Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगशाकाहारी भोजन तथा प्रकृतितिर फर्कने समय

शाकाहारी भोजन तथा प्रकृतितिर फर्कने समय


नन्दलाल खरेल
काठमाण्डौं,चैत २
भौतिक सम्पन्नताको होडबाजीमा र आडम्बरपूर्ण जीवनमा दौडिरहको मानिस एउटा सानो जिवाणु भाइरसबाट हायलकायल भई बाँच्नको लागि घरभित्र थुनिएको छ । तैपनि उसको आहार विहार, बाँच्ने जीवनशैली, जीवन–जगत, प्राणी र वनस्पतिलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन गरेको छैन । कोरोना भाइरसको कारण पूरै संसार लकडाउनको अवस्थामा छ । विश्वका अघिकांश मानिस प्रायः होम क्वारेन्टाइनमा छन् । सदियौँ देखिका मानिसका हतारोहरू, कामहरू सबैसबै लगभग ठप्पप्रायः भएका छन् । आज अरवौं मानिसको निद्राहरण गरेको छ यो सानो भाइरसले । तीव्र गतिमा दगुरिरहेको दुनियाँको गतिमा एक्कासी ‘ब्रेक’ लागेको छ । समयको यो प्रहरमा उभिएर सोच्ने बेला आएको छ, मानिसले जम्मा गरेको धनदौलत, सुख सुविधा, रूपको समयावधि अर्थात् आयु कति हो ?

कोरोना भाइरस (कोभिड–१९) पत्ता लागेको करिब साढे महिनामै यो लेख तयार पार्दासम्म १७ लाख मानिस सक्रमण भएका छन् । हालसम्म एक लाखभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभरि नै दुई सय तीनभन्दा बढी मुलुकमा यो रोगको सक्रमण भएको छ । यो भाइरसको महामारी कहिले र कसरी रोकिने हो कुनै अत्तोपत्तो छैन । अहिले यस भाइरसको खोप पत्ता लगाउन संसारकै ठूला–ठूला वैज्ञानिकहरू अहोरात्र खटिरहेका छन् । महाशक्तिराष्ट्रहरूले अर्बौं÷खर्बौं रकम खर्चिरहेका छन् । तैपनि अहिले सम्म आशा लाग्दा किरणहरू फेला पर्न सकेको छैन । शक्तिराष्ट्रिहरू विचका विज्ञानका उपलब्धिहरू मानवजीवन र आमकल्याणको उपयोगीताका दृष्टिले सहज बनाउने दिशामा भन्दा कोरा खोजको दृष्परिणाम हो कोरोना भाइरस । अन्तरीक्षमाथिको विजयदेखि इन्फरमेसन सुपर जोनमा मानिसले पाएको विज्ञानका सफलता आज उपायहीनताको मनोदशमा संक्रमित अर्थात् गुज्रिरहेको छ ।

आज मानिस बाँच्नका लागि युद्ध झै लडिरहेका छन् । मानिसलाई बाँच्नका लागि विहान वेलुका खाना र घाम पानीबाट वच्न सानो छानो भए पुग्दो रहेछ भन्ने महसुस भएको छ । अनि यो छिनाझपटी, उछिनापाछिन्, हारालुछ, भागर्दौड, अहम् केका लागि गरिरहेको छ मनुष्य ? मनुष्यले प्राप्त गरेका यी भौतिक सुखसयल सबले के दिँदो रहेछ र ? आखिर एक थान तनाव र भागदौडको जिन्दगी ? प्राकृतिक स्रोत साधन र मानव श्रमको दोहन र शोषण गरेर कुनै पनि मुलुक समृद्ध र सुरक्षित हुन सकिन्छ भन्ने विश्वास प्रभुत्ववादी सोचलाई कोरोना भाइरस (कोभिड–१९) ले पराजित गरेको छ । अझै पनि मनुष्यको पूर्ण चेतको ढोका खोल्न बाँकी छ ।

आज बन्दुक र वैभवको आडमा विश्व महाशक्ति बनेका देशहरूको दम्भ कोरोनाको अगाडि चकानाचुर भएको छ । आज सबैभन्दा संक्रमित र मृत्युको शिकार भएको छ– महाशक्ति वनेको अमेरिका । तैपनि अझैसम्म पनि ऊ प्रकृतिलाई नटेर्ने घमण्ड पालिरहेको छ । विश्वका धेरै मानिसहरू लकडाउनको नियम पालिरहँदा अमेरिका भने यो नियमलाई उल्लङ्घन गरिरहेको छ । केही समयअघि डोनाल्ड ट्रम्पले अमेरिका बन्द हुन र बन्द गराउनका लागि बनेको देश नभएको बताएर आफ्नो महाशक्तिपन कायम गर्न खोजिरहेका छन् । चीनले लकडाउन गरेर छोटो समयमा स्थितिलाई नियन्त्रण गरेको र लकडाउन नगर्दा इटाली, स्पेनले हृदयविदारक अवस्था भोगिरहेको उदाहरणले अमेरिकालाई अहिलेसम्म छोएको देखिदैन । अरुभन्दा फरक, अरुभन्दा उत्कृष्ट हो र रहिरहेका छौ भन्ने देखाउनु खास अमेरिकी चरित्रले अहिलेसम्म काम गरिरहेको छ । अर्को कारण पुँजीवादी बजार केन्द्रित अर्थतन्त्र भएको कारणले उसलाई लकडाउन महंगो पर्ने देखिन्छ । ९८ प्रतिशतभन्दा बढी मानिस कृषिभन्दा बाहिर छन् । सबै अमेरिकन बजारमा आश्रित छन् । अमेरिकाले यस्तो प्रणाली विकास गरेको छ, जँहा कुनै मानिस काम नगरी बाँच्न सक्दैन । केही हप्ता मात्रै यस्तो दुष्प्रयास ग¥यो भने उसको सारा जनजीवनमा त्यसको डरलाग्दो असर पर्दछ ।

यस्तो लाग्दथ्थो, मानिसले अर्थात् विज्ञानले सफलता प्राप्त नगरेको कतै छैन तर मानिस प्रकृतिभन्दा तल नै रहेको एक लेखिका कल्पना आचार्यका शब्दलाई सापटी लिँदै भन्नुपर्दा यतिबेला पृथ्वीले मज्जाले थकाइ मारेको छ । मान्छेहरूको मात्रै होइन, पृथ्वीकै आयु छोट्याउन घोडाझैँ कुदिरहेका करोडौं कलकारखानहरू हठात बन्द भएका छन् । सायद पृथ्वीमा पहिलो चोटी होला, सवारी सधानको चर्को, मान्छेको भीडभाड, कोलाहल, धुलोधुँवा सबै बन्द भएको छ । पन्छीहरू मज्जाले खुला आकाशमा उडिरहेका छन् । जंगली जनावरहरू शिकारीको डरविनै जंगलमा स्वतन्त्र भएर हिँडिरहेका छन् । यस्तो लाग्छ, मान्छेलाई उसैको घरभित्र कैद गराएर सम्पूर्ण पशुपन्छी एउटा रोमाञ्चक यात्रामा सेयर गर्न निस्केका छन् । खोलानाला, नदी, पहाड, हिमाल आफ्नै गतिमा दौडेका छन् शान्त भएर । निश्चल छ आकाश । मानौँ लामो समयको प्रत्तिक्षापछि विस्तारै स्वस्थ्य हुँदै गएको छ पृथ्वी ।

१ डिसेम्बर २०१९, चीनको वुहान सहर सर्प, चरा, चमेरा, लोखर्के, खरायोलगायतका वन्यजन्तुको मासु वा जिउँदो बेचबिखन हुने बजारमा काम गर्ने कामदारहरूमा निमोनियाजस्तो अज्ञात रोग देखा प¥यो । रुघाखोकी लाग्ने, उच्चज्वरो आउने, श्वास प्रश्वासमा समस्या हुने संक्रमितहरू बढ्न थाले । तीमध्ये केहि मरे । पाँच हप्तापछि जनवरी ७ मा उक्त अज्ञात रोगको नामाकरण गरियो कोभिड–१९ । हामीले धेरै अत्याचार ग¥यौँ पशुपन्छीमाथि पनि । आफ्नो क्षणिक स्वार्थ र मोजमज्जाका लागि भत्कायौँ धेरै चरा चुरङ्गीका गुँडहरू, पशुका बासहरू र अन्नत आफैँलाई कैदी बनायौँ घरभित्र । प्रकृतिले सबैप्राणी र वनस्पतिलाई हावा, पानी, जल, जमिन, जंगल समान रूपमा दिएको थियो । तर त्यसको ख्याल नगरी सम्पूर्ण प्राणी र वनस्पति तथा चराचर जगतलाई बन्दी बनायौँ र त्यसको परिणाम भौग्दै छ आज मान्छे । धार्मिक व्यवहार मात्रै होइन हाम्रै शरीरको विज्ञान अध्ययन ग¥यौँ भने पनि थाहा हुन्छ, मानिस शाकाहारी थियो कि मांसहारी भन्ने । हामीले जिब्रोका स्वादका लागि कति प्राणीको रगतको खोला बगायो ? त्यसको कुनै हिसाब किताब छैन । हामीले पशुपक्षी मात्रै खाएनौ, त्यससँगै खायौँ अनेक रोगका विजहरू पनि । सँगसँगै निलिरहयौँ, प्रतिशोध हिँसा र आक्रोशका मुस्लो पनि । जसरी कुनै रगत पिउने मासु खाने प्राणी हिँस्रक र शिकारी हुन्छ, त्यसै गरी घोलिरह्यौँ हामीले आफ्नो रगतमा हिंसा, आक्रोश र घृणाका ज्वालाहरू । अनि झन्झन् फस्दै गयौँ कुसंस्कार र अपराधका दुनियाँमा ।

हाम्रो आहार विहार खानपानकै कारण बन्यो यो संकटको भुमरी । स्वस्थ्यका लागि शाकाहारी भोजन नै उत्तम थियो । तर हामीले त्यसको ख्याल गरेनौँ । आज हामी लकडाउनमा परिरहेका बेला कुन मासु पसल खुलेको छ खोजीखोजी हिँडेरहेका छौँ । अझै पनि हाम्रो चेत खुलेको छैन । आज यो माहामारीबाट संक्रमति भई मृत्यु हुनेहरू पनि मानवरूपी मांसाहार भोजन गर्ने व्यक्तिहरू बढी शिकार भएका छन् । क्यालिफोर्नियाको डिमोब्लक अस्पतालका मेडिकल सेन्टर हृदयरोग विशेषज्ञको अनुसार शाकाहारी खाना खानेको तुलनामा मांसहारी खान खानेहरूलाई हर्टएटेक धेरै हुन्छ । डा. गोल्फ सोमत्हेगका अनुसार अमेरिकामा प्रतिवर्ष २० लाख मानिस हृदय रोगको कारण मरिरहेका छन् र यसको प्रमुख कारण हो, मांसहारी तथा धेरै बोसोयुक्त खाना सेवन गर्नु ।

शाकाहारी शब्दको अर्थ अंग्रेजी पर्याय भेजिटेरियनबाट भएको हो, जसको अर्थ हो, सक्रिय अथवा ओजपूर्ण । यसरी यो शब्द भेजिटेबलबाट बनेको हैनजस्तो सामान्यता मान्ने गरिन्छ तर यसको मतलब हो त्यो मानिस जो मांसहारी खान खाँदैनन् । हालको प्रवृति सन् १९६१ सम्म अमेरिकामा पेटको क्यान्सर सर्वाधिक थियो । जाँचमा मांसहार नै यसको मुख्य कारण रहेको पत्ता लाग्यो । यसबाट बच्नको लागि सन् १९७० देखि उनले आफ्नो खाना व्यवस्था परिवर्तन गरे । मांसहार कम गरेर उनी प्राकृतिक आहार, सलाद आदि लिन धेरै मनपराउन थाले । शाकाहारप्रति मानिसको प्रवृतिमा धेरै परिवर्तन भएको छ । अमेरिका र युरोपका समृद्ध देशमा पनि शाकाहारीतिर रुचि बढिरहेको छ । के शाकाहारी खान पोषणको निर्धारित मात्रामा पूर्ण छ ? यो प्रसंगमा हामीले पोषण वैज्ञानिकहरूद्वारा निर्धारित केही क्षेत्रमा दृष्टिपात गर्नुपर्छ । शाकाहारी आहारमा प्रोटिन शरीरको वृद्धि, मर्मत र नयाँ तन्तु बन्नको लागि प्रोटिन महत्वपूर्ण निर्माणकारी इकाइ हो । आज यो कुरा थाहा भैसकेको छ । प्रोटिनको घटक एमिनो एसिड हो । शरीरको सामान्य कामको लागि यसलाई २३ एमिनो अक्लको आवश्यकता पर्छ, जसमध्ये आठ अनिवार्य हुन्छ अर्थात् आहारद्वारा यसको आपूर्ति अवश्य हुनुपर्छ । यदि सबै अनिवार्य एमिनो अम्ल आदर्श अनुपातमा विद्यमान रहन्छ तब स्वस्थ शरीर अधिकांश प्रोटिन प्राप्त गर्न सक्छ । यसको लागि व्यक्तिलाई प्रोटिन सम्पूर्णको सिद्धान्तको पूरा जानकारी हुनुपर्छ ।

कार्बोहाइड्रेटः
मानवको आहारमा कार्बोहाइड्रेट सबैभन्दा धेरै ऊर्जा प्रदान गर्छ । शाकाहारी मानिस मुख्यतया अन्न, गेडा दाल र विविध प्रकारका कन्दमुलबाट स्टार्चको रूपमा धेरै मात्रमा कार्बोहाइडे«ट प्राप्त गर्छन् ।
बोसोः
बोसो र तेल ऊर्जाको सबैभन्दा धेरै गाढा स्रोत हो । वनस्पति बोसोमा नरिवलको तेल, वनस्पति आदिलाई छोडेर अधिकांश असन्तृप्त बोसो हुन्छ, कोलेस्ट्रोल हुँदैन र साथै अनिवार्य बोसो अम्ल धेरै हुन्छ । यो एक मान्य तथ्य हो, असन्तृप्त बोसो सिरक कोलेस्टरोल कम गरेर राख्छ । रगतमा कोलेस्टरोल धेरै भएमा धमनीमा रोग लाग्न सक्छ । वनस्पति बोसोको खपतले ह्दयको गडबडी हुने सम्भावना कम हुन्छ ।
भिटामिनः
भिटामिन बी १२ को सम्भव अपवाद छोडेर शाकाहारी व्यक्तिको खाना सबै अनिवार्य भिटामिनको आपूर्ति गर्न सक्छ । भिटामिन बी १२ रक्त कोशिका सामान्य रूपमा बन्ने र तन्त्रिकाको सामान्य कार्यान्वयनको लागि आवश्यक छ । यो भिटाभिनको कमीले तन्त्रिकाको सामान्य कार्यान्ययनको लागि आवश्यक छ । यो भिटामिनको कमीले तन्त्रिकालाई क्षति पुग्न सक्छ । दुध र पनिर यो भिटामिनको स्रोत हो ।
खनिजः
मानव शरीरलाई करिब २४ खनिजको आवश्यकता हुन्छ । शरीरको वृद्धि, मर्मत र आवश्यक कामको नियमनको लागि खनिज जरुरी छ । आहारमा (धान्य, गहुँ, कोदो) र दाल खानाले शाकाहारी मानिसले सबै अनिवार्य खनिज प्राप्त गर्छन् ।
दुखाइः
अण्डा, मासु, बोसो आदिको कारणले हाम्रो नसामा अवाञ्छित द्रव्य जम्मा हुन्छ । यसले शरीर दुख्न थाल्छ । फल, तरकारी अवाञ्छित द्रव्य जम्मा हुनुलाई हटाउँछ । जब शरीर दुख्छ तब मांसहार त्यागिदिनुपर्छ । शाकाहारी खानाले शारीरिक र मानसिक प्रतिभामा राम्रो प्रभाव पर्छ । यो कुराको जाँच गर्नको लागि ब्रसेल्स विश्वविद्यालयका दश हजार विद्यार्थीमाथि परीक्षा गरियो । परीक्षामा मांसहारीभन्दा शाकाहारी श्रेष्ठ प्रमाणित भए । शाकाहारीमा दया, क्षमा, प्रेम आदि गुण प्रकट भए तथा मांसहारीमा क्रोध, त्रूmरता, भय आदि । शाकाहारीमा शारीरिक शक्ति, सहिष्णुता, प्रतिभा, आदि गुण पनि विकसित भए । एक शाकाहारीलाई रोग लागेमा ऊ निको हुनमा एक मांसहारीलाई भन्दा आधा समय लाग्छ । जर्ज बर्नार्ड शा एक पटक धेरै बिरामी भए । डाक्टरले उनलाई अण्डा खान, मासुको सुप पिउन भने । तर बर्नार्ड शा पूर्णत शाकाहारी थिए । उनले यो सल्लाह मान्न अस्वीकार गरे ।

पश्चिमी तत्वज्ञानी प्लेटो, प्लोटीनस, पोरफिरी, अपोलोनियस, प्लूटार्क, एमपेडोक्लस आदि सबै शाकाहारी थिए । इसा मसीहले पनि आफ्नो आदेशमा शाकाहारी हुने आदेश दिएका थिए । सुफी सन्त पनि सबै शाकाहारी थिए र शाकाहारीको प्रचार गर्थे । बौद्ध धर्मका प्रणेता गौतम बुद्ध र जैन धर्मका चौबीसौं तीर्थङ्कर भगवान महावीरले पनि शुद्ध शाकाहारी खाना खानु भनेका थिए । देवचन्द्र महाराज तथा प्राणनाथ पनि शाकाहार थिए । उनीहरूले शुद्ध सनातन हिन्दु धर्मको प्रचार गरे । इतिहासको अवलोकन गर्दा थाहा हुन्छ, संसारका महानतम मानिस, गहन चिन्तक, वैज्ञानिक, कलाकार, कवि लेखक, सम्राट, सर आइज्याक न्यूटन, शैली, टाल्स्टाय, अशोक महान, महात्मा गान्धी सबै शाकाहारी थिए । शाकाहारले उनीहरूलाई सहिष्णु, दयालु र अहिस्रक बनाएर महान् बनायो ।

आज गलत संस्कृति, परम्परा र अन्ध विश्वासले गर्दा हाम्रो मुलुकमा पनि पशुलाई बलिदिने प्रथा कायम छ । गढीमाई मेलामा लाखौं पशुपंक्षी तथा विभिन्न प्राणीलाई बलिदिने गरिएको छ । त्यति मात्र होइन कतिपय मन्दिरहरूमा पनि कतिपय पर्वहरूमा खसी, बोका, कुखुरा राँगाको बली दिइन्छ । राज्यले यस्ता प्रश्रय दिएको पाइन्छ । धेरै चाडपर्वहरू तथा पार्टीहरूमा समेत माछा, मासु तथा जाँड, रक्सी, चुरोट खैनी खाने चलन बढ्दो छ । यस्ता वस्तुहरूको उपभोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्दछ । त्यस्ता वस्तु्को उपभोगले रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । राज्यले गाई, भैसी पालनमा अनुदान तथा ऋण अत्यन्त कम छुट्याउँछन् र कुखुरा, खसी बोका र मत्यपालनजस्ता व्यवसायलाई धेरै अनुदान तथा ऋण दिई तामसी प्रवृत्तिमा जोड दिएको छ । यो कदम विल्कुलै गलत हो । मानव स्वास्थ्यको लागि आवश्यक पर्ने उत्पादनमा सरकार जिम्मेवार नदेखिनु नै अहिलेको महामारीको प्रमुख संकट हो ।

अन्त्यमा हाम्रो खानपान, आनीबानी र प्रकृतिलाई हेर्न दृष्टिकोण ठिक नभएरै हामी अत्यन्तै भयावह अवस्थाबाट गुज्रिरहेका छौं । प्रकृतिको यो महाविपत्ति सम्पूर्ण मानवजातिकै लागि हरेकले आफूलाई सुधार्नेे एउटा मौका हो । धैर्य संयमता र आत्मविश्वासलाई दह्रो बनाउँदै यस महामारीलाई जित्नै पर्ने अहिलेको अवश्यकता हो । सबैलाई चेतना भया ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया