Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगफरक मतजेन–जीको परिपक्व निर्णय– ७३ वर्षको प्रधानमन्त्री !

जेन–जीको परिपक्व निर्णय– ७३ वर्षको प्रधानमन्त्री !


काठमाडौं । १३ वर्षदेखि २८ वर्ष उमेरको जेन–जी समूहले गरिएको सडक आन्दोलन ‘सफल’ भएपछि जेन–जी समूहहरुले अन्तरिम सरकारको प्रधानमन्त्रीमा ७३ वर्ष उमेर भएको प्रधानमन्त्री छानेकोलाई एक परिपक्व निर्णय नै मान्नुपर्छ । मुलुक हाँक्ने सम्पूर्ण कामको जिम्मा लिने भनेको चानचुनको काम होइन । एक सिंगो मुलुक हाँक्ने व्यक्ति तीक्ष्ण दिमाग, उत्कृष्ट नेतृत्व सिप र अब्बल दर्जाको नैतिकता भएको व्यक्ति चाहिन्छ नै ।

अहिलेको प्रधानमन्त्रीले के–कस्तो क्षमता देखाउँछ हेर्न बाँकी नै छ । तर, अहिले देखापरिरहेको अलमलको राजनीति र मन्त्रिपरिषद् गठनमा भइरहेको ढिलाइ राम्रो संकेत पक्का पनि होइन । अबको एक दुई हप्ता अलग–अलग र सामूहिकरुपमा सम्पूर्ण स्टेक होल्डरहरुको कुरा मात्र सुनेर आफ्नो प्रतिक्रिया नदिइकन गहिरो विश्लेषण मात्र गरेर बस्नु उचित हुन्छ । हरेकलाई हरेक कामकुरोमा जवाफ दिनु जरूरी छैन । यत्तिको तात्तिएको राजनीतिक माहोलमा सबैलाई चित्त बुझाउनु भनेको असम्भव कुरा हो । भनिन्छ, नेतृत्वको अभ्यास बोलीले गर्ने होइन, प्रवुत्ति र कामक्रियाले गर्ने हो ।

कुनै काम सम्पादन गर्न कति उमेरको व्यक्ति उपयुक्त हुन्छ भन्ने कुरा वैज्ञानिक तवरले लेखाजोखा गर्न सक्तैन । केही नेतृत्व विज्ञको भनाइअनुसार धेरैजसो पाको उमेरको नेताहरु यथास्थितिमा नै रमाउने गर्छ र काँचुली फेर्ने खालको परिवर्तन गर्न हिच्किचाउँछ । अत्यन्तै कम उमेरको सरकार प्रमुखमा नियुक्त भएर विश्वमा नै हेडलाइन समचार बनेको प्रशस्त उदाहरण छन् । जेन–जीले पनि ४० देखि ६० वर्षबीचको उमेर भएकोलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भए सुनमा सुगन्ध हुन्थ्यो नै । तीन करोड जनतामा तीक्ष्ण दिमाग, उत्कृष्ट नेतृत्व क्षमता र अब्बल दर्जाको नैतिकता भएका त्यस उमेरबीचको थुप्रै नेपाली नागरिकहरु पक्का पनि नभएका होइन । तर, यस क्याटेगोरीमा पर्ने अधिकांश व्यक्तिहरु ‘अन्तरिम प्रधानमन्त्री हुन पाउँ’ भनि जेन–जी समक्ष दरखास्त हाल्ने खालको नहुने बढी सम्भावना भएकोले जेन–जी समूह आफैँले गृहकार्य गरेर छान्नुपर्ने हुन्थ्यो । सायद विभिन्न कारणले त्यो प्रक्रियामा जान सम्भव नभएको हुन सक्छ र अब यो विषयमा छलफल गर्नुको कुनै तुक छैन ।

गत केही वर्षदेखि प्रायः हरेक पुराना पार्टीमा पुस्ताको कुरा चलिरहेको पनि एक प्रकारको जेन–जी एजेन्डासँग मिल्दोजुल्दो नै छ । ३५ वर्षको लोकतन्त्रपछि पनि नेपाल राष्ट्रले अन्य धेरै मुलुकहरुले गरेजत्तिको गतिमा प्रगति गर्न नसकेपछि जेन–जीलगायत अधिकांश जनताले उक्त अवधिका प्रधानमन्त्रीहरुलाई दोष दिनु स्वाभाविक हो । उक्त अवधिमा प्रधानमन्त्री हुने व्यक्तिहरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, पुष्पकमल थापा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला र केपी शर्मा ओली हुन् । चुरो कुरो के हो भने उक्त ३५ वर्षको अवधिमा विश्वमा आर्थिक विकासखास गरी भौतिक पूर्वाधार निर्माण तथा उद्योग व्यापार क्षेत्रमा भइरहेको गतिविधिसँग तुलना गर्दा निज १३ जना व्यक्तिहरु राज्यसत्ता सञ्चालनमा नराम्रोसँग चुकेको मान्नैपर्ने हुन्छ । जसले जे भने पनि भाद्र २३/२४ गतेको घटना भएको धेरै कारणहरुमध्ये गत ३५ वर्षमा शीर्ष नेताहरु राष्ट्र निर्माणमा नराम्रोसँग चुकेकोले उब्जाएको जनताको रिस एक प्रमुख कारण हो ।

ती १३ जना नेताहरुमा एउटै समानता भनेको उहाँहरु सबै ‘बुढापाका’ भइसकेकाहरु हुन्, सबैलाई पहिलो पुस्ताको क्याटेगोरीमा राख्नलायकका हुन् । त्यसकारण उहाँहरु तेह्रैजना नेताहरुलाई एकै बास्केटमा राखेर देशभर बहस चल्यो कि सबै बुढापाका कामै नलाग्ने भयो भनेर । ‘बिचरा’ शीर्ष नेताहरुलाई पनि प्रतिरक्षा गर्न कठिन हुँदै गयो । अब नयाँ अथवा दोस्रो पुस्ताले पार्टी र देश हाँक्नुपर्यो भनेर देशभर चारैतिर बहस सुरु भयो । यसरी देशभर चारैतिर नयाँ पुस्ता वा दोस्रो पुस्ताबारे बिगबिगी चलिरहेको माहोलमा जेन–जीले ७३ वर्ष उमेरको प्रधानमन्त्री छानेकोलाई अनौँठो तर एक परिपक्व निर्णय नै मान्नुपर्छ ।

साधारणतयाः मनुष्यमा नेतृत्वको गुण जन्मेदेखि प्राप्त हुने मानिने भए पनि केही गुणहरु अनुभवले मात्र प्राप्त हुन्छ । पुस्ताको विषयलाई चाहिनेभन्दा बढी चर्चामा ल्याइरहेको विषय सैद्धान्तिक हिसाबले पनि व्यावहारिक तवरले पनि गलत हो । उपसचिवलाई सचिवको काम दिनुपर्यो, पर्याप्त मात्रामा अनुभव नभएको चिकित्सकबाट शल्योपचार गराउनु झन् राम्रो हुन्छ, क्याप्टेनले विमान चलाउनेभन्दा को–पाइलटले विमान चलाउँदा बढी सुरक्षित हुन्छ भन्नु गलत हुने सामान्य ज्ञानको कुरा हो । केही वर्ष पहिले सरकारले पनि केही बुज्रुकको कुरा सुनेर ५५ वर्ष उमेरमाथिकोलाई संस्था प्रमुखमा नियुक्त गर्न नपाउने अचम्मको नीति अपनाएर दुई चारवटा सार्वजनिक संस्थाहरुलाई नराम्रोसँग ढक्का पुर्याइदियो । जबकि, त्यही समय नयाँ दिल्लीमा एक मेट्रो रेलवे आयोजना प्रमुखको उमेर ७९ वर्ष पुगेर स्वास्थ्यको कारण राजीनामा दिएपछि तत्कालीन भारतीय प्रधानमन्त्रीले थप एकदुई वर्ष पदमा बसिदिन आग्रह गरेको समाचार आएको थियो । वास्तवमा निजामती कर्मचारीहरुमा बाहेक अन्य सम्पूर्ण नियुक्तिहरुमा उमेरको हद नराख्नु उपयुक्त हुन्छ । एक पदाधिकारीको कार्यसम्पादनलाई भन्दा उमेरलाई प्राथमिकता दिनु कुनै पनि दृष्टिकोणले मिल्ने कुरा होइन ।

राजनीतितर्फ पनि पार्टीहरुमा उमेरको हद राख्ने तर्क गलत हो । हुनुपर्ने के हो भने बहालवाला पार्टी प्रमुखको पदावधि सीमित गराए नयाँ आउने प्रमुखमा कुनै उमेरको हद नराख्नु उचित हुन्छ । ६०/६५ वर्षको पार्टी सभापतिलाई विस्थापित गरेर ४५ देखि ८०/८५ वर्ष उमेरको सभापति नियुक्त गर्न पाउने पार्टी विधान बनाउनु उपयुक्त हुन्छ । विश्वभर ८० वर्ष उमेर नाघेकाहरु पनि सरकार प्रमुख भएको थुप्रै उदाहरण छन् । नेपालमा भएको के हो भने अन्य विभिन्न कारणहरुले गर्दा न मुलुक राम्रो ढंगले चल्यो न ठूला पार्टीहरु नै व्यवस्थितरूपमा सञ्चालन भयो । तर, ती कारक तत्वहरु खोतल्न अल्छी लागेर ‘बलिको बोका’ शीर्ष नेताहरुको उमेरलाई बनाउन पुग्यो । अर्को कुरा, अनुभव र उमेर फरक कुरा हो । कम उमेरमै प्रशस्त अनुभव बटुल्न नसकिने होइन । अनुभव र उमेरको मिश्रणले नेतृत्वमा परिपक्वता मौलाउँदै आउँछ ।

वर्तमान प्रधानमन्त्रीले चाहे पनि नचाहे पनि प्रधानमन्त्रीको कुर्सीमा बसिसकेपछि उहाँलाई एक सुनौलो अवसर प्राप्त भएकै हो । त्यो अवसर भनेको भविष्यमा समेत ठूलो असर पर्नेगरी राष्ट्र निर्माणमा उहाँले खेल्न सकिने विशेष भूमिका हो । एक नेता सफल हुन अनिवार्यरूपमा आवश्यक केही नेतृत्वको विशेषताहरू उहाँले प्रयोग गर्नुपर्ने हुन्छ । एक विश्वप्रख्यात नेतृत्व विज्ञको भनाइअनुसार सफल नेता हुन अन्य धेरै नेतृत्वऔजारको प्रयोगसँगै आवश्यक परेमा अतिकडा हुनुपर्ने हुन्छ र कहिलेकाहीँ शक्ति(कुर्सी)को नाङ्गो प्रयोग पनि गर्नुपर्ने हुन्छ । अब जनता गत ३५ वर्षको राज्यसत्ता सञ्चालन, राष्ट्रिय राजनीति तथा पार्टी–पार्टीबीचको द्वन्द्व र पार्टीभित्रको फोहोरीखेलहरूसँग दिक्क भइसकेका छन् । जनता अझै केही चमत्कार होला कि भनेर धैर्य गरेर बसिरहेको अवस्था छ । अन्तरिम प्रधानमन्त्री भएको नाताले उहाँ ४६ सालको कृष्णप्रसाद भट्टराई सरहको अधिकार प्राप्त प्रधानमन्त्रीजस्तै हो भन्ने मान्यतामा उहाँ अघि बढेको खण्डमा परम्परागत पार्टीका केही कार्यकर्ताहरुले बाहेक जेन–जीलगायत सम्पूर्ण जनताले साथ दिनेछ ।


क्याटेगोरी : फरक मत
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x