काठमाडौं, मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा संस्थाका कर्मचारी, ग्राहक तथा सर्वसाधारण गरी करिब एक सय ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा करिब एक सय २० जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए भने ५९ जनाले रक्तदान गरेका थिए । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यापार अधिकृतलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममार्फत सर्वसाधारणलाई स्वास्थ्यप्रति सचेत गराउनुका साथै रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्याउने उद्देश्य राखिएको संस्थाले जनाएको छ । फाइनान्स यही असोज २८ गतेदेखि स्थापनाको २०औँ वर्षमा प्रवेश गर्दैछ । संस्थाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर हरेक वर्ष विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम आयोजना गर्दै आएको छ । सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको संस्थाले स्वास्थ्य सेवा तथा रक्तदानजस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
करिब दुई लाख १० हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको फाइनान्सले हालसम्म करिब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । वित्तीय सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको संस्थाले हाल २८ वटा शाखा कार्यालय र एउटा विस्तारित काउन्टरमार्फत आफ्ना सेवा सञ्चालन गरिरहेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रमले संस्थाको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ । वित्तीय सेवा प्रवाहसँगै सामाजिक हितका गतिविधिमा समेत योगदान पुर्याउँदै आएको मञ्जुश्री फाइनान्सले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।