Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआईभीएफ सेवामा देखिएको समस्या र त्यसको समाधानको बाटो

आईभीएफ सेवामा देखिएको समस्या र त्यसको समाधानको बाटो


काठमाडौं । आईभीएफ प्रविधि (इन भिट्रो फर्टिलाइजेसन) भनेको आमाको जिउमा प्राकृतिकरूपमा बच्चा बसेर बच्चालाई जन्म दिनुभन्दाबाहिर क्लिनिक अस्पतालको प्रयोगशालामा भ्रूणलाई विकास गरी आमाको गर्भमा फिर्ता राखी बच्चालाई जन्म दिने भनेर बुझ्नुपर्छ । त्यसैले आईभीएफ प्रविधिलाई अर्को भाषामा टेस्ट्युब बेबी पनि भनिन्छ । आईभीएफको प्रक्रियामा महिलाको अण्डा जसलाई भ्रूण भनिन्छ । त्यसपछि महिलाको गर्भमा हुर्किन र विकास हुन पुनः उनको शरीरभित्र राखिन्छ । यस प्रक्रियामा आवश्यकताअनुसार आफ्नै अण्डा तथा शुक्राणु प्रयोग हुन्छ वा दाताहरूको अण्डा वा शुक्राणुको समेत प्रयोग गर्न सकिन्छ ।

नेपालमा आईभीएफ प्रविधिको इतिहास बिसौँ वर्ष पुरानो रहेको छ । नेपालमा ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले सन् २००४ मा आफ्नो पहिलो आईभीएफ सेवा खोलेको थियो । नेपालको पहिलो आईभीएफ बच्चा ओममणि तामाङ हुन र यो पहिलो आईभीएफको प्रक्रिया डा जयदीप मल्होत्रा र डा नरेन्द्र मल्होत्राको निर्देशनमा डा भोला रिजाल, डा सविना श्रेष्ठ, डा सुपात्रा कोइराला, डा सानुमैया श्रेष्ठ र हरिकिशोर श्रेष्ठहरूले थालनी गरेका थिए । सन् २००४ देखि आजको दिनसम्म नेपालका डाक्टरहरूले आईभीएफ प्रविधिसम्बन्धी विशेषज्ञता हासिल गरी आईभीएफ क्लिनिकहरू सञ्चालन गरिरहेका छन् । विगतमा भारत तथा अन्य विदेशी मुलुकमा गई नेपाली नागरिकहरूले आईभीएफको उपचार गर्थे भने आज नेपालमा आईभीएफको उपचार गर्न देश विदेशबाट मानिसहरू आउने गर्छन् र आईभीएफको उपचारमा संलग्न रहेका नेपाली डाक्टरहरूले संसारभरि सकारात्मक प्रतिक्रिया पाइरहेका छन् ।

हालका वर्षहरूमा नेपालमा तीव्र गतिमा आईभीएफ क्लिनिकहरू सञ्चालनमा छन् । विगतका वर्षहरूमा आईभीएफ क्लिनिकहरू नेपाली लगानीद्वारा खुली नेपाली डाक्टरहरूले मात्र सञ्चालन गर्दै आइरहेका थिए भने पछिल्लो भारतीय लगानी र फ्रेन्चाइजद्वारा आईभीएफ क्लिनिकहरू खोली भारतीय डाक्टर र विशेषज्ञहरूले सञ्चालन गरिरहेको पाइएको छ । भारत आफैँमा एउटा ठूलो देश हुनको साथै नेपालको तुलनामा भारतमा लाईभीएफ क्लिनिकहरूको अझै बढ्दो माग छ । भारतमै आईभीएफ क्लिनिकहरूको उच्च माग रहँदारहँदै नेपालजस्तो सानो ठाउँमा आएर भारतीय नागरिक तथा भारतीय कम्पनीहरूले आईभीएफ क्लिनिक खोल्नको पछाडि विभिन्न कारणहरू छन्, जुनमध्ये सबै सकारात्मक छैन ।

नेपालमा आईभीएफसम्बन्धी कुनै नियम कानुन नभएकाले भारतीय नागरिक तथा कम्पनीहरूले नेपाललाई आफ्नो गैरनैतिक काम गर्ने र सजिलै पैसा कमाउने ठाउँ बनाई आईभीएफ प्रविधिको दुरुपयोग गर्न सक्ने अधिकतम सम्भावना छ । भारतले सन् २०२१ मा आईभीएफ तथा सेरोगेसीसम्बन्धी द एसोसिएटेड रिप्रोडक्टिभ टेक्नोलोजी रिसोलुसन लागु गरेको छ । यस नीतिअन्र्तगत आईभीएफजस्तो एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजीसँग सम्बन्धित क्लिनिकहरू अनिवार्यरूपमा दर्ता हुनुपर्ने, दर्ता गर्न तोकिएको स्टयान्डर, विशेषज्ञता र उपकरण आदिको आवश्यकता पर्ने साथै भारतीय सरकारले उक्त क्लिनिकहरूलाई नियमितरूपमा अनुगमन गर्ने उल्लेखित छ । एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी रिसोलुसनमा अरू विभिन्न नियमहरू उल्लेख गरिएको छ । जसले आईभीएफजस्ता एसिस्टेड रिप्रोडक्टिभ प्रक्रियालाई दुरुपयोग हुनबाट जोगाउँछ । भारतमा द एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी रेगुलेसन लागु भएसँगै नेपालमा भारतीय आईभीएफ क्लिनिक खोल्नेको संख्या बढिरहेको देखिन्छ । त्यसको कारण नेपालको कानुन यी विषयहरूमा फिक्का रहेका र कुनै अनुगमन गर्ने सरकारी निकाय नभएकाले हुनुपर्छ ।

नेपालमा आईभीएफसम्बन्धी कानुन नभएकाले भारतीय आईभीएफ क्लिनिकहरूलाई आफूखुसी गर्नेबाट रोक्न सजिलो छैन । नेपाली आईभीएफ क्लिनिकहरू नेपालको जनस्वास्थ्य सेवा ऐन २०७४, नेपाल स्वास्थ्य सेवा ऐन २०४३ जस्ता कानुनअन्तर्गत चल्छन् । नेपाल मेडिकल काउन्सिलजस्तो संस्थाहरूले नेपालको डाक्टरहरूको नैतिकतालाई कायम राख्न सहयोग पु¥याएको छ भने भारतीय आईभीएफ क्लिनिकहरूलाई आईभीएफ प्रक्रियालाई दुरुपयोग हुनबाट जोगाउन र नियन्त्रणमा राख्न गाह्रो छ । सोही सन्दर्भमा भारतीय क्लिनिकहरूले विभिन्न तरिकाले हस्तक्षेप गरी आईभीएफ प्रविधिको दुरुपयोग गरी रहेका र थप गर्न सक्ने अवस्था सिर्जना हुन सक्छ ।

(क) शुक्राणु र अण्डको मिक्सम्याच गरेरः आईभीएफ प्रविधिको प्रक्रियामा पुरुषको शुक्राणु र महिलाको अण्डको प्रयोग हुन्छ, जुन मानव शरीरको अभिन्न अंग हो । यस प्रक्रियामा पुरुषको शुक्राणु र महिलाको अण्डलाई जिउबाट निकालेर प्रयोगशालामा भ्रूण बनाइन्छ । पछि महिलाको शरीरमा विकास गर्न सारिन्छ । यो प्रक्रिया प्रयोगशालामा हुने भएकाले प्रयोगशालामा के कसरी, कसको शुक्राणु र अण्ड प्रयोग हुन्छ ? त्यसतर्फ विचार पु¥याउनु आवश्यक हुन्छ । एउटा जोडीको शुक्राणु वा अण्ड अर्को जोडीको शुक्राणु वा अण्डसँग साटिएमा उनीहरूको बच्चा नै साटिन जान्छ । यस्तो अवस्थामा डाक्टर तथा विशेषज्ञहरूको लापरबाहीको कारणले मात्र हुन सक्छ । कुनै पनि जोडीको शुक्राणु वा अण्डसँग मिक्सम्याच नहोस् भनेर डाक्टर तथा विशेषज्ञहरूले विचार पु¥याउनुु पर्ने हुन्छ ।

(ख) भू्रणको मिक्सम्याच गरेरः एउटा जोडीको शुक्राणु वा अण्ड अर्को जोडीको शुक्राणु वा अण्डसँग मिक्सम्याच हुने सँगै भू्रणको मिक्सम्याच हुने सम्भावना पनि उत्तिकै छ । आईभीएफ क्लिनिकको प्रयोगशालामा अब महिलाको अण्डालाई पुरुषको शुक्राणुले निषेचित गरी भ्रूण बनाइन्छ र त्यसपछि भ्रूणलाई महिलाको गर्भमा हुर्किन र विकास हुन उनको पाठेघरमा राखिन्छ । त्यस्तो समयमा भू्रणको समेत मिक्सम्याच हुने सम्भावना हुन सक्छ र उनीहरूबाट जन्म लिने बच्चा उनीहरूको नभई अरू नै जोडीको हुने हुन्छ । यसले भावी दिनमा त्यस बच्चाको नागरिकताको विषयमा समेत प्रश्न उत्पन्न गर्न सक्छ ।

(ग) दाताको स्वास्थ्यः दाताबाट अण्डा वा शुक्राणुको प्रयोग गर्दा दाताको स्वास्थ्य अवस्थाहरूलाई समेत विचार गर्नुपर्ने हुन्छ । दाताको स्वास्थ्य ठीक भएमा मात्र दाताको अण्डा वा शुक्राणुको स्वास्थ्य ठीक भएन भने त्यसबाट बनिने भ्रूणको स्वस्थ्य अवस्थासमेत ठीक नहुने र त्यस अवस्थामा आमाको गर्भपात हुने सम्भावना धेरै हुन्छ । आमाको गर्भपातले आमाको मानसिक र शारीरिक स्वास्थ्यमा असर पार्नुका साथै यसले पैसाको अनावश्यक खर्चसमेत हुन्छ ।

(घ) आनुवांशिक जानकारीको दुरुपयोगः आईभीएफ उपचार गर्न आउने ग्राहकहरू आफ्नो अण्डा वा शुक्राणु परीक्षणका लागि भारतीय आईभीएफ क्लिनिहरूलाई सजिलैसँग उपलब्ध गराइरहेका हुन्छन् । यस्तो अण्डा वा शुक्राणु प्रदान गर्नु भनेको नेपाली जनताहरूको निजी आनुवांशिक जानकारी प्रदान गरेमा सो जानकारी विभिन्न तरिकाबाट दुरुपयोग हुन सक्छ । यस किसिमको जानकारीहरूलाई गोप्य राख्नेतर्फ ध्यान पु¥याउन आवश्यक देखिन्छ । भारतीय आईभीएफ क्लिनिकहरूले एउटै व्यक्तिको अण्डा वा शुक्राणु अन्य अरू ग्राहक उपरसमेत प्रयोग गर्ने साथै अवैधरूपमा नेपालबाट भारत लिएर जाने गरिरहेका छन् । एउटै व्यक्ति वा दाताको अण्डा वा शुक्राणु धेरै ग्राहकहरूमा प्रयोग गरिनाले उनीहरूको बच्चाको एउटै वंशअन्तर्गत पर्न सक्छन् र यदि उनीहरूबीच विवाह भएमा त्यस विवाहबाट जन्म लिने सन्तानमा विभिन्न आनुवांशिक रोग, शारीरिक मानसिक असक्षमतासमेत देखिने सम्भावना हुन्छ । भारतद्वारा ल्याइएको द एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी रेगुलेसनअन्तर्गत एउटा व्यक्तिबाट जन्म सातवटा अण्डा, शुक्राणु र अण्डकोषमात्र प्रयोग गर्न पाउने नियम लागु गरिएको छ । तसर्थ भारतीय आईभीएफ क्लिनिकहरूले नेपालमा आएर नेपाली जनताहरूको अण्डा, शुक्राणु र भ्रूण धेरै निकालेर भारत गैरकानुनी तरिकाबाट लगेर प्रयोग गरिरहेका छन् ।

(ङ) आईभीएफ प्रयोगशालाको दुरुपयोग: भारतीय आईभीएफ क्लिनिकहरूको प्रयोगशालामा के–कस्तो कार्य हुन्छ भन्ने सम्बन्धमा नेपाल सरकारलाई जानकारी नभएको अवस्थामा सो प्रयोगशालामा विभिन्न भाइरसहरू विकास गरी नेपाली जनताहरू माझ फैलाउने कार्यसमेत हुन सक्ने सम्भावना छ । यस्ता, प्रयोगशालामा आईभीएफसम्बन्धी कार्यको नाममा अरू विभिन्न किसिमका अवैधसमेत भइरहेको हुन सक्छ ।

(च) अवैध माध्यमबाट सेरोगेसी: सेरोगेसी एक प्रजनन् उपचार हो जसमा एक महिलाले अर्को दम्पतीको लागि गर्भाधारण गर्दछ र जन्म दिन्छ । नेपालको सन्दर्भमा सन् २९१५ देखि सेरोगेसी सेवाहरू प्रतिबन्ध गरिएको छ र भारतमा समेत केही हदसम्म सेरोगेसीलाई गैरकानुनी ठहराएको छ । सेरोगेसीलाई प्रतिबन्ध लगाए पनि अवैध तरिकाले भारतीय आईभीएफ क्लिनिकहरू नेपालमा सेरोगेसीसम्बन्धी उपचारहरू गरिरहेका छन् । भारत र नेपालबीच खुल्ला सिमाना भएको कारण दुई देशबीच सजिलै आउजाउ गर्न सकिन्छ । खुल्ला सिमानाको दुरुपयोग गर्दै भारतीय आईभीएफ क्लिनिकहरूले सरोगेसीको सेवा प्रदान गर्न सक्छन् । सेरोगेसी सेवा लिन चाहने दम्पतीहरू सेटोगेट आमालाई लिएर नेपालमा खुलेको भारतीय आईभीएफ क्लिनिकहरूमा जान्छन् र सजिलै सरकारको निगरानीबाट लुकेर सेरोगेसीसँग सम्बन्धित उपचारको डाटा सरकारलाई बुझाउनु नपर्ने भएकाले नेपालको सरकारले भारतीय आईभीएफ क्लिनिकहरू सेरोगेसीसम्बन्धी सेवा प्रदान गरिरहेको जानकारी पाउन सकेको छैन ।

(छ) उपभोक्ताको संरक्षण : नेपालमा खोलिएको भारतीय आईभीएफ क्लिनिकहरूले. आईभीएफ उपचारबाट १०० प्रतिशत गर्भवती हुने भनी विज्ञापन गरिरहेको पाइएको छ । जुन सरासर गलत हो र यस्तो विज्ञापन उपभोक्तालाई ठग्न एवम् झुक्याउने नियतले गरिएको विज्ञापन मात्र हो । जसरी हरेक बीउ बिरुवा बन्न सक्दैन, त्यसै गरी आईभीएफ प्रविधिबाट बनेको हरेक भू्रण, भ्रूण र पाठेघर राम्रो अवस्थामा हुँदाहुँदै पनि एउटा आमा १०० प्रतिशत गर्भवती बन्ने सम्भावना आउन सक्दैन । आईभीएफको सफलता जम्मा ४० प्रतिशतदेखि ६० प्रतिशतसम्म मात्र हुन सक्छ । आईभीएफको सफलता विभिन्न आधार, कारण र विकसित प्रविधिहरूमा निर्भर रहने हुन्छ । त्यसैले उपभोक्ताको संरक्षणका लागि र उसको भावनाको कदर गरी सो किसिमको झूटो र भ्रामक विज्ञापनहरूमा रोक लगाउन आवश्यक छ ।

(ज) गैरकानुनीरूपमा सामान आयात नगर्ने : नेपालमा सामानहरू आयत गर्दा नियम कानुनबमोजिम आयात गरी भन्सार रकम चुक्ता गरी आयात गर्नुपर्ने हुन्छ । नेपाली संस्थापकद्वारा दर्ता भएको आईभीएफ क्लिनिकहरूले आईभीएफ उपचारका लागि आवश्यक पर्ने सम्पूर्ण औषधी तथा अन्य सामानहरू विदेशका विभिन्न ठाउँबाट आयात गरी भन्सार रकम चुक्ता गरी प्रयोग गरिरहेका छन् । त्यसैले एकपटक गरिने आईभीएफ क्लिनिकहरूले खुला सीमाको दुरुपयोग गरी औषधी तथा अन्य सामानहरूमा लाग्ने भन्सार चुक्ता नगरी भारतबाट सजिलै आयात गर्ने गरेका छन् । भन्सार रकम चुक्ता नगर्ने हुँदा उनीहरूको आईभीएफ उपचारको खर्च काम हुन आउँछ । त्यसैले उनीहरूले आईभीएफ उपचारको मूल्य नेपाली आईभीएफ क्लिनिकमा भन्दा कम राख्ने गरेका हुन्छन् । यसले नेपालमा आईभीएफ क्लिनिकहरूबाट उपचार गर्ने रूचि राख्छन् । यसकारण नेपालमा नेपाली आईभीएफ क्लिनिकहरूलाई नेपालका बजारमा टिक्न र आफ्नो व्यवसाय गर्न गाह्रो परिरहेको छ । भारतीय आईभीएफ क्लिनिकहरूले नेपालमा आर्जन गरेको नाफाहरूसमेत भारत लग्ने हुँदा नेपालको आर्थिक स्थिरतामा ठूलो धक्का पुग्न जान्छ ।

नेपालमा अस्पताल, क्लिनिक र ल्याबहरू सञ्चालन गर्न जनस्वास्थ्य सेवा ऐन २०७५, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ मानव शरीर अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ जस्ता विभिन्न कानुनहरू छन् र आईभीएफको हकमा कुनै नियम कानुन नभएकाले नेपालमा आईभीएफ प्रविधिको दुरुपयोग हुनबाट जोगाउन गाह्रो छ । माथि बुँदाहरूमा उल्लेखित कारणहरू आईभीएफ प्रविधिको दुरुपयोग भइरहेको र हुन सक्ने केही उदाहरण मात्र हुन् । नेपाली डाक्टरहरूले २० औं वर्षदेखि आफ्नो लगनशीलता र लगानीका साथ आईभीएफ प्रविधिलाई आजको स्थानमा पु-याएका छन् । यदि आईभीएफ प्रविधिको दुरुपयोग भएमा उनीहरूले गरेको मेहनत र लगानीको कुनै अर्थ रहँदैन । २० औं वर्षको मेहनत व्यर्थ जानेछ । त्यसैले यस पत्रतर्फ ध्यान केन्द्रित गरी भारतीय आईभीएफ क्लिनिकहरूलाई नेपालमा आईभीएफ सम्बन्धित कुनै नियम कानुन लागु नभएसम्मका लागि आवश्यक खोल्न र सेवा प्रदान गर्न रोकी आईभीएफ प्रविधिको दुरुपयोग हुनबाट बचाउनको लागि आवश्यक कारबाही गर्न र आईभीएफसम्बन्धी नीति, नियम कानुन पनि बन्नु आवश्यक देखिएकाले सोतर्फ पनि काम कारबाही अघि बढाइयोस् भनेतर्फ विनम्र अनुरोध गर्न चाहन्छौँ ।

(स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई सम्बोधन गरेर तथा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बोधार्थ गरिएको फर्टिलिटी सोसाइटी अफ नेपालको पत्रमा आधारित)


क्याटेगोरी : विचार / ब्लग, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया