काठमाडौं, बागमती प्रदेशको कुल औद्योगिक कर्जा लगानीमा काठमाडौं जिल्लाको अस्वाभाविक वर्चस्व देखिएको छ । बैंक तथा फाइनान्स कम्पनीहरूले बागमती प्रदेशका उद्योगमा प्रवाह गरेको कुल औद्योगिक कर्जामध्ये ९२ दशमलव ७३ प्रतिशत कर्जा काठमाडौंमै केन्द्रित देखिँदा बाँकी जिल्लाको हिस्सा अत्यन्तै न्यून देखिएको हो ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन सम्वन्धी वार्षिक प्रतिवेदन २०८२/०८३ ले प्रदेशभित्र औद्योगिक लगानीको वितरणमा निकै असमानता देखाएको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म बागमती प्रदेशका उद्योगमा बैंक तथा फाइनान्स कम्पनीहरूले प्रवाह गरेको कुल कर्जा रकम १३ खर्ब ३४ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०८२ असार मसान्तको तुलनामा १० दशमलव १८ प्रतिशतले बढी हो ।
तर अघिल्लो वर्ष औद्योगिक कर्जा १३ दशमलव ८३ प्रतिशतले बढेकोमा पछिल्लो अवधिमा वृद्धिदर घटेर १० दशमलव १८ प्रतिशतमा सीमित भएको छ । प्रदेशमा प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३६ दशमलव ८१ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । काठमाडौंमा मात्रै १२ खर्ब ३७ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन प्रदेशको कुल औद्योगिक कर्जाको ९२ दशमलव ७३ प्रतिशत हो । यसको विपरीत रसुवामा जम्मा १९ करोड रुपैयाँ अर्थात् शून्य दशमलव शून्य एक प्रतिशत मात्रै औद्योगिक कर्जा प्रवाह भएको छ ।

बागमती प्रदेशका १३ जिल्लामध्ये औद्योगिक कर्जा काठमाडौंमा अत्यधिक केन्द्रित हुनु औद्योगिक विकासको समान वितरणमाथि गम्भीर प्रश्न उत्पन्न हुनु हो । ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र काभ्रेपलाञ्चोकजस्ता जिल्लामा समेत औद्योगिक गतिविधि विस्तारको सम्भावना रहे पनि बैंकिङ कर्जाको ठूलो हिस्सा काठमाडौंमै सीमित रहेको प्रतिवेदनमा देखिएको छ । राष्ट्र बैंकले अधिकांश औद्योगिक प्रतिष्ठानका केन्द्रीय कार्यालय काठमाडौंमा रहेकाले यहाँ औद्योगिक कर्जाको हिस्सा उच्च देखिएको जनाएको छ ।
औद्योगिक कर्जाको क्षेत्रगत विवरण अनुसार कुल औद्योगिक कर्जाको सबैभन्दा ठूलो हिस्सा विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा प्रवाह भएको छ । यस क्षेत्रमा ३७ प्रतिशत कर्जा लगानी रहेको छ । गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा २९ दशमलव तीन प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा १५ दशमलव चार प्रतिशत र निर्माण उद्योगमा १४ दशमलव चार प्रतिशत कर्जा प्रवाह भएको छ । यसैगरी धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगको हिस्सा तीन दशमलव तीन प्रतिशत र खानी उत्पादनसम्बन्धी उद्योगको हिस्सा जम्मा शुन्य दशमलव पाँच प्रतिशत रहेको छ ।
क्षेत्रगत कर्जाको वृद्धिदर हेर्दा निर्माण उद्योगमा औद्योगिक कर्जा सबैभन्दा तीव्र गतिमा बढेको छ । यस क्षेत्रमा कर्जा २३ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा १३ दशमलव शून्य सात प्रतिशत र विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा ११ दशमलव आठ प्रतिशतले कर्जा बढेको छ । गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा कर्जा वृद्धि दुई दशमलव ६० प्रतिशत र धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा दुई दशमलव ८३ प्रतिशतमा सीमित रहेको छ ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा चिन्ताजनक पक्ष खानी उत्पादनसम्बन्धी उद्योगमा कर्जा ११ दशमलव शून्य आठ प्रतिशतले घट्नु हो । कुल औद्योगिक कर्जामा यस क्षेत्रको हिस्सा शून्य दशमलव पाँच प्रतिशत मात्रै रहेका बेला कर्जा घट्नुले खानी तथा खनिजजन्य उद्योगमा
लगानी विस्तार चुनौतीपूर्ण रहेको देखिएको छ । -सुरेश राउत