको एउटा कथांश राख्दै मेरो कलम बन्द गर्दै छु । ‘भर्खर बिहे गरेर डेरामा श्रीमतीसँग बस्दै आएको नवदुलाहाले एक क्यारेट अण्डा ल्याएर भोलिदेखि बिहान यसैको नास्ता बनाउ है भनेर अ¥हाएछ । भोलि बिहान श्रीमान् बाहिर निस्कने बेलामा नवदुलही दुई कप चिया र बोइल गरेका दुईटा अण्डा तयार गरेर श्रीमान्लाई नास्ताका लागि बोलाइछिन् । बोइल अण्डा देख्नासाथ श्रीमानको मुखबाट हैट यो फ्राइ गर्ने अण्डा बोइल गरेर खत्तम गरिछ््यौ भन्ने जवाफ दिन्छ ।

अर्को दिन बुढोलाई फ्राइ अण्डा मनपर्दोरहेछ भनेर त्यहीअनुसार तयार गरेर भान्छामा बोलाउँछिन् । अब भान्छामा आएका श्रीमान् खुसी होलान् कि भनेर मुख हेरिरहेका बखत बेवखुप यो बोइल गर्नुपर्ने अण्डा फेरि किन फ्राइ गरेको भनेर कड्किएछन् । तेस्रो दिन आजचाहिँ जसरी नि खुसी पारेरै छोड्छु एउटा अण्डा फ्राइ अनि अर्को अण्डा बोइल गरेर बोलाउँछु जुन मन पर्छ त्यही खान्छन् म फ्राइ वा बोइल जुन भए पनि लिउँला भन्ठान्दै त्यहीअनुसार तयार गरेर नास्ताका लागि निम्तो गर्छिन् । आज त बुढोले खुसी भएर खालान् भनी मख्ख परेकी श्रीमतीलाई तिमी किन सधैँ उल्टो मात्रै काम गछ्र्यौ हँ ? यो बोइल गर्ने अण्डा फ्राइ ग¥या छ अनि फ्राइ गर्ने अण्डाचाहिँ बोइल ग¥या छ । भनेर उल्टै हपारेछन् विचरी श्रीमती हे¥याहेरै ।’कतै यस्तै त भइरहेको छैन हाम्रो पत्रकारिता ? यो बेला पनि तथ्यगत समाचार प्रकाशन प्रशारण नगरे कहिले गर्ने ? एक पटक सबैले सोच्ने हो कि ???
— लक्ष्मी गौतम
कार्यक्षेत्र फिदिम पाँचथर
आबद्धता कान्तिपुर टेलिभिजन
तथा नेपाल पत्रकार महासंघ पाँचथरका पूर्वअध्यक्ष


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया