Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यटन विकासका लागि सुरक्षित हवाई सेवा

पर्यटन विकासका लागि सुरक्षित हवाई सेवा


काठमाडौं । विज्ञान तथा प्रविधिको विकासले क्रमशः फड्को मार्दै जाँदा विकासको अग्रगतिसँगै विश्वले नवीन यन्त्र र उपकरणहरू देख्न थाल्यो । जसमध्ये वायुयानलाई निःसन्देह आश्चर्यजनक मानिन्छ । वस्तुतः वायुयानहरूको निर्माणले गति लिन थालेपछि विश्वमा हवाई यातायातको विकास क्रमिक रूपले हुन थाल्यो । त्यसपछि वायुयानद्वारा गरिने उडान सेवालाई वायु अथवा हवाई सेवा भन्न थालियो ।

आजको वैज्ञानिक तथा प्रविधिको युगमा प्रत्येक वर्ष वायुयानको यान्त्रिक क्षमता अभिवृद्धि गर्दै लगिएकोले वायु वा हवाई सेवाको विश्वसनीयता पनि बढ्दै गएको कुरा सर्वविदितै छ । आज विश्वमा पर्यटन व्यवसायको तीव्ररूपले विकास भइरहेको छ । वायु सेवाको विकास उक्त व्यवसायको प्रवर्द्धनका लागि वरदान साबित भएको छ । यही कारणले आज विश्वमा प्रत्येक वर्ष दश लाखभन्दा बढी यात्रुहरूले हवाई यात्रा गर्छन् ।

यथार्थतः वायु सेवाको विकासले विश्वलाई साँगुरो पारेको छ । यही कारणले पर्यटन उद्योगलगायत केही प्रमुख बजारले उच्च वृद्धि हासिल गरेका छन् । यति मात्र नभई वायु सेवाको विकासले चीन, हङकङ, इटाली र जर्मनीले आफ्ना विभिन्न उत्पादनहरू झण्डै दोब्बर बढाएका छन् ।

कोभिड–१९ को महामारीले विश्वको पर्यटन उद्योगमा नकारात्मक प्रभाव पारेको छ । यद्यपि, यसबाट हुने आम्दानी सरदर आठ सय अर्ब डलर पुगेको छ । नेपाललगायत दक्षिण एसियाका अन्य देशहरूले कुल आम्दानीको एक प्रतिशत मात्र प्राप्त गर्नसके पनि युरोप र अमेरिकाको आम्दानीमा धेरै वृद्धि भएको छ । चीनले पनि उक्त उद्योगबाट निकै नै आम्दानी गरेको छ । सन् १९९० को दशकदेखि विश्वमा हवाई यात्रुहरूको संख्या निरन्तररूपले बढेको छ भने सडक यात्रुहरूको संख्या घटेको छ । हवाई सेवा छिटोछरितो एवं आरामदायक भएकाले यस्तो भएको हो । निःसन्देह हवाई यातायातको विकासको लागि यो शुभ संकेत हो ।

आज विश्वभरका एक दशमलव पाँच वर्ष पर्यटकहरूले हवाई यातायातद्वारा आफ्ना यात्रा गर्ने अनुमान छ । युरोपबाहेक अन्य सबै क्षेत्रको पर्यटक परिवहनमा हवाई यातायातको प्रयोग ५० प्रतिशतभन्दा बढी हुने गरेको छ ।

एसिया र प्रशान्त क्षेत्रका हवाई सेवाहरूले आफ्ना परिवहन क्षमता १० प्रतिशतले बढाएका छन् । यिनीहरूलाई ७५ प्रतिशतको विश्वव्यापी अनुमानको भन्दा बढी अर्थात् ८० प्रतिशत यात्रुभार प्राप्त छ ।

वर्तमान समयमा विश्वको हवाई यातायातको विकासको क्रमसँग हवाई यात्राको लागत कम गर्ने विषयमा पनि ध्यान दिन थालिएको छ । आगामी दिनहरूमा वायु सेवामा चाप थपिई कडा प्रतिस्पर्धा हुने स्थिति देखिएकाले लागत न्यून गर्नेतर्फ ध्यान दिनु स्वाभाविक हो । नेपालको एकमात्र सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमले हालसम्म प्रगति गर्न सकेको छैन । यसको अन्तर्राष्ट्रिय बजार हिस्सा ४० प्रतिशत भए पनि यो दिनदिनै बढ्दै जाने क्रममा छ । वास्तवमा यहाँ अन्तर्राष्ट्रिय कम्पनीहरूको बढ्दो आगमनको कारण यस्तो भएको हो । सरकारले ४० देशसँग द्विपक्षीय हवाई सम्झौता गरे पनि हवाई सेवामा खासै सुधार भएको छैन ।

विश्वका अन्य देशहरूजस्तै नेपालले पनि केही आयआर्जन गरेको छ । तर कमिसनतन्त्र, राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र अनुपयुक्त व्यवस्थापनको कारण यसले अपेक्षित लाभ लिन सकेको छैन । आज हवाई यातायातको क्षेत्रमा ठूला विमानहरू बढी परिचालन गर्न थालिएकाले विमानस्थलको धावन क्षमता पनि बढाउनुपर्ने भएको छ । यति मात्र होइन, एकातिर द्रूत टिकेटिङ र उपयुक्त अनुगमन गर्नुपर्ने भएको छ । अर्कोतर्फ द्रूत व्यवस्थापनको उत्तिकै जरुरी छ ।

आजको युगमा इन्टरनेटको धेरै महत्व छ । त्यसैले एकातिर इन्टरनेटको व्यापक प्रयोग गरी समयानुकूल हुन आवश्यक छ भने अर्कोतिर ट्राभल एजेन्सीहरू प्रविधियुक्त हुन पनि उत्तिकै जरुरी छ । आज यातायातको परिस्थिति अघि बढिरहेको भए पनि अस्वस्थ प्रतिस्पर्धाले गर्दा वायुसेवाको क्षमता घटेको अनुभव गर्नुपरेको छ । यसबाहेक लागतको तुलनामा गुणस्तरीय सेवा घट्दै गएको अनुभव पनि हुन थालेको छ । आन्तरिक सेवा सञ्चालन गर्न समन्वय नहुनाले यस्तो भएको विज्ञहरूको भनाइ छ । वास्तवमा युक्तिसंगत एवं उपयुक्त वित्तीय नीति अपनाएर द्वेष र दम्भ हटाई सम्बन्धित सरकारहरूले नीतिनियमहरू बनाई कार्यान्वयन गर्ने हो भने विद्यमान समस्याहरूबाट मुक्ति पाउने कुरामा दुईमत छैन ।

कुनै पनि देशको सर्वतोमुखी विकासका लागि विभिन्न यातायातका साधनहरूका आवश्यकता पर्छ । जसमध्ये हवाई यातायात कम महत्व छैन । महँगो भए पनि यस्तो यातायात अरूको तुलनामा छिटोछरितो भएकोले विश्वभर निर्धक्कका साथ सञ्चालन गरिएको छ । नेपालको भौगोलिक बनावट तथा भूधरातलीय स्वरूपको कारण आन्तरिक तथा बाह्य सम्पर्कका लागि उक्त यातायातको धेरै महत्व छ ।

वस्तुतः नेपालमा हवाई उडान तथा सुरक्षाका लागि नीतिगत उद्देश्य भए पनि व्यवहारमा उतार्न सकिएको छैन । यहाँ बेलाबेलामा भएका दुर्घटनाका कारण ‘नेपाली आकाश, सुरक्षित आकाश’ भन्ने मान्यता ओझेलमा परेको छ । यहाँको झन्डै सात दशक लामो हवाई यातायातको इतिहासमा ९० भन्दा बढी दुर्घटना भई करिब आठ सय व्यक्तिको ज्यान गएको छ । २०२२ मा श्री एयरलाइन्सको विमान दुर्घटनामा २३ र हालसालै पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ७२ व्यक्तिको निधन भएको खबर ताजै छ ।

आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई दुर्घटनाले यहाँको असुरक्षालाई मात्र इङ्गित गर्दैन, यसले विश्वभर नेपाली आकाश असुरक्षित रहेको सन्देश प्रवाह गरेको छ । वस्तुतः यहाँको पर्यटन तथा अन्य उद्योगहरू धराशायी भई अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने कुरामा दुईमत हुने छैन । सन् २००९ मा अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आईकाओ) ले नेपालको हवाई सुरक्षाका लागि हवाई क्षेत्रको सेफ्टी अडिट गरी सुधारका लागि केही सुझावहरू दिएको थियो । जुन कार्यान्वयन गर्न नसक्नाले आईकाओले सन् २०१३ मा नेपाललाई हवाई सुरक्षाका लागि चासो भएको श्रेणीमा राखेको थियो । यही आधारमा युरोपेली संघले नेपाललाई कालोसूचीमा राखेर हवाई उडानमा प्रतिबन्ध लगाएको छ । यही कारणले नेपाली विमानहरूले युरोपेली आकाशमा उडान अनुमति पाउन सकेका छैनन् । यसबाट नेपाललाई केही नोक्सान भएको छ ।

विगतमा नेपालमा भएका धेरैजसो हवाई दुर्घटना पहाडी क्षेत्रमा भएका छन् । जहाँको मौसममा अचानक परिवर्तन आउने हुनाले चालकहरूले उपयुक्त हवाई माग पत्ता लगाउन नसकी हवाई दुर्घटनाहरू भएको पाइन्छ । यसबाहेक सबैजसो हवाई कम्पनीहरूले सीमित संख्यामा हवाई चालकहरूलाई रोजगारी दिने गरेकाले उनीहरूलाई उडानको बढी बोझ पर्नाले हवाई दुर्घटनाहरू बढेका देखिन्छन् । वस्तुतः राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हवाई सुरक्षा मापदण्ड तय गरिएको छ । किन्तु, उक्त मापदण्डको कमजोर पालना, विमान चालक तथा अन्य प्राविधिकहरूको कमी, धेरैजसो विमानस्थलहरू वरपर पशुपन्छीहरूको आगमनजस्ता समस्याहरूले यहाँ हवाई दुर्घटनाहरू हुने गरेका छन् ।

यहाँको हवाई यातायातको संरक्षणको लागि नियामक निकायको रूपमा रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणको संस्थागत क्षमता कमजोर भएकोले यसले आफ्ना जिम्मेवारी वहन गर्न सकेको छैन । योबाहेक योसम्बन्धी अन्य सम्बन्धित पक्षको ध्यान आकृष्ट हुन सकेको छैन । नेपालमा जबजब विमान दुर्घटनाहरू हुन्छन्, तबतब सुरक्षित नेपाली आकाशको बारेमा चर्चा गर्न थालिन्छ । उक्त दुर्घटनाहरूको कारण पत्ता लगाउन तुरुन्त छानबिन समिति गठन गरिन्छ । सो छानबिन समितिले समयमै प्रतिवेदन बुझाउँछ । जसमा उल्लिेखित सुझावहरूलाई पृष्ठपोषणको रूपमा नलिनाले यहाँ हालसम्म पनि हवाई दुर्घटनाहरू न्यून गर्न सकिएको छैन । यथार्थतः ‘नेपाली आकाश, सुरक्षित आकाश’को मान्यतालाई व्यवहारमा उतार्न निम्नलिखित केही सुधारहरू गर्न नित्तान्त जरुरी छ ।

सर्वप्रथम त अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आईकाओ) ले तोकेको हवाई उडानसम्बन्धी प्रावधान र अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न आवश्यक छ । यसबाहेक मानव त्रुटिहरू कम गर्ने, विमानस्थलहरूमा आधुनिक उपकरणहरूको व्यवस्था गर्ने, उडान सुरक्षा एवं जाँच प्रणालीलाई प्रभावकारी बनाउने, विमानचालक तथा प्राविधिकहरूलाई दक्ष एवम् सचेत बनाउने कार्यहरू यथासम्भव गर्न गराउन जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया