Techie
breaking विचार

अर्थतन्त्रमा कोरोनाको प्रभाव भूकम्पभन्दा तेब्बर हुनेछ

-(रमेश सिलवाल)

काठमाण्डौं,वैशाख १
विश्वभर कोरोनाको प्रभावबाट अब कुनै पनि राष्ट्र बच्नसक्ने स्थिति छैन। यो विश्वव्यापी खतराले सबैमा आर्थिक अनिश्चितता सिर्जना गरिसकेको छ। मानिसहरु चिन्तित छन्, किनकि यस घातक भाइरसबारे धेरै थाहा छैन । आर्थिक नतिजा कति गहिरो र व्यापक हुनेछ भन्ने केवल अनुमान लगाउन मात्र सकिन्छ । स्वास्थ्य क्षेत्रभन्दा पनि यसको भयानक प्रभाव अर्थतन्त्रमा पर्ने देखिन्छ ।

विकसित देशहरु आफ्नो नागरिकको रोजीरोटी ग्यारेन्टी गर्दै पैसा दिएर घरमा बस्न आग्रह गर्दै छन् । कति देशमा व्यवसाय र रोजगारी यथास्थितिमा कायम गराउँदै विभिन्न देशका सरकारले विभिन्न सहुलियत प्याकेज दिएका छन् । नेपालमा कोरोनाको प्रभाव व्यापक नदेखिए पनि विश्वभर फैलिँदो संक्रमण र बढिरहेको मृत्युदरले व्यापक चिन्ता बढाएको छ । कोरोना भाइरसको प्रकोपका कारण नेपालले अचानक ठूलो आर्थिक क्षति व्यहोर्ने पक्का छ ।

एसियाली विकास बैंकको विश्लेषणअनुसार यस घातक रोगको प्रकोपले नेपाली अर्थतन्त्रको प्रायः सबै क्षेत्रहरूमा असर पार्नेछ। कुल गार्हस्थ्य उत्पादनमा १३ प्रतिशत ह्रास आउने उसको प्रक्षेपण छ । अर्थतन्त्रलाई गतिशील बनाउन र देशको समृद्धिमा सहयोग पु¥याएको पर्यटन क्षेत्र अहिले ठप्पप्रायः छ । सबैभन्दा धेरै प्रत्यक्ष रोजगारी सिर्जना गरेको नेपालको पर्यटन उद्योग धराशायी भएको छ ।तत्काल उठ्ने त के ब्युँतिने सम्भावना पनि छैन । कोरोनाको प्रभाव पर्यटन क्षेत्रमा मात्र नभई, व्यापार, उत्पादन, आपूर्ति र स्वास्थ्यजस्ता क्षेत्रहरूमा उलेख्य रुपमा सतहमा देखिसकिएको छ । खासगरी सम्पूर्ण सेवा सेक्टरका सेवा उद्योगहरूस् पर्यटन, उड्डयन र आतिथ्य क्षेत्र प्रकोपबाट धेरै प्रभावित छ।

जनवरी २०२० मा नेपाल भ्रमण सुरु भएपछि देशले २० लाख आगन्तुकहरूलाई आकर्षित गर्ने आशा गरिए पनि कोरोना महामारीको कारण यो अभियान रद्द भयो । अब कहिल्यै पर्यटन वर्ष नहुने देखिएको छ । पर्यटक आगमन केही महिना त लगभग शून्यमा झर्ने पक्का छ । कोभिड १९ को प्रकोप हुनुअघि सबैभन्दा ठूलो करिब ७ प्रतिशत रोजगारी दिइरहेको पर्यटन क्षेत्र बन्द भएसँगै यसमा आधारित अन्य व्यवसाय र उद्योगहरु पनि चपेटामा परिसकेका छन् ।

सगरमाथा आरोहणसहित सबै पर्वतारोहण सम्बन्धित अभियानहरू रद्द हुँदा ट्रेकिङ, होटेल, रेस्टुरेन्टलगायतका क्षेत्रले हजारौँ रोजगारी गुमाएको अवस्था छ । यसको प्रकोपले निजी जीवन र निजी क्षेत्रहरूमा पनि असर पारेको छ । कोरोनाभाइरसले पर्यटक मन्दीका कारण बैंकहरूले आतिथ्य र उड्डयनमा लगानी गुमाइरहेका छन्। यो मात्र होइन, प्रभाव निर्माण उद्योगहरूमा पनि देखिन्छ । औषधि रसायनलगायत अधिकांश कच्चा पदार्थहरू चीनबाट आएकाले यी कच्चा पदार्थहरूको आपूर्तिमा ठूलो ह्रास आएको छ ।

वैदेशिक रोजगारीले नेपालको बेरोजगारीका समस्याहरूलाई सम्बोधन गरेको छैन तर रेमिट्यान्सको रूपमा पनि देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । सन् २०१९ मा रेमिट्यान्सले देशको जीडीपीमा २६ प्रतिशत योगदान पु¥यायो । भाइरसको बढ्दो दरले रेमिट्यान्स प्रवाह र सरकारी राजस्व संकलनमा असर पारेको छ किनकि बाहिरी श्रमका लागि आकर्षण गर्ने अधिकांश गन्तव्य मुलुक आफैँ लकडाउनको चपेटामा छन् ।

वर्तमान स्थितिमा, रेमिट्यान्समा कोरोनाभाइरसको प्रभाव विनाशकारी छ । रेमिट्यान्सको मन्दीले मुलुकको समग्र उपभोगमा गम्भीर प्रभाव पार्ने देखिन्छ । कृषिपछिको रिटेल क्षेत्र नेपालको अर्थतन्त्रमा दोस्रो ठूलो योगदानकर्ता हो । यस क्षेत्रले अर्थ व्यवस्थामा झण्डै १५ प्रतिशत योगदान पु¥याएको छ । कोरोना रोगको प्रकोपसँगै यो क्षेत्रमा पनि ठूलो ह्रास आउने देखिन्छ । फलतः उत्पादनलाई समेत ठूलो असर पर्नेछ ।

समग्रमा, यस विषम परिस्थितिबाट बच्न नेपालजस्तो अविकसित देशको लागि निकै चुनौतीपूर्ण देखिन्छ । नेपाल सरकारले समस्याको जटिलतालाई सक्दो हैसियतमा रहेर निर्णायक सम्बोधन गर्नु आवश्यक छ । जनधन र रोजगारीको सुरक्षा नै अर्थतन्त्रलाई यथास्थितिमा छिटो फर्काउने संयन्त्र हो भन्ने बुझ्नु जरुरी छ ।

यो पनि पढनुहोस